बलराम काकाले सबैलाई राम्रै गर्छन्, काकाले कसैलाई चित्त दुखाएको सुन्नु परेको छैन, गाउँमा बलराम काकाले कसैको नराम्रो गर्दैनन् भन्ने छ अझै पनि।
तिनै काकाले छोरा पाउने आशमा बारम्बार छोरी पाइरहे । छोरा नभए पिण्ड कसले देला भनेर बुढ़ाबुढीलाई छटपटी भयो। बुढेसकालमा अर्को बिहे गर्दिऊँ कि भन्दै थिए तर आफैंले अरुलाई न्याय दिलाउने र काकी अलि जब्बर भएकाले बुढाले हिम्मत जुटाउन सकेनन् ।
संयोग नै भन्नु प¥यो, पाँच वटी छोरी पाएपछि काकीको कोखबाट एउटा सुन्दर छोरा जन्मियो। काकाकाकी त के पूरै गाउँघर खुसीले रंगियो । भाइको नाम भुवन राखे, पुरोहितले ।
छैंठी, न्वारान, पास्नी व्रतबन्ध आदिमा काकाकाकीले मनग्गे खर्च गरे । पुत्र प्राप्तिको हर्षमा वर्ष बितेको पत्तो भएन।
हेर्दाहेर्दै भुवन लक्का जवान भयो । ३ बहिनी छोरीहरु लगभग हुर्किसकेका थिए । सबैको बिहेबारी समेत भैसकेको थियो ।
काकाकाकीले भाइलाई सिन्को भाँच्न दिएनन्। दिदीहरूले भाइलाई फूल जस्तै गरी हुर्काए। दिदीहरुले मुस्किलले वर्षमा एकसरो लुगा पाउँदा भाइलाईचाहिँ राजकुमार जस्तै महिना महिनामा नयाँ लुगा हालिदिन्थे काकाले । बुढेसकालको माइती भनेरै होला भाइलाई झिल्के बनाउँदा दिदीहरूले कहिल्यै डाह गरेनन् ।
समय बित्दै गयो, हरेक वर्ष आइरहेका वसन्त ऋतुले शिशिर ऋतु विस्थापित गरिरहे। दिदीहरू माइत आउँदा भिनाजु, सासू, ससुरा र नन्द आमाजुको कुरा सुनाइरहन्थे।
‘आमा हजुरको ज्वाइँ त निकै सहयोगी हुनुहुन्छ, बिहानै उठ्नुहुन्छ म सँगसँगै, घरको काम मिलेरै गर्छौं, उहाँ लुगा मिच्नुहुन्छ म पखालेर सुकाउँछु।’ कान्छी छोरी मैनाले बिस्तार लगाई ।
‘अँ साँच्चै मैना! नन्द आमाजू कस्ता छन् नि? अनि सम्धी सम्धिनी नि?’ काकीले उत्सुक हुँदै सोधिन् ।
‘नन्दको त के कुरा गर्नु र ! बिहान अबेर उठ्ने हो, ओछ्यानमै चिया पु¥याउनु पर्ने । केही भन्यो कि मुखमुखै लाग्छिन् । काममा केही सहयोग गर्ने होइनन्, आमाजू पनि कहिलेकाहिँ माइत आउँदा त्यस्तै आमा छोरी बसेर खÞासखुस खÞासखुस गरिरहन्छन्, सासु त एकोहोरो भुनभुनाएको भुनभुनाई गर्छिन्, जे होस् हजुरको ज्वाइँचाहिँ आँखामा राखे पनि बिझाउनु हुन्न।’ मैनाले आँखा हँसाउँदै भनी ।
काकीले सन्तोषको सास फेरिन् । ‘कति भाग्यमानी मेरी छोरी, देउता जस्तो ज्वाइँ पाइछौ।’ काकीले मैनाको गाला सुमसुम्याउँदै मायालु आँखाले हेर्दा सारा संसार हाँसेजस्तै देखिन्थ्यो । आफ्नो छोराछोरीको खुसीमा नरमाउने बाबुआमा को हुन्छ र?
