'घरमा परिवारका सपना, भविष्यका आशा र भावनाहरू मिसिएका थिए'
श्यामकृष्ण खाँणको राजनीतिसँग कुनै नाता छैन। सानैदेखि पर्यटनमा रूचि भएका उनी उदयपुरमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र चलाइरहेका छन्।
तर राजनीतिसँग कुनै नाता नभए पनि गत वर्ष जेनजी आन्दोलनमा उनी राजनीतिक नाताको सिकार भए।
जीवनमा कहिल्यै कुनै राजनीतिक पदमा नरहेका र आफ्नो व्यवसायमा मात्र संलग्न रहँदै आएका श्यामकृष्णको दोष भनेकै कांग्रेस राजनीतिमा लागेका बालकृष्ण र रामकृष्ण खाँणको सहोदर भाइ हुनु थियो!
त्यसमा पनि पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कान्छा भाइ भएकै कारण गत वर्ष भदौ २४ गते उनको घर पनि तोडफोड र आगजनीमा परेको थियो।
रूपन्देहीको मणिग्रामबाट करिब डेढ किलोमिटर पूर्व 'चार नम्बर' मा एउटै कम्पाउन्डभित्र खाँण दाजुभाइका एक-एकवटा घर र एउटा पुर्ख्यौली घर छन्। वर्षदिन बितिसक्दा पनि भदौ २४ गतेको विध्वंशका निसानी अझै हटेका छैनन्। सडक किनारमै जोडिएको फलामे गेटमा आगोको मुस्लोले पोलेको कालो अझै मेटिएको छैन। घरको आँगनमा सामानहरू जलाउँदा पग्लिएको प्लास्टिक अझै उप्किएको छैन।
सोमबार बिहान हामी पुग्दा ५९ वर्षीय श्यामकृष्ण आँगनमा एक्लै उभिएर टोलाइरहेका थिए। कालो फलामे गेट आधा खुल्लै थियो। एक वर्षअघिसम्म मानिसहरूको भिडभाड हुने आँगन सुनसान थियो।
गेटभित्र प्रवेश गरेपछि मैले आफ्नो परिचय दिएर कुराकानीका लागि अनुमति लिएँ।
उनले 'कुरा राखेर के नै पो हुन्छ र!' भन्दै सुरूमा खासै चासो दिएनन्, तर पछि कुरा गर्न तयार भए।

उनको गुनासो राज्य र समाजप्रति धेरै छ।
'कसैको व्यक्तिगत राजनीतिक संलग्नतालाई लिएर परिवारका अन्य निर्दोष सदस्यहरूलाई निसाना बनाउन पाइन्छ?' उनको प्रश्न छ, 'मेरो राजनीतिसँग कुनै नाता छैन। परिवारका कोही सदस्य राजनीतिमा छन् भन्दैमा राजनीतिक प्रतिशोध साधेर अरू सदस्यमाथि आक्रमण गर्नु कहाँको न्याय हो?'
खाँण परिवार २०२० सालतिर स्याङ्जाबाट बसाइँ सरेर तिलोत्तमा नगरपालिका-८, चार नम्बरमा बसोबास गर्न थालेको थियो। चार दाजुभाइमध्ये बालकृष्ण र रामकृष्ण कांग्रेस राजनीतिमा लागे भने अर्का भाइ हरिकृष्ण प्रहरी सेवामा र कान्छा भाइ श्यामकृष्ण पर्यटन क्षेत्रमा लागेका थिए।
उदयपुरमा रहेको 'फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर' का प्रिन्सिपल रहेका श्यामकृष्ण भदौ २४ को घटना हुँदा मणिग्रामस्थित घर आउँदै थिए।
एउटै कम्पाउन्डभित्र आधा दर्जन घर रहे पनि एक-दुई जना सहयोगीबाहेक श्यामकृष्णको घरमा उनकी ९३ वर्षीया आमा टोपकुमारी खाँण र श्रीमती जमुना मल्ल मात्र थिए। भदौ २३ को घटनाबाट आक्रोशित समूहले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरूका निजी निवासमा तोडफोड सुरू गरेको र त्यस क्रममा आफ्नो घरमा पनि हमला भएको थाहा पाएपछि रातारात उदयपुरबाट हिँडेको उनी बताउँछन्।
'बाटोमा आउँदा आउँदै मेरो आफ्नो र दाइका घरहरूमा आगजनी भएको खबर पाएँ। पटक पटक गरी आएका साना-ठूला समूहले हाम्रो एउटै कम्पाउन्डभित्र रहेका ६ वटा घर र अन्य संरचनामा आगो लगाइदिएछन्,' श्यामकृष्णले भने।
उदयपुरबाट कर्फ्युको परवाह नगरी रातारात आएको भए पनि उनी सिधै घर जान सकेनन्। सुरक्षाका कारण घर जान ठिक हुँदैन भनेर सबैले सुझाव दिएपछि उनले त्यो रात गाउँकै साथीको घरमा बिताए।
आगजनी हुँदा घरभित्रै रहेकी आमा र श्रीमतीलाई छरछिमेकको मद्दतले एकसरो लुगामै घरबाट निकालिएको पनि उनले थाहा पाए।
'आफ्नो घरमा दनदनी आगो बलेको, पुर्ख्यौली घरसमेत ध्वस्त पारिएको थाहा पाएर पनि जान नसक्नुको पीडा कस्तो हुन्छ, त्यो मलाई सोध्नुस्!' श्यामकृष्णले भने, 'त्यो रात छटपटीमै बित्यो। न बिराउनु न डराउनु भन्छन्, तर कहिलेकाहीँ नबिराउँदा पनि डरमर्दो स्थिति हुँदो रहेछ!'


