भोजपुर नेपालडाँडाका ३५ वर्षीय पर्शूराम गौतमको पेट असाध्यै दुखेपछि उनलाई उपचरका लागि हेलिकप्टर चार्टर गरेर बुधबार वीर अस्पताल ल्याइयो। उनको जाँचपछि चिकित्सकले एपेन्डीसाइटिस भएको शंका गरे।उनलाई अल्ट्रासाउन्ड गर्न भनियो। तर रेडियालोजी विभागका चिकित्सकले अल्ट्रासाउन्ड गर्न नमानेपछि उनलाई स्लाइनसहित वीरनजिकैको निजी क्लिनिकमा लगियो। त्यहाँ पनि अल्ट्रासाउन्ड नभएपछि बिरामी र आफन्त निरास हुँदै फर्के।
त्यसपछि चिकित्सकले एपिन्डसाइटिसका शल्यक्रिया गरे। चिकित्सकले गरेको अन्दाज शल्यक्रिया सहि ठहरियो।'चिकित्सकले शंका गरेअनुसार नै एपिन्डिसाटिस भएको रहेछ , त्यसैले ज्यान बाँच्ने भयो ,' गौतमका आफन्त निरञ्जन भट्टराईले भने।
'वीरजस्तो ठूलो अस्पतालमासमेत अल्ट्रासाउन्ड नभएर अन्दाजको भरमा शल्यक्रिया गर्दा दुःख लाग्यो।' गौतमको अहिले मेल सर्जिकल वार्डमा उपचार भइरहेको छ। दुई लाख खर्च गरेर उनलाई हेलिकप्टरबाट ल्याइएको थियो।