एक वर्षदेखि अस्पतालमा उपचार गराइरहेका जेनजी आन्दोलनका घाइते र उनको हेरचाहमा खटिएकी श्रीमतीको कथा
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को मेडिसिन वार्ड 'बेड नम्बर १४३' मा एक युवक अचेत अवस्थामा छन्।
उनलाई अक्सिजन मास्क लगाइएको छ। ज्यान सुकेर हड्डी र छाला मात्र बाँकी छ। टाउकोमा घाउका टाँका ताजै छन्।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रहरी आक्रमणमा परेका ३३ वर्षीय दौलत थापा एक वर्षदेखि यही अवस्थामा उपचाररत छन्।
र, उनको स्याहारमा अनवरत खटिएकी छन्, ३२ वर्षीया पत्नी यमकला ठकुरी।
यमकला कहिले दौलतको शरीर पातलो कपडाले छोपिदिन्छिन् त कहिले सिरानी मिलाइदिन्छिन्। कहिले लुगा स्याहार्छिन्, कहिले निधार सुम्सुम्याउँछिन्।
बेलाबेला श्रीमानको कान नजिक गएर सुस्तरी भन्छिन्, 'सानु, तिमीलाई गाह्रो भइसक्यो होला, यहाँ डाक्टरहरू पनि हेर्न आएका छैनन्।'
उनी यति भनेर चुपचाप बस्दिनन्। एक्लै छटपटाउँदै डाक्टरको खोजीमा वार्ड बाहिर निस्कन्छिन्।
यमकला त्यसै विचलित भएकी होइनन् — दौलतका लागि पिसाब फेर्न जडान गरिएको प्लास्टिकको पाइपबाट रगत आइरहेको छ। त्यही रगत देखेर उनी आत्तिँदै डाक्टर खोजिरहेकी छन्।
भदौ ७ गते आइतबार साँझतिर हामी पुग्दा दौलतलाई हनहनी ज्वरो पनि आइरहेको थियो।
एकातिर ज्वरो आउनु र अर्कातिर पिसाब फेर्ने पाइपमा रगत देखिनुले यमकलालाई अधैर्य बनाएको थियो।
'हिजो बिदा भएकाले आज ओपिडी धेरै प्याक रहेछ। त्यही भएर डाक्टर आउन भ्याउनुभएकै छैन,' यमकलाले भनिन्, 'एकछिनमा आउँछु भन्नुभएको छ, खै आउनुभएन।'
उनी एकछिन चुपचाप पर्खन्छिन्, फेरि मन थाम्न नसकेर डाक्टरलाई हेर्न ओपिडीतिर जान्छिन्।
ओपिडीमा बिरामीको लाइन अझै कम भएको छैन। त्यो देखेर यमकला निराश हुँदै दौलतकै छेउमा फर्कन्छिन्।
हामी बसुञ्जेल झन्डै आधा घन्टासम्म उनले यही प्रक्रिया दोहोर्याइरहिन्। तैपनि डाक्टर आएनन्।
त्यसबीच एक जना नर्सले उनको हेरचाह गरिरहेकी थिइन्। तिनै नर्सले यमकलालाई भनिन्, 'नआत्तिनू बहिनी, अहिले डाक्टर आइहाल्नुहुन्छ, केही हुन्न।'
नर्सको यस्तो आश्वासनले पनि यमकलाको मन मानेको थिएन।
'डाक्टरहरूले छिट्टै जाँच गरिदिए ढुक्क हुन्थ्यो,' उनले भनिन्।

महिनौंदेखि घाइते श्रीमानको कुरूवा बसेकी यमकला केही दिनलाई डेरा जाने तयारीमा छिन्। उनलाई पालो दिन सासू देवकी थापा आइपुगेकी छन्।
उनी यसरी नै सासूलाई पालो राखेर बेला बेला घर गइरहन्छिन्। श्रीमानको सुर्ताले मन पोलिरहँदा पनि यमकलालाई घरव्यवहारले तानिरहन्छ। घरतिर जाँदा श्रीमानको सुर्ता फेरि आँधी बनेर थिच्न आइहाल्छ। उनी न यहाँ चैनसँग बस्छिन्, न घर जाँदा चैन मान्छिन्।
दौलत र यमकलाको घर सिन्धुपाल्चोक हो। विवाहपछि उनीहरू भक्तपुरको नयाँ थिमिमा डेरा गरी बस्दै आएका थिए। डेरामा उनका १३ वर्षका छोरा र ११ वर्षकी छोरी छन्। छोराछोरी भेट्न मात्र भए पनि बेला बेला जानुपर्ने उनी बताउँछिन्।
आइतबार भने घर जाने तयारी गरिरहेकै बेला श्रीमानको पिसाब फेर्ने पाइपमा रगत देखिएपछि यमकलाका पाइला रोकिए।
'यति धेरै ज्वरो आइरहेको छ। डाक्टरले जति बेला पनि आइसियूमा राख्नुपर्छ भन्नुभएको छ,' यमकलाले भनिन्, 'पहिला त बेलाबेला आँखा उघार्नुहुन्थ्यो। अहिले त केही प्रतिक्रिया दिनुहुन्न। निको हुँदै छ भनौं कि के भनौं?'
