धेरै पटक हेरेको हिन्दी सिनेमा ‘डोर’ को एउटा दृष्य सम्झन्छु, जवानीमा नै विधवा भएकी नायिका अत्यन्त दुख र बन्धनमा पर्छे। उसलाई यो प्रिय लाग्ने कुरै भएन। संयोगले स्वतन्त्र जीवन भोगिरहेकी अर्की नायिकासँग भेट भएपछि उसले खुल्ला जीवनको अर्थ भेटाँउछे। खुल्ला जीवनसँग साक्षत्कार भएपछि लोभ जाग्छ। सारा बन्धन तोड्न हिम्मत गर्छे। फेरी आतिन्छे। मनमनमा भन्छे, ‘अर्काले बनाएको नियममै हिँड्न सजिलो। नियम मान्यो, बस। जीवनको डोर आफ्नो हातमा लिन खोज्नासाथ कत्रो ठुलो जिम्मेवारी र जोखिम छ।’
जीवनमा अरुले बनाएको नियम बाहिर स्वतन्त्र जीवन बाँच्न सक्नेहरुले मेरो मनको कुनै कुनालाई सधैँ आकर्षित गरे। अरुले 'अराजक' लेवल लगाइदिएकाहरु मलाई कताकता 'रोचक' लागे। तर सामाजिक मर्यादाले मलाई सधैँ थिच्यो।
म सानो छँदा छोटो स्कट लगाएर हातमा घडि बाँधेपछि 'अराजक' हुने रहेछ भन्ने लाग्थ्यो। अगाडी कपाल काट्ने केटीलाई त बाइफाले भन्ने चलन थियो, डिंगो र जिन्स लाउने र जुल्फि पाल्ने केटालाई गुन्डा।
लभ गर्ने केटाकेटी बारे काटिने कुरा सुन्दा आङ सिरिंग हुन्थ्यो। जिन्दगीमा कहिल्यै लभ गर्न नपरोस, साह्रै बिजेति हर्कत होला भन्ने लाग्थ्यो। यस्ता समाजलाई नपच्ने हरकत गरेर हिँड्ने ‘अराजकहरु’ ठमठम आफ्नो अगाडीबाट हिँड्थे। मैले आँखा नझिम्काई हेर्थेँ। अराजक शब्द त मलाई के थाहा, कति छाडा भन्ने बुझ्थेँ।
गोरखा बजारमा 'ठुला बडाका' कुरा सुनेर होला मलाई पनि उनीहरु उत्ताउला नै लाग्थे। फिलिम हेर्ने, पोष्टकार्ड किन्ने, त्यसैमा माया पिरतीका सायरी लेखेर मनपरेको मान्छेलाई दिने। तीनका चाला देखेर स्कुलमा 'लभलेटर' नआओस भनेर कामना गर्थेँ। बडा सरिफ भएर जीवन बिताउने एक मात्र सपना थियो! आमा र आफन्तका वार्तालापले होकि कुलकी छोरी हुने, सबैको प्रतिष्ठा राख्ने कस्तो महान सोच थियो। निकै पछि सम्म यो रोगको सिकार भइरहेँ।
यदि हुँदाहुँदै ति अराजक ‘हरिप'हरु प्रतिको कौतुहलता बताइसक्नु थिएन। दुनियाले नरुचाउने कर्म यीनले कसरि गर्न सके? दुनियाले अगतिलो ठानेको फेसन कसरि गरेर हिड्छन्? यीनलाई लाज, डर पनि नलागेको। यीनका बाउ आमाले केहि भन्दैनन् होला? आफ्ना सन्तान संसारमै सबैभन्दा सज्जन बनाउन लागिपरेका आफ्ना बा-आमाको अनुहार हेर्दै सातो उड्थ्यो। अनि ती ‘बाइफाला’ हरुका बा आमाको दर्शन गर्ने मन लागेर आँउथ्यो।
देखिनेगरी त्यस्ता नक्कले नक्कलिलाई म के खान मन पराउँथे र! आफुत आदर्श जीवन बाँच्ने लक्ष्य बोकेको मान्छे। तर तीनका आँट भने मान्थेँ मैले। सबका सब नियमलाई पाइतालाले कुल्चेर लचक लचक सानसँग उनीहरु हिडेको देख्दा हरेकपटक जील खान्थेँ। एउटा कुरो भने मैले धेरै अघिनै थाहा पाएँ- यो ‘अगतिलो’ हुनलाई हिम्मत त हुनै पर्छ बा!
