बिहान ढिलो उठ्ने बानीले जहिले पनि अफिस पुग्नै हतारो!
भीडको बाटोमा छिचोल्दै स्कुटरमा अगथाडि जाँदै थिएँ। एउटा गल्लीबाट मोटर निस्कदै थियो, स्कुटरको गति अलि ढिलो बनाएँ।
म भन्दा पछाडिबाट एउटा मोटरसाइकल त्यो मोटरलाई छोइएला झैं गरी छलाउँदै तिब्र गतिमा हुइँकियो। शायद अफिस नै पुग्ने हतारोमा होला।
मोटरसाइकलको पछाडिपट्टी बस्ने केटीले ब्यागलाई साईड पारेर पछाडि फर्काएर भिरेकी थिइन्, शायद चेन खुल्लै थियो कि एउटा खाम हावामा उड्दै मेरो पाङग्राछेउ आइपुग्यो हतारमै भएपनि टिपेँ र दिनको लागि हर्न बजाएँ तर सुनेनन् झन् रफ्तारमा डौदियो पो।
खामलाई स्कुटरको अगाडि पकेटमा हालें र भ्याएसम्मले स्कुटरको कान बटारेँ। तर त्यो मोटरसाइकल कता पुगिसकेथ्यो आँखाले नै नभ्याउने गरी। के गर्नु सोच्दासोच्दै अफिस पुगें।
खाम झिकेर कुनै ठेगाना वा केहि जानकारी छ कि भनेर हेरेँ, खाममा केहि लेखिएको थिएन तर खाम भने खुल्लै थियो। शायद महत्वपूर्ण कागजपत्र हुन सक्छ भनि भित्रको कागज झिकेर ससर्ती पढें, उक्त व्यक्तिको परिचय खुल्ने केहि पाइनँ। तर लेखिएको कुराहरु भने कुनै कथा झैं लाग्यो।
दिउँसो खाजा समयमा फेरि खाम निकालेर पढें कथा मर्मस्पर्शी थियो। कताकता मैरै जीवनसँग, मेरै भावनासँग मेलखाने खालको थियो। हेर्दाखेरी कतै प्रकाशन गर्नको लागि लेखिएको बुझिन्थ्यो। मनमनै सोचेँ, अपरिचित लेखिकामा समर्पित गरिकन म यो कथालाई प्रकाशन गरिदिनेछु भनेर। कथा हुबहु यसप्रकार लेखिएको थियो-
आज बुबाको मुख हेर्ने दिन। बुवाको दिर्घायुको कामना गर्दै लेखिएको शुभकामनाहरू फेसबुक भरीएको थियो। सदाको वर्ष झैं आजपनि दिनभरी मन गरुंङ्गो महसुस भइरह्यो। अफिसपछि सिधै घर आई खाना खाइवरी सुत्ने तरखर गरेँ तर निन्द्रादेवीको भने अत्तोपत्तो थिएन। जुरुक्क उठेँ बत्ति बालें कपि र कलम लिएर लेख्न बसेँ।
स्व. बुवा,
विधिको विधान भनुँ या भाग्यको खेल पाँच महिनाको छँदा नै तिमीले छोडिगयौ। तिम्रो अभावमा “म” र मेरी आमाले धेरै कष्ट र दुःख सहनुपर्यो। तिमीले आफ्नो प्राणभन्दा पनि प्यारी मानेर भित्राएको बेजातकी तिम्री अर्धाङ्गिनी मेरी आमाले तिम्रो मृत्यू पश्चात् २, ३ महिनापछि नै तिम्रो घरमा बास पाउन सकिनन्। अनि तिम्रो मायाको चिनो स्वरुप जन्मिएकी पाँच महिनाकी “म” लाई च्यापेर घरबाट निक्लिइन्। ठूलो महल र तिम्री दिलकी रानी मेरी आमा एउटा सानो र अँध्यारो कोठाको भुसुना बन्न पुगिन्।
