ती ७ परिवार जबाफको प्रतीक्षामा छन् — भदौ २४ गतेदेखि हाम्रा मान्छे कहाँ हराए?
गत वर्ष भदौ २४ देखि आफ्नो परिवारको सदस्य सम्पर्कविहीन रहेको भन्दै काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा ७ वटा रिपोर्ट दर्ता भएका छन्।
प्रहरीले ती रिपोर्टका आधारमा काठमाडौंबाट हराएका वा सम्पर्कविहीन भएका ७ जनाको खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
ती सात परिवार अझै पनि जबाफको प्रतीक्षामा छन् — भदौ २४ गते घरबाट निस्किएका हाम्रा मान्छे कहाँ हराए?
संयोग कस्तो छ भने, भदौ २४ गते नै काठमाडौंका विभिन्न भाटभटेनी सुपरमार्केटमा गरिएको आगजनीमा परेर लगभग खरानी अवस्थाका मानव कंकाल फेला परेका थिए। ती मानव कंकालको संख्या ठ्याक्कै ७ वटा नै थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार त्यस दिन चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीबाट ६ र कोटेश्वरको भाटभटेनीबाट एक गरी ७ जनाको शव फेला परेको थियो।
लामो समय आगोमा जलेर लगभग खरानी भइसकेका ती शव अहिलेसम्म सनाखत हुन नसकेको थापाले जानकारी दिए।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते संसद भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत लगायत थुप्रै सरकारी संस्थाहरूमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले काठमाडौंका केही निजी व्यावसायिक प्रतिष्ठानहरूलाई पनि आफ्नो निशाना बनाएका थिए। भाटभटेनी सुपरमार्केट तिनैमध्ये एक हुन्।
त्यस दिन भाटभटेनी सुपरमार्केट बिहानैदेखि बन्द थियो। तैपनि सरकारी तथा निजी सम्पत्ति आगजनी गर्दै हिँडेका प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केट छिरेर लुट मच्चाउनुका साथै आगो सल्काएर खरानी बनाइदिएका थिए।
भाटभटेनीको त्यही आगजनीमा परेर ७ जनाको मृत्यु भएको थियो।
घटना भएको करिब एक सातापछि आगोले ध्वस्त पारेका भाटभटेनी स्टोर छिर्दा प्रहरीले ती ७ जनाको कंकाल खरानी अवस्थामा फेला पारेका थिए। केही शवको हड्डीका टुक्रा मात्र बाँकी थिए।
अब प्रश्न उठ्छ — भदौ २४ देखि आफ्नो परिवारका सदस्य हराएको भनी काठमाडौंका विभिन्न प्रहरी चौकीमा रिपोर्ट दर्ता भएका व्यक्ति र भाटभटेनीमा फेला परेका कंकाल एकै हुन्?
यसको ठ्याक्कै जबाफ प्रहरीसँग पनि छैन।
हराएको भनिएका र खरानी अवस्थामा फेला परेका शवको संख्या ठ्याक्कै मिलेको छ। यस आधारमा हराएका मान्छे तिनै हुनसक्ने सम्भावना बलियो छ। तर ती शव यस्तरी जलेका थिए, प्रहरीले तिनको सनाखत नै गर्न सकेको छैन।
'हामीले फेला पार्दा नै ती शव धेरैजसो जलेर खरानी भइसकेका थिए। केही शवको हड्डीजस्तो भाग फेला परेको थियो,' एसपी थापाले भने, 'ती कुनै पनि शव सनाखत गर्न सकिने अवस्थामा थिएनन्।'
उनका अनुसार आगोमा जलेर शवको प्रकृति अत्यधिक बिग्रिएकाले तिनको पहिचान गर्न सुरूमा टिचिङ अस्पताल महाराजगन्ज पठाइएको थियो। प्रहरीले यस्ता घटनामा फेला पर्ने शव पोस्टमर्टम गर्न टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभाग पठाउने गर्छ।
