आज काठमाडौंमा सहिदहरूको सम्झना गरिँदैछ, विमलको परिवार भने असोज ११ गते पुण्यतिथिको तयारीमा छ
आज भदौ २३ गते।
ठ्याक्कै एक वर्षअघि आजकै दिन काठमाडौंको बानेश्वरमा प्रहरीको गोली लागेर २१ वर्षीय विमलबाबु भट्टले ज्यान गुमाए।
विमलको परिवारलाई त्यो दिनले दिएको शोक आज पनि घटेको छैन।
उनकी आमा सीता भट्टको आँखा अझै ओभानो भएको छैन।
५६ वर्षीया सीता र उनका श्रीमान ६५ वर्षीय रामकृष्ण भट्ट आज पनि छोराको तस्बिर हेर्दै टोलाउँछन्।
कुनै दिन, कुनै पल बित्दैन, जब उनीहरूको आँखाअगाडि विमलको सम्झना नआएको होस्!
चाडपर्व होस् या खेतीपातीको समय — विमल जसरी पनि घर पुग्थे। परिवार उनको बाटो हेरिरहन्थ्यो।
अहिले पनि उनी आउने समयतिर घरमा विमलको सम्झना बाक्लिन्छ।
'घरमा आमा सधैं रोइरहनुहुन्छ। बुबाको हालत पनि त्यस्तै छ,' विमलका दाजु अनिल भट्ट भन्छन्, 'भाइ नहुँदा घरको एउटा बलियो खम्बा नै ढलेजस्तो भएको छ। यो एक वर्ष हामीले कसरी बितायौं, शब्दमा व्यक्त गर्नै सकिन्न।'
अनिल घरका माइला छोरा हुन्। विमल कान्छा।
तर विमल परिवारका कान्छा छोरा मात्र थिएनन्। अनिलका शब्दमा, उनी गाउँकै 'चमक' थिए।
गाउँघरमा कसैलाई दुःख पर्दा होस् वा बिरामी हुँदा — सहयोगका लागि सबभन्दा पहिला पुग्ने विमल नै हुन्थे। सामाजिक काममा खटिन उनलाई रूचि थियो। मानिसहरूसँग छिट्टै घुलमिल पनि हुन्थे।
त्यसैले विमललाई गुमाउँदा परिवारले एउटा सदस्य मात्र गुमाएन, गाउँले दुःख पर्दा दौडिएर आउने एउटा सहयोगी मान्छे पनि गुमायो।
अहिले भोटेकोशी–त्रिशूलीमा आएको बाढीले पनि अनिललाई भाइको त्यही बानी सम्झाइरहेको छ।
'भाइ भएको भए यस्तो विपत्ति बेला मान्छेहरूलाई सहयोग गर्न त्यहीँ पुगिसक्थ्यो,' उनी भन्छन्, 'भाइको सहयोगी बानीले हामी सबैलाई उनको झझल्को दिइरहन्छ।'
काठमाडौं आउँदा बोकेको सपना
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का विमल एसइई सकेपछि थप अध्ययनका लागि सन् २०२१ मा काठमाडौं आएर दाजु अनिलसँग बस्न थालेका थिए।
अध्ययनसँगै भविष्य बनाउने उनको सपना थियो। प्लस-टू सकेपछि विदेश जाने तयारीमा थिए।
'उसले स्वदेश बस्न मानिरहेको थिएन। त्यसैले दाजुभाइ नै विदेश जाने तयारीमा थियौं,' अनिल ती दिन सम्झिन्छन्, 'तर दलाल र कन्सल्टेन्सीहरूको ठगीले पटक पटक भिसा अस्वीकृत भइरहेको थियो। त्यसैले हामी कन्सल्टेन्सीहरूमा डुलिरहेका थियौं।'
पटक पटक भिसा अस्वीकृत हुनु र म्यानपावर तथा कन्सल्टेन्सीको दौडधुपले विमलभित्र निराशा बढ्दै गएको अनिल बताउँछन्।
त्यही समय सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो। त्यसले युवाहरूमा आक्रोश थपियो। आन्दोलनको आह्वान भयो।
र, त्यसको अघिल्लो साँझ विमलले दाजु अनिललाई भने, 'भोलि म जेनजी आन्दोलनमा जानुपर्छ। अब हामीजस्ता युवा नगएर हुन्छ? जान्छु, मरे पनि मर्छु!'
