बचेको केही थिएन, तैपनि उनले भनेका थिए– हामी फेरि बनाउँछौं, तपाईंहरू नआत्तिनुहोला!
कतै बाँसको टेका लगाइएको छ, कतै हरियो पर्दाले छोपिएको छ — बाहिरबाट झट्ट हेर्दा पोखराको 'होटल सरोवर' नयाँ भवन बनेर उद्घाटनको पर्खाइमा उभिएजस्तो देखिन्छ।
तर यो नयाँ भवन होइन।
यो पुनर्निर्माणपछि भर्खर उठ्दै गरेको संरचना हो, जुन गत वर्ष भदौ २४ गते आगजनी र तोडफोडको सिकार भएको थियो।
जेनजी आन्दोलनको एक वर्षमा आमनिर्वाचन भयो, नयाँ सरकार बन्यो, राजनीतिक परिस्थिति फेरियो; तर पोखराको लेकसाइडमा रहेको होटल सरोवरमा पुनर्निर्माणको काम अझै सकिएको छैन।
आन्दोलनले खरानी बनाएको होटललाई पहिलेभन्दा ठूलो, भव्य र अत्याधुनिक बनाउनमा यसका सञ्चालकहरू कम्मर कसेर लागेका छन्।
यसका लागि पुरानो संरचनामा केही परिवर्तन गरिएको छ। एक तला थपिएको छ भने कोठाको संख्या पनि बढाइएको छ। अन्डरग्राउन्ड पार्किङदेखि रूफटप बार र सभाहलसम्मका नयाँ संरचना थपिँदै छन्।
होटलका प्रबन्ध निर्देशक प्रतीक पहारी रूफटपबाट फेवाताल र पोखरा वरिपरिका हिमाल देखिने गरी संरचना तयार पार्न लागेको बताउँछन्।
'रूफटप रेस्टुरेन्ट र सभाहलमा सिसै–सिसा प्रयोग गर्ने योजना छ, ताकि पाहुनाहरूले होटलभित्र बसेरै पोखराको मनोरम दृश्य हेर्न सकून्,' जेनजी आन्दोलनको एक वर्षपछि होटल पुनर्निर्माणको कथा सुनाउँदै पहारीले भने।
उनको यो कथा नयाँ संरचना, नयाँ कोठा र होटलमा थपिन लागेका नयाँ सुविधाको मात्र होइन।
यो भदौ २४ गते एउटा परिवारको दशकौं पुरानो सपना कसरी भग्नावशेषमा बदलियो र त्यही भग्नावशेषबाट फेरि नयाँ सपना कसरी जाग्दैछ भन्ने कथा हो।

भदौ २४ को त्यो दिन
जेनजी आन्दोलनले दोस्रो दिन पोखरामा पनि उग्र रूप लिँदै थियो। सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका घटना सुरू भइसकेका थिए।
त्यति बेला प्रतीक पहारी पोखरामा थिएनन्। पारिवारिक र व्यावसायिक कामको सिलसिलामा उनी काठमाडौं गएका थिए।
उनी भदौ २४ गते काठमाडौंमै बसेर पोखराका घटनाको समाचार हेर्दै थिए। सरकारी कार्यालयहरू जलेका दृश्यले उनको मन बेचैन हुँदै थियो, तर तिनै प्रदर्शनकारीहरू आफ्नो होटलसम्म आइपुग्लान् भन्ने उनले सोचेका थिएनन्।
समाचारमा आँखा दौडाउँदै गर्दा उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो।
फोन गर्ने व्यक्तिले 'तपाईंको होटल जलाउन आउँदैछन्' भन्ने जानकारी दिए।
'किन जलाउने?' प्रतीकले आत्तिँदै भने, 'त्यसो नगर्नुस् प्लिज।'
फोन गर्ने व्यक्तिले 'मैले भनेको मान्दैनन्' भनेर लाइन काटिदिए।
प्रतीकले त्यही नम्बरमा तत्काल कलब्याक गरे, तर फोन उठेन।
उनी तारन्तार फोन गरिरहे, तर उठ्दै उठेन।
केही समयमै प्रदर्शनकारीहरू होटल पुगे। होटलभित्र रहेका कर्मचारीले नै फोन गरेर प्रदर्शनकारीहरू लुटपाट र तोडफोड गर्न आएको जानकारी दिए।
