महाभारतमा एउटा श्लोक छ जसले भन्छ — व्यक्तित्वको उत्पत्ति समयले गर्छ र उनीहरूको संहार पनि समयले नै गर्छ
आजभन्दा ठिक एक वर्षअघि, भदौ २३ गते केपी ओली प्रधानमन्त्री थिए। अनि 'प्राइममिनिस्टर–इन–वेटिङ' थिए शेरबहादुर देउवा।
सिंहदरबारमा विराजमान थियो देशका दुई ठूला दल कांग्रेस–एमाले नेतृत्वको झन्डै दुई तिहाइको सरकार।
त्यसको ठ्याक्कै एक वर्षपछि, अहिले— त्यस बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रधानमन्त्री छन्।
अनि ओली र देउवा अझै आफ्नो राजनीति बाँकी छ भन्ने भ्रममा छन्।
जुन दल र उनीहरूका कार्यकर्ताले काँधमा बोकेर बारम्बार उनीहरूलाई सिंहदरबारमा विराजमान गराएका थिए, आज तिनै दल र कार्यकर्ताको भविष्य ध्वस्त बनाउन जानीनजानी दुवै जना अग्रसर छन्।
समय बलवान् छ। अनि समयको खेल बुझिनसक्नु छ।
महाभारतमा एउटा सुन्दर पंक्ति छ—
कालः सुप्तेषु जागर्ति, कालो हि दुरतिक्रमः।
अर्थात् समयको गति कसैले रोक्न सक्दैन। किनभने, मानिस सुतिरहेको बेला पनि समय जागिरहेको हुन्छ।
गत वर्ष भदौ २३ र २४ गते नेपालमा जे भयो, त्यो अकस्मात् थियो। अकल्पनीय थियो।
तर सँगसँगै त्यो अवश्यम्भावी पनि थियो।
कहिलेकाहीँ जे कुरा असम्भव लाग्छ, त्यही अवश्यम्भावी पनि हुन्छ। किनकि हामीले असम्भव ठानेको कुरा वास्तवमा भित्रभित्रै सम्भव भइरहेको हुन्छ—हामीले त्यसलाई देखिरहेका भने हुँदैनौं।
समाजले कहिलेकाहीँ भित्रभित्रै उम्लिरहेको असन्तोष लामो समयसम्म सुन्दैन। त्यसलाई देख्दैन पनि। सत्ताले त्यसलाई पहिले सानो ठान्छ, त्यसपछि नकार्छ, अन्ततः दुत्कार्छ।
तर नकार्दैमा त्यो हराउँदैन। सतहमुनि जम्मा भइरहन्छ। हुर्किरहन्छ।
सायद महाभारतको 'कालः सुप्तेषु जागर्ति' को अर्थ पनि यही हो — हामी निदाएका बेला पनि समय आफ्नो काम गरिरहेको हुन्छ।
भदौ २३ को जेन–जी आन्दोलन पनि हामी निदाएको बेला काम गरिरहेको समयको परिणाम थियो सायद।
यसको तात्कालिक निहुँ ओली सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध थियो। तर बिउ धेरै अघि रोपिएको थियो।
विशेषगरी २०७२ सालमा संविधान जारी भइसकेपछिका १० वर्षमा प्रमुख राजनीतिक दल र तिनका प्रमुख नेताले जे चर्तिकला देखाए, सामाजिक असन्तोषको बिरूवा त्यही चर्तिकलाको हिलोमा हुर्किएको हो।
ती दस वर्षमा ओली, देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' ले आँखा टट्टाउने गरी चलाएको सत्ताको 'म्युजिकल चेयर' र त्यसको वरिपरि हुर्किएको बेथिति, कुशासन र भ्रष्टाचार युवा असन्तोषको मुख्य कारण थियो।