अनिलले उनलाई धेरै सम्झाए।
विमल आफ्नो निर्णयबाट पछि हटेनन्।
'आज तँ अफिस नजा न'
भदौ २३ गते बिहान अनिल काममा निस्कने तयारी गर्दै थिए। विमलले उनलाई रोक्न खोजे।
'दाइ, आज तँ अफिस नजा न।'
तर अनिल बिहान सवा नौ बजे काममा निस्किए।
विमल त्यति बेला डेरामै थिए।
'म काममा जाने बेलासम्म ऊ डेरामै थियो,' अनिल सम्झिन्छन्, 'केही छिनपछि साथीसँग मोटरसाइकल चढेर 'आज आन्दोलनमा जान्छु, फर्किन पनि सक्छु, नफर्किन पनि सक्छु' भन्दै बानेश्वरतिर हानिएछ।'
त्यसपछि अनिल र विमलको भेट भएन।
दिउँसो १ बजेभन्दा अगाडि नै बानेश्वरमा प्रहरीको गोली लागेर विमल ढले।
उनलाई सिभिल अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो।
अनिललाई त्यो खबर तत्काल थाहा भएन।
बानेश्वरमा मानिसको भीड थियो। सडक जाम थियो। उनी साँझ करिब ६ बजे मात्र घर पुगे।
'साढे ७ बजे मामाहरूले भाइको मृत्युको खबर सुनाउँदा बेहोस नै भएको थिएँ,' अनिल भन्छन्, 'आमाको स्वास्थ्यमा पनि समस्या थियो। त्यसैले भाइ बितेको कुरा चार–पाँच दिनपछि मात्र घरमा जानकारी गराएँ।'
आमाले एकै पटक अर्को ठूलो चोट सहन नसकून् भनेर परिवारले खबर लुकाएको थियो।
'मलाई अझै लाग्छ, ऊ ढोका खोलेर भित्र पस्नेछ'
एक वर्ष बित्यो।
अनिलका लागि समय त्यही दिनमा अड्किएजस्तो छ।
परिवारले एउटा सदस्य मात्र गुमाएको होइन, आफ्नो घरको खुसी नै गुमाएको उनी बताउँछन्।
खेतीपाती भित्र्याउने बेला होस् या गाउँमा कसैलाई दुःख पर्दा — अहिले पनि परिवार र गाउँलेले विमललाई सम्झिन्छन्।
'ऊ असाध्यै सामाजिक थियो। मान्छेसँग छिट्टै घुलमिल भइहाल्थ्यो,' अनिल भन्छन्, 'आज एक वर्ष भइसक्यो, तर मलाई अझै पनि लाग्छ — ऊ कतै सामाजिक काममै व्यस्त छ र अहिल्यै ढोका खोलेर 'दाइ' भन्दै छिर्नेछ।'
यति भन्दाभन्दै अनिल एकछिन थामिन्छन्।
सायद, उनको आँखाअगाडि भाइको अन्तिम दृश्य आइरहेको छ — गोली लागेर ढलेको विमलको रक्ताम्मे शरीर।
बलिदानको एक वर्ष
जेनजी आन्दोलन क्रममा युवाहरूले बलिदान दिए। आन्दोलनको आँधीबेहरीले सत्ता फेरियो। राजनीतिक समीकरण बदलियो।
तर जसका छोरा, भाइ र आफन्तको बलिदानीमा ती परिवर्तन सम्भव भए, ती परिवारका लागि एक वर्षपछि पनि राज्यको उपस्थिति महसुस हुन नसकेको अनिल बताउँछन्।
सरकारका प्रतिबद्धता र व्यवहारप्रति उनको गुनासो छ।
'सरकारबाट जुन अपेक्षा गरिएको थियो, त्यो शून्य नै रह्यो,' उनी निराश हुँदै भन्छन्, 'हाम्रा भाइहरूको रगत र बलिदानको जगमा उभिएर राजनीतिक खिचातानी गर्ने र भोट माग्ने शासकहरूसँग एउटै आग्रह छ — उनीहरूको रगतमाथि खेलबाड नगरियोस्।'
आज सहिद स्मृति दिवसका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम भइरहेका छन्। विमलसहित आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना गरिँदैछ।
तर विमलको परिवार आफ्नै घरमा छ — वर्षदिनको स्मृतिसभाको तयारीमा।
अनिलका अनुसार, आउँदो असोज ११ गते गोरखास्थित आफ्नै गाउँमा विमलको वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि कार्यक्रम राखिएको छ।
यो पनि पढ्नुहोस्: