'हामीले सहिद परिवारलाई केही समयको सहारा होइन, भविष्यसम्म साथ रहने भरोसा दिन चाहेका हौं'
साढे दुई वर्षे बालक। मन्टेश्वरी स्कुलमा उसको पहिलो दिन। ऊ बेलुन उडाउँदै दौडिँदै थियो, रमाइरहेको थियो।
छेउमा उसकी आमा थिइन्।
उनी अनुहारको मलीनता लुकाएर मुस्काइन्। त्यो मुस्कानमा छोराको भविष्यप्रति भरोसा थियो।
बच्चाकी आमाको अनुहारबाट चिन्ताका धर्सा धमिलिएको देखेर अक्षय गोल्यान भावुक भए। गोल्यान समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय त्यस दिन ती साना बाबुको स्कुलको पहिलो दिनको खुसी बाँड्न पुगेका थिए।
'त्यो बच्चा स्कुलमा खुसी हुँदै खेलिरहेको देखेर मनमा एक किसिमको बेग्लै अनुभूति भयो। त्यो अनुभूति म शब्दमा व्याख्या गर्न सक्दिनँ। बिर्सिन पनि सक्दिनँ,' अक्षयले भने।
उनका लागि त्यो क्षण अविस्मरणीय हुनुको कारण एउटा बालकको भविष्यप्रतिको आशा थियो।
उसले राम्रो शिक्षा पाउने भयो भन्ने आश्वस्तताले उसकी आमालाई दिएको राहत थियो।
'सानो कुरा हो जस्तो लाग्न सक्छ। तर त्यो अनुभूति यसै पाइँदैन। यसै आउँदैन,' उनले भने।
ती बालक जेनजी सहिदका सन्तान थिए। उनका बुबाले आन्दोलनमा ज्यान गुमाए। उनलाई राम्रो शिक्षा दिएर भविष्य कसरी सुन्दर बनाउने भन्ने चिन्ता आमाको थियो।
भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका अरू थुप्रै सहिद परिवारको चिन्ता पनि उस्तै थियो!
यही देखेर गोल्यान समूहले सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने प्रतिबद्धता गर्यो।
'हामीले सहिदका स्कुल पढ्ने उमेरका छोराछोरी र कसै–कसैका भाइबहिनीलाई १२ कक्षासम्म पढाउन थालेका छौं,' अक्षयले भने, 'कोही भर्खर स्कुल सुरू गर्दैछन्। कोही कलेजमा छन्।'
सहिदका सन्तानलाई पढाउने सोच कसरी आयो त?

अक्षयले आन्दोलनमा ज्यान गुमाएका केही व्यक्तिका परिवारका कथाहरू पढे, सुने। उनी आफैले पनि उनीहरूको अवस्था बुझे।
परिवारका सदस्यहरूसँग कुराकानी गरेपछि उनीहरूलाई कसरी मद्दत गर्न सकिएला भनेर सोचे।
उनले आफ्नो टिमसँग सल्लाह गरे।
सुरूमा सहिद परिवारका सदस्यलाई रोजगारी दिनेबारे छलफल भयो। तर त्यसले मात्र सबैको आवश्यकता समेट्थेन। कसैको उमेर, क्षमता वा अवस्था अनुसार रोजगारी सम्भव नहुन सक्थ्यो। त्यसैले परिवारको दीर्घकालीन भविष्यसँग जोडिने सहयोग आवश्यक देखियो।
सहयोग सानो होस्, तर त्यसले भविष्यमा ठूलो अर्थ राखोस् भन्ने उनको सोच थियो।
'त्यसकै पहिलो आधार बन्यो — शिक्षा। बच्चाहरूलाई राम्रो शिक्षा दिइयो भने भोलि उनीहरूले देशलाई अझ राम्रो बनाउन सक्छन्। त्यसका लागि उनीहरूले त्यो स्तरको शिक्षा पाउनुपर्छ भन्ने भयो,' उनले भने।
त्यसपछि गोल्यान समूहले आफ्नो सामाजिक सहकार्यात्मक संस्था गोल्यान फाउन्डेसनमार्फत् २२ सहिद परिवारका ३१ जना बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मा लियो। ती बालबालिका काठमाडौंमा मात्र नभई देशका विभिन्न ठाउँमा बसोबास गरिरहेका छन्।