यो बेथिति अन्त्य हुन्छ वा हुँदैन भन्ने कुनै छनक सत्तामा बस्नेले दिएनन्। 'सुधार हुन्छ, हुँदैछ, हामी त्यसतर्फ काम गर्दैछौं' भन्ने झिनो आशा पनि सञ्चार गर्न सकेनन्। त्यसले सिर्जित निराशामा युवाहरू निसास्सिएका थिए।
यो कुशासनकै अंगका रूपमा राज्यका हरेक निकायको जसरी दलीयकरण गरियो, जसरी कुनै काम गर्न दलको फेरो समात्नुपर्छ भन्ने विश्वास गहिरो हुँदै गयो, जसरी दलका नेता–कार्यकर्ताले कानुन उल्लंघन गरेर पनि उन्मुक्ति पाउने अवस्था निर्माण गरियो, र जसरी बिस्तारै मानिसहरूले हाम्रा दुःखबारे नेताहरूलाई कुनै मतलब छैन भन्ने ठान्दै गए, त्यसले उनीहरूको मनमा, विशेषगरी युवाको मनमा, नुनचुक गर्यो।
अर्कोतिर मानिसहरू पिरोलिएका छन्, आक्रोशित छन् भन्ने मान्न देउवा, ओली र प्रचण्डहरू कहिल्यै तयार भएनन्। प्रचण्ड त 'म्याजिकल नम्बर' को भ्रममा यति मुग्ध थिए र उनी ६–६ महिनामा एउटा काँधबाट अर्को काँध उफ्रिँदै थिए। उनी मानिसको मनको बेचैनीबारे बेखबर रहे। आफू सत्ताबाट ओर्लिएपछि मात्र यसबारे बोल्न थाले।
सत्तामा वशीभूत यी तीन नेताविरूद्ध, उनीहरू चिरनिद्रामा सुतेका बेला समयले कोल्टे फेर्यो। जो आफूसँग हिँड्न सक्दैन, उसलाई समयले छाड्छ। त्यो नै समयको धर्म हो।
आज ओली, देउवा र उनीहरूको वरिपरि घुम्ने कतिपय नेतालाई लाग्छ— जेनजी आन्दोलन भएकै होइन। त्यो विद्रोह थिएन। आफूहरूसँग बदला लिन र आफूहरूलाई हटाउन कसैले गरेको षड्यन्त्र थियो।
'कन्स्पिरेसी थ्योरी' नेपाली राजनीतिमा सदाबहार चल्छ। अहिले पनि चलिरहेको छ।
'२०४६ सालको आन्दोलन नेपाली जनताले गरेका होइनन्, अरूले नै गरिदिएको हो। २०६२/६३ को जनआन्दोलन बाहिरबाट प्रायोजित हो। राजा नेपालीले फालेका होइनन्, गणतन्त्र नेपालीले ल्याएका होइनन्। सबै विदेशीले गरेका हुन्!'
यस्तै कन्स्पिरेसी थ्योरी सुनेर, हुर्किएर आएका हौं हामी। र, सत्यको केही न केही अंश भएकैले यस्ता थ्योरी चलेका हुन्।
२०४६ र २०६२/६३ को आन्दोलनमा 'बाहिर' को साथ र सदिच्छा नभएको होइन। यसपालि पनि ओली र देउवासँग कोही पक्कै रिसाएको थियो उनीहरूलाई 'देखाउने' इच्छा कसैको पक्कै थियो। अनि भदौ २३ र अझ भदौ २४ गते उनीहरूलाई 'देखाउन', सत्ताच्युत गराउन उनीहरूले पनि भूमिका खेले।
तर त्यो निर्णायक होइन। जसरी २०४६ वा २०६२/६३ मा त्यो निर्णायक थिएन, त्यसरी नै यसपालि पनि निर्णायक होइन।
२०४६ मा पाटनको जुलुस बागमती तरेर आफै काठमाडौं पुगेको हो। कसैले पठाएको होइन। २०६२/६३ मा रिङरोडभरिको मानवसागर कसैले उरालेको होइन।
गत वर्ष भदौ २३ गते पनि आजित भएका युवाहरू माइतीघरसहित धेरैतिरबाट बानेश्वरमा संसद भवनअगाडि पुगेका हुन्। कसैले पठाएको होइन।
