तलको स्टेसन जलिसकेको थियो, माथि आगो सल्काउन आएका प्रदर्शनकारीलाई स्थानीयले नै रोके
तल आगो बलिरहेको थियो।
प्रदर्शनकारीहरूको उग्र भीड केबलकारको बटम स्टेसन तोडफोड गर्दै थियो।
करोडौं रूपैयाँका संरचना र उपकरणमा क्षति पुर्याइँदै थियो।
त्यही बेला माथि डाँडातिर पुगेको भीडलाई स्थानीय बासिन्दाले रोके। डाँडामा होटल, रिसोर्ट, मन्दिर, भ्युटावर, फनपार्क र रेस्टुरेन्ट थिए।
उनीहरूले आक्रोशित भीडलाई त्यता जानबाट रोक्दै सम्झाए, 'यसरी क्षति गर्न हुँदैन।'
त्यस दिन चन्द्रागिरिका स्थानीयले देखाएको साहस र सुझबुझका कारण तल्लो स्टेसन जलिरहँदा पनि माथि केबलकारको अर्को संसार जोगियो।
यो २०८२ भदौ २४ को घटना हो।
जेनजी आन्दोलनको दोस्रो दिन देशव्यापी रूपमा भएको हिंसात्मक आगजनी र तोडफोडले चन्द्रागिरि केबलकारलाई पनि ठूलो धक्का दियो। बटम स्टेसन क्षतिग्रस्त भयो, सेवा बन्द भयो।
तर स्थानीयको साथले तोडफोड र आगजनी केबलकारका सबै संरचनामा फैलिन पाएन।
त्यो त्यहीँ रोकियो, जहाँबाट सुरू भएको थियो।
त्यसले एउटा असर भने पार्यो — बटम स्टेसनमा क्षति पुगेर केबलकार बन्द भएपछि धेरैको व्यवसाय र रोजगारी प्रभावित भयो। स्टेसन वरपरका होटलमा ग्राहक आएनन्। पसलमा व्यापार घट्यो। फूल बेच्नेहरूको आम्दानी रोकियो।
त्यसपछि तिनै स्थानीय, जसले भदौ २४ मा केबलकार जोगाएका थिए, उनीहरू माग गर्न थाले — 'छिटो चलाइदिनुस्।'
छिनभरमै करोडौं क्षति बेहोरेको चन्द्रागिरि केबलकार आज पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। तैपनि एउटा प्रश्नले यसका सञ्चालक चन्द्र ढकाललाई घरि घरि घोच्न आइरहन्छ — निजी लगानीका उद्योग–व्यवसायलाई किन निशानामा पारियो? उद्यमी–व्यवसायीमाथि केको रिस साधियो?
चन्द्रागिरिको यो कथा केवल तोडफोड र पुनर्निर्माणको कथा होइन। यो केबलकारसँग जोडिएको रोजगारी, व्यवसाय र स्थानीय अर्थतन्त्रको कथा हो।
चन्द्रागिरि हिल्स परियोजना सञ्चालनमा आएदेखि नै यसले पर्यटकीय क्षेत्रमा चर्चा बटुलेको थियो। केबलकारसँगै मन्दिर, भ्युटावर, रिसोर्ट, रेस्टुरेन्ट र मनोरञ्जनका पूर्वाधार थपिँदै गए।
मुख्य लगानीकर्ता चन्द्र ढकाल सातै प्रदेशमा यस्तै एकीकृत पर्यटकीय गन्तव्य बनाउने योजनामा अघि बढे।
त्यसै क्रममा उनले बुटवलमा लुम्बिनी केबलकार परियोजना र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याए।
तर गत वर्ष भदौ २४ को आन्दोलनले चन्द्रागिरि र मौलाकालिका केबलकारमा ठूलो क्षति पुर्यायो। करोडौं रूपैयाँका संरचना र उपकरण क्षतिग्रस्त भए। बटम स्टेसनमा मात्रै २० करोड रूपैयाँभन्दा बढीको क्षति पुग्यो। त्यसबाहेक सञ्चालन युनिट, पार्किङ क्षेत्र, प्रशासन तथा लेखा कार्यालय, टिकट काउन्टर, रेस्टुरेन्ट लगायतका संरचना पनि तोडफोडमा परे।
त्यो घटनापछि करिब दुई महिना बन्द रहेको चन्द्रागिरि केबलकार २०८२ कात्तिक २२ बाट पुनः सञ्चालनमा आइसकेको छ।
कम्पनीका सञ्चालक ढकालका अनुसार पुनर्निर्माणमा करिब २५ करोड रूपैयाँ लगानी भएको छ।
'हामीले क्षतिग्रस्त संरचना मर्मत गर्नुका साथै केही प्रविधि र उपकरण प्रतिस्थापन गरेका छौं,' उनले सेतोपाटीसँग भने, 'प्राविधिक प्रणालीको जाँच र सुरक्षा परीक्षणका लागि अस्ट्रियाली प्राविधिक तथा मूल उपकरण निर्माता डोपेलमायरका प्राविधिकलाई बोलाएका थियौं। उनीहरूले प्रणाली जाँच गरे, मर्मत गरे र सुरक्षा परीक्षण पनि गरे।'