सरिफ भएर जिन्दगी जिउने मेरो सपनाले थाहानै नपाई रंग फेर्न थाल्यो।
दशैँको नयाँ लुगा र जुत्ता उनेर दुई चुल्ठि लर्काएर आफ्नै तालमा बजार तिर हिँड्न थालेँ। गोर्खा बजारको बिचमा हामी बस्ने बेला, गोरखा दरबार पुरै फन्को लाएर खुब अनुसन्धान गरेर फर्कन्थेँ। कँहाकहाँ गएँ कसैलाई भनिन। कति सँधै भनेको मान्ने जीवन जीउनु !
घर फर्के पछि धेरै गालि पनि खाइन्नथ्यो। हराएको मान्छे फेला परेझैँ बाको अनुहारमा उज्यालो मात्र देखिन्थ्यो। पटक पटक सुर न तालले बरालिएर घर आँउदा पनि बा ले गालि गरेको थाहा भएन। परिवार र समाजको नियम कानुन रटाएको पनि थाहा भएन।
हामी गोरखाबाट सपरिवार चितवन बसाई सर्यौँ।
म भित्रको इच्छा त ‘बाइफाला’ पो हुन लाग्यो। बिस्तारै स्कुलबाट फुत्त सिनेमा हल पुग्न थालेँ म। बडा बडा भुसतिघ्रेलाई लुखुरे पाखुराले पेलेर टिकट काटियो। जाबो सिनेमा त कति हेरियो कति। नारायणगढको जून सिनेमा घर र गणेश हलका भित्ताका इटाले पनि बिर्सेको छैन होला अझै मलाई। सपना त सिनेमा हलमा रमाउन थाल्यो, अनि मौका मिले नारायणी किनार तिर हुने सुटिंगमा पनि। कालो कोट लगाएको, जुल्फि पालेका बडेमानको राजेश हमाल 'अंकल’ लाई टवाल्ल परेर कति हेरियो। काम न काज हामीलाई पढ्नु पर्छ है भनेर 'अर्ती' दिनुहुन्थ्यो। अंकलबाट अहिले दाजु बनेका राजेश हमाललाई डेढबर्ष अगि यो कुरा सुनाएको मस्तसँग हाँस्नु भो।
अगाडि कपाल काटेर हिड्ने केटि, मुन्द्रि लाउने केटा, लभ गर्ने, फिलिम हेर्ने यी सबै अगतिलाहरुलाई जान्न मलाई झनझन् उखर्माउलो हुन थाल्यो। मैले पनि लरक्क परेको मेरो लामो कपाल एकदिन ब्युटिपार्लरमा गएर ढुट्टो पारिदिएँ। ब्वाइजकट काटिदिए। अब मेरो कपालले कमाएको सोझि र सरल विशेषणको जाँतो बोक्न परेन। गालि त मस्तै खाइयो तर जीन्दगी चंगा भयो। ऐना हेरेर मन दङ्ग भयो।
रेडीयोमा काम गरेर, भरतपुरमा कोठा लिएर बस्ने मेरी एउटी ‘नक्कलि’ साथि थिई। समाजमा नाचेको नरुचाउने बेला देउसी भैलिमा नाच्दै हिँडथि। पछि उ रेडियोकर्मि बनि। डेरामा बसि। लभ गरि। लभ गरेको केटोलाई डेरामा बेला बेला बोलाएर 'उत्ताउलि'मा नाम दर्ज गरि। यी सबै विशेषणका बाबजुद उस्को अनुहारमा लोभलाग्दो चमक र आत्मविश्वास थियो। दुई ठाँउमा काम गर्थि।
कमाएको पैसाले मनपरेका लुगा मात्र होइन, घर भाडा तिर्ने काम र दैनिकी पनि धान्थि। मेरा संस्कारी साथिहरु उसको खुब कुरा काट्थे। मलाई भने उस्को कोठामा गएर आलुको अचार खाँदै घन्टौं गफिदा मजा आँउथ्यो। आफ्नो कमाइमा जीन्दगी हाँकेकी केटी हेर्दै मख्ख पर्थेँ। बाको घरमा बाले खान दिएर बसेकी म। रेडियोमा काम त म पनि गर्थेँ तर घरभाडा तिर्न पर्दैनथ्यो मैले। घरभाडा र खानामा हुने खर्च देखेर तर्सन्थेँ। यत्रो खर्च, यो दु:ख, अनि फेरि मान्छेका बात। मैले डेरा भाडा तिरेर बस्छु होला कुनै दिन भन्ने कल्पना गर्दै सातो जान्थ्यो।
