सोडियम र म्याग्नेसियम जस्ता रसायन प्रयोगको आशंका गरेको थियो न्यूयोर्क टाइम्सले, के त्यो सत्य हो?
जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायत देशका महत्त्वपूर्ण प्रशासनिक तथा संवैधानिक संरचनाहरूमा आगजनी गरिएको एक महिनापछि अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' मा प्रकाशित एक रिपोर्टले नेपालमा ठूलै चर्चा पायो।
उक्त रिपोर्टमा भनिएको थियो — 'नेपालमा भएको आगजनी तत्कालको आक्रोश जस्तो देखियो, तर प्रमाणले अर्कै संकेत गर्छ।'
दर्जनौं प्रत्यक्षदर्शी, आन्दोलनका सहभागी र विज्ञहरूसँगको अन्तर्वार्ताका साथै फोटो तथा भिडिओ विश्लेषण गरी तयार पारेको भनी दाबी गरिएको उक्त रिपोर्टले देशका प्रमुख संरचनाहरू जलाइनुमा तत्कालको आवेग वा आक्रोश मात्र कारण नभई 'योजनाबद्ध षड्यन्त्र' हुनसक्ने संकेत गरेको थियो।
साथै, सिंहदरबार, सर्वोच्च अदालत लगायतका भवन जलाउँदा पेट्रोलियम पदार्थका साथै अन्य प्रज्वलनशील रसायन समेत प्रयोग भएको हुनसक्ने अनुमान उक्त रिपोर्टमा उल्लेख थियो।
जति बेला न्यूयोर्क टाइम्समा उक्त रिपोर्ट छापियो, त्यति बेलासम्म नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले आगजनी भएका भवनबाट कुनै नमूना संकलन गरिसकेको थिएन। नमूना संकलन नगरिएको तथ्य न्यूयोर्क टाइम्सले नै आफ्नो समाचारमा समेटेको थियो।
उक्त समाचारमा विधि विज्ञान प्रयोगशालाकै एक अधिकारीलाई उद्धृत गर्दै प्रज्वलनशील पदार्थ सोडियम र म्याग्नेसियम प्रयोग भएको हुनसक्ने अनुमान गरिएको थियो।
प्रयोगशालाका प्रहरी अधिकारी पवन ढुंगानाको भनाइ उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको थियो — 'तस्बिरहरू हेर्दा आगलागीको ठूलो स्वरूपलाई ध्यानमा राखेर सोडियम वा म्याग्नेसियम अथवा अन्य रसायन प्रयोग गरिएको हुनसक्ने मेरो आशंका छ। तर परीक्षण वा विश्लेषण नगरी यसबारे निश्चित रूपमा केही भन्न सकिँदैन।'
न्यूयोर्क टाइम्सले लेखेजस्तै जेनजी आन्दोलनमा भएको आगजनीमा रसायन प्रयोग भएको कुरा सत्य हो त? हाम्रा आन्तरिक अनुसन्धानहरूले के भनेका छन्?
यसबारे बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित 'जेनजी आन्दोलन जाँचबुझ आयोग' को प्रतिवेदन अध्ययन गर्दा केही तथ्यहरू अगाडि आउँछन्।
जाँचबुझ आयोगको निष्कर्ष र 'डिस्कर्ड' को प्रमाण
कार्की आयोगको प्रतिवेदनले पनि भदौ २४ गतेको आगजनीमा रासायनिक पदार्थहरू प्रयोग भएको हुनसक्ने अनुमान गरेको छ। तर कुनै वैज्ञानिक विधिबाट तथ्य पुष्टि गर्न सकेको देखिएन भनी प्रतिवेदनमा लेखिएको छ।
प्रतिवेदन अनुसार भदौ २३ गते प्रहरीको गोली लागेर २० जनाको ज्यान गएको थियो। त्यसैको आक्रोशमा भदौ २४ गते आन्दोलनले उग्र रूप लियो। २४ गते मात्रै थप २० जना मारिए। पछि घाइते भई उपचार क्रममा ज्यान गुमाउने र मृत भेटिनेहरूसहित मृतकको कुल संख्या ७६ पुग्यो।
हिंसात्मक रूप लिएको उक्त आन्दोलनमा सामाजिक सञ्जाल 'डिस्कर्ड' को भूमिकाबारे चर्चा गर्दै कार्की आयोगले रासायनिक पदार्थहरू प्रयोग भएको हुनसक्ने उल्लेख गरेको छ।
डिस्कर्डमा भएको कुराकानीमा आगजनीका लागि सिकाइएका विधि र प्रक्रियाका आधारमा आयोगले उक्त शंका व्यक्त गरेको हो।
प्रतिवेदनमा 'मोलोटोभ ककटेल', 'सोडियम' र 'नेपाल्म' रसायन प्रयोग भएको हुनसक्नेबारे छुट्टाछुट्टै बुँदामा चर्चा गरिएको छ —
मोलोटोभ ककटेल: बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने प्रज्वलनशील सामग्रीलाई मोलोटोभ ककटेल भनिन्छ। यसबारे डिस्कर्डको कुराकानीमा ३५६ पटक चर्चा भएको प्रतिवेदनमा उल्लेख छ।