तर जस्तो अवस्थामा ती शव आइपुगेका थिए, फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले त्यस्तो शवको पोस्टमर्टम कहिल्यै गरेका थिएनन्।
'पोकामा ल्याइएका शव खरानी मात्र बाँकी थिए। हामीले त्यसमा पनि केही भेटिन्छ कि भनेर परीक्षण गर्यौं। परीक्षण गर्दा के देख्यौं भने, केही शवका हड्डीका साना साना टुक्रा मात्र बाँकी थिए। जस्तो– कम्मरको हड्डीको आकार थियो, तर त्यसलाई छुनेबित्तिकै फुस्स जान्थ्यो,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार जसरी बालुवाको थुप्रो छुनेबित्तिकै फुस्स जान्छ, ती सातवटा शव त्यस्तै अवस्थामा पोकामा ल्याइएका थिए।
'आगोमा अत्यधिक धेरै समय जलेकाले ती शवको कुनै पनि 'टिस्यू' वा 'सेल' बाँकी थिएन,' उनले भने, 'हड्डीभित्रको तन्तुसमेत नष्ट भइसकेको थियो।'
फरेन्सिक विज्ञ डा. चौधरीले अगाडि भने, 'आगोले जलेको वा कुहिएको अवस्थामा शवको डिएनए म्याच गराएर सनाखत गरिन्छ। तर ती शवमा डिएनए परीक्षण गर्न कुनै पनि टिस्यू वा सेल फेला पार्न सकिएन। हड्डी नै फेला परे पनि त्यसभित्रका तन्तु जलेर खरानी भइसकेका थिए। त्यसैले ती कुनै पनि शवको डिएनए परीक्षण हुन सकेन।'
लामो अनुभव भएका डा. चौधरीले यसअघि फरेन्सिक विभागमा बसेर विभिन्न किसिमबाट मृत्यु भएकाहरूको पोस्टमर्टम गरिसकेका छन्। गोली लागेका, आगोमा जलेका वा अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरूको शव पोस्टमर्टम गरेको उनीसँग अनुभव छ। तर यसरी खरानी अवस्थामा पुगिसकेको शव आफूले पहिलो पटक देखेको उनी बताउँछन्।
'हामीले ती शवलाई केही गर्न सकेनौं। त्यस्तरी खरानी भइसकेको अवस्थामा शव देखेको पहिलो पटक थियो। नभए पहिले आत्मदाह गरेका वा जलाइएका घटनाको शव पोस्टमर्टम गरेकै हो। त्यस्ता घटनामा केही न केही अंग बाँकी रहन्थ्यो। तर भाटभटेनीमा सातादिनसम्म जलेकाले त्यसको कुनै पनि कुरा फेला पर्ने गुञ्जायसै थिएन,' उनले भने।
यसरी टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागबाट शव सनाखत गर्न सम्भव नभएपछि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले फिर्ता लिएको एसपी थापा बताउँछन्।
उनका अनुसार प्रहरीले ती शवको डिएनए परीक्षण गर्न विदेशका प्रयोगशालाहरूसँग पनि समन्वय गरेको थियो। तर विदेशका प्रयोगशालाबाट पनि सम्भव नभएको उनले बताए।
'हामीले छिमेकी मित्रराष्ट्रहरूमा रहेका प्रयोगशालामा पनि प्रयास गर्यौं, तर त्यहाँबाट पनि सम्भव नहुने जबाफ आयो,' एसपी थापाले भने।
टिचिङ अस्पतालको फरेन्सिक विभागदेखि प्रहरीको आफ्नै प्रयोगशाला र विदेशका प्रयोगशालाले समेत हात उठाएपछि ती ७ वटा शवको डिएनए परीक्षण गरी पहिचान गर्ने वैज्ञानिक र प्राविधिक बाटो सधैंका लागि बन्द भयो।
अहिले ती शवका अवशेषलाई प्रहरीले आफ्नो प्रयोगशालामा 'प्रिजर्भ' (सुरक्षित) गरेर राखेको एसपी थापा बताउँछन्।
त्यसैबीच भदौ २४ गतेदेखि आफ्नो परिवारका सदस्य सम्पर्कविहीन रहेको भन्दै ठ्याक्कै ७ जनाको निवेदन परेपछि प्रहरी दुबिधामा पर्यो।