त्यो केटीले मलाई कुनै अर्ति दिइन। तर केहि नभनिकनै आत्मनिर्भरताको पहिलो पाठ मलाई उसैले सिकाई। त्यतिबेला डेरामा बस्नु नै अराजक हुनु थियो। उसलाई त्यो अराजकता मन्जुर थियो। मेरो लागि रोमान्चक र साहसी जीवन थियो उसको। 'करियर' र परिवार दुवै मिलाएर आज उ सुन्दर जीवन बाँचिरहेकी छ।
भरतपुरको ओरालोमा आँफुलाई सिठि मार्ने केटालाई ‘यता आउ भाई यसरि हो सिठि मार्ने ’ भनेर सिकाउने मेरा साथिहरु भन्दा ‘अराजक’ को थिए होलान्। स्कुटरको चल्ति पनि राम्रो नभएको बेला दर्कने झरिमा हिरो होन्डा कुदाउने मेरी अर्कि संगीनि सामाजिक नियम उल्ंघनको अर्को नमुना थिई।
चितवनमा सिनर्जि एफएममा काम गर्दै थिएँ, मेरो सपनाले बुर्कुसि मार्यो। एकदिन बडेमानको कालो झोलामा कपडा पट्याएर राखें। कपडाका पत्र पत्रमा सपना लुकाएर राखेँ। अनि आँए काठमाण्डौ डेरा गरि बसेर सपना पछ्याउन। बेलगाम र बेमान मेरो सपनाले मलाई शालिन हुन दिएन।
मैले सुरक्षा कवचमा बाँधिएको घरको पुगिसरि जीवनलाई वाई भनिसकेकी थिएँ।
खल्तिमा पैसा नहुनु केहो, मन लागेको खान र लाउन नपुग्नु के हो। थोरै आम्दानीले जीवनका धेरै चाहना पुरा गर्नु केहो। पैसा नभएको बेला घरबेटीले भाडा माग्नु केहो। सुन्तला र मौसम खान नमान्दा बाले कर गरि गरि साँधेर खुवाएको सम्झेर पानी पिँउदा थाहा भयो सपनाको प्यास चर्को हुँदोरहेछ। घरमा कसरी भन्ने आफ्नो दुख। आफ्नो शिर निहुरेला भनेर कहिल्यै भनिन।
काठमाण्डौ आइसकेपछि धेरैले नरुचाउने 'मुन्द्रे र टयापे’ को जिन्दगी मैले छ महिना नजिकबाट हेरेँ। खोज गरि गरि पत्रकारिता गर्ने लहडको हुरि चल्यो। बिहानको चिया नास्ता देखि साँझको डिनर सम्मको जीन्दगी नियालेँ। अनि उनीहरुका जीवनका थरिथरिका कहानी सुनेँ।
समाजले दिएको 'टयापेको’ लेवलमा छोपिएको मानवीय जीवन र प्रेमका कहानी सुनेँ। कोहि कोहि एचआइभि पोजेटिभ हुन्थे। त्यसकै कारण परिवारले दशैंमा टिका लाउन पनि उनीहरुलाई बोलाउन्नथ्यो। रोगकै कारण मन परेकी केटीबाट पर भागेका मन कटक्क खाने सम्मका कहानी थिए। बेहोसीमा गर्भवति भएर आमा बनेका एकल केटी, अनि तीनलाई त्यो समुहले दिएको स्नेह र भरोसा। मलाई यीनिहरुले बुझाए शालिनता, व्यवहारमा हुन्छ आवरणमा होइन ।
आइरन गरेर तनक्क तन्केका लुगा लगाएका हेर्दै सुशील देखिने मानिसहरु भन्दा पनि ‘जेन्टल’ उनीहरुको व्यवहार देखिन्थ्यो। दुर्व्यसनको लतबाट बाहिर निस्कन उनीहरुले जीवनमा अपनाउने अनुसासन कम आँक्नै नमिल्ने थियो। एकले अर्कोलाई दुर्व्यसन निकाल्न उनीहरुले गर्ने मेहनत, एक अर्काप्रतिको माया र समर्पणको अर्कै अर्थ थियो। समाजबाट भिन्न त्यो दुनियामा जब म पुग्थेँ, निकै खुला र सुरक्षित महसुस गर्थेँ। जीवनमा अर्कै धुनको संगीत सुनेँ मैले त्यहाँ।
कुनै दिन मेरी बालसखी बाजेको सम्झन्छु दुईजना केटासँग। उनीहरु भन्थे केटी ट्रेकमा जानै सक्दैनन्। उ सक्छन भनेर बाँझ्थि, म सुन्थे मात्र। आजकाल बडेमानको झोला बोकेर देश चाहार्दा अमेरिकामा रहेकी उसलाई सम्झेर मुसुमुसु हाँस्छु। उ तेस्रो बिश्वकै नाम राख्ने नमुना प्रतिभा छ। कम्पयुटर इन्जिनियर। स्कुलमा म भगुवा, उ पढन्ते। भन्छे ‘मैले चाहेको जीन्दगीको एक पाटो भोगिस।’ बेला बेला उसैसँग पैसा ठगेर म घुम्न हिँड्छु। मेरो नियात्रा पढेर उ मुर्मुरिँदै बस्छे। उस्ले किनिदिएको ल्यापटपमा लेखेर बस्छु।