उनीहरूलाई प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रूपैयाँको शैक्षिकवृत्ति प्रदान गरिएको छ।
बालबालिकाहरू काठमाडौंको युरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डिएभी सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वर्ल्ड स्कुल, चितवनको स्मल हेभन मोडल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्यान्ड सेकेन्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा पढिरहेका छन्।
शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, वार्षिक भर्ना, खाना तथा खाजा, छात्रावास, यातायात, अतिरिक्त क्रियाकलाप, पुस्तक तथा स्टेसनरी खर्च, विद्यालय पोसाक लगायत सबै शुल्क समावेश छ।
सहिद परिवारका निम्ति गरेको यो पहललाई गोल्यान समूहले अल्पकालीन सहयोगका रूपमा हेरेको छैन। शिक्षा जस्तो आधारभूत आवश्यकता सुरक्षित भएपछि बाँकी जीवनका पक्षमा उनीहरूले आफू अनुकूल बाटो रोज्न सक्छन् भन्ने अक्षयलाई लाग्छ।
'देशका लागि बलिदान दिएका सहिदको परिवारलाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो,' उनले भने, 'त्यसैले यो कदम उहाँहरूलाई गरिएको सम्मान हो। धन्यवाद ज्ञापन पनि हो।'
सहिद परिवारका सन्तानको शिक्षा सुनिश्चित हुनुपर्छ भन्ने सोचका पछाडि अक्षयको आफ्नै बाल्यकालको एउटा अनुभव पनि जोडिएको छ।
देशमा सशस्त्र माओवादी द्वन्द्व चलिरहँदा अक्षय सानै थिए। दैनिकजसो मानिसहरूको ज्यान गएको, बम पड्किएको, नेपाल बन्द भएको, स्कुलहरूमा त्रास फैलिएको उनले सुनेका थिए। भोलि के हुन्छ भन्ने अनिश्चितताले असुरक्षा महसुस हुन्थ्यो।
जेनजी आन्दोलनपछि उनलाई तिनै दिनको सम्झना भयो।

उनलाई लाग्यो — मसँग सबै हुँदा त मलाई त्यस्तो असुरक्षा महसुस भएको थियो, आफ्नो अभिभावक गुमाएका ती बच्चालाई झन् कस्तो होला!
आफ्नो बाल्यकालको त्यो असुरक्षा सम्झिँदा उनले ती बालबालिकाको आजको डरलाई अझ नजिकबाट महसुस गरे।
'एउटा बच्चाको हातमा किताब पुग्नु भनेको उसको हातमा आफ्नो भविष्य रोज्ने एउटा अवसर पनि पुग्नु हो,' उनले भने, 'ती बालबालिकालाई कक्षा १२ सम्म हामीले सहयोग गर्यौं भने उनीहरूको आधार बन्छ। उनीहरूका अभिभावकले जुन परिवर्तन ल्याउन बलिदान दिए, त्यसको मूल्य उनीहरूको भविष्यले चुकाउनु हुँदैन।'
जेनजी आन्दोलनले आफूमा पनि धेरै परिवर्तन ल्याएको अक्षय बताउँछन्। आफ्नो काम गर्ने तरिका र जीवनलाई हेर्ने नजरिया बदलिएको उनले महसुस गरेका छन्।
व्यावसायिक परिवारमा जन्मिएकाले उनी सानैदेखि व्यवसायका कुरा सुनेर हुर्किए। भोलि गएर त्यो व्यवसाय आफूले सम्हाल्नुपर्छ भन्ने उनलाई नलागेको होइन। तर सुरूदेखि नै उनी यसका लागि तयार भएका होइनन्। कता कता उनी बेफिक्र भएर आफ्नै संसारमा रमाउन चाहन्थे।
त्यसैले होला, उनले कक्षा १२ पछि विदेश गएर पढ्ने सोचे। अमेरिकामा स्नातक सकेर उनी केही समयका लागि दुबई गए। पछि स्पेन पुगे र व्यवस्थापनमा स्नातकोत्तर गरे।
पढाइलाई त्यहीँ बिट मार्दै उनी नेपाल फर्किए।
फर्केर पारिवारिक विरासत त धान्नु नै थियो!