खबर पाएपछि प्रतीकले कास्कीका सुरक्षा निकाय प्रमुखहरूलाई फोन गरे र आफ्नो होटल जोगाइदिन अनुनय गरे। तर त्यति बेला सुरक्षा निकाय पनि उनको अनुनय सुन्ने अवस्थामा थिएन।
होटलका कर्मचारीले भान्सामा राखिएका ४० वटा ग्यास सिलिन्डर हतार–हतार निकाल्न भ्याएछन्। ती सिलिन्डर निकाल्न नसकेको भए अवस्था अझ भयावह हुन सक्थ्यो।
छतमा रहेको रेस्टुरेन्टमा राखिएका दुईवटा नयाँ ग्यास सिलिन्डर निकाल्न भने कसैले भ्याएनन्। आगोले ती सिलिन्डरलाई टिपिहाल्यो।
सिलिन्डर पड्किएपछि आगोको मुस्लो आकाशतर्फ देखियो।
करिब दुई सय किलोमिटर टाढा काठमाडौंमा बसेर प्रतीक आफ्नै होटल जलिरहेको भिडिओ हेर्न अभिशप्त भए।
उनी भोलिपल्ट भदौ २५ गते पोखरा फर्किन खोजे, तर विमानस्थल बन्द थियो। गाडीबाट फर्किन खोज्दा कर्फ्युका कारण सम्भव भएन।
होटलमा आगजनी भएको तीन दिनपछि, भदौ २७ गते मात्र उनी पोखरा आइपुगे।
उनी सिधै होटल पुगे। कर्मचारीहरू भग्नावशेषमा जलेका संरचना व्यवस्थापन गरिरहेका थिए। तोडफोड, लुटपाट र आगजनीले ध्वस्त भएको होटलको अवस्था देखेर प्रतीकका आँखा रसाए।
उनका अनुसार केही कोठामा पेट्रोल भरिएका ग्यालेन र बोतलसमेत भेटिएका थिए। कुनै पनि कोठा र कुनै पनि संरचना आगोबाट बचेको थिएन। आफ्नो आहत मन सम्हाल्दै उनले कर्मचारीलाई एउटै कुरा भने— 'हामी फेरि बनाउँछौं, तपाईंहरू नआत्तिनुहोला।'
भदौ २४ को दिन जल्दै गरेको होटल सरोवर।
सपना र इतिहासको भग्नावशेष
आगलागी हुनुअघि सरोवर होटलमा प्रेसिडेन्सियल स्विटसहित ९६ वटा कोठा थिए। होटलको सबभन्दा माथि स्काई बार थियो। छवटा हल, स्विमिङ पुल, जिम हल, ट्रान्क्विलिटी स्पा लगायतका सुविधा थिए।
करिब १४० जना कर्मचारी कार्यरत रहेकामा उनीहरूको न्यूनतम तलब मासिक २६ हजार रूपैयाँ रहेको पहारी बताउँछन्।
आगलागी भएकै दिन होटलका ६० वटा कोठामा पर्यटक थिए। तोडफोड र आगजनी सुरू भएपछि उनीहरू भागेर ज्यान जोगाउन बाध्य भए। कोठामै छाडिएका पर्यटकका सामान पनि जलेर खरानी भए।
पोखराको 'इको–फ्रेन्ड्ली' होटलका रूपमा चिनिने सरोवरमा १४० किलोवाट क्षमताको सोलार प्यानल थियो। बायोग्यास च्याम्बर राखिएको थियो। होटलको पर्खालमा हिट कन्डक्टरहरू थिए। आगोमा ती सबै जले।
करिब तीन अर्ब रूपैयाँ लगानीमा बनेको होटल त्यस दिन क्षणभरमै भग्नावशेषमा परिणत भएको थियो।
'यो होटलसँग हाम्रो सपना जोडिएको थियो,' पहारीले भने, 'पोखरामा अन्तर्राष्ट्रिय स्तरको सेवा दिऊँ भन्ने उद्देश्यले हामीले यो होटल बनाएका थियौं।'
होटल सरोवरसँग पहारी परिवारको लामो सपना जोडिएको छ। उनीहरूले यो होटल चलाउन थालेको २०३८ सालबाट हो। त्यति बेला दुई तलाको सानो होटल थियो र जम्मा आठवटा कोठा थिए।
