जेनजी आन्दोलनको स्मृति बोकेको सिंहदरबारको आगोको लप्का र धुवाँको मुस्लो
राजनीतिक तख्ता पल्टाउने हरेक आन्दोलनले भविष्यका लागि एउटा मानक स्मृति छाडेर गएको हुन्छ।
२०४६ को जनआन्दोलन सम्झिँदा आज पनि दरबारमार्गको महेन्द्र शालिकमाथि चढेर राजदण्ड झिकिरहेका युवकको तस्बिर याद आउँछ।
त्यस्तै, २०६२/६३ को दोस्रो जनआन्दोलन सम्झाउने मानक चक्रपथको नागबेली बाटोभरि उर्लिएको मानव सागर बन्यो।
गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनले छाडेको मानक स्मृति भने आगोको रातो लप्का र धुवाँको कालो मुस्लो छुटिरहेको सिंहदरबार हो।
जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता मात्र पल्टाएन, राणाकालीन इतिहासको वैभव बोकेको सिंहदरबारलाई पनि खण्डहरमा परिणत गरिदियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि संघीय मन्त्रालयहरू रहेको देशको प्रमुख प्रशासनिक केन्द्रमा हमला हुँदा यहीँ सुरक्षार्थ खटिएको सेनाको सिंगो ब्यारेक नै मूकदर्शक बनेको थियो।
सेना, प्रहरी र सशस्त्रको कडा सुरक्षाबीच दनदनी आगो सल्किएर संसारभरिका मिडियाको आवरण तस्बिर बनेको सिंहदरबारको आजको स्थिति के छ?
त्यति बेला आगोले स्वाहा भएका प्रधानमन्त्री कार्यालय र अरू मन्त्रालयहरू कति बने? कति बन्दै छन्? कुन निकायको पुनर्निर्माण कहाँ पुग्यो?
जेनजी आन्दोलनको एक वर्षमा हामी सिंहदरबारलाई फर्केर हेर्दैछौं।
-1757416219-1761675624.jpg)
भदौ २४ को हमलामा आन्दोलनकारीहरूको सबभन्दा ठूलो निसानामा परेको सिंहदरबारको मुख्य भवन अर्थात् पश्चिमी मोहडा हो।
हामीले सिंहदरबारबारे सुन्ने बेलायती बैठकदेखि स्टेट हलसम्म र चन्द्रशमशेर जंगबहादुर राणाको शयनकक्षदेखि अन्य महत्त्वपूर्ण कोठाहरू समेत पश्चिमी मोहडामै पर्छन्।
त्यस दिन पश्चिमी मोहडामा सल्किएको आगो दुई दिनसम्म निभेको थिएन। २०७२ को भुइँचालोमा खण्डहर बनेको यो भागलाई पछि पुनर्निर्माण गरेर पुरानै स्वरूपमा ढालिएको थियो। यसपालि भने लामो समय आगो लागेर बाहिरी संरचना ध्वस्त भएको र भित्री संरचना पूरै मक्किएकाले पुनर्निर्माणमा समस्या देखिएको छ।
यहाँ युरोपेली शैलीमा निर्मित छानाहरू मझेरीमा झरेका छन् भने परम्परागत वास्तुकलाको अँगार मात्रै भेटिन्छ। त्यही भएर वर्षदिन बित्नै लाग्दा पनि सिंहदरबारको यो मूल खण्डको पुनर्निर्माण सुरू भएको छैन।
प्रधानमन्त्री बालेन शाहले चैत १३ गते शपथ लिएलगत्तै प्रधानमन्त्री कार्यालयको पुनर्निर्माण तीव्र रूपमा सम्पन्न गर्न चासो देखाएका थिए। त्यसपछि तत्कालै काम सुरू गरिए पनि विभिन्न जटिलता आएर पुनर्निर्माणमा ढिलाइ भइरहेको अधिकारीहरू बताउँछन्।
सरकारी संरचना पुनर्निर्माणको जिम्मेवारी पाएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठ पश्चिमी मोहडामा लामो समयसम्म लागेको आगोकै कारण पुनर्निर्माणमा जटिलता देखिएको बताउँछन्।
