दलहरुले शनिबार राती गरेको सहमतिमा रुकुम जिल्लालाई टुक्रयाइएको भन्दैरुकुम जिल्ला सदरमुकाम मुसिकोटमा आइतबार प्रर्दशन गरिएको छ।
शनिबार राती दलहरु सहमतिमा रुकुम पूर्वको भागलाई नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी वाग्लुङ्ग (पश्चिम भाग), रोल्पा, प्युठान, दाङ्ग, बाके र बर्दियासँग र रुकुमको पश्चिम भाग सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, वैतडी, डडेल्धुरा कञ्चनपुर, कैलालीसँग जोडेर प्रदेश निर्माण गर्ने सहमति भएको थियो।
नागरिक समाज रुकुमको अगुवाइमा नाराबाजी सहित सदरमुकाम मुसिकोट बजारलाई परिक्रमा गरी कोण सभा गरिएको थियो। कोणसभामा बोल्दै नागरिक अगुवाहरुले रुकुमलाई टुक्रा पार्न नहुनेमा जोड दिएका थिए।
निहित राजनैतिक स्वार्थका कारण रुकुमलाई खण्डित गरिएको र यसले रुकुम र रुकुमेलीलाई मर्माहत बनाएको उनीहरुको भनाई थियो।
जिल्लालाई पूर्वपश्चिम छुट्याउँदा जडिबुडीको स्रोतले सम्पन मानिने पुर्वी क्षेत्र र कृषि उत्पादनको हिसावले महत्वपुर्ण मानिने पश्चिम क्षेत्र समेत विभाजित हुने भन्दै उनीहरुले विरोध जनाएका हुन्।
रुकुम र सल्यानका सभासदहरुले रुकुम सल्यानलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने भन्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको ध्यानाकर्षण गराएका छन्। रुकुमको क्षेत्र नंं. १बाट निर्वाचित सभासद गणेशमान पुन, समानुपातिक सभासद दलजित श्रीपाली र सल्यान क्षेत्र नंं. १बाट निर्वाचित सभासद टेकबहादुर बस्नेतले सिङ्गो रुकुम र सल्यानलाई पश्चिम क्षेत्रमा नभै राप्तीका अरु जिल्ला जस्तै प्रदेश नम्बर ५ मा राख्न आग्रह गरेका हुन्।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बावुराम भट्टराईलाई भेटी म्याग्दी जिल्लालाई पनि ५नम्बर प्रदेशमा राख्नुपर्ने र बाग्लुङ पनि नटुक्र्याउन लिखित आग्रह गरिएको सभासद गणेशमान पुनले जानकारी दिए।
'यस अघि भएको सैद्धान्तिक सहमति अनुसार मगरात र थारुवानको कुरालाई पनि हामीले जोडतोडका साथ उठाएका छौं।' सभासद गणेशमान पुनले भने, …विशेष गरी मगर, थारु लगायतका थुप्रै समुदायको पहिचान मेट्ने काम भएको छ यसलाई तुरुन्त सच्चयाइयोस्।'