तस्बिरमा हेर्नुहोस् गोदावरी सम्मेलन केन्द्रको अहिलेको अवस्था
कुनै अमूक नेतासँग उठेको रिस फेर्न सरकारी सम्पत्ति ध्वस्त पारिएका विभिन्न उदाहरणमध्ये एक हो — ललितपुर गोदावरीको सनराइज सम्मेलन केन्द्र।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको र उनकै पालामा उद्घाटन भएको यो सम्मेलन केन्द्र जेनजी आन्दोलन क्रममा भदौ २४ गते तोडफोड र आगजनी गरेर खण्डहरमा परिणत गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन गर्ने उद्देश्यले निर्माण गरिएको यो सरकारी संरचना जेनजी आन्दोलनको एक वर्षसम्म खण्डहरकै अवस्थामा छ। अहिलेसम्म पुनर्निर्माणको कुनै योजना अघि बढेको छैन।
कुल ४३ रोपनी १५ आना क्षेत्रफलमा बनेको यो सम्मेलन केन्द्रमा करिब ८१ करोड रूपैयाँ लगानी गरिएको थियो। प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त पारेपछि त्यो ८१ करोडको लगानी स्वाहा भएको छ।
उदाउँदो सूर्यको आकारमा डिजाइन गरिएको र समृद्धिको प्रतीक मानिएको यो केन्द्रको मुख्य भवनले मात्रै ११ रोपनी १३ आना जग्गा ओगटेको छ।
यहाँ करिब तीन हजार दर्शक अट्ने क्षमताको सभाहल छ। यसको निर्माण गर्दा देशमै पहिलो पटक ५८ मिटर लामो ट्रस हालिएको थियो।
यो भवनको शिलान्यास २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। त्यसपछि सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग र 'केसी–समानान्तर जेभी' बीच २०७६ कात्तिक २० गते निर्माण सम्झौता भई कात्तिक २१ देखि निर्माणको काम सुरू भएको थियो।
सुरूमा २०७६ चैत २४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण निर्माण अवधि दुई पटक थपियो।
प्रारम्भिक सम्झौता लागत करिब ६२ करोड रूपैयाँ रहेकामा निर्माण पूरा हुँदासम्म यसको खर्च बढेर झन्डै ८१ करोड पुगेको थियो।
२०७८ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री ओलीले 'भर्चुअल' माध्यमबाट यसको उद्घाटन गरेका थिए। त्यसपछि २०७८ असारदेखि यो सम्मेलन केन्द्र 'अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति' मार्फत सञ्चालन हुँदै आएको थियो।
सञ्चालनमा आएको चार वर्षमै यो सम्मेलन केन्द्र ध्वस्त पारियो।
आगजनीका कारण मुख्य सभाहलको छत पूरै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न भनी आयोजना गरिएको यो केन्द्रमा २०८२ भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेले आफ्नो पहिलो विधान महाधिवेशन गरेको थियो। त्यही राजनीतिक कार्यक्रम नै केन्द्रका लागि प्रत्युत्पादक बन्न पुग्यो।
सरकारी स्वामित्वको साझा सम्पत्ति भए पनि ओलीले शिलान्यास गरेको, ओलीले नै उद्घाटन गरेको र ओलीकै नेतृत्वमा एमाले विधान महाधिवेशन गरिएका कारण प्रदर्शनकारीहरूले ओलीसँगको रिस फेर्न यो केन्द्रलाई निशाना बनाएको देखिन्छ।
कुनै समय ठूला कार्यक्रमको केन्द्र बनेको गोदावरी सनराइज सम्मेलन केन्द्र अहिले भने जलेका र भत्किएका संरचनासहित सुनसान छ।
र, पुनर्निर्माणको पर्खाइमा छ।
यस्तो छ सम्मेलन केन्द्रको अहिलेको अवस्था —
-1787210490.jpg)
-1787210491.jpg)
-1787210491.jpg)
-1787210491.jpg)
-1787210490.jpg)
-1787210490.jpg)
-1787210490.jpg)
-1787210490.jpg)
-1787210490.jpg)
-1787210489.jpg)
-1787210489.jpg)