'हामीले अध्ययन क्रममा विभिन्न ठाउँबाट नमूना संकलन गरेका थियौं,' उनले सेतोपाटीसँग भने, 'ती नमूना हेर्दा पुनर्निर्माणका लागि कतिपय ठाउँ भत्काउँदा जटिलता झनै बढ्ने देखिएको छ।'
उनका अनुसार सिंहदरबार पुनर्निर्माणको अध्ययनमा विश्व बैंकले समेत सहयोग गरेको छ।
आगलागीमा परेका संरचना पुनर्निर्माण गर्दा त्यसको क्षमता वृद्धि गर्ने प्रविधि र तौरतरिकाबारे विश्व बैंकले परामर्शदाताहरू पठाएर सहयोग गरेको कंठले जानकारी दिए।
'पूरै आगो निभाउन तीन–चार दिन लागेकाले यहाँको पुनर्निर्माण चुनौतीपूर्ण बनेको छ,' उनले भने, 'दातृ निकायको सहयोगमा केही परामर्शदाता बाहिरबाट आउनुभएको थियो, उहाँहरूले आगलागीमा परेर ध्वस्त भएका यस्ता संरचना कसरी बनाउने भनी केही प्रविधि र तौरतौरिका सिकाउनुभएको छ।'
-1757416213.jpg)
प्राविधिक जटिलता र अड्चनका बाबजुद सरकारले राणाकालीन ऐतिहासिक सिंहदरबारको पश्चिमी मोहडा पुरानै शैलीमा पुनर्निर्माण गर्ने कोसिस गरिरहेको छ। यसका लागि अध्ययनको काम सकेर पुरातत्त्व विभागको सहमति मागिएको उनले बताए।
'पूरै रेट्रोफिटिङ गर्नुपर्ने भएकाले पश्चिमी मोहडाबारे पर्यटन तथा संस्कृति मन्त्रालय र पुरातत्त्व विभागसँग छलफल गरेका थियौं,' कंठले भने, 'छलफलमा पुरातत्त्व विज्ञहरूको उपस्थितिमा हामीले आफ्नो प्रस्तुति दियौं। अध्ययनका निष्कर्षहरू सुनायौं। उहाँहरूले केही सुझाव दिनुभएको छ।'
पुरातत्त्व विभागका सुझाव समेटेर पुनर्निर्माणको डिजाइन फाइनल गर्ने काम भइरहेको जानकारी दिँदै उनले अगाडि भने, 'हामी अहिले सहमतिकै प्रक्रियामा छौं। पुरातत्त्वले सहमति दिएपछि ठेक्का आह्वान गर्ने तयारी छ।'
सिंहदरबारभित्रकै अर्को महत्त्वपूर्ण संरचना तत्कालीन गृह मन्त्रालय भवन पनि पुनर्निर्माणका लागि ठेक्का लगाउन बाँकी छ। प्रधानमन्त्री कार्यालयपछि सबभन्दा धेरै आगलागी यही भवनमा भएको थियो।
सुपरिटेन्डेन्ट इन्जिनियर कंठका अनुसार यो भवन प्रयोग गर्न सकिने अवस्थामा छैन।
'अत्यधिक ड्यामेज भएकाले हामी यो भवनमा पनि नयाँ इन्जिनियरिङ प्रविधि ल्याएर काम गर्दैछौं,' कंठले भने, 'अध्ययन र डिजाइनको काम सम्पन्न भइसकेको छ। हाम्रो कार्यालयका इन्जिनियरले डिजाइन समीक्षा गरेर अन्तिम रूप दिँदै हुनुहुन्छ।'
यसबाहेक जेनजी आन्दोलनको निसानामा परेको सिंहदरबारका पूर्वी, दक्षिणी र उत्तरी मोहडामा भने पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ।
कंठका अनुसार असोज मसान्तभित्र यी तीनवटै मोहडाको पुनर्निर्माण सम्पन्न हुनेछ। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्ने तयारी छ।
-1757416217.jpg)
सिंहदरबार परिसरका अन्य मन्त्रालयको पुनर्निर्माण पनि लगभग अन्तिम चरणमा पुगेको छ।
सामान्य क्षति पुगेका परराष्ट्र मन्त्रालय, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय लगायतका भवन मर्मतसम्भार र रंगरोगनपछि पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन्।
शिक्षा मन्त्रालयकै भवनमा रहेको राष्ट्रिय सतर्कता केन्द्र कार्यालयको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगिसकेको कंठले जानकारी दिए।