सोडियम र नेपाल्म: डिस्कर्ड संवादमा सोडियम मेटल र नेपाल्म बनाउने सूत्रहरू आदानप्रदान भएको प्रतिवेदनले औंल्याएको छ।
यति मात्र होइन, संसद भवन र अन्य संरचनाहरूमा निकै छोटो समयभित्र तीव्र रूपमा आगो फैलिनुको एउटा कारण सोडियम वा म्याग्नेसियम जस्ता प्रज्वलनशील रसायनको प्रयोग हुनसक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगले सुरक्षा संयन्त्रहरूको समस्या र सुधारका लागि दिइएको सुझावमा 'रसायनको जाँच नेपालमा हुन नसकेको' तथ्य पनि उल्लेख गरेको छ।
नेपालमा परीक्षणको अभाव, भारत पठाइएको नमूनाको निष्कर्ष
कार्की आयोगले भनेजस्तै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ती रसायन परीक्षणको सुविधा नभएपछि केही नमूना भारत पठाइएको थियो।
आयोगले पनि नेपालमा यस्तो परीक्षण सम्भव नभएकाले प्रयोगशालाको स्तरोन्नति गरी विज्ञ जनशक्ति व्यवस्थापन गर्न सिफारिस गरेको थियो।
'भदौ २४ गते संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, शीतल निवास, कान्तिपुर पब्लिकेसन्सको भवन, भाटभटेनी सुपरमार्केट, हिल्टन होटल लगायत विभिन्न होटल तथा निजी व्यापारिक प्रतिष्ठानहरूमा भएका आगजनीमा प्रयोग भएको रसायन जाँच गर्न नेपालभित्र कुनै प्रयोगशाला नभएकाले मित्रराष्ट्र भारतमा जाँच गर्न पठाइएको र नतिजा हालसम्म प्राप्त नभएको यथार्थतामा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको स्तरोन्नति गरी विज्ञसहितको व्यवस्थापन गरिनुपर्ने,' प्रतिवेदनमा भनिएको छ।
जाँचबुझ आयोगले करिब ६ महिना अध्ययन गरी फागुन २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। तर प्रतिवेदन बुझाउने समयसम्म भारत पठाइएको नमूनाको रिपोर्ट प्राप्त भइसकेको थिएन।
त्यति बेला भारतमा नमूना पठाउन नेपालकै प्रयोगशालाका अधिकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानबाट नमूना संकलन गरेका थिए। उक्त नमूना सिलबन्दी गरी नेपाल प्रहरी, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय दूतावास हुँदै भारतको प्रयोगशाला पठाइएको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेले भारतबाट उक्त नमूनाको रिपोर्ट आइसकेको जानकारी दिएका छन्।
उनका अनुसार जेनजी आन्दोलन क्रममा भएको आगजनीमा पेट्रोलियम पदार्थबाहेक अन्य कुनै रसायन प्रयोग भएको पुष्टि भएको छैन।
'भारतीय प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार भदौ २४ गते भएका आगजनीमा पेट्रोलियम पदार्थ मात्रै प्रयोग भएको देखिएको छ। अन्य कुनै रसायन प्रयोग गरिएको थियो भन्ने रिपोर्टमा छैन,' डिआइजी काफ्लेले सेतोपाटीसँग भने।
त्यति बेला आगजनी गर्न कतिपय प्रदर्शनकारीले आ-आफ्नो मोटरसाइकलबाट पेट्रोल झिकेर फ्याँकेका तस्बिर र भिडिओहरू पनि सार्वजनिक भएका थिए। यस आधारमा पनि प्रहरीले पेट्रोलियम पदार्थ मात्र प्रयोग गरिएको आकलन गर्दै आएको थियो।
न्यूयोर्क टाइम्सजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाले उठाएको आशंकापछि ढिलै गरी भए पनि नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न भारत पठाइएको थियो। तर नमूना संकलन गर्न ढिला हुनुले पनि रासायनिक पदार्थको अवशेष फेला नपरेको हो कि भन्ने शंका गरिएको छ।
जे भए पनि भारतीय प्रयोगशालाबाट प्राप्त रिपोर्टले नै रासायनिक पदार्थ प्रयोगका सम्बन्धमा 'नेगेटिभ' नतिजा दिएपछि अहिलेलाई त्यो आशंका हटेको अनुसन्धान अधिकारीहरू बताउँछन्।
नेपालमै किन हुन सकेन परीक्षण?
भदौ २४ गतेको आगजनीमा प्रमुख प्रशासनिक भवनहरूसँगै प्रहरीकै भवनहरू पनि निसानामा परेका थिए। अनुसन्धान गर्ने निकायमै क्षति पुगेकाले लामो समयसम्म काठमाडौंमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको थिएन।
धेरै समयपछि मात्रै प्रहरी अधिकारीहरूले अस्थायी भवनहरूबाट अनुसन्धान अघि बढाएका थिए।
सामान्यतया अनुसन्धान गरी मुद्दा चलाउने हरेक प्रहरी कार्यालयमा 'सिन अफ क्राइम अफिसर' (सोको) हुन्छन्। उनीहरूले घटनास्थलमा खटिएर मुचुल्का उठाउने, प्रमाण, फोटो, कागजात वा विवरणहरू संकलन गर्ने गर्छन्।
भदौ २४ को घटनापछि पनि उक्त शाखाबाट मुचुल्का उठाउने, प्रमाण संकलन लगायतका काम भएको तत्कालीन केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले सेतोपाटीलाई बताएका थिए। तर 'रसायन प्रयोग भएको' चर्चा चलुञ्जेल त्यसबारे परीक्षणका लागि प्रयोगशालामा कुनै पत्राचार गरिएको थिएन।
त्यति बेला एक प्राविधिक प्रहरी अधिकारीले सेतोपाटीसँग नाम नखुलाउने सर्तमा 'यस्ता घटनामा सकेसम्म चाँडो नमूना संकलन गर्नुपर्ने' बताएका थिए।
'कुनै पनि प्रकारको वैज्ञानिक परीक्षणका लागि नमूनाहरू सकेसम्म चाँडो संकलन गर्नुपर्छ। त्यसरी संकलित नमूनाले मात्र यकिन नतिजा दिन्छ। ढिला गरी लिइएको नमूनाबाट परीक्षण गर्न गाह्रो हुन्छ,' ती प्रहरीले भनेका थिए, 'भदौ २४ गतेको केही दिनपछि वर्षा पनि भएको थियो। त्यस कारण पनि रसायन प्रयोग भए/नभएको कुरा यत्तिकै भन्न सकिन्न।'
यसरी लामो समयसम्म संकलन नगरिएको नमूना जाँचबुझ आयोग गठन भएपछि मात्र संकलन गरिएको थियो। यसले पनि रासायनिक पदार्थको प्रयोग पुष्टि नभएको हुनसक्ने शंकामा बल पुर्याएको छ।
उक्त नमूना प्रहरीको आफ्नै प्रयोगशालामा किन परीक्षण हुन सकेन भन्ने प्रश्न पनि उठेको छ।
एक प्रहरी अधिकारीका अनुसार प्रयोगशालामा उपकरण र जनशक्ति मात्र भएर पुग्दैन। निश्चित विधि, प्रक्रिया र अन्य विभिन्न अवस्थाले पनि परीक्षणमा असर पार्ने उनको भनाइ छ।
'परीक्षण कुनै एउटा कुरामा मात्र निर्भर गर्दैन। जनशक्ति वा उपकरण मात्र भएर हुन्न; प्रशिक्षित जनशक्ति चाहिन्छ, रिफरेन्स मटेरियल, कन्ट्रोल्ड स्याम्पल, विधि र प्रक्रियाहरू चाहिन्छन्। यस्ता विविध कुराले फरक पार्छ। यसको 'प्रोटोकल' पनि छुट्टै चाहिन्छ,' ती अधिकारीले स्पष्ट पारे।
***