मेरो रिसोर्ट खरानी पार्ने अबुझहरूलाई म भन्छु– गलत गर्यौ, प्रायश्चित गर, आफूलाई बदलेर बरू उद्यमी बन!
हामी पुग्दा कोमल वली रिसोर्टको बगैंचामा हिँड्दै फोनमा गफिइरहेकी थिइन्। हामीलाई देखेपछि मुसुक्क हाँसिन् र हात हल्लाइन्। नजिकै बस्न इशारा गरिन्।
बोटबिरूवाले हराभरा रिसोर्ट चलायमान देखिन्थ्यो। त्यही परिसरमा भएका गाडीका अस्थिपञ्जरले भने गत भदौ २४ को ध्वंस सम्झाइरहेका थिए।
त्यस दिन कोमल वलीको यो 'कोमल रिसोर्ट' मा आगजनी भएको थियो।
'अनाहकमा मेरो रिसोर्ट खरानी पारिदिए। मन छियाछिया भएको थियो। यो ठाउँमै कहिल्यै फर्किन्नँ होला भन्ने लागेको थियो,' कोमलले भनिन्।
एकछिन रोकिएर फेरि थपिन्, 'तर आफ्नो थलो बिर्सिन निकै गाह्रो हुँदो रहेछ। त्यसैले फेरि साहस बटुलेर हिम्मतका साथ उठ्दैछौं। लगानी थपेर रिसोर्ट राम्रो बनाउँदैछौं।'
दाङ, तुलसीपुर–६, गोलौरास्थित कोमल रिसोर्टको 'प्रि-ओपनिङ' २०८१ सालमा कोमलकै जन्मदिन पारेर वैशाख १ गते गरिएको थियो।
कोमल लोकदोहोरी गायक, मोडल र पत्रकारका रूपमा नाम कमाइसकेकी व्यक्तित्व हुन्। उनले झन्डै दुई दशक रेडियो नेपालमा समाचार वाचकका रूपमा पनि काम गरिन्। पछिल्लो समय उनी नेकपा एमालेको राजनीतिमा सक्रिय छिन्। पूर्वसमानुपातिक सांसद उनी राष्ट्रिय सभाकी पूर्वसदस्य पनि हुन्। २०७९ सालमा पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार थिइन्।
उनकै आग्रहमा सोही वर्ष फागुन ५ गते तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उनको रिसोर्टको औपचारिक उद्घाटन गर्न पुगेका थिए। ओली घोराहीमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्न गएका बेला कोमलले उनलाई निम्त्याएकी थिइन्।
त्यसपछि रिसोर्ट अगाडि बढ्दै मात्र थियो, २०८२ भदौ २४ मा आगजनी भयो। आगो लगाउनेहरूले 'केपी ओली ल हेर, एमाले नेता कोमल ल हेर' भन्दै नाराबाजी गरेका भिडिओहरू सामाजिक सञ्जालमा देखिए।
'त्यही कारण मेरो रिसोर्ट खरानी पारिएको हो भने उनीहरू अबुझ हुन्,' कोमलले भनिन्, 'उनीहरूलाई म भन्छु– तिमीहरूले गलत गर्यौ अबुझहरू हो। तिमीहरू प्रायश्चित गर, आफूलाई बदल, बरू उद्यमी बन्नतर्फ लाग।'

रिसोर्ट खोल्नुको उद्देश्य राजनीतिक शक्ति प्रदर्शन गर्नु नभएको उनी बताउँछिन्। आफ्नै नाममा व्यवसाय सञ्चालन गरेर पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धन गर्नु, रोजगारी सिर्जना गर्नु उनको उद्देश्य थियो।
'म शक्ति प्रदर्शन गर्ने खालको मान्छे होइन पनि। जीवनभरको दुःख, मेहनत र परिवारको सहयोगमा व्यवसाय गरेकी थिएँ,' उनले भनिन्, 'थोरै भए पनि आफू र स्थानीयको पनि आयस्रोत होस् भन्ने उद्देश्य थियो। के यो गलत थियो?'
केपी ओलीले उद्घाटन गरेकै कारण रिसोर्टमा आगो लगाइएको भन्ने बुझाइप्रति उनले अर्को प्रसंग पनि जोडिन्।
ओलीले उद्घाटन गर्नुअगाडि, माघमै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उनको रिसोर्ट पुगेका थिए। कोमलले देउवाबाट पनि रिसोर्ट उद्घाटन गराउन चाहेकी थिइन्। तर काम पूरा नभएकाले सम्भव भएन।
आफ्नै पार्टी अध्यक्ष पुगेका बेला भने उनले अवसर सदुपयोग गरिन्।
'म कुनै राजनीतिक नाताको वा अर्बौं सम्पत्ति भएको मानिस होइन। मैले यहाँसम्म आइपुग्न कति संघर्ष गरेकी थिएँ भन्ने बुझिएन,' उनले भनिन्, 'सात सयभन्दा बढी गीत गाएँ। दाङलाई देश, विदेशमा चिनाउन तथा स्थापित गर्न भूमिका खेलेँ। मेहनत र संघर्षबाट उठेकी मैले कसको के बिगारेकी थिएँ? सामान्य व्यवसाय गरेर अगाडि बढ्न खोजेकी मेरो जीवनभरको कमाइमा किन आगो झोसियो?'
कोमल रिसोर्ट एक बिघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको छ। बजारदेखि झन्डै ३ किलोमिटर दक्षिण र टरिगाउँ एयरपोर्टको गेटदेखि पश्चिम करिब ७ सय मिटर दक्षिणतिर छ रिसोर्ट।
यो जग्गा कोमलको परिवारकै हो। उनका अनुसार २०४७ सालताका किनिएको यो जमिनको एक लाख रूपैयाँ पनि परेको थिएन।
यहीँ वली परिवारको पानी उत्पादक कम्पनी 'कोमल जल' पनि छ। २०७२ सालतिर खुलेको यो कम्पनीबाट पहिले बोतल र जारमा पानी उत्पादन हुन्थ्यो। अचेल जार मात्रै हुन्छ।
रिसोर्ट खुल्नुअघि यहाँ वली परिवारले एकतले घर बनाएको थियो। २०७४ सालमा दोस्रो तला थप्यो। त्यसमा कोही बस्दैनथ्यो। बेलाबखत आउजाउ र रेखदेख गर्थे। बारीमा मकै, तोरी, धान लगाइन्थ्यो।
पछि फल र फूलका बोटबिरूवा रोपियो। ठाउँ हराभरा र मन बहलाउने बन्यो। अनि रिसोर्ट खोल्ने योजना बनेको कोमलले बताइन्।
'यो पुरानो भवनको संरचना रिसोर्ट शैलीको छैन पनि। यसलाई प्रकृतिमैत्री वातावरणमा रमाउने ठाउँ बनाउने उद्देश्य हो हाम्रो,' उनले भनिन्।

