भदौ २४ गते खुलेको अपराधको 'प्यान्डोरा बक्स'
जेनजी आन्दोलनको रापले दुई दिनमै सत्ता पल्टाउने संसारकै विरल घटना एक वर्षअघि नेपालमा भएको थियो। तर त्यसकै आडमा संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँका कारागारमाथि हमला हुँदा हजारौं अपराधी फरार भए।
आन्दोलन क्रममा सिर्जित अराजकता र कारागारमा भएको आगजनीका कारण कैदीबन्दीको ज्यान जोखिममा परेपछि कतिपय ठाउँमा जेलका ढोकाहरू नै खोलिएका थिए।
र, त्यही ढोकासँगै खुलेको थियो — अपराधको 'प्यान्डोरा बक्स'।
जेलबाट भागेका तिनै अपराधीले एक वर्षको अन्तरालमा हिंसा, लुटपाट र हत्याको शृंखला दोहोर्याएका घटना बाहिरिएका छन्।
कारागार व्यवस्था विभागका सूचना अधिकारी शिवकुमार अधिकारीका अनुसार भदौ २४ गते देशभरका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५ सयभन्दा बढी कैदीबन्दी र बालकैदी फरार भएका थिए। तीमध्ये ९ हजार ७२५ जना पुनः नियन्त्रणमा आएका छन् भने ३ हजार २७६ जना अझै फरार छन्।
पुन: नियन्त्रणमा आएकाहरू केही स्वतः फर्किएका थिए भने केही प्रहरीद्वारा पक्राउ गरिएका थिए।
जेलबाट भागिसकेपछि पुनः पक्राउ परेका कतिपय कैदीबन्दी थप गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको भेटिएको छ।
त्यस्ता कैदीबन्दीले जेलबाट फरार भएपछि गरेका अपराधका केही प्रतिनिधि घटना यस प्रकार छन् —
सन्तबहादुर तामाङ
काभ्रेको पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङ बलात्कार मुद्दामा सजाय काटिरहेका थिए। तीन वर्षदेखि नख्खु कारागारमा रहेका उनी भदौ २४ गते अरू कैदीहरूसँगै जेलबाट फरार भए।
जेलबाट भागेर उनी सिधै पनौतीस्थित घर पुगे।
त्यसपछि घरपरिवारसँगै बसिरहेका उनले असोज २ गते आफ्नी ३० वर्षकी श्रीमती मनिषाको हत्या गरे।
श्रीमतीको हत्यापछि शव घरबाट ५ सय मिटर पर रहेको आफ्नै बारीमा खाल्डो खनेर गाडे र भोलिपल्ट असोज ३ गते नख्खु कारागार फर्किए।
प्रहरीलाई दिएको बयानमा सन्तबहादुरले आफ्नी श्रीमती परपुरूषसँग सम्बन्धमा रहेको शंकाका आधारमा हत्या गरेको स्वीकार गरेका छन्।
खिमबहादुर बिक
दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानीजरूवाका खिमबहादुर कर्तव्यज्यान मुद्दामा दोषी ठहर भएका थिए।
उनलाई अदालतले २५ वर्षको सजाय तोकेको थियो। यही कैद सजाय भुक्तान गरिरहँदा भदौ २४ गते तुलसीपुर कारागारमा भएको आगजनी र तोडफोड क्रममा अन्य कैदीबन्दीसँगै उनी पनि कारागारबाट निस्किए।
फरार भएको एक महिना नबित्दै उनी फेरि अपराधमा संलग्न भए।
घटना गत असोज ११ गतेको हो। जेलबाट भागेका खिमबहादुरले तुलसीपुर-५ रानीजरूवाकै ५३ वर्षीय एक स्थानीय व्यक्तिमाथि धारिलो हतियार प्रहार गरेका थिए। त्यस दिन बेलुकी ८ बजे आफूसँगै अरू दुई जनालाई पनि लिएर उनी ती व्यक्तिमाथि हमला गर्न गएका थिए र धारिलो हतियार प्रहार गरी फरार भएका थिए।
असोज १५ गते पीडितले जाहेरी दिएपछि खिमबहादुरविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।
खोजी गर्ने क्रममा दंगीशरण गाउँपालिका-२ सातखुटी गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले खिमबहादुरलाई पक्राउ गरेको थियो।
आकाश मगर

भदौ २४ गते कारागारबाट फरार भएका व्यक्तिबाट गम्भीर प्रकृतिको अपराध काठमाडौंमै पनि भएको छ।
काठमाडौंको पर्यटकीय क्षेत्र मानिने ठमेलमा असोज १३ गते एक युवकको खुकुरी प्रहार गरी हत्या भएको थियो। मारिएका व्यक्ति मकवानपुर घर भई मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङ थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले असोज १४ गते सुरजलाई मृत घोषणा गर्यो।
प्रहरीले अनुसन्धान क्रममा हत्याका आरोपी जेनजी आन्दोलन क्रममा कारागारबाट भागेका व्यक्ति भएको पहिचान गर्यो।
ती व्यक्ति दाङ राप्ती गाउँपालिका-१ का आकाश मगर रहेको खुलेको थियो। उनी लागुऔषध मुद्दामा २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा थिए।
भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर भागेका उनलाई प्रहरीले आपराधिक घटना भइसकेपछि खोजेर पक्राउ गरेको थियो।
उनलाई घटना भएको दुई महिनापछि पुस ९ गते रोल्पाबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
सञ्जय बिक