उनको कामको सुरूआत गोल्यान समूहको रिलायन्स स्पिनिङ मिल्सबाट भयो। उनी सुनसरीको इटहरीमा रहेको कारखाना पुगे। त्यहाँ काम गर्ने तरिका बुझ्नेदेखि कारखानाको उत्पादन प्रक्रियासम्म प्रत्यक्ष रूपमा हेरे। त्यसपछि समूहका अरू कम्पनी र परियोजनामा पनि काम गर्दै गए।
'काम गर्दै जाँदा मैले बुझेँ, व्यवसाय यसै चल्दैन। हरेक ठाउँमा फरक फरक चुनौतीहरू छन्। यी सबै सामना गर्न म जिम्मेवार हुनुपर्छ,' उनले भने।
समयसँगै उनले यो जिम्मेवारी आफ्नो परिवार र व्यवसायमा मात्रै सीमित नभएको महसुस गरे। खासगरी कोभिड महामारीको समयको एउटा घटना उनी सम्झिन्छन्।
कोरोना लकडाउन बेला सबैतिर काम ठप्प भयो। रिलायन्सको काम पनि रोकियो। तर कर्मचारीहरूले रोजीरोटीमा असर पर्ने भनेर काम गर्न चाहे। उद्योगको पनि पिर गरे।
रिलायन्सको कारखाना परिसरमा बनेको क्वार्टरमै ठूलो संख्यामा कर्मचारी बस्ने भएकाले उनीहरूको कुरा जायज थियो। त्यसैले उनीहरूको चाहना अनुरूप उद्योग चल्यो।
त्यही कामको प्रभावले त्यस वर्ष रिलायन्सको मुनाफा निकै राम्रो भयो।
त्यसपछि अक्षयले समूहका तत्कालीन अध्यक्ष पवन गोल्यानलाई कर्मचारीहरूको नाममा धन्यवाद ज्ञापनसहित एक पत्र लेख्न आग्रह गरे।
'एउटा सामान्य पत्रले पनि उनीहरू कति खुसी भएका थिए,' अक्षयले सम्झिए।
त्यो घटनाले उनलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो — व्यवसाय चलाउने व्यक्ति आफ्नो लागि मात्रै जिम्मेवार हुँदैन। ऊसँग जोडिएका सबै मानिसप्रति जिम्मेवार हुन्छ। कर्मचारीप्रति, उनीहरूका परिवारप्रति पनि हुन्छ।
'व्यवसाय भनेको मेरो करिअर वा मेरो परिवारको विरासत मात्रै होइन रहेछ। धेरै मानिसको जीवनसँग जोडिएको आधार रहेछ र त्यो मेरो जिम्मेवारीमा छ भन्ने महसुस भयो,' उनले भने।

त्यही बुझाइ विस्तार हुँदै उनको सामाजिक उत्तरदायित्वको सोच पनि फराकिलो बन्दै गयो। त्यसैले व्यवसायले कमाएको र बढाएको मात्र होइन, त्यसबाट समाजलाई के फिर्ता गर्न सकिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनी बताउँछन्।
'हामी व्यवसायलाई जति अघि बढाउन सक्छौं, त्यति नै समाजलाई पनि फिर्ता गर्नुपर्छ,' उनले भने, 'व्यवसाय र समाजबीच ठूलो दुरी हुनु हुँदैन।'
सहिद परिवारका बालबालिकाको शिक्षामा गरिएको प्रतिबद्धता पनि उनको त्यही सोचको एउटा निरन्तरता हो। अक्षय यसलाई छोटो अवधिको सहयोगका रूपमा होइन, दीर्घकालसम्म निर्वाह गर्ने जिम्मेवारीका रूपमा हेर्छन्।
गोल्यान समूहले सहिदका सन्तानलाई मात्र होइन, अभिभावकलाई पनि आड दिएको छ। शैक्षिक सहयोग आवश्यक नपर्ने सहिद परिवारका अभिभावकका लागि गोल्यान फाउन्डेसनले नेपालभर लागू हुने स्वास्थ्य बीमा उपलब्ध गराएको छ। यस अन्तर्गत २२ सहिदका ४३ अभिभावक (आमाबुबा) लाई वार्षिक एकमुष्ट १० लाख रूपैयाँको बराबरको आजीवन स्वास्थ्य बीमा व्यवस्था गरिएको छ।
'सन्तानका लागि शिक्षा र आमाबुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गरिएको हो,' अक्षयले भने, 'हामीले सहिद परिवारलाई केही समयको सहारा होइन, भविष्यसम्म साथ रहने भरोसा दिन चाहेका हौं।'