दौलत यसरी अस्पतालको बेडमा हल–न–चल लडिरहेको ३४८ दिन भयो।
अचेत अवस्थामा मृत्युसँग निरन्तर पौंठेजोरी खेलिरहेका उनको शरीरमा उनिएका प्लास्टिकका पाइप, घाँटीमा जोडिएको अक्सिजन र नानावली उपकरणका निरन्तर बज्ने मनिटरहरूले मात्र उनी जीवित रहेको मधुरो संकेत दिन्छन्।
तिनै संकेत हेर्दै छेउकै कुर्सीमा बसेर यमकला आफ्ना भावनाहरू पोखिरहन्छिन्।
दुई महिना अघिसम्म यमकलाले काननजिक गएर केही भनिरहँदा दौलत आँखाका परेला झिमझिम गर्थे, बेला बेला घुटुक्क थुक निल्थे। यस्तो प्रतिक्रिया देखेपछि यमकलालाई दौलतको कानसम्म आफ्नो कुरा पुगिरहेको छ भन्ने ढुक्क हुन्थ्यो।
अहिले भने केही प्रतिक्रिया नदेखेपछि उनको ढुकढुकी बढेको छ।
डाक्टर/नर्सहरूका अनुसार दौलत जुन अवस्थामा छन्, त्यो अवस्थामा बेला बेला यस्तो हुनु सामान्य हो। विगतमा पनि यस्तो हुँदै आएको थियो। तर त्यसो भनेर पत्नीको मन कहाँ मान्छ र!
वर्षदिनदेखि श्रीमानका फिरफिर हल्लिने आँखाका नानी, झिमझिम गर्ने परेला र थुक निल्दा घुटुक्क गर्ने रूद्रघन्टी नै यमकलाका लागि जिउने सहारा बन्दै आएका छन्। उनका लागि श्रीमान बौरिने आशा नै यिनै संकेत हुन्।
तर अहिले केही संकेत नदेखिँदा उनको हालत काकाकूल मरूभूमिमा भौंतारिरहेको त्यो बटुवाको जस्तो भएको छ, जसको साथमा पानीको एक थोपा पनि छैन!
श्रीमानको हात मुसार्दै, निधार सुम्सुम्याउँदै र बीच बीचमा हामीसँग थोरै थोरै कुरा गरिरहेका बेला उनको मोबाइलको घन्टी बज्यो।
फोन उनको छोराको थियो।
'आमा, कति बेला आउने?' डेराबाट छोराले सोधे।
'म एकैछिनमा आउँछु बाबु,' यमकलाले यति भनेर फोन राखिदिइन्।
'धेरै दिनपछि डेरामा जाँदै छु। छोरालाई कतिखेर भेटौं जस्तो भइसक्यो,' यमकलाले हामीतिर हेर्दै भनिन्, 'अरू बेला १०/१५ दिनमा जान्थेँ। यसपटक सासुआमा गाउँ जानुभएकाले एक महिना भयो गएको छैन।'
उनको यो पर्खाइ एक दिन, दुई दिन वा साताको होइन, महिनौं बितिसक्यो। यसबीच दौलतको स्वास्थ्यमा कुनै सुधार आएको छैन।
सरकारले उनलाई उपचार गर्न भारत लैजाने भनेर सोधेको पनि थियो। तर परिवारका सदस्यहरूले मानेनन्।
'यहाँ डाक्टरहरूसँग कुरा गर्दा 'आफ्नै रिस्कमा लैजानुहुन्छ भने लैजानुहोस्, उहाँलाई केही भयो भने हामी जिम्मेवार हुने छैनौं, जे उपचार हुने हो त्यो यहीँ पनि भइरहेको छ' भन्नुभयो। त्यो सुनेर हामी आत्तियौं। उता कोही चिनेजानेका हुँदैनन्। भोलि केही समस्या आउला भन्ने सोचेर यहीँ उपचार गराइरहेका छौं,' यमकलाले भनिन्।
डाक्टरहरूले पनि यकिन जबाफ त केही दिएका छैनन्। उनीहरू सधैं यही भन्छन्, 'हामीले जति सकिन्छ गरिरहेका छौं। औषधिले बिस्तारै सुधार हुन पनि सक्छ, नहुन पनि सक्छ।'
डाक्टरहरूले यस्तो अधकल्चो जबाफ दिए पनि यमकलाले आफ्नो हिम्मत अलिकति पनि टूट्न दिएकी छैनन्।
उनी हार मान्नै चाहँदिनन्।

सिन्धुपाल्चोकका दौलत र दोलखाकी यमकलाले तीन वर्षको प्रेम सम्बन्धलाई १५ वर्षअघि विवाहमा परिणत गरेका थिए।
विवाहलगत्तै उनीहरू भक्तपुर थिमिमा डेरा लिएर बस्न थालेका थिए। दौलत ट्रक चलाउँथे, यमकला घरव्यवहार सम्हाल्थिन्। दु:खसुख गरेर भए पनि उनीहरूले आफ्नो सपनाको सानो संसार सजाएका थिए।
