बिहान १० बजिसकेको थियो। खानाखाने बेला भइसकेपनि हामी धादिङबेसीबाट खाना नखाई काठमाडौंतिर हुइकियौं। धादिङका पत्रकार साथीहरुले खाना खाएर जान आग्रह गरेपनि हामीले राजमार्गतिरै कतै खाउँला भन्ने जवाफ फर्काएर रिजर्भ गाडीमा हिँडेका थियौं।
टोलीमा एबिसी टिभीका कन्चन अर्याल र राष्ट्रिय समाचार समितिका भिष्मराज ओझा थियौं। ११ बजेतिर हामी फुर्केखोला आइपुग्यौं।
भिष्मले मलेखुमा गएर माछाभात खाने इच्छा राखे। कंचन र मैले उनको इच्छालाई सकारेनौं। ‘जनकपुरका माछालाई मलेखुको भन्दै बेच्छन‘ भनेपछि भिष्म चुप लागे।
मलेखुमा मात्र किन सबै राजमार्गमा खुुलेका होटल खुवाउने खाना ताजा हुँदैन भन्ने सबैको गुनासो छ। हामी पनि कुन ठाउँमा खाना खाने भनेर गफ गरिरहेका थियौं। चालक दाइले भने –सरहरुलाई म लैजान्छु, फस्टक्लासखाना खुवाउने ठाउँमा।
नभन्दै फुर्केखोलाबाट काठमाडौंतर्फ ७ किलोमिटर जति आएपछि उनले घ्याच्च गाडी रोके। चालक दाइले गाडी रोकेको ठाउँको होटलमा कुनै बोर्ड थिएन। होटलभित्र छिर्ने बित्तिकै होटल मालिक सत्कार गर्न थाले।
भोकले लखरतान भएका हामी खाना खान टेबलमा बस्न खोज्दै थियो। खाना ल्याउनुको साटो होटल मालिकले त हामीलाई त्रिशुली नदीमा किनारमा कुखुरा भएको ठाउँ पो लगे र भने–ल सर भन्नुस्, कुन कुखुरा काट्ने? जुन भन्नुस म त्यही एकैछिनमा काट्छु।
किनारमा १५/२० वटा जति लोकल कुखुरा थिए। खोरमा हुलेका होइन, किनारमा छोडेका। उनले थपे ‘माथि बैरेनी, किरानचोक र पीडा गाविसका विभिन्न स्थानबाट ल्याएको हो सर। कुनै शंका गर्नुपर्दैन, लोकल कुखुरा नभएको दिन म पसल नै बन्द गर्छु।‘
उनका कुराले मेरा कान ठाडा भए। राजमार्गका होटलमा लोकल कुखुरा भनेर बोइलर कुखुराको खसीको भनेर बोकाको मासु बेचेको आफ्नै आँखाले देखेको थिए। उनले त हामीलाई भाले नै छान्न लगाए। हामीले २ किलोजतिको भाले देखायौं। उनले त्यो भाले छोपे र काटकुट पार्न थाले।
‘४५ मिनेटजति बस्नुस है, खाना पनि पकाउनुपर्छ‘ होटलमा फर्केपछि साहुनीले भनिन् ‘खाना खानेमान्छे आएपछि मात्र कुखुरा र खाना पकाउन थाल्छौं, हामीले ग्राहक कतिखेर आउँलान भनी ढुकेर बस्दैनौं। उनीहरुको ब्यापारको तरिका हाम्रो लागि नौलो र अचम्म लाग्दो थियो।
हामी खाना पर्खिरहेका थियौं। केही कुखुरा बोकेर एक वृद्ध आए। किरानचोकबाट आएका उनी आफ्नो घरमा पालेका कुखुरा त्यही होटलमा बेच्दा रैछन्। अनि नुन तेल चामल किनेर उकालो लाग्दा रैछन्।
‘कुखुरा लिन म आफैं पनि गाउँ गाउँमा जान्छु,‘ कुखुरा भुत्ल्याउँदै गरेका होटल मालिकले थपे ‘उहाँजस्तै कतिपयचाहिँ आफैं लिएर आउँछन्।‘
२० मिनेटमा होटल मालिकले कुखुराको मासु काटकुट गरे। पकाउन होटल मालिक्नीलाई दिए। त्यतिन्जेलसम्म खाना, गोलभेडाको अचार,दाल र फर्सीको मुन्टा पाक्नै लागेको थियो।
