प्रिय बाबा,
हिजो राति सपनीमा मैले तिमीलाई देखें। न अनुहार नै याद छ न कुनै स्पर्श। तर पनि मैले संसारकै प्रिय शब्दमध्येको एउटा शब्द निरन्तर पुकारिरहेको थिएँ- बाबा...। म पछिपछि पछ्याउँदै थिएँ, तिमी अघिअघि भागिरहेका थियौ।
मैले निरन्तर तिमीलाई पछ्याइरहेँ। जूनको उज्यालोमा, दिनको उज्यालोमा अनि औंसीको अन्धकारमा तर कतै तिम्रो चित्तबुझ्दो आकृति पाउन सकिनँ। मैले नदेख्दै मबाट अलप भएका तिमी मेरो स्पर्शमा कसरी आउँथ्यौ र? हिजो रातिको त्यो सपनीमा पनि आउने कुरै भएन।
हो, मलाई मेरी आमाले तिम्रो बारेमा बताएका धेरै कुराहरुले भत्भती पोलिरहन्छ। मेरो पनि सुम्निमाको जस्तै काँधमा बोकेर माया गर्ने बाबा भइदिएको भए! दीपिकाको जस्तै हरेक दिन स्कुलमा लिन आउने बाबा भइदिएको भए! आलोकको जस्तै मोटरसाइकलको अगाडि ट्यांकीमा राखेर डुलाउने बाबा भइदिएको भए! रमजानको जस्तै साइकलको डन्डीमा राखेर सब्जी मन्डी घुमाउने बाबा भएको भए!
आज तिम्रो मुख हेर्ने दिन। सबै साथीभाइहरु खुसीले प्रफुल्लित छन्, मसँग त तिम्रो एउटा फोटोसम्म छैन, जसलाई हेरेर म चित्त बुझाउन सकुँ। जसको अगाडि म आँशु बगाएर पीडा पखाल्न सकुँ। अहिले बल्ल बाबा भन्ने कस्तो नाता हो भन्ने बोध भएको छ, म गर्भमा हुँदासमेत तिमीबाट नपाएको स्पर्श अहिले अनायास खोजिरहेछु, जसको तलतल् न त कुनै तस्बिरले मेटाउन सक्छ, न त तिम्रो कुनै आवाज छ मसँग। केवल कल्पनामा आउने तिम्रो अस्पष्ट आकृतिले चित्त बुझाउनु परेको छ। केवल मेरी आमाले तिम्रो बारेमा बताएका कथाहरु दन्त्य कथाजस्तै लागिरहेका छन्।
मसँग रुने आँशु पनि छैन अचेल। म जान्ने भएदेखि नै तिम्रो यादमा रुँदारुँदा आँशु सिध्याएको छु। मेरी आमाले भनेकी, जब उनी तिम्रो बियोगमा रातभरि रुन्थिन्, तब म एघार महिनाको घस्रिने बालक पनि उनको हुँक्क हुँक्कको रोदन सहन नसकी उनको निधारमा चुम्थें रे। अनि उनकै छातीमा गुडुल्की परेर फेरि निदाउथें रे, अहिले म जान्ने त भएको छु तर मेरी आमा रोएको देख्न सकिरहेको छैन। सायद मैले नदेख्ने गरी रुन्छिन् अथवा तिम्रो प्रतिमूर्ति मैमा देख्छिन् होला आमाले। बाबा, तिमी जहाँ भए पनि आमाको मन खुसी राख्न सधैंभरि सफल हुन सक्ने शक्ति दिनु है मलाई!
मलाई सम्झना छ, एक दिन मैले नांगो खुट्टा स्कुल जाने बेला सोधेंको थिएँ- आमा! बाबा कस्तो हुनुहुन्थ्यो? आमाको छोटो उत्तर थियो, काटीकुटी तिमीजस्तै। त्यस दिनदेखि मैले आफूलाई दिन दिनै एेनामा हेरिरहेको छु, तिम्रो अनुहारको अनुमान गर्न, तर चित्त बुझाउन सकिरहेको छैन। मुटु छाम्छु, जोडजोडले धड्किरहेको थाहा पाउँछु। केवल सपनामा तिम्रो अनुहार ठम्याउँछु, विपनामा बेख़बर भएको भयै छु म।
मलाई गर्भमा छाडेर तिमी परदेशिएको सबै बाध्यता त मलाई थाहा छैन, सायद अहिलेको जस्तै चरम गरिबी हुँदो हो, मेरी गर्भिणी आमालाई मिठो ख्वाउने आशामा र मलाई सुखले पाल्न पढाउन तिमी परदेशिएको हुनुपर्छ। हरेक वर्ष आउने दसैंमा पुरा नै खुच्मुचिएको लुगा धोएर तानतुन पारेर लगाइरहँदा साथीभाइहरुले लगाएका सुकिला लुगा हेरेर मात्र चित्त बुझाएको कुराले मलाई भन्दा स्वर्गमा बस्ने तिमीलाई कति पोल्दो हो है! मेरी आमाले हरपल मरेर मेरा लागि बाँचेको जिन्दगी तिमीले पनि रोएरै हेरिरहेको हुनुपर्छ।
म तोते बोली बोल्ने बेलादेखि बाबा, बाबा भनिरहँदा छर छिमेकले मलाई बाउ टोकुवा भनेको मैले भुल्न सक्दिनँ। मेरो जन्मको सुखद समाचार नपाउँदै तिमी परदेशमा कहिल्यै नफर्कने गरी ढल्यौ रे, सायद अरुको काम गर्दागर्दै दुर्घटना परेर मर्यौ होला, त्योबेला मेरी आमा र मलाई पुकारेर अन्तिम सास फेर्न कति गाह्रो भयो होला है बाबा! यसमा मेरो केही दोष छैन, तिमी त बरु हामीलाई छाडेर भगवानको प्यारो भयौ तर हामी आमाछोराले संसारकै कहालीलाग्दो नियति भोगिरहेका छौं।
यदि मान्छे मरेपछि स्वर्गमा बास हुन्छ भने तिमीले टुलुटुलु हेरेर आँशु बगाएको हुनुपर्छ। समाजले मेरी आमालाई दिएको पीडा पनि तिमीले देखेकै हुनुपर्छ। ए साँच्चै कसरी हेर्न सकेको बाबा तिमीले? के स्वर्गमा ती दोषीहरु उपर मुद्दा हाल्न मिल्दैन?
हो, तिमी हाम्रै खुसीको लागि ढल्यौ बाबा। हाम्रो चुहिने घरको छानो हाल्न, मानो जुटाउन ढल्यौ। तर, तिमी कहिल्यै नआउने गरी ढल्यौ साथै मेरी आमाका सबै खुसी, आशा र रंगहरु अनि साथहरुसँगै लगेर ढल्यौ। उल्टो सबै चिज खोसिएकी मेरी आमालाई अलच्छिनी भन्छ यो समाज। गुमाउने हामी, दु:खमा डुब्ने हामी, भोकै बस्ने हामी तर उल्टै लान्छना हामीलाई नै लगाउने अन्धो समाजमा एक्लै छाडेर ढल्यौ, आज तिमी नभएरै अपूर्ण भएका छौं बाबा! मलाई थाहा छ यो कलियुगमा जति तपस्या गरे पनि म अब तिमीलाई पाउन सक्दिनँ। मिल्ने भए म मेरो आयु तिमीलाई दिएर मेरी आमाका प्रिय रातो रंगहरु बचाउँथे।
म दिनदिनै आगो खाएर अनि आकाश हेरेर बढिरहेको छु, मेरी आमाले सुस्केरा हाल्दै सकिनसकी मजदुरी गरेर मलाई पालेकी छिन्, उनी एकदम दुब्ली र अँधेरी छिन्, सायद मलाई खुवाउँदा आफू धेरैपल्ट भोकभोकै बसेको हुनुपर्छ। छिमेकीहरुले भनेका, आफू भोकभोकै बसेर छाती चुसाएरै बचाएकी रे मलाई आमाले। सायद तिमीसँगै भइदिएको भए ती कठोर दिनहरु देख्नुपर्थेन होला। तिम्रो स्पर्श नपाएरै हुर्किँदा मलाई अचेल बाटोमा कुनै छोरा मान्छे देख्नै हुन्न, अनायास बाबा भनेर चिच्याउन मन लाग्छ। अंगालो हालेर रुन मन लाग्छ। अनि मेरी आमा र मैले भोगेका दु:खका पलहरु चिच्याई चिच्याई सुनाउन मन लाग्छ। तर, म त्यतिबेला झसंग हुन्छु तिमीलाई त यो निष्ठुरी दैवले हामीबाट चुँडेर लगेको वर्षौँ भइसकेछ। तिमीलाई हामीबाट हत्याउने नियति र हामीलाई अलच्छिन देख्ने निष्ठुरीहरुसँग बदला लिनु छ मैले। विन्ति छ दैव, मलाई जस्तो बाबु नभएको गर्भे टुहुरो कसैलाई बन्न नपरोस्।
म जन्मँदा मेरी आमा तिम्रो किरिया गर्न कुनामा थिइन् अरे। मेरो न्वारान त समयमा हुने कुरै भएन, तेह्रौं दिनमा उम्केपछि काकाले मन भारी बनाउँदै मेरो न्वारान गराउँदा मेरी आमा शोक, भोक र रक्तश्रावले मूर्च्छित थिइन् रे। अहिले तिनै काकालाई पनि खोस्यो नियतिले। सायद मैले तिम्रो अनुहार मिल्ने मान्छे समेत देख्नु थिएन होला। यो घटना सम्झँदा यस्तो लाग्छ, म अभागी किन जन्मिएको हुँला?
तर, एकै निमेषमा झसंग हुन्छु, भक्! म नभएको भए मेरी आमा कसलाई हेरेर बस्थिन् होला? आज तिम्रो नासोको रुपमा आमाले मलाई कति माया गर्छिन् त्यो तिमी छाडी जानेलाई के थाहा? मैले मेरी आमाको जिन्दगीमा रातो रंगहरु ल्याउन नसके पनि सुनौला किरणहरु नल्याई मर्ने छैन, मेरो प्रतिज्ञाको लागि भगवानसँग अनुनय गरिदिनू है बाबा!
आज कुशे औंसी अर्थात् तिम्रो मुख हेर्ने दिन हो। यो भौतिक संसारमा तिमी छैनौं, त्यसैले आज राति म जसरी भए पनि निदाउनुपर्छ, यो भदौरे झरीमा हाम्रो झुपडी चुहिए पनि भुल्लो ओढेरै भए पनि निदाउनुपर्छ। भोको पेट भए पनि निदाउनुपर्छ। कसैले बाउ टोकुवा भनेको सुन्दासुन्दै पनि नसुनेजस्तै गरेर निदाउनुपर्छ। किनकि, मलाई सपनामै भए पनि तिम्रो मुख हेर्ने मन छ। मेरो खुसीको लागि मर्ने मेरो प्यारो बाबाको मुख हेर्ने मन छ। मेरो खुसीको लागि मर्ने मेरो प्यारो बाबाको मुख हेर्ने मन छ। कुनै सहृदयी मनकारीसँग पैंचो मागेरै भए पनि मेरो प्यारो बाबालाई आज राति सपनीमा मिठो मिठो खुवाउने मन छ। हे दैव! दया राखी मलाई आज राति निदाउन दे!