उनी भोलिपल्ट दिउँसो कर्फ्युकै बीच आफ्नो जलेको घर हेर्न पुगेका थिए।
उनले देखे — घरबाट धूवाँको कालो मुस्लो निस्किरहेको थियो।
उनले देखे — घरका झ्याल-ढोका, कोठाभित्रका दराज, पलङ, कुर्सी, टेबल, लत्ताकपडा लगायत सबै सामानमा आगो दन्किरहेकै थियो।
उनले यो पनि देखे — घरभित्र जल्न बाँकी केही थिएनन्। कतिपय बहुमूल्य सामान आगो लगाउन आएको समूहले लुटेर लगेका थिए।
'त्यो बेला सबैमा त्रास थियो। मेरो घर बाहिर जम्मा हुन पनि मानिसहरू डराइरहेका थिए। जो हेर्न आएका थिए, उनीहरूका आँखा पनि त्रसित देखिन्थे,' श्यामकृष्णले भने, 'म दनदनी आगो जलिरहेको घरभित्र हिम्मत गरेर छिरेँ। दुई-चार जना साथी सँगै थिए। हामी सबैले पानी हालेर आगो निभाउने प्रयास गर्यौं। तर रातभरि लागेको आगोले सब खरानी पारिसकेको थियो। केही पनि बचाउन सकिएन। केही पुर्ख्यौली निसानीहरू थिए, ती पनि सब खरानी भए।'
उनका अनुसार, त्यो घटनापछि आमा टोपकुमारीलाई आठ महिनासम्म केवलपुरमा रहेकी छोरी सरस्वती मल्लको घरमा राखिएको थियो।
घर मर्मत गरेपछि गत चैतमा मात्र आमालाई यहाँ सारिएको उनी बताउँछन्।
'घरका केही संरचना मर्मत गरेर बस्न मिल्नेसम्म बनाएको छु, आमालाई घरमा भएका सबै क्षतिबारे अहिलेसम्म हामीले जानकारी दिएका छैनौं,' उनले भने।
उनी आफू कामको सिलसिलामा अधिकांश समय घरबाहिरै बस्ने भए पनि गत वर्षको घटनापछि काममा फर्किन सकेका छैनन्। यसबीच १०/१५ दिन काममा गए पनि बाँकी समय यतै बसेर घर मर्मत र जीर्णोद्धारको काममा लागेको उनले बताए।
उनको प्याराग्लाइडिङ ट्रेनिङ सेन्टरमा वर्षको आठवटा सेसन चल्छ। पछिल्लो एक वर्षमा श्यामकृष्णले एउटा सेसनमा मात्र प्रशिक्षण दिएका छन्।
'देश परिवर्तनका लागि हुने आन्दोलनमा हाम्रो पनि साथ हुन्थ्यो, तर आन्दोलनको बहानामा राजनीतिसँग कुनै सरोकार नै नभएको व्यक्तिको घरमा गरिएको आगजनी र तोडफोडको घटनाले एक वर्ष हाम्रो परिवारलाई ठूलो पीडा दियो,' उनले भने, 'यी घरहरू इँटा र सिमेन्टले मात्र बनेका थिएनन्, हाम्रो परिवारका सपना, छोराछोरीको भविष्यका आशा र भावनाहरू मिसिएका थिए। ती सबै जलेर खरानी भएको देख्दा साह्रै पीडा हुँदो रहेछ!'

यति मात्र होइन, आफ्नो परिवार एक वर्ष अनाहकमै शरणार्थीजस्तै घरबारविहीन हुनुपर्दा र पहिलो पटक घरबाहिर चाडपर्व मनाउनुपर्दाको पीडा पनि शब्दमा वर्णन गर्न नसक्ने उनी बताउँछन्।
'चाडपर्व भनेको परिवार र आफन्तहरूसँगै बसेर खुसी साट्ने, मीठो-मसिनो खाने र रमाइलो गर्ने समय हो। तर जब कसैले आफ्नो सर्वस्व गुमाएर घरबाहिर चाड मनाउन बाध्य हुनुपर्छ, त्यो पीडा व्यक्त गर्नै सकिँदैन रहेछ,' उनले भने।
आफ्नो घर मर्मत गरेर बस्न मिल्ने बनाए पनि पुर्ख्यौली र दाजु बालकृष्णको घर भने दसैंपछि मात्र मर्मत गर्ने योजना रहेको उनले जानकारी दिए।
यो विध्वंसमा कति आर्थिक क्षति भयो भन्ने कुनै हिसाब उनले राखेका छैनन्। भन्छन्, 'क्षतिपूर्ति पाउने कुनै आशा नभएपछि क्षतिको हिसाब राखेर के गर्नु?'
'आमाबुबाले हामीलाई पुग्ने गरी सम्पत्ति जोडिदिनुभएको छ, हामीसँग आफ्नै सीप छ, त्यही सीप प्रयोग गरेर फेरि उठ्ने कोसिस गर्दैछौं,' उनले थपे।
आगोले खरानी बनेको, प्लास्टर र रङ उप्किएको घरको भित्तामा सिमेन्ट र रङ लगाएर मर्मत गरे पनि मानिस नै शत्रु बनेर गरिएको आगजनीको घटनाले मन कुँडिएको उनी बताउँछन्।
'प्राकृतिक विपत्तिले क्षति भएको भए मन बुझाउन सकिन्थ्यो होला, तर मानिस नै शत्रु बनेर लागेपछि चित्त दुख्दो रहेछ,' उनी भन्छन्।
***