एक उद्यमीको ३२ वर्षको मिहिनेतमा भीडले ३२ मिनेटभन्दा कम समयमा मच्चाएको थियो विनाश
'यहाँ पक्कै नेताहरू लुकेका होलान्!'
'यो त नेताहरूले भ्रष्टाचार गरेर कमाएको पैसाले बनेको होटल हो!'
गत वर्ष भदौ २४ गते मोरङको सुन्दरहरैंचा–विराटचोकस्थित नेपालीरिका होटलमा भीडबाट यस्तै आवाज आइरहेका थिए।
होटलका कर्मचारी भीडलाई सम्झाइरहेका थिए, 'यहाँ कुनै नेता लुकेका छैनन्। शंका लागे होटलका कोठा देखाइदिन हामी तयार छौं।'
तर भीडले उनीहरूको कुरा सुनेन।
शंकाकै भरमा होटलमा तोडफोड सुरू भयो। केही समयमै तोडफोड लुटपाटमा बदलियो। होटलभित्रका सामान बोक्दै मानिसहरू बाहिरिन थाले।
अन्ततः होटलमा आगो झोसियो।
आगोले केही मिनेटमै ती संरचनालाई आफ्नो चपेटामा लियो, जसलाई उभ्याउन नेपालीरिका होटलका संस्थापक भोलेश्वर दुलालले ३२ वर्ष पसिना बगाएका थिए।
एक युवा उद्यमीले ३२ वर्षसम्म पसिना बगाएर उभ्याएको धरोहर ध्वस्त पार्न अराजक भीडलाई ३२ मिनेट पनि लागेन।
त्यस दिन ६० भन्दा बढी सुविधासम्पन्न कोठा, भिल्ला, सेमिनार हल र फ्रन्ट डेस्क हेर्दाहेर्दै ध्वस्त भएको उनी बताउँछन्।
'४८ वटा टेलिभिजन, १२८ वटा ग्यास सिलिन्डरसहित होटलका बहुमूल्य सामान लुटिए। केही समयपछि चारवटा टिभी त भेटिए, तर ती पनि पूर्ण रूपमा फुटिसकेका थिए,' होटलका प्रबन्ध निर्देशक आकाश दुलालले भने, 'नेता लुकेको भन्ने निहुँ बनाएर आक्रमण र लुटपाट भयो।'
भदौ २४ गते जलेको त्यो होटल केवल एउटा व्यावसायिक संरचना थिएन।
त्यससँग एउटा उद्यमीको लामो संघर्ष र एउटा परिवारको सपना जोडिएको थियो।
दुई सय रूपैयाँको तलबदेखि होटलसम्म
नेपालीरिकाका संस्थापक भोलेश्वर दुलालको व्यावसायिक यात्रा संघर्षपूर्ण छ। शिशु अवस्थामै बुबा गुमाएका उनी आमाको एकल अभिभावकत्वमा हुर्किए।
अभावबीच उनले २०४६ सालमा मासिक २०० रूपैयाँ तलबमा मेसिनरी पसलबाट काम सुरू गरे।
त्यसको तीन वर्षपछि, २०४९ सालमा ७० हजार रूपैयाँ लगानी गरेर आफ्नै व्यापार सुरू गरे।
त्यही संघर्षको जगमा पछि पूर्वाञ्चल ल्युब आयल (पिएलओ) जस्ता उद्योग खडा भए।
लामो व्यावसायिक यात्रापछि उनले सुन्दरहरैंचाको विराटचोकमा नेपालीरिकालाई चेन होटलका रूपमा उभ्याएका थिए।
यसबीच अमेरिकामा रहेका उनका छोरा आकाश भने बुबालाई बारम्बार विदेशमै लगानी गर्न सुझाउँथे।
'बुबा, विदेशमै लगानी गरौं, विदेशमै व्यवसाय गरौं जहाँ हामी सुरक्षित हुन सक्छौं,' आकाशले भन्ने गरेको यो कुरा भोलेश्वर आज पनि सम्झिन्छन्।
तर भोलेश्वरको उत्तर फरक हुन्थ्यो — 'जे गर्ने हो, यही देशमा गर्ने हो। यही ठाउँमा गर्नुपर्छ।'
भदौ २४ को दिन त्यही विश्वासको प्रतीक बनेको होटल जलिरहेको थियो।
-1788938135.jpg)
बुबाको रगत–पसिनाले बनेको संरचनामा आगो दन्किएपछि अमेरिकामा रहेका आकाशले भावुक हुँदै लेखेका थिए — 'यहाँको इँटा, माटो र सामान मात्र जलेन। एउटा उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको विकास, कर्मचारीको भरोसा र म आफैलाई जेनजी भन्नेको सपना जल्यो। जेनजीको आन्दोलन भ्रष्टाचारविरूद्ध थियो, न कि कसैको इमानदारी र परिश्रमविरूद्ध।'
त्यसै दिन भोलेश्वरले सामाजिक सञ्जालबाटै भनेका थिए — 'हामी फेरि उठ्नेछौं।'
खरानीबाट फेरि उठ्ने निर्णय
होटल ध्वस्त भयो। तर दुलालले व्यवसाय र त्यहाँ काम गर्ने मानिसहरूलाई कहिल्यै ध्वस्त हुन दिएनन्।
होटलमा आगो लागिरहँदा आफ्नै ज्यान जोखिममा राखेर पाहुनाहरूलाई सुरक्षित बाहिर निकाल्न खटिएका कर्मचारीप्रति उनले फरक जिम्मेवारी महसुस गरे।
होटल पूर्ण रूपमा ठप्प भयो। भौतिक क्षति ठूलो थियो। तर १५० भन्दा बढी कर्मचारीलाई कामबाट निकाल्ने निर्णय उनले गरेनन्।
होटल बन्द रहेको तीन महिनासम्म पनि उनले सबै कर्मचारीलाई पूर्ण तलब दिए। गत वर्षको दसैं बोनससमेत भुक्तानी गरे।
'हाम्रो भौतिक क्षति ठूलो भयो, तर हाम्रा कर्मचारीको चुह्लो बन्द हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता थियो,' दुलालले भने।
त्यसैबीच उनले पुनर्निर्माणको निर्णय गरे।
घटना भएको चार दिनमै खरानी पन्छाएर काम सुरू भयो।
पुनर्निर्माणमा बैंक पनि साथमा आयो। नबिल बैंकले १० करोड रूपैयाँ ऋण उपलब्ध गराएपछि ध्वस्त संरचना फेरि उठाउने कामले गति लियो।
सञ्चालक, प्राविधिक र श्रमिकहरूको निरन्तर मिहिनेतपछि आगजनी भएको साढे दुई महिनामै नेपालीरिकाले फेरि पाहुनाका लागि ढोका खोल्यो।
२०८२ मंसिर १ गते होटल पुनः सञ्चालनमा आयो।
-1788938135.jpg)
एक वर्षपछि
नेता लुकेको र नेताहरूको लगानी रहेको भन्ने अफवाहका भरमा भएको त्यो घटनाको एक वर्ष पूरा भएको छ।
आगोले होटलको स्वरूप बदलिदियो। तर दुलालको व्यवसाय गर्ने अठोट बदलिन सकेन।
हाल नेपालीरिकाको ९० प्रतिशतभन्दा बढी पुनर्निर्माणको काम सकिएको दुलाल बताउँछन्।
विराटचोक र दमकमा सञ्चालनमा रहेको नेपालीरिकाले कोशी प्रदेशका थप पर्यटकीय गन्तव्यमा शाखा विस्तार गर्ने योजना बनाएको छ।
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब एक हजार जनालाई रोजगारी दिँदै आएको यो चेन होटललाई अन्य ठाउँमा विस्तार गर्ने लक्ष्य पनि दुलालले राखेका छन्।
भदौ २४ मा भीडले होटलमा खोजेको भनिएको 'नेता' भेटिएनन्।
तर त्यो दिनको आगोले एउटा प्रश्न भने छाडेर गयो — अफवाहको भरमा गरिएको एउटा आक्रमणले कसैको ३२ वर्षको मिहिनेतलाई केही मिनेटमै कसरी खरानी बनाउन सक्छ?
र त्यसको अर्को उत्तर पनि त्यही ठाउँबाट आयो —
खरानीबाट फेरि उठ्न सकिन्छ।
***