एकछिनमा नै होटलमा रहेका ६ वटा टेबल भरिन लागे। हामी बसेको टेबलमा नै आए होटलका मालिक।
यतिन्जेलसम्म होटलमालिकसँग हाम्रो औपचारिक परिचय भएको थिएन्। ‘मेरो नाम छत्रबहादुर मगर‘ उनले आफ्नो परिचय दिए। हामीले पनि परिचय दियौं। हामी पत्रकार भएको थाहा पाएपछि उनले राजनीतिक गफ सुरु गरे।
मलाई राजनीतिका कुराभन्दा उनको यो गज्जबको ब्यापार बारे खुल्दुली थियो।
कहिलेदेखि यहाँ तपाईले होटल चलाउनुभएको? मैले प्रसंग बदलें।
‘१४ वर्ष भयो‘ उनले भने ‘पहिला यहाँ सानो छाप्रो थियो।‘ छाप्रोबाट सुरु भएको उनको होटल अहिले चिटिक्क परेको २ तले घरमा थियो। लोकल कुखुरा र ताजा खाना खुवाएरै उनले ४ वर्षमा ५० लाख रुपैयाँ लगानी गरेर घर बनाएका रहेछन्। ‘लोकल कुखुराको मासु र खाना बेचेरै घर बनाएँ, अरु कमाइको आम्दानी छैन‘ उनले दंग पर्दै भने।
त्रिशुली किनारमा पूर्खौली सम्पत्तिमै उनले पहिले छाप्रोबाट सुरु गरेको व्यवसाय अहिले महलबाट संचालन भइरहेको छ। मिहनेत र इमानदारिताको कमाइले छत्रबहादुर छाप्रोबाट महलमा सरेका छन्। लोकल कुखुरा नभएको दिन उनको पसल बन्द नै हुन्छ। उनको पसलको विशेषता भनेको लोकल कुखुराको मासु र खाना नै हो।
खानेमान्छे आएर टेबलमा बसेपछि मात्र होटलको अगेँनामा खाना बसालिन्छ। राजमार्गका होटलहरुले बासी खाना खुवाउँछन भनेर बद्नाम भइरहेका बेला छत्रबहादुरको होटलले त्यसलाई माथ खुवाइदिएको छ। इमान्दार भएर काम गरे पैसासँगै सम्मान पनि कमाउन सकिने कुरा उनले प्रमाणित गरिदिएका छन्।
छत्रबहादुर, उनकी श्रीमती, बुहारी सबै घरका सदस्य मिलेर नै होटल संचालन गरेका छन्। दैनिक ६० देखि ८० जना उनको होटलमा छिर्छन र खाना खाएर जान्छन्। दिनमा १० देखि १४ वटासम्मको लोकल कुखुरा उनको होटलमा खपत हुन्छ
कुराकानी सकिएकै थिएन, टेबलमा हाम्रो खाना आइसकेको थियो, आँखै अगाडि पाकेको खाना र आफैंले छानेको कुखुराको भालेको मासु। दाल पनि अन्तको जस्तो पातलो होइन, गोलभेडाँको अचार, फर्सीको मुन्टा तरकारी। खाना घरकै भान्छामा पकाएजस्तो थियो। मिठो भएर होला हामीले थपीथपी खाना खायौं।
लोकल कुखुराको मासुसहितको खानाको १ सय ७५ र सादा खानाको सय रुपैयाँ रहेछ।
हामीले हिसाब गरेर उनलाई पैसा बुझाएछौं। पैसा तिर्दा अरुबेला जस्तो बेकारमा खाना खाइएछ जस्तो पटक्के लागेन।
‘गाउँमा लोक कुखुरा महँगो भयो, किलोको ५ सय पुग्यो‘ उनले भने ‘मैले सुरु गर्दा ८० रुपैयाँ एक किलोको कुखुरा आउँथ्यो।‘ मैले सबैतिर महंगी चुलिएको बताएँ।
निस्कन लाग्दा हामीले मिठो खाना खुवाएको धन्यवाद दियौं। ‘बाटो परेको बेला छिर्नुस् है‘ उनले मुस्कुराउँदै हामीलाई विदा गरे।
‘हामी मात्र होइन अरुलाई भन्छौं,‘ मैले भने ‘धादिङको पीडा–१ मा रहेको छत्रबहादुर दाइको होटलमा ताजा खाना पाइन्छ।‘