त्यसअघि पोखरामा पर्यटक बढ्न थालेपछि पहारी परिवारले आफ्नै बारीमा टेन्ट टाँगेर पर्यटकलाई बसोबासको व्यवस्था गरेको थियो। पछि त्यही ठाउँमा होटल खोलियो।
गत वर्ष आगजनीमा परेको अत्याधुनिक भवन भने सन् २०१५ मा निर्माण गरिएको थियो। होटललाई आधुनिक स्वरूप दिन परिवारले लेकसाइडको चार रोपनी पुर्ख्यौली जग्गा ९ करोड रूपैयाँमा बेचेको थियो। बैंकबाट ३० करोड रूपैयाँ ऋण लिइएको थियो।

प्रतीकका बुबा भरत पहारी सिभिल इन्जिनियर हुन्। पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकबाट अवकाश पाएपछि उनले आधुनिक सरोवर होटल बनाउने सपना अघि बढाएका थिए। उनको सपना पाँचतारे होटल बनाउने थियो। होटलको डिजाइन पनि उनले आफै गरेका थिए।
होटल सरोवर भरत पहारी र उनका भाइ डा. मोहन पहारीको संयुक्त लगानीमा खुलेको थियो। पुर्ख्यौली जग्गा भागबन्डा गर्दा मोहनको भागमा परेको चार रोपनी दुई आना जग्गामा होटल निर्माण गरिएको थियो। डा. मोहन अहिले अमेरिकामा मेडिकल डाक्टर छन्।
होटल निर्माण भइरहेका बेला प्रतीक पहारी चीनमा एमबिए पढ्दै थिए। सन् २०१८ मा चीन पुगेका उनले पेकिङ विश्वविद्यालयबाट एमबिए गरे। त्यसपछि अमेरिकाको कर्नल विश्वविद्यालयमा अध्ययन गरे।
अमेरिकामा प्रतीकसँगै पढेका धेरै नेपाली त्यहीँ जागिर गरेर बसेका छन्। प्रतीक भने पढाइ सकेर पोखरा फर्किए र होटलको व्यवस्थापन सम्हाले।
'अहिले पनि मेरा साथीहरू अमेरिकामा राम्रो जागिर गर्छन्,' उनले भने, 'म यो होटलको एमडी भए पनि उनीहरूले जति कमाउँदिनँ।'
उनी नेपाल फर्किनुको कारण केवल पारिवारिक व्यवसाय सम्हाल्नु थिएन। उनीसँग आफ्नै एउटा सपना थियो — पोखरामै बसेर अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालन गर्ने।
विडम्बना के भने, उनले होटलको व्यवस्थापन सम्हालेको वर्षदिन नपुग्दै कोभिड महामारी सुरू भयो। एक वर्षभन्दा बढी समय होटलको व्यापार ठप्प भयो। होटल नचल्दा बैंक ऋणको किस्ता पनि तिर्न सकिएन।
बैंकबाट लिएको ३० करोड रूपैयाँ ऋण बढेर ६५ करोड पुगेको प्रतीक बताउँछन्।
कोभिड महामारी सकिएपछि होटल व्यवसाय बिस्तारै राम्रो हुँदै थियो। गुणस्तरीय पर्यटक आउन थालेका थिए। धेरै पैसा तिरेर सुविधासँग बस्न चाहने पर्यटकले होटल भरिन थालेका थिए। व्यवसायले लय समात्न थालेको थियो।
तर त्यही बेला अर्को संकट आयो — जेनजी आन्दोलन।
गत वर्ष होटल सरोवरको भग्नावशेषमा प्रबन्ध निर्देशक प्रतीक पहारी। तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
पुनर्निर्माण र नयाँ रूप
आगलागीपछि सुरूमा पहारी होटलका केही भाग मर्मत गरेर तत्काल सञ्चालनमा ल्याउन चाहन्थे।
पूरै संरचना पुनर्निर्माण गर्दा लामो समय लाग्ने भएकाले भान्सा र केही कोठा पहिले तयार पार्ने उनको योजना थियो। तर भवनको विस्तृत परीक्षण गरेपछि त्यो योजना रोकियो।