उनीहरूको त्यो सानो संसारमा भदौ २४ गतेको त्रासदि बज्रपात बनेर आयो।
अघिल्लो दिन बानेश्वरमा गोली चलेको र स्थिति तनावग्रस्त बनेको थाहा पाउँदापाउँदै दौलत त्यस दिन बिहानै आन्दोलनमा जान तम्सिएका थिए।
यमकलाले अघिल्लो दिनको दृश्य सम्झेर उनलाई रोक्न खोजिन्।
तर दौलत रोकिएनन्।
'यस्तो बेला देशका युवाहरू घरभित्र लुकेर हुन्छ? जानुपर्छ' भन्दै बिहानको खाना समेत नखाई उनी निस्किए।
दिनभर आन्दोलनमा हिँडेर सामाजिक सञ्जालमा लाइभ भिडिओ खिचिरहेका उनी साँझ ६ बजेतिर हिँड्दै डेरा फर्किए।
श्रीमानलाई सकुशल देखेपछि यमकलाले राहतको सास फेरिन्।
तर त्यसै रात ८ बजेतिर दौलत टाउकोको असह्य पीडाले छटपटाउन थाले।
के भयो भनेर हेर्दा टाउकोको पछाडि भागमा चोट लागेको रहेछ।
प्रहरीको लट्ठी लाग्यो होला भनेर सामान्य ठाने पनि राति पीडा असह्य भएपछि दौलतलाई हतार–हतार मध्यपुर थिमि अस्पताल पुर्याइयो।
जाँच गर्दा टाउकोभित्र रगत जमिसकेकाले तत्काल शल्यक्रिया गर्नुपर्ने देखियो।
त्यो अकल्पनीय क्षणमा यमकलाका लागि उपचारभन्दा ठूलो संकट आर्थिक अभाव बनिदियो।
आफन्त र चिनजानका सबैसँग सहयोगको याचना गर्दै रातभर दौडधुप गरेपछि मात्र पहिलो शल्यक्रिया सम्भव भयो। थिमि अस्पतालमा १६ दिन उपचार गर्दा ११ लाख रूपैयाँ खर्च भएको थियो। त्यसमध्ये ३ लाख छुट दिइए भने बाँकी ८ लाख रूपैयाँ उनले आफ्ना सारा गहना र ऋण लिएर चुक्ता गरिन्।
त्यति बेला अस्पताललाई पैसा तिरेको बिलधरि नपाएको उनको गुनासो छ।
'अस्पतालले बिल दिएको भए त्यही बिल देखाएर स्वास्थ्य मन्त्रालयबाट भुक्तानी पाइन्थ्यो, ऋण तिर्न हुन्थ्यो,' उनले भनिन्।
यही विषयमा अस्पतालसँग कुरा गर्न पनि घर जान खोजेको उनी बताउँछिन्।

थिमि अस्पतालमा १६ दिन उपचारपछि दौलतलाई ट्रमा सेन्टर लगिएको थियो। त्यसपछि साँगाको थेरापी सेन्टर लगियो।
उनी सुरू सुरूमा बोल्नसम्म सक्ने थिए। तर साँगाको थेरापी सेन्टरमा राख्दा चिसोका कारण निमोनिया र छारे रोग (सिजर) को आक्रमण दोहोरिएपछि उनको शरीरले प्रतिक्रिया दिन छाड्यो। उनी पूर्ण रूपमा अचेत अवस्थामा पुगे।
त्यसयता उनीहरू ९ महिनादेखि सिनामंगलको यही केएमसी अस्पतालमा छन्।
उनलाई सरकारले केही गरिदिएन भन्ने गुनासो छैन। किनभने, केएमसी अस्पताल ल्याएदेखि सम्पूर्ण खर्च सरकारले नै गरिरहेको छ। अहिलेसम्म लगभग ३५ लाखभन्दा बढी खर्च भइसकेको उनी बताउँछिन्।
उनले एउटा गुनासो भने गरिन्, 'श्रीमान् यहाँ हुनुहुन्छ भन्ने सारालाई थाहा छ, तर खै कोही आउनुहुन्न। अब त कसैलाई केही भन्न मन लाग्दैन। जे छ, आफ्नै मनमा छ।'
यो यात्रा अझै कति समय चल्छ यमकलालाई थाहा छैन। तर समय जतिसुकै लागोस्, श्रीमानलाई सन्चो भएको हेर्ने मात्र उनको इच्छा छ।
उनी एक–एक पल त्यो घडीको प्रतीक्षामा छिन्, जब दौलतलाई अस्पतालबाट डिस्चार्ज गरेर हात समाउँदै घर लैजाने छिन्!
र, दौलतले पहिलाजस्तै मायालु भाकामा उनलाई 'सानु' भनेर बोलाउने छन्!
करिब एक वर्षदेखि सिनामंगल अस्पतालका भित्ता, कुर्सी, अक्सिजन मास्क, डाक्टर, नर्स र बेड नम्बर १४३ यमकला र दौलतको अटल र अविचलित प्रेमकथाको साक्षी बनिरहेका छन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***