गाँउ गाँउमा मस्त बिडि चिलिम तानेर बसेका महिलाहरु सँग मैले पनि मागेर तानिदिएँ। फोटो खिचेर फेसबुकमा हालिदिँए। पाकिस्तानकी मेरी संगिनीले इनबक्समा मेसेज पठाई ‘पख म नेपाल आँउछु। तँसगै गाँउहरु डुल्छु र बिडिँ तान्छु।’ धुम्रपान मद्यपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरामा हाम्रो सहमति छ। तर महिलाको हकलाई मर्यादासंग जोड्नेहरुको दिमाख खराब गर्न उसलाई पनि मन छ रे। छिटै आँउदैछ उ दक्षिण एसियालि महिला मापदण्डको धज्जि उडाउन।

यात्राका क्रममा भेटिएका अनगिन्ति ‘अराजक’ पात्रहरुले मेरा ति दिनहरु र जीवननै सवृद्ध बनाईदिए। कुना कन्दरामा जबरजस्त सपना पालेर, अनि कर्म गरेर बसेका भेटिन्थे। जिन्दगी उपन्यासको पाना जस्तो लाग्छ यी मानिसहरुको अनुहार आँखामा नाचेको बखत।
लामो यात्रामा हिँड्दा रातविरात भात खान पनि झर्न पर्थ्यो। म मान्छेहरुको हुलमा बसेर थपि थपि भात खान्थेँ। धुलो मैलोले पुरेको ट्राउजर लाँउथे। एउटा खुट्टामा लामो, एउटामा छोटो पारेर। मान्छेले एक हेरे म दश घुरेर हेर्थेँ। मेरो बहुलाहा सपनाले मलाई ‘कमसिन कलि’ हुन दिएन। एक्लो विचरणमा म सुशील मुद्रामा आँफुलाई सुरक्षित ठान्दै ठान्थिन।
जीवनमा एक पछि अर्को गर्दै देखिएका दृष्य र भोगाइले मन बदलिँदै गयो।
विस्तारै आवरणमा देखिने सुशील र भद्र महिला पुरुष प्रति मेरो रुचि झन झन कम भएर गयो। मलाई उनीहरु जीवनको सबै व्याकरण जानेका तर मिठो कविता श्रृजना गर्न कहिल्यै नसक्ने बबुराहरु लागे। हाँस्न मन लागेको कुरामा मस्त हाँस्न पनि नसक्ने। गोजिमै हाँसो नाप्ने स्केल बोकेर हिँडेजस्ता ‘बोरिंगहरु’ मज्जाको रमाइलो पार्टीमा पनि देश बनाउने गफ छाँटेर इम्प्रेसन दिएर महान देखिने पर्नेहरु। 'बेलामा राम्रो हाँस्न पनि नसक्नेले देशको योजना के गतिलो बनाउन्,' भन्दिन मन लाग्ने के!
केहि दिन अघि समाजशास्त्री चैतन्य मिश्रसँग भेट भयो । मैले सरलाई सोधेँ- सर, हामी कुनै पार्टीमा पुग्यौँ, पिउन मनलाग्ने कुरो पियौँ। केहिगरि अलिकति मात्रा बढि भयो भने, गफ बढि गरीहाल्यौँ भने समाजको नियम कानुन सम्झेर तर्सने कि नतर्सने?
सरले भन्नुभो, 'नतर्सने'।
किन?
सरले अर्थ्याउनु भयो, 'सामाजिक हैसियत हाम्रो आकाश पातालको फरक होला, तर मान्छे हुनुको हैसियत त एउटै हो।'
मैले थपेँ, 'महिलाको सामाजिक राजनितिक उत्थानको ठुला नारा सडकमा लाउने प्रतिष्ठित नारीहरु किन रमाइला पार्टिहरुमा देखिन्नन्? ‘हास्न्याँहरु वेश्या हुन्छन’ भनेर साहित्य लेखिने देशका मान्छेहरुको हुलमा पसेर हाँस्ने हिम्मत किन गर्दैनन्? किन गोष्टिमा भन्दा फरक मुद्रामा देखिएर कहिले कहिले उल्लु कुरा गर्ने हिम्मत देखाउदैननन्?'