तीमध्ये कतिपय आक्रोशित भएर संसदमा प्रवेश गर्न खोजे। कतिपय योजनाबद्ध रूपले आएका मानिस संसदमा घुस्न खोजे होलान्। तर प्रहरीले गोली चलाउँदा त्यो दिन बानेश्वरमा ज–जसको ज्यान गयो, तीमध्ये कसैको पनि पृष्ठभूमि सन्दिग्ध थिएन। आजसम्म त्यस्तो भेटिएको छैन।
भदौ २३ घटनाको आक्रोशमा भोलिपल्ट काठमाडौं मात्र होइन, देशका प्रमुख सहरमा र कतिपय गाउँमा पनि लाखौं मानिस सडकमा ओर्लिए। ती प्रायोजित मानिस थिएनन्। पक्कै पनि त्यो भीडमा घुसपैठ थियो होला। राज्यका मुख्य संरचनामा आगो झोस्न कतिपय तिनै मानिस पुगे होलान्। होस भएको एउटा नेपालीले सोच्नसम्म नसक्ने आगजनीको हर्कत तिनैले गरे होलान्।
तर त्यस दिन सडकमा ओर्लिएका मानिसको आक्रोश र बेचैनी सच्चा थियो। त्यसको पुष्टि फागुन २१ को निर्वाचनले पनि गरिसकेको छ।
खासमा भदौ २३ गते साँझ ओली, देउवा र प्रचण्डको राजनीतिक औचित्य समाप्त भइसकेको थियो। हामीले त्यही साँझको सम्पादकीयमा यो प्रस्टसँग लेखेका छौं। जस–जसलाई भ्रम थियो, तिनको भ्रम पनि फागुन २१ को निर्वाचनपछि टुट्नुपर्ने थियो।
तर टुटेन।
त्यसैले आफ्नो राजनीति बाँकी रहेको भ्रममा ओली, देउवा र प्रचण्ड छन्।
महाभारतको माथिको श्लोकको अगाडि पनि एउटा वाक्य छ। जसले भन्छ —
कालः सृजति भूतानि कालः संहरते प्रभुः।
यो लेखको सन्दर्भमा यसलाई यसरी भन्न सकिन्छ — व्यक्तित्वको उत्पत्ति समयले गर्छ र उनीहरूको संहार पनि समयले नै गर्छ।
त्यसैले हरेक मानिसले समय छँदै आफ्नो भूमिका निर्वाह गर्ने हो। आफ्नो कर्तव्य पूरा गर्ने हो। समय सकिएपछि व्यक्ति जतिसुकै बलवान् होस्, उसले केही गर्न सक्दैन।
समय सकिएपछिको सक्रियता अप्राकृतिक हुन्छ। अनि त्यो आफैमा विकृत हुन्छ। जसरी अहिले देउवा र ओलीका क्रियाकलाप विकृत बनेका छन्।
नेपाली कांग्रेसले देउवालाई ५ पटक प्रधानमन्त्री बनायो। ओलीलाई एमालेले ३ पटक।
अहिले दुवै जना जानेर वा नजानेर कांग्रेस र एमालेको ध्वंस गर्न लागेका छन्। एकजना बाहिर बसेर, अर्को भित्र बसेर।
देउवा अहिले कांग्रेसको नेतृत्वमा छैनन्। उनी पाए अदालती प्रक्रियाबाट कांग्रेस कब्जा गर्ने, नत्र छुट्टै कांग्रेस खोलेर त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष नेतृत्व गर्नेमा अघि बढेका छन्।
त्यसैको तयारी स्वरूप उनले 'कांग्रेस देउवा' लाई होइन, 'हिन्दु देउवा' लाई अघि सारेका छन्।
उनले आफ्ना समर्थकमाझ केही समयअघि भने, 'म हिन्दु हुँ— हिन्दु, हिन्दु, हिन्दु।'