त्यस दिन स्थानीय बासिन्दाले साथ नदिएका भए अझै ठूलो क्षति हुने उनी बताउँछन्।
'प्रदर्शनकारीहरूले बटम स्टेसन जलाइसकेका थिए। त्यही बेला माथिल्लो स्टेसनमा स्थानीय बासिन्दा आफै जम्मा भएर 'यसो गर्न हुँदैन' भनेर रोक्नुभयो। उहाँहरूको सक्रियताले माथिल्लो क्षेत्र जोगियो,' उनले भने।
चन्द्रागिरि हिल्सले यो परियोजनालाई सुरूदेखि नै केबलकारमा सीमित नगरी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको थियो। जिपलाइन लगायतका मनोरञ्जन र साहसिक गतिविधिका पूर्वाधार त्यसै क्रममा थपिएका हुन्। करिब ४ अर्ब रूपैयाँ लगानीमा बनेको यो परियोजनामा झन्डै ५०० जनाले रोजगारी पाएका छन्।
कम्पनीका अनुसार पछिल्ला वर्ष वार्षिक साढे ७ लाख जनाले केबलकार यात्रा गर्दै आएका छन्। टिकटबाट मात्रै करिब ५० करोड रूपैयाँ बराबर कारोबार हुने गरेको छ।
यही कारण केबलकार बन्द हुँदा यसको असर कम्पनीमा मात्र सीमित रहेन। बेस स्टेसन आसपासका होटल व्यवसायी पनि प्रभावित भए। पसल सञ्चालक प्रभावित भए। फूल बेच्नेहरूको व्यापार रोकियो। केबलकारसँगै चल्ने स्थानीय व्यवसायमा पनि असर पर्यो।
त्यसपछि स्थानीयले नै सेवा छिटो सञ्चालन गर्न व्यवस्थापनलाई निरन्तर घच्घच्याएको ढकाल सम्झन्छन्।
'स्थानीयले केबलकार छिटो चलोस् भन्ने चाहना देखाउनुभयो। उहाँहरूको साथले कठिन अवस्थामा पनि छिटो पुनर्निर्माण गर्न प्रेरणा मिल्यो,' उनले भने।
जेनजी आन्दोलनको एक वर्षमा चन्द्रागिरिले आफ्नो पुरानो लय समातिसकेको छ।
आन्दोलनअघि आर्थिक वर्ष २०८१/८२ मा चन्द्रागिरि हिल्सले १८ करोड ७४ लाख रूपैयाँ नाफा गरेको थियो। आन्दोलनपछि व्यापारमा परेको असरका कारण चैतसम्म नोक्सान पूर्ति गरेर ८३ लाख नाफा कमाएको थियो।
आर्थिक वर्ष २०८२/८३ को अन्तिमसम्म अर्थात् २०८३ असार मसान्तमा यसको नाफा ८ करोड २४ लाख रूपैयाँ पुगेको छ।
'पुनर्निर्माण गरेर सञ्चालनमा आएको छोटो समयमै हामी पुरानै लयमा फर्किन सफल भएका छौं। सबभन्दा ठूलो खुसी यसैमा लाग्छ,' ढकालले भने।
उनले यो व्यवसायबाट आर्जन गरेको अर्को खुसी पनि बाँडे — 'बाहिरबाट ८/१० दिन काठमाडौं आउने मान्छे पशुपति जान्छन्, स्वयम्भू जान्छन्, अनि चन्द्रागिरि खोज्छन्।'

मौलाकालिकामा पनि उस्तै कथा
भदौ २४ को त्यो त्रासदिपूर्ण घटनाको असर चन्द्रागिरिमा मात्र परेको थिएन। नवलपुरको गैंडाकोट–१ मा रहेको मौलाकालिका केबलकारको तल्लो स्टेसन पनि आगजनी र तोडफोडको सिकार भएको थियो।
त्यहाँ पनि केबलकारको संरचना, कार्यालय, फर्निचर तथा प्राविधिक उपकरणमा क्षति पुर्याइएको थियो। कुल क्षति २० करोड रूपैयाँभन्दा बढी भएको कम्पनीले जनाएको छ।
त्यसलगत्तै क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण र मर्मतका लागि डोपेलमायरबाट विशेष प्राविधिक टोली आयो। टोलीले करिब एक सातासम्म परीक्षण तथा प्राविधिक काम गर्यो।
मौलाकालिका केबलकार २०८२ मंसिर ६ देखि पुनः सञ्चालनमा आएको थियो।
यो परियोजनामा करिब दुई अर्ब रूपैयाँ लगानी भएको छ। दुई सयभन्दा बढीले रोजगारी पाएका छन्। केबलकारमा मात्रै ४५ जना कार्यरत छन्। केबलकारको माथिल्लो स्टेसनमा होटल तथा रिसोर्टका पूर्वाधार थपिएका छन्। इल होटल २०८२ वैशाखमा सञ्चालनमा आएको थियो।