‘त्यति मात्र हो त मेरो त सबै किनमेल गर्ने पनि ज्वाइँले नै हो । मलाई उहाँले रोजेको सबै चिज मन पर्छ ।’ मैनाले आफूलाई ऐनामा हेर्दै कुरा थप्दै गई ।
काकी आमा दंग परेर सुनिरहिन् ।
समय बितेको पत्तै नहुने । हेर्दा हेर्दै भाइ पनि लक्का जवान भो । काका काकीको एउटै धोको रह्यो छोरोको बिहेबारी गरिदिने । ठूलाघरे जेठाको चाँजोपाँजोमा गैरागाउँकी सुबदारकी जागिरे छोरीसँग बिहे पक्का भो।
एकपटक काकाकाकीले फेरि मनग्गे पैसा खर्च गरे । बूढाले बैंशमा जोडेको टारी खेतको नामसारी गरेरै भए पनि बिहे उम्कियो । बुढेसकालमा बुहारी भित्र्याउँदाको त्यो खुसी नाप्न मिल्ने भए कुनै ठूलो भकारीमा अट्याउँदैनथ्यो सायद । केही दाइजो नलिएरै बिहे गर्ने बलराम काकाले बुहारी भित्र्याउँदा मान्छेहरु मुखामुख गर्थे– दाइजो किन लिन्न भनेको होला?
बुहारी साह्रै सुन्दर थिइन् । नाम पनि जुनु, मान्छे पनि पूर्णिमाको जून जस्तै । छुँदा मयल नै सर्छ जस्ती गोरी पनि । भाइ पनि दंग थियो । बिहे लगत्तै भाइले पनि लोकसेवा आयोग पास गरी जागिर पायो, अब दुबै जना जागिरे भए । मोटरसाइकलमा सँगै जाने र सँगै आउने गरेको देख्दा भित्रभित्रै भुतुक्क हुने थुप्रै थिए। भाइ निकै सहयोगी थियो । जानाजानी कसैको चित्त दुखाउँदैनथ्यो । एउटा असल साथी जस्तो भाइ र बुहारीको सम्बन्ध देख्न पाउँदा काकाकाकीसँगै म पनि खुसी थिएँ । जे होस् टोल छिमेकलाई नमूना भएका थिए, मेरा भाइबुहारी ।
भाइ भुवनले आमालाई भान्साको काममा कहिल्यै सघाउनु परेन, कहिलेकाहिँ भाँडा माझ्छु भन्दा काकीले जवाफ दिन्थिन्– छ्या छोरो मान्छे भएर पनि के भाँडा माझ्न तम्सेको होला? वर्षौंदेखि चल्दै आएको यो करनीलाई भुवनले त्यतिबेला खासै प्रतिवाद गरेन ।
बिहेपछि भने जुनुले मिचेका लुगा लुकीलुकी पखाल्ने र पानी भर्दिने तथा तरकारी काट्ने काममा दिनदिनै सहयोग गर्न थाल्यो भाइले । काकाकाकीका लुगा पनि जबर्जस्ती धोइदिन्थ्यो, हप्तैपिच्छे काकाको गोडा मालिस गर्नु त उसको कार्यतालिका जस्तै थियो।
घडीको सुई घुम्दाघुम्दै दिन महिना हुँदै वर्ष बित्यो, दिदीहरू पनि आउने जाने गरिरहन्थे, सासु ससुरा, नन्द आमाजुका कुरा त दिदी र काकीहरुका दिनचर्या हुने नै भए । बिस्तारै बुहारीका कुरा पनि गाइँगुई सुन्नमा आउन थाले ।
यसपालिको तीजमा बुहारी माइत गइन्। आमाले ज्वाइँ, सम्धी, सम्धिनी र नन्द आमाजूको बारेमा सोध्दा जुनुले मुसुक्क हाँसेर जवाफ दिइन्–सबै जना असाध्यै राम्रो हुनुहुन्छ, आँखामा राखे पनि नबिझाउने जस्ता। आमा खुसीले दंग भइन्। घरका स–साना कुरा आमालाई सुनाएर आफ्नो जिन्दगीभरको घरलाई बिगार्नु हुन्न भन्ने जुनुको विचार जुन जस्तै उज्यालो थियो । मेरी जीवनसंगिनी प्राप्तिले पनि जुनुको तारिफÞ गरिरहन्थिन् ।
तीजमा मैनालाई पनि भाइ भुवन लिन गयो, अरु दिदीहरू टाढा भएकोले आउन पाएनन् । आमा छोरीका गफका विषय त उनै थिए, घर परिवार, सासु, ससुरा, नन्द आमाजु र विशेष गरी ज्वाइँकै सेरोफेरोमा।
‘ए साँच्चै आमा! बुहारी कस्ती छिन् ? काम जति त सबै भाइले पो गर्छ त ! जताजता बुहारी त्यतै पछिपछि लागेकै देख्छु। दुनियाँले दाइजोले घर भर्दा यहाँचै घर रित्तो छ, हैन कस्तो लाज नलागेको यसलाई ?’ मैना एकोहोरो बोलिरही ।
काकीले केही बोल्न नखोजेजस्तै गरी ओठ लेप्य्राइन्। मौन हुनु उसको कुरा समर्थन गर्नु हो भन्ने बुझेर मैनाले झन् झन् कुरा खोतल्न थाली ।
‘हैन! भन्नु न किन केही बोल्नु हुन्न?’ मैनाले काकीलाई झक्झकाई ।
‘गर्छन् मिलीजुली! अहिलेसम्म त राम्रै गरेकी छ, अब पहिलेका बुहारी जस्तो सबै कुरा खोजेर भएन नि छोरी। महिनामा बीस पच्चीस हजार कमाउँछे, चाडबाडमा हामीलाई चाहिने सबै कुरा किनिदिएकै छे । तिमीहरुलाई पनि राम्रै गर्छे हैन र ? छरछिमेकले पनि तिम्री बुहारीको त नाम र काम कस्तो सुहाएको भन्छन् ।’
‘ह्या, आमा! खुब गरेको देख्यौ, पैसा जति माइततिर पोस्ने रैछे, बुहारी मान्छे भएर काम जति सबै भाइले नसघाई नहुने ! हिँडाइ पनि कस्तो उत्ताउलो, फेरि लुगा पनि कति फेरेको हो महिनैपिच्छे ! ससुराली जाँदा बोकेको पोको हेर्दा त सम्पत्ति चाँडै सक्लान् जस्तो लाग्यो मलाई त! हेर्नु है आमा मैले त भन्देको छु! भाइलाई खुब कÞायम पारेकी छे’, मैनाले आगोमा घ्यु थपी, ‘बुढ्यौलीमा फलफूल भिटामिन खानुपर्दैन? यी एक किलो अनार र हर्लिक्स ल्याईदिएकी छु । नियमले खानू नि फेरि! भाइबुहारीले लुकाईलुकाई एक्लै खान्छन् होला क्यारे !’
काकीले सुत्ने कोठाको टेबलमा फलफूल राख्दै भनिन्–किन दुख गर्नुपर्या होला?
‘ए साँच्चै आमा, अनि बुहारीले चिल्लो लगाइदिन्छे त? लुगासुगा धोइदिन्छे त?’
‘थाकेर आउँछे, खाना बनाउँछे बिचरा, के के पढ्नु छ भन्छे, त्यही पनि शुक्रबार त फुस्रो राख्दिन, लुगा पनि हप्तैपिच्छे धोएकै छे। भाइले पनि मैलो देख्यो कि धोइदिन्छ’, काकीले मायालु पाराले भनिन् ।
‘अनि तिम्री सासूका गोडा घँस्छ्यौ त?’ काकीले मैनालाई उत्सुक हुँदै सोधिन् ।
‘ह्या! त्यो बुढी कस्तो डुङडुङ्ती गन्हाउँछे, फेरि खुट्टा पनि फुटेर बाँझो खेत जस्तो! म त घँस्दिन्न गोडा सोडा,’ मैनाले कड्किदै भनी।
काकीले केही जवाफ दिन आवश्यक ठानिनन् ।
खटखट् खट्खट् ...