देउवा हिन्दु हुन पाए। म हिन्दु हुँ भन्न पाए। कसैले पनि आफ्नो धर्म वा विश्वासबारे बोल्न पायो।
तर जब कुनै राजनीतिज्ञले 'म हिन्दु हुँ, हिन्दु, हिन्दु' भन्छ अनि ऊ र उसका समर्थकले हिन्दु राज्यको पैरवी गर्छन्, अर्कोले 'म मुसलमान हुँ, मुसलमान, मुसलमान' भन्छ र 'अल्लाहका लागि लड्छु' भन्छ वा अर्कोले 'म क्रिश्चियन हुँ, क्रिश्चियन र म मेरो धर्मका लागि लड्छु' भन्छ, त्यसले नेपाली समाजमा धार्मिक संकिर्णता र विग्रह बढाउन थाल्छ।
धर्म र धार्मिक आस्था निजी मामिला हुन् र हरेक धर्म बराबर छन्। राज्यले सबैलाई बराबरीको व्यवहार गर्नुपर्छ र कुनै एउटा धर्मलाई ग्रहण गर्नु हुँदैन।
देउवाले पनि जेनजी आन्दोलनअघि झन्डै पाँच दशक लामो आफ्नो राजनीतिमा कहिल्यै धर्म मिसाएनन्। त्यस अर्थमा धर्म र राजनीतिलाई अलग राख्ने बिपी कोइरालाको असल अनुयायी बने उनी।
अहिले राजनीतिमा आफ्नो समय सकिएपछि उनले बिपीका छोरालाई साथमा लिएर राजनीतिमा धर्म मिसाउन लागेका छन्।
देउवा पछिल्लो पटक सानेपास्थित केन्द्रीय कार्यालय बिपी स्मृति भवन गएका छैनन्। कांग्रेसको मूल्य र मान्यता बिस्तारै उनको विस्मृतिमा जानेछ। त्यसैले नेतृत्वबाहिर रहेका देउवाले कांग्रेसलाई धेरै हानि गर्न सक्ने छैनन्।
ओलीले भने एमालेलाई कज्याएर राखेका छन्। न ओलीले एमालेलाई छाडेका छन्, न एमाले उनलाई छाडेर बौरिन सकेको छ। उनले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर पार्टीले तयार पारेको प्रतिवेदन दराजमा थन्क्याएर राखेका छन्। त्यसमा छलफलसम्म हुन दिएका छैनन्। जसले उनको बहिर्गमन चाहेका छन्, उनीहरूविरूद्ध सार्वजनिक रूपमा गालीगलौजमा ओर्लिएका छन्। समय सकिएपछिको राजनीतिज्ञ कतिसम्म विद्रुप हुन सक्छ भन्ने उदाहरण बनेका छन् ओली।
देउवा र ओली अहिले जीवनको जुन मोडमा छन्, त्यो साँच्चै नै दिक्दारलाग्दो छ। र, त्यसले उनीहरूलाई नै अन्याय गरेको छ। किनभने, नेपालको प्रजातान्त्रिक–लोकतान्त्रिक आन्दोलनमा उनीहरूको जुन योगदान छ, उनीहरूले नेपाली नागरिकहरूको स्वतन्त्रताका लागि जुन संघर्ष र बलिदान गरेका छन्, त्यसको अन्तिम संस्करण यति विद्रुप हुन हुन्थेन।
तर समय बलवान् मात्र छैन, क्रुर पनि छ। ऊ समयको वेग विरूद्ध उभिनेहरूका विरूद्ध बेहिसाब निर्मम पनि हुन सक्छ।
ओली–देउवा र उनीहरूका समर्थकले भनिरहेका छन् — अहिलेको सत्ता अप्रजातान्त्रिक छ। देशको हितविरूद्ध छ र ६ महिना नपुग्दै त्यसको छनक देखिसक्यो। त्यसैले उनीहरूले खुट्टा बलियोसँग टेक्नै पर्नेछ। यसको प्रतिवादमा उभिनै पर्नेछ। राजनीति गर्नै पर्नेछ। नत्र देश बर्बाद हुन्छ!