उनका अनुसार सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालय भवन पुनर्निर्माणका लागि ठेक्का लगाउन बाँकी छ।
स्वास्थ्य मन्त्रालयको भवन विदेशमा पनि आर्किटेक्टको नमूनाका रूपमा अध्यापन गराइने भएकाले विदेशी अध्येताहरूको चासो रहेको उनले बताए।
'हामी अध्येताहरूको चासो अनुसार नै पुनर्निर्माण गर्ने तयारीमा छौं,' उनले भने।
स्वास्थ्य मन्त्रालयको भवन अमेरिकी आर्किटेक्ट लुइस आई कानले डिजाइन गरेका हुन्। उक्त भवन अमेरिकी परियोजना 'फेमिली प्लानिङ प्रोजेक्ट' अन्तर्गत बनेको थियो।
कानको डिजाइनमा एसियामा तीनवटा भवन निर्माण भएका थिए।
बंगलादेशको ढाकामा संसद भवन लगायतका कम्प्लेक्स उनकै डिजाइनमा बनेको थियो। त्यस्तै, भारतको अहमदाबादमा 'इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट' भवनको डिजाइन पनि उनले नै गरेका थिए।
उनको डिजाइनबारे अध्यापन गराइने भएकाले पुरानो स्वास्थ्य मन्त्रालय रहेको भवन पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्ने तयारी भइरहेको कंठले बताए। यसका लागि पुनर्निर्माणको ठेक्का लाग्न भने बाँकी छ।
सिंहदरबारभित्र आगजनीमा परेका नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दल कार्यालय भने पुनर्निर्माण नगरिने भएको छ। सिंहदरबारको मास्टरप्लान अनुसार उक्त क्षेत्र खाली राख्ने योजना भएकाले त्यहाँ निर्माण कार्य नहुने कंठले बताए।
'नयाँ संसद भवनको निर्माण सकिएपछि दलका कार्यालय पनि नयाँ भवनमै सर्नेछन्,' उनले भने।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाले आजभन्दा ११७ वर्षअघि, विक्रम सम्बत् १९६० मा बडो सोखका साथ युरोपेली शैलीको भव्य दरबार निर्माण गराएका थिए।
उनले यो दरबारको नाम 'सिंहदरबार' किन राखे भन्ने विवरण इतिहासकार पुरुषोत्तमशमशेर राणाले आफ्नो किताब 'श्री ३ हरूको वृत्तान्त' मा लेखेका छन्।
नयाँ दरबारमा सर्नुअघि चन्द्रशमशेरले आफ्ना महारानीहरूलाई अवलोकन भ्रमण गराउन लगेछन्।
कौसीमा पुगेपछि उनकी जेठी महारानी लोकभक्त लक्ष्मीदेवीले भद्रकाली मन्दिरभन्दा पश्चिम धरहराछेउको बागदरबारतिर इशारा गर्दै भनिन्, 'उ बागदरबार!'
चन्द्रशमशेरले महारानी लक्ष्मीदेवीको इशारा पछ्याउँदै बागदरबारतिर हेरेछन्।
त्यसपछि जेठी महारानीले भनिन्, 'महाराज, त्यो बागदरबार हो भने यसको नाम सिंहदरबार राखे कसो होला!'
चन्द्रशमशेरलाई महारानीको कुरा चित्त बुझेछ।
उनले तुरून्तै आफ्नो नयाँ दरबारको नाम 'सिंहदरबार' रहने घोषणा गर्दै त्यसको माथिल्लो सिरानमा अजंग सिंहको धातुको प्रतिमूर्तिसमेत स्थापना गराए।
सिंहको उक्त प्रतिमूर्ति पश्चिमी मोहडाको छतमा अहिले पनि छँदैछ, जहाँ नेपालको राष्ट्रिय झन्डा फरफराइरहेको हुन्थ्यो।
त्यो ठाउँमा फेरि राष्ट्रिय झन्डा फरफराउन अब पश्चिमी मोहडाको पुनर्निर्माण सकिनुपर्नेछ।
तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी
***
-1757416214.jpg)