तिमी छँदा के मात्र खाउँ र के मात्र लाउँ भएकी उनी घरबाट निकालिए पछि के खाउँ र के लाउँ भयो। ७, ८ महिनाकी सूत्केरी पेटभरी खान समेत नपुग्ने अवस्थामा पुगिन्। आफूले खान पाउनु त कता कता काखमा रहेकी “म” लाई दुध चुसाउन पनि नसक्ने भइन्। अघाउन्जेल दुध त के अरु ठोस कुरापनि खुवाउन सकिनन्। कहिले फुक्का चिउरा त कहिले निस्तो भातले धान्न नसक्ने अवस्थामा पुगिसकेको थियो।
भोकले गर्दा एकातिर ‘म’ च्याँठि्ठएर रुन्थें भने अर्कोतिर उनले भोक खप्न नसकेर पटुकी कसेर बस्थिन्। यसरी कतिदिन बाँच्न सक्नु? सानैमा आमाबाबुको मृत्यु भइसकेकोले आफन्तकहाँ आफ्नो दुर्दशा लिएर जान मन पनि गरिनछन्। आफ्नो यो अवस्था देखेर आफैंलाई टिठ लागेर जोडले रोएर बस्थिन्। एकदिन त्यसरी रुँदै गर्दा एक दयालु महिलाले भेटिछन् र साह्रै दया जागेर एउटा सरकारी कार्यालयमा जागिर दिलाइ दिईछिन्। उक्त महिलालाई मेरो हृदयदेखि मुरीमुरी धन्यवाद, उहाँलाई सम्झिदा प्रत्येकपल्ट आदर स्वरुप मेरो शिर झुक्छ।
जागिरपछि भने राहतको सास फेरेकी मेरी आमाले शान्तिको सास भने कहिल्यै फेर्न पाइनन्। “म” लाई नौ महिना कष्ट सहेर जन्माई, हुकाई, बढाई, पढाई गराइन्, तर उसले आफ्नो अस्तित्व कतैपनि महसुस गर्न पाइनन्। सरकारी काम कारवाही तथा कागजी कार्यमा तिमी नहुँदा पनि तिम्रै नाम खोजिन्थ्यो। सबैलाई श्रीमान् नहुनुको स्पष्टिकरण दिनु, अर्को विवाह गर्ने सुझावलाई टार्नु, कतिपय पुरुष भनाउँदाको गिद्दे नजरबाट बच्नु, जस्ता समस्यासंग लडेर, बढ्दै गएकी “म” लाई हुर्काउने जिम्मेवारी बहन गर्ने मेरी आमा अहिलेको भाषामा भन्नु पर्दा एकल महिला तिमीलाई कोटी कोटी नमस्कार हृदयदेखि नै।
“म” बुवा विना नै एकल आमाबाट हुर्किएकी, आफूलाई सम्झना छँदादेखि नै तिम्रो अभाव महसुस गर्न थालेकी थिएँ। साथीहरूलाई उनीहरुको बुवाले गरेको माया देखेर जलन हुन्थ्यो। मेरो चाँहि बुवा किन नभएको होला, कता गए होलान् जस्ता प्रश्नहरू मनभरी खेल्थ्यो र पछि आमाको मायामा लुटपुटिंदा सबै भुल्थे। स्कुलबाट फर्केपछि साथीहरुको घरमा भने आमा वा अरु कोही सदस्यहरु हुन्थे “म” भने आमा नआउन्जेल घर बाहिर खेलिबस्नु पर्थ्यो। मिनपचासको छुट्टीमा पनि दिउँसोको लागि खाजा सहित कोठामा चाबी लगाएर थुनिएर बस्नुपर्थ्यो। यसरी थुनिएर बस्दा म झ्यालबाट अरु साथीहरु खेलेको, उनीहरु आफन्त र आमा बुवासँग लुट्पुटिएको हेरेर बस्थें अनि भोक लागेपछि आमाले तयार पारेर राखेको खाजा खान्थेँ अनि कतिबेला साँझ पर्छ र आमा आउँछिन् भनेर कुरेर बस्थें। कहिलेकाहीं चाँहि आफूसँगै अफिसमा लान्थिन् सायद सँधै लान नमिल्ने भएकोले होला। यसरी नै “म” हुर्किने क्रममा म भित्र रहेको तिमीप्रतिको कौतुहलता, तिमीलाई देख्ने इच्छा, तिम्रो अभाव खट्किने क्रमपनि हुर्कदै गयो। पछि “म” बालिग भएपछि नेपाली नागरिक हुनुको प्रमाणपत्र (नागरिकता) बनाउँदा समेत धेरै कष्ट सहनुपर्यो। “म” र मेरी आमाको सम्बन्ध प्रमाणित गर्ने कुनै प्रमाणपत्र आजसम्म पनि पाउन सकेको छैन। आमाको नागरिकता वंशजको आधारमा भएकोले तिम्रो नाम उल्लेख नहुनु, विवाह दर्ता प्रमाणपत्र पनि नहुनु साथै मेरो नागरिकतामा आमाको नाम उल्लेख नहुनाले पनि मेरी आमा र “म” आमा छोरी हौं भन्ने कुरा सिर्फ हाम्रो विश्वासमा मात्र आधारित छ। तिम्रो अभाव यति धेरै खट्कियो कि तिमीलाई मात्र एक झलक भएपनि देख्ने इच्छा मनभित्र गढ्यो। जुन कुरा सम्भव नै छैन। किनकी आमासँग तिम्रो एउटा फोटो समेत पनि थिएन। मनभित्रबाट तिमीलाई देख्ने इच्छा हटाउन वा मार्न कसैगरी पनि सकिन। थाहा छैन, तिमी अझै जीउँदो भएको भए कस्तो पिता बन्ने थियौ होला, आमालाई दुःख दिने क्रुर पति पो हुन्थ्यौ कि वा मेरो लागि निर्दयी बावु पो बन्थेउ वा आर्दश पिता। मेरी आमाले तिमी नहुँदाको पिडा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पक्कै पनि मैलै महसुस गरेभन्दा धेरै गुण सहिन् र भोगिन्।
“म” भित्र रहेको तिम्रो अभावको महसुस पनि मानसिक रुपमा पिडादायी छ जसलाई शब्दमा बताउन सकिन्न। लाग्छ कि संसारकै “म” एक्ली छोरी हुँ जसलाई आफ्नो जन्म दिने बुवाको काखमा खेलेको मधुरो सम्झना समेत छैन। अनुहारको अस्पष्ट झलक समेत याद छैन। हुनत बुवाविनाको हुर्काई भन्दा आमाविनाको हुर्काईमा धेरै अन्तर छ र कठिन छ। तैपनि हाम्रो जस्तो पितृसतान्मक समाजमा बुवाविनाको हुर्काई पनि कम कठिन छैन यो मेरो ज्वलन्त अनुभव हो। तिम्रो अभावले गढेको मनभित्रको घाउ निको हुनुको साटो झन गहिरिँदै गएको छ।
उमेरले परिपक्वतासँगै जीवनको हुर्काई, भोगाई र सिकाइले धेरै कुरामा त्याग गर्न जानें मन बुझाउन सिकेँ तर तिमी प्रतिको उत्साह, तिमीलाई एक झलक मात्र भएपनि देख्ने इच्छा सम्भव छैन भन्नेमा यो मनले कहिले बुझेन। सानो बालक भन्दा पनि अबुझ बन्दै गएको छ यो मन। खुट्टा बजारी रोई कराई गरेर भन्न मन लाग्छ कि …ए मेरो स्वर्गिय बुवा विपनामा सम्भव छैन त्यो म मान्छु, तर सपनामा भएपनि मात्र एक पटक आएर तिम्रो आकृति वा तिम्रो स्वरुपको आभाष गराइदेऊ!'
आज बुवाको मुख हेर्ने दिन तिम्रो सम्झनामा दुई थोपा आँशु सहित एक बर्ष अगाडि लेखेको यो मनभित्रको भावना प्रकाशित गर्ने जमर्को गरेकी छु। यहि नै तिम्रो लागि आजको दिनमा अमूल्य उपहार।
उही
तिम्री प्राणप्यारी एकल महिलाद्धारा हुर्काएकी
तिम्री वंश, तिम्री छोरी