'डिएनए परीक्षण नगरी ती शवहरू हराएको भनिएका व्यक्तिकै हुन् भनेर हामीले भन्न सकेका छैनौं,' थापाले भने, 'डिएनए म्याच हुने अवस्था नभएसम्म हामीले यसरी भन्न मिल्दैन। र, डिएनए म्याच गर्न प्राविधिक र वैज्ञानिक तरिकाबाट सम्भव पनि देखिएको छैन।'
काठमाडौं जिल्ला परिसरकै एक अर्का प्रहरी अधिकारीले ती शव हराएको भनी निवेदन परेका ७ जनाकै हुनसक्ने सम्भावना देखाएका छन्।
तर यसमा पनि एउटा समस्या देखिएको छ — ती ७ जनामध्ये कुन परिवारलाई खरानीको कुन पोका जिम्मा लगाउने यकिन गर्न सकिएको छैन। र, डिएनए परीक्षणबिना यो यकिन पनि हुँदैन।
'हराएका ७ जना र भेटिएका ७ शवबीच गहिरो सम्बन्ध हुन सक्छ। तर ती शवबाट डिएनए परीक्षणका लागि कुनै स्याम्पल नै निकाल्न नमिल्दा हामीले परिवारलाई 'यही हो' भनेर भन्न सक्ने अवस्था रहेन,' उनले भने।
प्रहरीको यस्तो दुबिधाबीच भदौ २४ देखि काठमाडौंबाट हराएका ती ७ जनाका परिवारले न आफ्नो आफन्तको काजकिरिया गर्न पाएका छन्, न त 'सास वा लास' फेला पार्ने आस मार्न सकेका छन्।
काठमाडौंका भाटभटेनी सुपरमार्केटमा फेला परेका यी ७ वटा शव मात्र होइन, देशभरि त्यस्ता थप ५ वटा शव छन्, जसको सनाखत अहिलेसम्म हुन सकेको छैन। ती पाँच शव पनि जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गतेको देशव्यापी आगजनीकै परिणाम हुन्।
भदौ २४ को त्यो त्रासदिपूर्ण आगजनीमा परेर सुनसरी र मोरङमा थप ५ शव फेला परेका थिए।
तीमध्ये सुनसरीको इटहरीस्थित भाटभटेनीमा चारवटा शव खरानी अवस्थामै फेला परेका थिए भने मोरङको विराटनगरस्थित भाटभटेनीमा पनि त्यस्तै एउटा शव फेला परेको थियो।
हामीले यसबारे ती दुवै जिल्लाका प्रहरी प्रमुखसँग कुरा गर्यौं।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पुष्पराज मल्लले इटहरीको भाटभटेनीमा फेला परेका चारवटै शव सनाखत हुन नसकेको बताए।
'ती शवको लिंग पनि खुल्न सकेको रहेनछ,' उनले त्यति बेलाको घटना विवरण दिँदै भने, 'यहाँबाट डिएनएका लागि काठमाडौं पठाइएको रहेछ। तर सम्भव भएन।'
त्यस्तै, विराटनगरको भाटभटेनीमा फेला परेको शव पनि अन्यत्रजस्तै खरानी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
कुनै पनि ठाउँमा शव फेला पर्दा प्रहरीको पहिलो प्रयास हुन्छ — मृतकको पहिचान खुलाउने। आपराधिक घटना होस् वा दुर्घटना, ती व्यक्ति को हुन् भन्ने थाहा पाउनु परिवार र अनुसन्धान दुवैका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर गत वर्षको जेनजी आन्दोलन क्रममा काठमाडौंका ७ सहित देशभर फेला परेका १२ जनाको शव कसको हो भन्ने अहिलेसम्म रहस्यमै छ।
एक वर्षदेखि हुन नसकेको सनाखत अब होला भन्ने आशा पनि कमै छ।
यस आधारमा जेनजी आन्दोलनमा ज्यान गुमाएका ती १२ जना को हुन् भन्ने सधैं रहस्यमै रहने सम्भावना बढी देखिन्छ।
सबभन्दा बढी पीडा चाहिँ ती ७ परिवारलाई हुनेछ, जो आफ्नो सदस्य हराएको सूचना लिएर प्रहरीकहाँ आइपुगेका छन्।
उनीहरू न ती खरानीका पोका सकारेर काजकिरिया गर्न सक्छन्, न आफ्ना आफन्तको नाम जेनजी आन्दोलनका सहिदको सूचीमा देख्न पाएका छन्!
***