इन्जिनियर सागर सुवेदीका अनुसार आगलागीका कारण होटलको अन्डरग्राउन्ड संरचना र पिलरबाहेक अधिकांश संरचनामा क्षति पुगेको थियो। पुनर्निर्माण गर्दा होटलको 'इको वाल' पूर्ण रूपमा भत्काएर नयाँ बनाउनुपर्यो। फर्निचर, प्लम्बिङ र विद्युतीय प्रणालीका अधिकांश सामग्री जलेका थिए।
'आगलागीबाट जोगिएको जस्तो देखिएका केही सामान प्रयोग गरेर तत्काल सञ्चालनमा ल्याउन चाहेका थियौं,' पहारीले भने, 'तर अत्यधिक तापक्रमका कारण वालदेखि टायलसम्म र इलेक्ट्रिक सामग्री पनि काम नलाग्ने देखियो। सबै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएपछि तत्काल सञ्चालनमा ल्याउन सकिएन।'
यही कारण पूर्ण रूपमा पुनर्निर्माण गरेर मात्र होटल सञ्चालनमा ल्याउने योजना बनेको उनी बताउँछन्।
पहारीका अनुसार पुनर्निर्माण सकिँदा अब पुरानै होटल जस्ताको तस्तै फर्कने छैन। होटलका केही संरचना परिवर्तन हुने छन्। पाहुना र कर्मचारीहरूले दिएका सुझाव पनि लागू गरेर पुनर्निर्माण भइरहेको उनको भनाइ छ।
पहिले ९ तला रहेको होटल अब १० तलाको हुनेछ। रूफटपमा रहेको बारको ठाउँमा ठूलो सभाहल बन्नेछ। हलमा जान १४ जना अट्ने छुट्टै लिफ्ट हुनेछ। हलभन्दा माथि एक तला थपेर रूफटप बार बन्नेछ।
यति मात्र होइन, स्विमिङ पुलमाथि अर्को हल पनि बनाइएको छ। यसअघि अन्डरग्राउन्डमा रहेको हललाई पार्किङमा परिणत गरिएको छ। प्रेसिडेन्सियल स्विट हटाएर दुईवटा स्विट थपिएको छ।
पहिले ९६ वटा कोठा रहेको होटलमा अब १०७ वटा कोठा हुनेछन्। पहिले एउटा प्रेसिडेन्सियल स्विट र १७ वटा स्विट रहेकामा अब ९ वटा मात्र स्विट हुनेछन्। प्रेसिडेन्सियल स्विट भने रहने छैन।
रूफटपबाट फेवाताल र पोखरा वरिपरिका हिमाल देखिने गरी संरचना तयार पारिँदैछ। रूफटप रेस्टुरेन्ट र सभाहलमा सिसा राख्ने योजना छ।
पुनर्निर्माण क्रममा सुविधा मात्र परिवर्तन गरिएको छैन, सुरक्षामा अझ बढी ध्यान दिइएको पहारी बताउँछन्।
गत वर्षको आगलागीले होटल व्यवस्थापनलाई एउटा कठोर पाठ सिकायो — आपतकालीन अवस्थामा मानिस बाहिर निस्कने बाटो पर्याप्त हुनुपर्छ। त्यसैले नयाँ संरचनामा वैकल्पिक आपतकालीन भर्याङ राखिएको छ।
होटलभित्र फेरि आगलागी वा अन्य आपतकालीन अवस्था आए पाहुना र कर्मचारी बाहिर निस्कन सक्ने गरी बाहिरी भागमा छुट्टै भर्याङ बनाइएको छ। सामान्य अवस्थामा उक्त भर्याङ बन्द रहनेछ, आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न खुला गरिनेछ।
'गत वर्ष होटलभित्र रहेका स्वदेशी तथा विदेशी पर्यटक भागाभाग गर्न बाध्य भएका थिए। प्रदर्शनकारीको भिड, लुटपाट र तोडफोडको बीचमा होटलबाट बाहिर निस्कनुपर्ने अवस्थाले हामीलाई सुरक्षा प्रणालीमा पुनर्विचार गर्न बाध्य बनायो,' पहारीले भने।