प्रधानमन्त्री बालेन शाहले गरेका ठीक र बेठीक कामको विश्लेषण सुरू भइसकेको छ। त्यसको बहस सत्तारूढ दल रास्वपामै सुरू भइसकेको छ। प्रतिपक्षी दलहरूले संसदमै निरन्तर प्रश्न उठाएका छन्। मिडियाले निरन्तर उनका कमजोरी र उनले गरेका गल्तीबारे लेखेको छ, प्रश्न सोधेको छ।
ओली र देउवा थपिँदा ती प्रश्न बलिया हुने होइनन्, झन् कमजोर हुन्छन्। ओलीबिनाको एमालेले ती प्रश्न झन् प्रखरता साथ उठाउन सक्छ।
प्रधानमन्त्रीको कुर्सीमा बसेको ६ महिना पुग्न लाग्दा बालेन शाहका गुण र अवगुणको पनि रङ देखिन थालिसकेको छ।
समयले उनलाई पनि आफ्नो तुलामा चढाइसकेको छ।
बालेनको अहिलेसम्मको सबभन्दा ठूलो तागत भनेको आर्थिक इमान हो। प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले आफ्ना लागि, आफ्ना वरिपरिका मानिसका लागि वा आफ्नो दलका लागि कसैसँग आर्थिक मोलाहिजा गरेको थाहा छैन। वा प्रमाण छैन।
जुन मुलुकमा कुशासन र भ्रष्टाचार एउटा प्रमुख रोग हो, प्रधानमन्त्रीको यो गुणको तागत कम हुँदैन। उनका धेरै कमजोरीलाई यसले छेक्न सक्छ। अनि उनले राज्यका निकायहरूको डेलिभरीमा जसरी 'फोकस' गरेका छन्, आम मानिसले त्यसको केही अनुभूति गर्न थालेका छन्।
तर प्रधानमन्त्रीका कमजोरीको चाङ पनि कम छैन।
उनमा मुख्यतया 'थ्री सी' को समस्या छ — उनको मनमा कम्प्यासन (करूणा/समानुभूति) छैन, उनले गर्ने राजनीतिमा कन्स्टिच्युसन (संविधान/विधि) ले खासै धेरै अर्थ राख्दैन र, उनी कोल्याबोरेसन (सहकार्य) प्रति उदासीन मात्र छैनन्, त्यसप्रति प्रशस्त नकारात्मक छन्।
सुकुम्बासीमाथि अमानवीय हर्कत, व्यवसायीमाथि देखाएको सत्ताको तुजुक, संवैधानिक अंगमाथि थिचोमिचो, सर्वोच्च अदालतमाथि राजनीति, संसदप्रति गैरजिम्मेवारी, आफूलाई निर्वाचित गर्ने सांसदहरूसँग कृतज्ञ भाव र संवादको खडेरी, अनि देशभित्र र बाहिरका शक्तिहरूसँग सहकार्य र संयोजन अभाव प्रधानमन्त्री बालेनमा देखिएका टड्कारा कमजोरी हुन्।
यी कमजोरीको भारी बोकेर उनी सिंहदरबारको एउटा कुनामा खुम्चिएका छन्।
आफैले 'एक्ला' पारेका बालेनसँग राज्य सञ्चालनको अनुभवको कमी मात्र छैन, यसको जटिलता पर्गेल्ने क्षमता पनि कम देखिएको छ।
उनीसँग सिक्ने र सुधार गर्ने समय भने अझै बाँकी छ। उनी सरकारमा गएको ६ महिना मात्र पुगेको छ।
तर सिक्ने र सुधार गर्ने इच्छा र आँट उनमा छ कि छैन, त्यो भविष्यले देखाउनेछ।
नेपाली समाज र यसका जटिलताले सिंहदरबारको धुरीमा बसेको मानिसबाट अहिले जुन सुझबुझ र लचकता माग गर्छन्, त्यो प्रधानमन्त्री बालेनले बुझेनन् भने र आफूलाई त्यस अनुसार ढालेनन् भने समय उनका लागि पनि रोकिँदैन।
किनभने, रोकिनु समयको धर्म होइन।