ए, बुहारी पो रैछिन् , मैनाले ढोका खोल्दै भनी।
“जुनु, आउन बस’ काकीले जुनुलाई बोलाउँदै नजिकको कुुुर्सीतिर देखाइन्।
‘खाना पाकिसक्यो, हजुरहरु कतिखेर खानुहुन्छ कुन्नि? हामीलाई अफिस जान हतार भैसक्यो, हामी खाएर जान्छौं है ।’ जुनुले एकै सासमा भनिन्।
‘ए ल ल ! तिमेरू खाओ । अहिले बा आएपछि खाउँला हाम्ले ।’ काकी भित्रैबाट चिच्याइन् । काकीले त्यसो भन्दा मैनाले ओठ लेप्य्राइरहेकी थिई।
भाइ बुहारी खाना खाएर अफिसतिर लागे, कान्छीले भाइ बुहारीका काम कुरामा खोट खुट्याउन थाली। काकीले हो त नि भन्दै गइन्। भाइ बुहारीको बस उठ्, बोलीचाली, लवाईखवाई सबै कुरामा खोट देखाएर कान्छी बैनी कट्टर आमाप्रेमी बनी । काकीलाई सबै कुरा हो त नि भन्ने लाग्यो।
आज भोलि भाइ काकीलाई जोईटिंग्रे लागिरहेको छ, बुहारी मुखाले र कपटी लाग्न थालेकी छे, बुहारीका बोलीहरू काकीलाई चेपारो लाग्न थालेको छ, हिजो मिठो मानेर खाने खाना आजभोलि काकीले मुख फाल्न थालेकी छन्। साँच्चै कान्छीले के घोलेर पिलाई कुन्नि काकीले अचेल उल्टो मात्रै सोचिरहन्छिन् ।
काकालाई काकीको कचकच मन परेकै छैन, बुहारीलाई केही भनेको उनलाई मन पर्दैन । नारीको शत्रु नारी भन्दै काका भुट्भुटिदै कौशीमा बसेर गीता पाठ गरिरहन्छन् दिनदिनै ।
हिजो फेरि मैना माइत आई, सासू र नन्दसँग ठासठुस परेर । आमासँग सासू ससुरा, नन्द अमाजूका कुरा काट्दै आफ्नो श्रीमानको तारिफÞ गर्दैथिई– आमा, अचेल त म ढिलो उठ्छु, ज्वाइँले सबै काम सकेर बेडरूममै चिया ल्याईदिए पछि बल्ल उठ्छु। बुढाबूढीहरु मन नै पर्दैन अचेल, जहिले पनि किचकिच किचकिच गरिरहने, माछा मासु पकायो कि मुख फाल्छन्, जतिखेर पनि काम गर्नुपर्ने। नन्द पनि जहिले माइतै आउनुपर्ने ह्या क्या घरमा परिछु ! छुट्टिएर एक्लै बस्न मन छ तर के गर्ने !
पुरै एक हप्ता माइत बसी मैना, त्यो बीचमा पनि मैलो पखालिएन उसको। अन्तमा काकीले मैनालाई छुट्टिएरै बस्ने सल्लाह दिइन् । आफ्नी छोरी बेखुसी देख्ने उनको साहस हुने कुरै भएन, ज्वाइँलाई बोलाइन् र त्यो सगोलबाट नछुट्टिएसम्म घर नपठाउने अड्डी लिइन् काकीले । एक्लो छोराकी आमा काकीले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको आफैं पत्तो पाइनन्।
अचेल मैनाको प्रशिक्षणपछि काकीले छोरीलाई सबै काम सघाउने ज्वाइँलाई देउता जस्तो देख्न थालेकी छन्, सम्धी सम्धिनीलाई कचकचे अनि आफ्नै छोरालाई बुहारीको अघिपछि लागिरहने जोईटिंग्रे। यो दुई परिवारमा अब के के हुने हो आगामी कथा मैनाकै निर्देशनमा अघि बढ्ने छ ।
अन्ततः मैनाको ढिपीमा ज्वाइँ साहेबले लालमोहर लगाइदिए। बाबुआमासँग विद्रोह गरेर छुट्टै भात भान्साको जोहो गर्न थाले । बुढाबुढी सुस्केरा हालेर एक्लै पकाउने खाने गरेको दृष्य टीठ लाग्दो देखिन्थ्यो । नन्द पनि बिहे भएर गैसकेकी थिइन्।
हिजो मैनाले काकीलाई फोन गरी । दुई जनाको जिन्दगी मजाले बितिरहेको छ रे। ज्वाइँ पहिलेभन्दा पनि सहयोगी भएका छन् रे । काकीले ज्वाइँलाई साक्षात् देवतासँग तुलना गरी मैनालाई भाग्यमानी छेस् तँ भनिरहिन्, यता आफ्ना बा आमालाई भगवान जस्तै श्रद्धा गर्ने छोरा र बत्तिस लक्षणले युक्त बुहारीको कुरा काटिरहिन्।
छोरी र बुहारी एउटै नदेख्ने यो समाज सुध्रेको हेर्न कहिले पाइने हो कुन्नि ? आफ्नै सिसाको महल भएकाले अरूको झ्यालमा ढुंगा हानेर के गर्न खोजेका होलान् यी आमा छोरी ! सायद भोलि छोरीको घरमा जस्तै छुट्टिएर एक्लै बस्नुपर्ने हो कि भनेर काकाले मसँग गुनासो गर्दै थिए । मसँग त्यो जटिल प्रश्नको जवाफ नै थिएन।