भदौ २४ को आगजनीबाट साढे २ करोड रूपैयाँ बराबरको क्षति भएको कोमलले बताइन्। सबै कोठा ध्वस्त भएका थिए। लाखौं पर्ने सानादेखि ठूला सामान, फर्निचर, मेसिन, उपकरण केही बचेन। पानी उद्योग र रिसोर्टका साना–ठूला गरी आधा दर्जनजति गाडी पनि ध्वस्त भए।
त्यस्तै रिसोर्टमा पालिएका हाँस तथा कुखुरादेखि मदिरा, पेयपदार्थ लुटिए।
आगजनी भएको दिन रिसोर्ट हलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सेमिनार चलिरहेको थियो। उनीहरूमध्ये कतिपयका ल्यापटप, मोबाइलजस्ता उपकरण पनि आगोमा जले।
'भवनको भित्ता मात्रै बचेको थियो। तर हामीले हिम्मत हारेनौं,' उनले भनिन्, 'मेरो परिवारले खरानी टक्टक्याउँदै फेरि उठ्ने प्रण गर्यो। ऋण खोजेर पनि बनायौं र फेरि रिसोर्ट अहिले पूर्ववत् अवस्थामा पुगेको छ। अब विगतका नमिठा दिनहरूमा अल्झिएर बस्न चाहँदैनौं।'
रिसोर्टमा अब ३ करोड रूपैयाँ हाराहारी लगानी थप्ने योजना छ। पाहुनाका लागि १६ कोठाको नयाँ भवन बनाउने तयारी भइरहेको उनले बताइन्।
'अध्यक्षज्यूले पनि मेरो नाम लिएर रिसोर्टमा आगो लगाएको सुन्दा निकै दुःख लाग्यो, तर आत्तिनु, हरेस खानु हुँदैन, फेरि उठेर देखाउने हिम्मत गर्नुपर्छ भन्नुभयो,' केपी ओलीका भनाइ उद्धृत गर्दै उनले भनिन्।
कोमल तत्कालीन समय विकट मानिने तुलसीपुर पश्चिमको टिकरी गाउँको मध्यम परिवारमा जन्मिएकी हुन्। न्वारानको नाम 'कुसुम' भए पनि उनका स्वर्गीय पिता ललितबहादुर वलीले पछि कोमल राखिदिएका थिए।

स्कुलमा हुने विभिन्न कार्यक्रमहरूमा उनी गीत गाउँथिन्। प्रतिभाकै कारण कक्षा ४ देखि १० सम्म छात्रवृत्तिमा पढ्ने मौका पाइन्। बिस्तारै गाउँठाउँमा उनको चर्चा हुन थाल्यो।
२०४१ सालमा कोमलको चर्चा सुनेर घोराहीबाट स्वर्गीय लोकदोहोरी गायक नारायण पाण्डे उनलाई खोज्दै पुगेका थिए। त्यसपछि उनको गायन यात्रा अझै अगाडि बढ्यो।
महेन्द्र माविबाट २०४३ सालमा एसएलसी दिँदासम्म उनी चर्चित भइसकेकी थिइन्। गीत गाउन काठमाडौं आउजाउ गर्थिन्।
'त्यो बेला मेरो गला र कलाको सम्मान गर्दै बस टिकट र खाना निःशुल्क थियो,' उनले भनिन्।
तुलसीपुरमा क्याम्पस नभएकाले उनले घोराहीको महेन्द्र बहुमुखी क्याम्पस पढिन्। मानविकी संकायमा स्नातक पूरा गरिन्। यसबीच उनको गायन यात्रा उकालो लाग्यो।
२०४४ फागुनमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा कोमल र उनकी बहिनी प्रज्ञा द्वितीय भएका थिए। त्यसपछि ६/६ महिनामा रेडियो नेपालले उनलाई गीत गाउन बोलायो।
यसरी उनको चर्चा देशभर फैलिँदै गयो।
२०४६ सालपछिका वर्षहरूमा साविक राप्ती अञ्चललाई आफूले दोहोरी गीत प्रतियोगितामा लगातार ५ वटा स्वर्ण पदक दिलाएको उनले बताइन्।
'त्यो बेलादेखि मैले पाएको नगद पुरस्कार जम्मा गरेर जोडेको सम्पत्ति थियो,' कोमलले भनिन्, 'अबुझहरूले आगो झोसेर स्वाहा पारिदिए!'
***
यो पनि पढ्नुहोस्:

