'सधैं जनताको सेवामा समर्पित रहेँ, ममाथि कसैको किन यस्तो रिस थियो होला?'
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानका लागि बितेको एक वर्ष कुनै भयानक सपनाजस्तो लाग्छ।
त्यो सपनाबाट ब्युँझिँदा उनी अझै तर्सिन्छन्; छातीमा गहिरो घाउ बल्झिएर आउँछ।
घटना हो भदौ २४ को, जुन दिन ठूलो आर्थिक लगानी र मिहिनेतले बनाएको घर र घरभित्रका सरसामान एकै पटक खरानी पारिएको थियो।
अरूले हेर्दा इँटा–सिमेन्टको घर मात्र खरानी बनेको देख्छन्, तर इस्तियाकका लागि त्यो दिन घरसँगै उनका असीमित भावना र असंख्य सम्झना पनि खरानी भएका थिए।
एक जनप्रतिनिधि, जसले सधैं जनताको सेवा र नगरको विकासलाई आफ्नो धर्म माने; उनैले राजनीतिका नाममा आफ्नो जिन्दगीको सबभन्दा ठूलो विपत्ति भोग्नुपर्यो।
उनी यस्ता जनप्रतिनिधि हुन्, जो सधैं हातमा विकासका नक्सा बोकेर नगरवासीको मुहारमा खुसी ल्याउन दौडिरहन्थे, जसले कहिल्यै कसैको कुभलो चिताएनन्।
तर राजनीतिक आँधीबेहरीको सिकार बन्दा उनको आफ्नै घर र सपनाहरू एकै क्षणमा स्वाहा भए।
इस्तियाकका लागि त्यो पल जिन्दगीकै सबभन्दा कठिन परीक्षा थियो — एकातर्फ जीवन र मरणको दोसाँधमा छटपटाइरहेकी जीवनसंगिनी, अर्कातर्फ आगोको लप्कामा खरानी बनिरहेको घर!
'मैले आफूले जानेर कहिल्यै कसैको कुभलो गरेको छु जस्तो लाग्दैन, सधैं जनताको सेवामा समर्पित भइरहेँ, अनि ममाथि कसैको किन यस्तो रिस थियो होला?' उनी आज पनि यो प्रश्न आफैसँग गर्छन्, तर उत्तर पाउन सक्दैनन्।
भदौ २४ गते घर जलिरहँदा उनी श्रीमती खुस्नाजको उपचारका लागि भारतको लखनउमा थिए। विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी ५५ वर्षीया खुस्नाजको अवस्था गम्भीर बन्दै गएपछि उनले भदौ ११ गते लखनउ लगेका थिए।
तर श्रीमतीको नाजुक अवस्थामा पनि उनलाई नगरको जिम्मेवारीले तानिरह्यो।
बिरामी श्रीमतीलाई अस्पताल भर्ना गरेपछि छोराछोरीको जिम्मामा छाडेर उनी नगरप्रमुखको जिम्मेवारी निर्वाह गर्न भैरहवा–लखनउ ओहोरदोहोर गरिरहन्थे।
त्यसै क्रममा भदौ २३ गते बिहान काठमाडौंबाट सुरू भएको जेनजी आन्दोलनको ज्वाला फैलिँदै जाँदा सिद्धार्थनगरको बेलहियामा रहेको उनको घर पनि तोडफोड र आगजनीको सिकार भयो।

खानको घर भारतीय सिमानादेखि डेढ–दुई सय मिटर दुरीमा मुस्लिमहरूको बाक्लो बस्तीको बीचमा छ। सिमानामै रहे पनि तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध, मधेस आन्दोलन, नाकाबन्दी लगायत हरेक आन्दोलनमा सुरक्षित रहेको उनको घर यसपालिको जेनजी आन्दोलनमा भने सुरक्षित रहन सकेन।
आगजनीपछि उनी पहिलो पटक घरमा छिर्दा आँगनमा जलाइएका दराज, टेबल, कुर्सीको थुप्रो थियो। भान्छा कोठामा तोडफोड गरिएका भाँडाबर्तन छरपस्ट थिए।
उनी सरासर आफू सुत्ने कोठामा गए। कोठामा उनका सामानको कुनै नामनिसान थिएन। सुत्ने पलङ, बिस्तारा, दराज सबै खरानी बनेका थिए।
घर जलेपछिको एकवर्ष उनको परिवारका लागि कुनै निर्वासनभन्दा कम रहेन। यस अवधिमा घरबारविहीन बनेको इस्तियाकको परिवार छिन्नभिन्न भयो। श्रीमती अस्पतालको बेडमा थिइन् भने छोराछोरी उनको रेखदेखका लागि अस्पतालमै थिए। उनी भने भैरहवाका होटल र साथीभाइका घरमा आश्रय लिएर दिन बिताउन बाध्य भए।
नगरका नागरिकका लागि विकासको योजना कोर्ने उनी आफ्नै बासको खोजीमा भौंतारिनुपर्यो।
मुस्लिम समुदायका लागि इद सबभन्दा ठूलो र खुसीको पर्व हो। विगतमा घरपरिवार, आफन्त र छरछिमेकका साथमा उल्लासपूर्वक मनाउने इद यस वर्ष भने इस्तियाकले होटलको एउटा कोठामा एक्लै मनाए।
श्रीमती खुस्नाज अस्पतालको बेडमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका बेला खरानी बनेको घरमा एक्लै छिरेर इद मनाउन उनमा हिम्मत नै आएन।
'के गर्ने, जीवनमा जस्तो परे पनि सहनुपर्ने रहेछ,' उनले भने।
कहिले अस्पताल त कहिले साथीभाइको घरमा बसेर झन्डै एक वर्षको उपचारपछि एक साताअघि मात्रै खुस्नाज घर फर्किएकी छन्। रोगले थलिएर शिथिल बनेकी खुस्नाजले घरमा के भएको थियो भन्ने कुनै भेउ पाउन सकेकी छैनन्।
इस्तियाक आफैले पनि जीवन र मरणको दोसाँधमा पुगेकी श्रीमतीलाई त्यो घटनाबारे केही भनेका छैनन्।
शरीरमा हाड र छाला मात्र बाँकी रहेकी बिरामी पत्नीलाई यस्तो बज्रपातको खबर सुनाएर थप मानसिक पीडा दिन नचाहेको उनी बताउँछन्।
'उहाँ त्यस्तो घटना सुनाउने अवस्थाकै हुनुहुन्न, शरीरमा हाडछाला मात्र छ, भर्खर केही दिन भयो घरमा ल्याएको, उहाँलाई सुनाएर किन दुःखी गर्ने भनेर नसुनाउने भनेका छौं,' उनले भने।
खुस्नाजले भने बिस्तारामा पल्टिरहे पनि घरमा के भएको हो भनेर सोधिखोजी गर्छिन्। लत्ताकपडा र भाँडाबर्तनको खोजी गर्छिन्।
उनले यस्तो सोधिखोजी गर्दा इस्तियाक कुनै बहाना बनाएर टारिदिन्छन्।
'घर पुरानो भएर मर्मत गर्न थालेको भनेको छु, लत्ताकपडा पनि गरिब–दुःखीलाई बाँडिदिएको भनेर सम्झाएको छु,' उनले भने।
श्रीमती घर फर्किने भनेपछि उनले सामान्य मर्मत र रंगरोगन गरेर जलेर खरानी बनेको घरका काला धब्बा मेटेका छन्। तर उनको मनमा लागेको चोट मेटिएको छैन। घटना भएको एक वर्ष बितिसक्दा पनि खानले आफ्नो घर पूर्ण रूपमा मर्मत गरी सामान्य अवस्थामा फर्काउन सकेका छैनन्।
घरमा देखिएका दृश्यले त्यो दिनको क्रूरता र त्यसपछिका पीडादायी अवस्था झल्काउँछन्। घरको बाहिरी आँगनमा अझै पनि भत्किएका इँटाका थुप्रो र जलाइएका वस्तुका भग्नावशेष यत्रतत्र छरिएका छन्। केही सामान्य मर्मत र रंगरोगनमार्फत भित्तामा लागेका आगोका काला धब्बा छोप्ने प्रयास गरिए पनि घरका भित्री कोठा सबै रित्ता छन्।
एक वर्ष पहिलेसम्म भव्य फर्निचर र सजावटका वस्तुले भरिपूर्ण रहेका कोठाहरूमा अहिले सामान्य प्लास्टिकका कुर्सी र टेबलले काम चलाउनुपरेको छ।
घरपरिवार जुट्ने भनेपछि प्लास्टिकका दुई–चार वटा कुर्सी र टेबल लगेर काम चलाइरहेको उनले बताए।

'मैले घर त धेरै बहुमूल्य वस्तुहरूले सजाएको थिएँ। बैठक कोठा, भान्सा कोठामा त्यही अनुसारका फर्निचर र भाँडाबर्तन थिए। २४ गतेको विध्वंसले ती कुनैका पनि निशानी बाँकी राखेन, जल्ने जति जलाइए, नजल्ने र बहुमूल्य वस्तुहरू चोरी गरिए,' उनले भने।
धनसम्पत्ति कति क्षति भयो त्यसको के लेखाजोखा गर्नु, त्योभन्दा ठूलो त घर बनाउँदा र घरभित्रका सामान जोड्दाको भावना नै जलेर खरानी भयो। त्यो घटना नभएको भए अहिलेसम्म छोराछोरीको विवाहको तयारी भइसकेको हुन्थ्यो।
उनीहरूको विवाहका लागि इस्तियाक र खुस्नाजले गरगहनासमेत बनाएर राखिसकेका थिए। ती गरगहना पनि सबै लुटिए।
तर यही एक वर्षले उनलाई जीवनको अर्को पाटो पनि देखाइदियो। उनले साथीभाइ, आफन्त र शुभचिन्तक चिन्ने मौका पाए।
भैरहवाका मात्र होइन, भारतबाट समेत धेरै साथीभाइ र आफन्तले सहयोगको हात बढाएका थिए। तर साथीभाइको भावनालाई सम्मान गर्दै त्यो सहयोग भने उनले स्वीकार गरेनन्।
'उहाँहरूले मलाई जसरी सहयोग गर्न खोज्नुभयो, हाम्रो अप्ठ्यारो अवस्थामा सँगै छौं भन्ने भावना देखाउनुभयो, त्यो मैले कमाएको सबभन्दा ठूलो सम्पत्ति हो र उहाँहरूले दिनुभएको उपहार हो,' इस्तियाकले भने, 'कसैको कुभलो नगर्नेलाई अल्लाहले हेर्नुहुन्छ।'
२०७० सालमा संविधानसभा सदस्य रहेका इस्तियाक भैरहवाका हरेक परिवर्तनका साक्षी र सारथि हुन्। भद्र स्वभाव, स्वच्छ छवि र मिजासिलो बोलीका कारण उनले सजिलै अरूको मन जितेका छन्।
उनी जति बोली–व्यवहारमा सहज र सरल छन्, त्यति नै मनकारी पनि छन्। उनले कुनै पनि धर्म, संस्कृति र जातजातिबीच विभेद गरेनन्। हरेक धर्म–संस्कृतिका व्यक्ति र संस्थालाई सक्दो सहयोग गरे।
विभिन्न धार्मिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमार्फत गरिब तथा असहायहरूलाई सहयोग गर्दै आएका उनलाई धेरैले 'दानवीर' का रूपमा पनि चिन्ने गर्छन्।
भैरहवा क्षेत्रमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएका खान सफल व्यवसायीका रूपमा चिनिन्छन्। बिएससीसम्म अध्ययन गरेका उनले रियल स्टेट व्यवसायसँगै कृषि व्यवसाय पनि गरे। नेपाली कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको मेयर निर्वाचित भएपछि भने उनी आफ्नो व्यवसाय चटक्कै छाडेर जनताको सेवामा तल्लीन थिए।
'मैले कति संघ–संस्थाको भवन निर्माण र भूमिहीनहरूका लागि आफ्नो जग्गा दिएको छु। मैले कहिल्यै भोटका लागि मात्र सहयोग गरिनँ। आफ्नो क्षेत्र र जिल्ला बाहिरका लाई पनि सहयोग गरेको थिएँ। त्यो सबैलाई थाहा थियो। तर मेरै घर किन जलाइयो, बुझ्न सकेको छैन,' उनले भने।
**
-1787513578.jpeg)
-1787513578.jpeg)
-1787513577.jpeg)