होटलले अग्नि नियन्त्रण प्रणाली पनि पहिलेभन्दा बलियो बनाएको छ। इन्जिनियर सुवेदीका अनुसार होटलको तापक्रम ६८ डिग्री सेल्सियस पुगेपछि स्प्रिङ्कल प्रणाली स्वतः सक्रिय हुने गरी जडान गरिएको छ। कोठा र बाटोमा धुवाँ आउनेबित्तिकै अलार्म बज्ने गरी डिटेक्टर राखिएको छ।
अब होटलमा आगलागी भयो भने साइरन मात्र बज्दैन, कोठा र होटलभित्रका बाटाहरूमा राखिएका फायर स्प्रिङ्कलबाट स्वचालित रूपले पानी छरिन थाल्नेछ।
पाइप लगाएर आगलागी भएको ठाउँमा पानी हाल्न मिल्ने व्यवस्था पनि गरिएको इन्जिनियर सुवेदीले जानकारी दिए।


अझै बाँकी छन् चुनौती
पहारीका अनुसार होटल पुनर्निर्माणको काम करिब ७५ प्रतिशत सकिएको छ। कुल ५५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म करिब ३० करोड रूपैयाँ खर्च भइसकेको उनले बताए।
झ्याल, ढोका, टायल, कार्पेट, पेन्टिङ, फर्निसिङ लगायतका काम अझै बाँकी छन्। सिभिल वर्कको काम सकिए पनि इन्टेरियरको काम बाँकी छ।
होटल पूर्ण रूपमा सञ्चालनमा आउन कम्तिमा अझै तीन महिना लाग्ने प्रबन्ध निर्देशक पहारीको अनुमान छ।
पुनर्निर्माणमा ढिलाइ हुनुको कारण निर्माणको कामले मात्र होइन। बिमा कम्पनीबाट रकम प्राप्त हुन ढिलाइ भएको र बैंकबाट थप ऋण लगानीमा पनि समस्या आएको उनले बताए।
'इन्सुरेन्स कम्पनीले एड्भान्स भनेर ५ करोड रूपैयाँ दियो, त्यसपछि दिएको छैन,' पहारीले भने, 'बैंकले ऋण लगानी थप्न पनि आनाकानी गरेको छ। सरकारले होटल पुनर्निर्माण गर्न विदेशबाट सामग्री ल्याउँदा भन्सार छुट दिने निर्णय गरे पनि लागू भएन।'
जेनजी आन्दोलन क्रममा निजी क्षेत्रका व्यवसायमा भएको आगजनी र लुटपाटपछि सरकारले राहत वा सहुलियत कार्यक्रम ल्याउने उनको अपेक्षा थियो। तर बजेटमा त्यस्तो कार्यक्रम नआएको उनी बताउँछन्।
'सरकारले केही न केही सम्बोधन गर्छ होला जस्तो लागेको थियो, तर केही पनि गरेन,' उनले भने, 'निजी क्षेत्रमाथि निरन्तर आक्रमण हुने तर सरकारले केही पनि नगर्ने अवस्था आयो।'
उनका लागि यो केवल एउटा होटलको क्षतिको प्रश्न होइन। उनले यसलाई देशको लगानी वातावरणसँग जोडेर हेरेका छन्।
'एउटा होटल बन्द हुँदा देशले कति राजस्व गुमाउँछ? कति रोजगारी बन्द हुन्छ? यो मेरो व्यक्तिगत नोक्सान मात्र होइन, सिँगो राज्यको नोक्सान हो,' उनले भने।
नेपालमा विदेशी लगानी नआउनुको मुख्य कारण असुरक्षा र सरकारको अस्थिर नीति भएको उनको बुझाइ छ। देशमा रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई टेवा दिने उद्योग–व्यवसायलाई सरकारले सुरक्षा दिन नसक्दा निजी क्षेत्र हतोत्साही भइरहेको उनी बताउँछन्।
'होटलको त बिमा छ, अलिकति ऋण थपिएला, थप जग्गा बेचिएला। तर यसरी समस्या समाधान हुँदैन,' उनले भने, 'यो तोडफोड र आगजनीले देशमै उद्यम गर्ने इच्छा जलाएको छ। म उद्यम गर्न सक्छु, अगाडि बढ्न सक्छु भन्ने चाहनामा आगो लागेको छ।'
सबै तस्बिर: युवराज श्रेष्ठ/सेतोपाटी
***