गैंडाकोटको फेदीबाट मौलाकालिका मन्दिर नजिकको डाँडासम्म पुग्ने यो केबलकार करिब १.२ किलोमिटर लामो छ। यात्रु करिब पाँच मिनेटमा माथिल्लो स्टेसन पुग्छन्। केबलकार सञ्चालनपछि मौलाकालिका मन्दिर आउने भक्तजन संख्या करिब ३० प्रतिशत बढेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
२०८० मा करिब २ लाख ७० हजार र २०८१ मा २ लाख ३५ हजारले केबलकार यात्रा गरेका थिए।
चन्द्रागिरिमा जस्तै मौलाकालिकामा पनि माथिल्लो स्टेसन जोगाउन स्थानीय बासिन्दाको भूमिका महत्त्वपूर्ण रहेको ढकाल बताउँछन्।
'मौलाकालिकामा पनि स्थानीयले बलियो साथ दिनुभयो। उहाँहरूको सहयोगकै कारण थप क्षति हुन पाएन,' उनले भने।
-1762582407.jpg)
केबलकारभन्दा ठूलो योजना
एकैदिन दुई परियोजनामा आएको संकट र त्यसपछि पुनर्निर्माणमा थप लगानी गर्नुपरे पनि ढकालको योजना रोकिएको छैन।
उनी नेपालका सातवटै प्रदेशमा कम्तिमा एउटा केबलकार सहितको एकीकृत पर्यटकीय गन्तव्य बनाउने लक्ष्यमा छन्।
यसको उद्देश्य पर्यटकको बसाइ अवधि बढाउनु हो। अहिले नेपालमा पर्यटकको औसत बसाइ अवधि १२ देखि १३ दिन छ। सातवटै प्रदेशमा पर्यटकको बसाइ बढाउने लक्ष्यमा अघि बढेको ढकाल सुनाउँछन्।
'हाम्रो लक्ष्य सातै प्रदेशलाई पूर्वाधारयुक्त पर्यटकीय गन्तव्य बनाउने हो। पर्यटकलाई एउटा ठाउँबाट अर्को ठाउँ लैजान सकियो भने नेपालमा बस्ने अवधि पनि बढाउन सकिन्छ,' उनले भने।
उनी लुम्बिनी, मौलाकालिका र कैलालीको चिसापानीलाई भारतीय पर्यटक लक्षित गन्तव्यका रूपमा हेर्छन्। यी क्षेत्र भारतीय सीमाबाट करिब डेढदेखि दुई घन्टा दूरीमा छन्। त्यसैले भारतीय पर्यटकको आगमन र बसाइ बढाउने रणनीति बनाइएको छ।
यस्ता ठूला परियोजना छोटो समयमा सम्पन्न गर्न सरकारको सहयोग आवश्यक रहेको उनी बताउँछन्। यसका लागि नीतिगत सहजता, पूर्वाधार निर्माणमा सहयोग र वन तथा वातावरणसम्बन्धी काममा सहजीकरणको आवश्यकतामा उनी जोड दिन्छन्।
यस्ता परियोजनाले स्थानीय स्तरमै रोजगारीको ढोका पनि खोल्छ। स्थानीय रोजगारी बढे युवाले रोजगारीकै लागि विदेश जानुपर्ने बाध्यता घटाउन सकिने उनको विश्वास छ।
चन्द्रागिरि जस्ता परियोजनाबाट प्रभावित भएर विभिन्न प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषदले आफ्नो प्रदेशमा पनि यस्तै पर्यटकीय पूर्वाधार निर्माण गरिदिन आग्रह गर्दै आएका छन्। कर्णाली लगायत विभिन्न प्रदेशबाट यस्ता प्रस्ताव आएको ढकाल बताउँछन्।
उनका अनुसार यी केबलकार परियोजना आफैमा पर्यटकीय प्याकेज हुन्।
उदाहरणका लागि — चन्द्रागिरिमा भक्तजनका लागि मन्दिर छ। बालबालिकाका लागि फनपार्क छ। युवाका लागि रेस्टुरेन्ट र साहसिक गतिविधि छन्।
मौलाकालिकामा पनि मन्दिरसँगै केबलकार र होटल जोडिएका छन्।
'यी परियोजना केबलकार चढ्ने ठाउँ मात्र होइनन्। स्थानीय रोजगारी, व्यवसाय र पर्यटनलाई जोड्ने गन्तव्य पनि हुन्,' ढकालले भने।
त्यसैले २०८२ भदौ २४ को घटना केवल करोडौं रूपैयाँका संरचना र उपकरणमा भएको क्षतिको कथा मात्र रहेन। कुनै पनि परियोजनासँग स्थानीय अर्थतन्त्र कसरी जोडिएको हुन्छ भनेर बुझाउने घटना पनि बन्यो।
सँगसँगै, स्थानीय अर्थतन्त्रसँग जोडिएको परियोजनामा हमला हुँदा स्थानीय बासिन्दा कसरी एकजुट हुन्छन् भन्ने उदाहरण पनि देखायो।
***