चैतन्य सरले चिउँडोमा हात लगाएर एकछिन सोच्नुभयो अनि भन्नुभयो ‘हो त है जीवनपद्धतिमा आत्मविश्वास उत्रेन भने ससक्तता झल्केन भने त्यसको के अर्थ भयो र।’
तँपाई पार्टीमा मस्त हाँसेर नाँच्न सक्नुहुन्छ? चैतन्य सर यो प्रश्न सुनेर मस्त हाँस्नु भो। पोलेपछि खरानी हुने यो जीन्दगि मानिसको आफ्नै हो। भोग्न पाउँनु पर्छ नी, सर। मैले थपेँ।
मैले चैतन्य सरलाई देश डुल्दा भेटिएका पात्रहरु बारे बताएँ पनि।
ति मध्ये बाजुराको बिच बजारमा एक फकिर कपडा पसल थापेर बसेका भेटेँकी थिएँ। सबै मानिस उनलाई अचम्मको बहुलठि छ भन्थे। अराजक भन्नै खोजेको होलान्। उनलाई एकदिन बिहानबाट बेलुकासम्म पिछा गरेँ। लेकमा रहेको स्याउको बँगैचामा पनि पुगेँ। स्याउका बोटहरु उनले सन्तानलाई जस्तो गरि मुसारे। मैले हेरिरहेँ। उनले काम गरिरहे। काम गर्दा गर्दै बोले। अनि मस्त बाँसुरिको धुनमा हराए। कर्म प्रेम केहो उनलाई हेरे थाहा हुन्छ।
लेकमा बगैंचा बनाउने वहुलठ्ठी हुन निकै धेरै जाँगर चाहिन्थ्यो। मस्त गाँजा तानेर बाँसुरि बजाउन हिम्मत चाहिन्थ्यो। एउटा केटिले गाँजाको सर्को तान्न खोज्दा दिएर ‘जज’ नगर्न निकै उदार सोच चाहिन्थ्यो। केटीसँग घन्टौँ एक्लै गफिन निकै संयम र अनुसासन चाहिन्थ्यो। ती फकिरमा त्यो सबै थियो।
आफ्नो स्वभाव र सोच अनुसारको जीवन बाँच्ने। परेको भोग्दै जाने। गल्ति गर्ने। गल्तिबाटै सिक्ने। अप्रिय हुन पछि नपर्ने। मलाई यस्तै साधारण मानिसहरु विस्तारै मन पर्न थालेका थिए।
मैले यो कहानी सुनाँउदा चैतन्य सरले हात हल्लाउदै गर्दै थप्नु भयो ‘ म पनि विद्रोहि चेतको मानिस हुँ। त्यहि चेतले नै परिवर्तनको सुरुवात गर्छ। जकडिएका मान्यताहरुलाई एक पछि अर्को गर्दै काट्दै जाँदा मान्छे स्वतन्त्र हुन्छ। आत्मनिर्भर हुन्छ। अनि त जीन्दगी अर्कै हुन्छ।’
मस्तिको स्वतन्त्र जीवन बाँच्न जुन रोमान्चकता छ, त्यो हासिल गर्ने बाटो सिधा र सजिलो छैन। संसारमा कस्ले के दर्शन छाँटे त्यो धेरै जान्दिन। आफ्ना अगाडी देखेका मान्छेहरुले सिकाएको सत्य हो- ‘अराजक’ हुन अदम्य साहस र अनुसासन चाहिन्छ।
अराजक भनिएका मानिसहरु मलाई सम्म बाटोमा होइन, भिरमा घोडा हाँक्ने जस्ता लागे। घोडाको लगाम यस्तरि समात्नु पर्छ त्यसका लागि चाहिने शक्ति र आँफुमाथिको भरको हिसाब नै छैन। लान्छनाको पहाड पल्टाउन सक्नु पर्छ। यीनै मानिसले त जिउन सिकाए। नमन मेरा गुरुहरु।
जीवनमा के बनियो भन्दा जिन्दगी कसरि बाँचियो भन्ने कुराले बढी आनन्द दिँदोरहेछ। जीवनको सबै डोर अहिले आफ्नो काँधमा छ। यो जीवन हाँक्न शालिन र सुशीलको एउटै फर्मुलाले काम गर्दैन। एउटै रंगमा जिन्दगी बाँच्नुको अर्थ छैन, जीवन इन्द्रेणीका सबै रंगमा बाँच्नु पर्छ।