बागलुङको गल्कोट नगरपालिका-९ मल्मका २९ वर्षीय सञ्जय बिक भदौ २४ गते कास्की कारागारबाट भागेका थिए।
उनलाई २०८० मंसिर ५ गते पोखराको नागढुंगास्थित एक होटलमा हत्या गरेको कसुरमा दोषी ठहर गर्दै २०८२ जेठ २७ गते जन्मकैद र ७० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। अनुसन्धान क्रममा सञ्जयले ती महिलालाई होटलमा लगेर घाँटी थिचेर हत्या गरी गरगहना लुटेको खुलेको थियो।
उनै सञ्जय भदौ २४ गते कारागारबाट फरार भई फेरि हत्या र लुटपाटको घटनामा संलग्न रहेका थिए।
उनले २०८२ चैत २३ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका, टाँगीकोट टोलमा ७५ वर्षीय जिउनराम थनेत र उनकी ७१ वर्षीया श्रीमती गुलबसनिया थनेतमाथि आक्रमण गरी सुनका गरगहना लुटेको आरोप छ।
टाउकोमा गम्भीर चोट लागेका जिउनरामको उपचार क्रममा चितवनस्थित अस्पतालमा मृत्यु भएको थियो।
उनी वैशाख १५ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई काठमाडौंबाट नवलपुर लगिएको थियो।
सपना तामाङ

भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार हुनेमा नुवाकोट बिदुरकी सपना तामाङ पनि थिइन्।
उनीमाथि २०७७ सालमा रसुवामा ६ वर्षीया बालिकाको सुनको टप लुटेपछि घटना बाहिरिने डरले हत्या गरेको आरोप थियो। उनीविरूद्ध अपहरण र डाँका चोरीको कसुर पनि थियो। यिनै कसुरमा दोषी ठहर भएकी उनी २५ वर्ष कैद सजाय भुक्तान गरिरहेकी थिइन्।
उनलाई सुन्धारा कारागार ल्याइएको धेरै भएको थिएन। जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेपछि उनलाई फेरि पक्राउ गरिएको थियो।
त्यसपछि कारागारको महिला बन्दीगृहमा सीता थापासँग उनको चिनजान भयो। सीताका छोरा समीरलाई पनि उनले कारागारमै भेटिन्।
'आमा भेट्न जाँदा समीर र सपनाको चिनजान भएको रहेछ। चिनजान भएपछि कारागारभित्रै रहँदा उनीहरूको नम्बर साटासाट भएको देखिन्छ। सपनाले समीर र उनका बुबाको समेत नम्बर लिएको पाइएको छ। यो कुरा सपनाले स्वीकार गरेकी छन्,' त्यतिबेला अनुसन्धानमा संलग्न प्रहरीले भनेका थिए।
उनी जेठ १ गते बिहान साढे १ बजेतिर कारागार भित्रपट्टि केही सामान राखेर पर्खाल चढेर फेरि फरार भइन्। प्रहरीले अनुसन्धान गर्दा सिसिटिभीमा उनी भागेको देखिएको थियो।
पछि उनी समीरसँगै कोठामा पक्राउ परेकी थिइन्।
कर्मा तामाङ
सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङले जेनजी आन्दोलनमा फरार भएर एउटा समूह नै बनाए। उनले त्यही समूहमार्फत लुटपाटका श्रृंखलाबद्ध आतंक मच्चाएका थिए।
उनी भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट भागेका थिए। हिरासतबाट भागेर उनी चोरी, लुटपाट र डाँका मार्ने कार्यमा संलग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीविरूद्ध २०७९ यता मात्रै ९ वटा मुद्दा दायर भएका थिए।
उनको लुटपाट गर्ने समूहमा काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरूङ र मनोज तामाङ पनि संलग्न थिए। प्रहरीले उनीहरू सबैलाई पक्राउ गरेको थियो।
कर्माको यो समूहले पछिल्लो केही महिनामै धापासी, शान्तिनगर लगायत काठमाडौंका विभिन्न ठाउँमा लुटपाट गरेको घटना बाहिरिएको थियो।
प्रहरीले गत साउन १६ गते कर्मालाई पक्राउ गर्न गोली नै चलायो। उनले प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्दा दुई राउन्ड हवाई फायर गरिएको थियो।
हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले उनको खुट्टामा गोली हानेको थियो। गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो।