पत्रकारका लागि उसको न्युजरूम घरजस्तै हो, त्यो दिन कान्तिपुरका पत्रकारले घर गुमाएका थिए
ठ्याक्कै एक वर्षअघि, आजकै दिन।
कान्तिपुर मिडियाको भवन जलिरहेको थियो।
त्योभन्दा भयानक कुरा त, आगो निभाउन कुनै दमकल गइरहेको थिएन।
तै पनि कान्तिपुरका पत्रकारहरू समाचार लेखिरहेका थिए। सर्भर डाउन भएर अनलाइनमा समाचार पोस्ट गर्न भने पाइरहेका थिएनन्।
त्यस दिन कान्तिपुर भवन जलेको भिडिओ देखेका धेरै मानिसको मनमा प्रश्न थियो — के भोलिपल्ट 'कान्तिपुर' पत्रिका छापिएला?
त्यो बेला कान्तिपुरका प्रधान–सम्पादक थिए — उमेश चौहान।
हामीले त्यो दिनको घटनाबारे उनको अनुभव समेटेर यो स्टोरी तयार पारेका छौं।
अघिल्लो दिन जेनजी आन्दोलन क्रममा १९ जना प्रदर्शनकारी मारिएपछि कान्तिपुरले भदौ २४ को अखबारमा विशेष सम्पादकीय लेखेको थियो — 'युवाको रगतले लतपतिएको हात लिएर प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्न मिल्दैन।'
यो सम्पादकीय लेख्ने बेला आक्रमणको निशानामा आफ्नै न्युजरूम पनि पर्ला भन्ने तत्कालीन प्रधान–सम्पादक चौहानले सोचेका पनि थिएनन्।
अरू पत्रकारले पनि सायदै सोचेका थिए!
उनी भदौ २४ गते बिहान ३ बजे मात्र घर फर्किएका थिए।
बिहानसम्म सर्वसाधारण आन्दोलित बनेर सडकमा आइसकेका थिए। ठाउँठाउँमा आगजनी सुरू भइसकेको थियो।
उनीसहित सबै पत्रकार तथा कर्मचारी बढो मुस्किलले अफिस आए।
कान्तिपुरका पूर्व प्रधान–सम्पादक उमेश चौहान। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
११ बजे कान्तिपुर भवनको आठौं तलामा न्युजरूम मिटिङ थियो।
उनी मिटिङ रूममा छिर्दाछिर्दै तल्लो तलाबाट कान्तिपुरका तत्कालीन प्रबन्ध निर्देशक सम्भव सिरोहियाको फोन आयो।
'सर, एकछिन भेटौं!'
चौहान तल गए।
सिरोहियाले भने, 'यहाँ हमला हुँदैछ।'
'कसरी थाहा पाउनुभयो?'
'आइटीका साथीहरूले डिस्कर्डमा भइरहेको छलफल सुनिरहेका रहेछन्। उनीहरूले संसद भवन, सिंहदरबारसँगै कान्तिपुर पनि जलाउनेबारे छलफल भइरहेको जानकारी दिएका थिए।'
उभिएरै यति कुरा गरेपछि चौहान हतार हतार आठौं तला फर्किए।
तर उनले त्यो कुरा न्युजरूमका साथीहरूलाई भन्न सकेनन्।
'हमला गर्न आउँदैछन् भने साथीहरू प्यानिक होलान्,' उनले सम्झिए।
बरू उनले भने, 'हामीले वर्क फ्रम होम गर्ने, गइहालौं साथी हो। घर पुगेर सबैले ग्रुपमा आइपुगेँ भन्नुहोला।'
तर पत्रकारहरू सहजै निस्कन तयार भएनन्।
कसैले भने, 'न्युज लेख्दै छु, यो सक्छु अनि जाऊँला।'
अर्काले भने, 'म अन्तर्वार्ता उतार्दैछु, सकेर जाऊँला।'
'न्युज एडिटर कृष्ण आचार्य र मैले साथीहरूलाई धकेलेरै पठाउनुपर्यो,' चौहानले भने, 'न्युजरूम खाली गर्न ३०–३५ मिनेट लाग्यो। अन्तिममा म र विश्वासजी (काठमाडौं पोस्टका तत्कालीन प्रधान-सम्पादक विश्वास बराल) निस्कियौं।'
सेक्युरिटी गार्डलाई मात्रै छाडेर सबै बाहिरिए।
यसरी एकाएक न्युजरूम छाडेर हिँड्नुपरेको त्यो क्षण उमेश चौहान र कान्तिपुरका सबै पत्रकारको निम्ति कल्पनाभन्दा बाहिरको कुरा थियो।
'त्यस्तो कल्पना हामीले कसरी गर्थ्यौं र?' चौहानले भने, 'जेनजीहरूले त त्यो बेला भ्रष्टाचार र सामाजिक सञ्जालविरूद्ध आन्दोलन गरे। तर भ्रष्टाचार र विकृतिबारे उनीहरूलाई थाहा हुने गरी समाचार लेखेको त सेतोपाटीले हो, कान्तिपुरले हो, अनलाइनखबरले हो, नयाँ पत्रिकाले हो, अरू तमाम मिडियाले हो।'
उनले ललिता निवासको जग्गा प्रकरणदेखि गिरिबन्धु, पतञ्जलि र नक्कली भुटानी शरणार्थी प्रकरणसम्मका समाचार सम्झिए।
'ललिता निवासको जग्गामा भ्रष्टाचारको कुरा आमजनताले कसरी थाहा पाए? गिरिबन्धुको प्रकरण कसरी सार्वजनिक भयो? पतञ्जलिको होस् वा नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाए भनेर कसले लेख्यो? त्यही मेनस्ट्रिमका पत्रकारहरूले होइन?' उनले प्रश्न गरे।
अनि अगाडि भने, 'केपी ओलीले संसद विघटन गरेर संविधान मिचे भनेर त्यही मूलधारका पत्रकारले लेखेका हुन्। प्रचण्डलाई जनताले तेस्रो बनाए, तर उनी कहिले दोस्रोको, कहिले पहिलोको काँध चढेर लोकतन्त्रको हुर्मत लिइरहेका छन् भनेर सम्पादकीय लेख्ने पत्रकार नै हुन्।'
'शेरबहादुर देउवाले लोकतन्त्र दरबारमा बुझाएका हुन्, यिनले अहिले पनि भ्रष्टाचार संस्थागत गरिराखेका छन् भनेर त यही मूलधारको मिडियाले लेखेको हो,' उनले भने, 'जे कुरा पत्रकारहरूले लेखे, मिडियाले जे छापे, त्यही मुद्दा उठाइरहेको समाजले उल्टै हामीमाथि आगो लगाउला भनेर हामीले कसरी सोच्ने?'
जेनजीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरूद्ध मात्र होइन, भ्रष्टाचारविरूद्ध उठेको आवाज सरकारले सुन्नुपर्छ भन्ने माग पनि गरिरहेका थिए। चौहानका अनुसार, त्यही आन्दोलनको समाचार कभर गर्न भदौ २४ गते बिहानै कान्तिपुरका रिपोर्टरहरू फिल्डमा खटिएका थिए।
सम्पादकहरू कार्यालयमै बसेर काम गरिरहेका थिए।
दिउँसो खबर आयो — ब्यारिकेट तोडियो।
एकछिनपछि अर्को खबर आयो — प्रदर्शनकारीहरू संसद भवनमा पुगिसके।
राज्यले पर्याप्त तयारी गरेको छैन भन्ने कुरा प्रस्ट हुँदै गयो।
फेरि गोली चल्यो।
एक जना, दुई जना, तीन जना, चार जना गर्दै प्रदर्शनकारीहरू ढल्न थाले।
केही बेरमै संख्या १७, १८ हुँदै १९ पुग्यो।

'पहिलो कुरा त हामी मान्छे हौं नि। ती खबर सुनेर हतपतियौं,' चौहानले भने, 'किनभने यो लोकतान्त्रिक देशमा आवाज उठाएकै कारण गोली हानेर युवाहरूलाई ढालिन्छ भन्ने कुरा हामीले अनुमान गरेकै थिएनौं।'
युवाहरू मारिएपछि सरकारले देखाएको रवैयाको पनि कान्तिपुरले सम्पादकीयमार्फत विरोध गरेको थियो।
'त्यत्रा युवाहरूको क्षति भइसकेपछि समाज मौन बस्न हुँदैन। यदि समाज मौन बस्छ भने त्यो मुर्दा समाज हुन्छ भनेर हामीले लेखेका थियौं,' उनले भने, 'हामीले भनेझैं समाज मौन त बसेन। तर त्यो प्रतिशोधको भावना र अरू हिसाबकिताब चुक्ता गर्ने किसिमले हामीमाथि जाइ लाग्ला भन्ने अनुमान थिएन।'
उनले जे अनुमान गरेका थिएनन्, त्यसैका भुक्तमान उनी र अन्य पत्रकारहरू भइरहेका थिए।
आफ्नो कार्यालय छाडेपछि चौहान र काठमाडौं पोस्टका प्रधान–सम्पादक विश्वास बराल थापाथली पुलपारि एक जना साथीको कार्यालयमा बसे।
त्यहीँबाट उनीहरूले घटनाका अपडेट लिन थाले।
संसद भवनमा आगो लाग्यो।
सिंहदरबारमा आगो लाग्यो।
सर्वोच्च अदालतमा आगो लाग्यो।
स्वास्थ्य मन्त्रालयमा पनि आगो लाग्यो।
देशको सत्ता र राज्यका प्रमुख संरचनाहरू एकपछि अर्को जलिरहेका थिए।
त्यसैबीच चौहानले साथीको कार्यालयको एउटा कोठा खाली गराए र सम्पादकीय लेख्न थाले — 'महानगरका मेयर बालेनलाई प्रधानमन्त्री बनाऊ।'
त्यसै बेला कसैले आएर भन्यो— 'तिम्रो अफिसमा पनि आगो लाग्यो।'
'साथीहरू हेर्न छतमा गए। म चाहिँ जान सकिनँ,' उनले सम्झिए।
त्यो दिन चौहानले लेखेको 'बालेनलाई प्रधानमन्त्री बनाऊ' भन्ने सम्पादकीयलाई लिएर धेरै मानिस रिसाएका थिए।
उनको तर्क थियो — त्यो क्षण देश कुन दिशामा गइरहेको थियो भन्ने कुरा बुझ्न आवश्यक थियो।
'भदौ २४ गतेको घटनाक्रम जता गइराखेको थियो, त्यसले यो फेरि लोकतन्त्रमा फर्किन्छ भन्ने के सुनिश्चित थियो?' उनले भने, 'त्यो सम्पूर्ण रूपमा जंगी अड्डातिर गइरहेको थियो। जनताले जसलाई जनमत दिएका हुन्, प्रधानमन्त्री बनाएका हुन्, उनी हेलिकप्टरको पंखामा झुन्डिएर भागिराखेका थिए। सत्तारूढ दलका अर्का नेता रक्ताम्य भएर लडिराखेका थिए। एउटा पूर्वप्रधानमन्त्री दगुर्दै गएर सेनाको ब्यारेकमा छिरेर ढोका लगाएर, चुकुल लगाएर भित्र बसेका थिए।'
त्यो अवस्थामा आफूले लोकतन्त्र जोगिने बाटो खोजेको उनले बताए।
'मलाई के लाग्यो भने, शासन जंगी अड्डामा जानुभन्दा नागरिकको हातमा पुग्यो भने लोकतन्त्र बचिराख्ला। कम्तिमा बालेन शाह नागरिक त हुन्। त्यो स्थितिमा लोकतन्त्र रहिराख्छ र हामी फेरि यो मूलधारमा फर्किन्छौं भन्ने अनुमान अहिले गर्न सजिलो छ, त्यो घडीमा थिएन,' चौहानले भने।

त्यसै दिन बेलुकीपख सिनियर म्यानेजमेन्ट कमिटी र न्युजरूमको भर्चुअल बैठक भयो।
प्रश्न थियो — भोलिको पेपर के गर्ने?
'पत्रिका त छाप्नुपर्यो नि,' चौहान र विश्वासले भने।
त्यसपछि न्युजरूमको अर्को भर्चुअल बैठक बस्यो।
चौहानले साथीहरूलाई भने, 'पत्रिका छाप्ने कुरा भएको छ, के गर्ने हो?'
धेरैजसोले पत्रिका निकाल्नुपर्छ भन्ने जबाफ दिए।
त्यो क्षण सम्झिँदा अहिले पनि उनी भावुक हुन्छन्।
'हाम्रा साथीहरू साँच्चै साहसी छन्। गोली चलिराखेको छ, साथीहरू ढलिराखेका छन्। उनीहरूलाई अस्पताल पुर्याएर फर्केर फेरि घटनास्थलमा खटे, समाचार टिपाए। मोबाइलको चार्ज सकियो, पावर बैंक मगाएर रिपोर्टिङ गरिराखे। मेरो मोबाइल सकियो, म फर्किन्छु भनेनन्। अरूको फोनबाट फोन गरेर भए पनि काम गरे।'
उनले त्यो दिनको रिपोर्टिङ सम्झिए।
'हामी त अफिसमा थियौं। साथीहरू पुलमाथिबाट रिपोर्टिङ गरिरहेका थिए, जुन पुलमा ताकीताकी पुलिसले गोली बर्साएको थियो,' उनले भने, 'आफ्नो कार्यालय जलिरहेको छ, कम्प्युटर र किबोर्ड जलिरहेको छ। त्यस्तोमा पनि पत्रिका निकाल्ने भन्दा साथीहरू भन्छन्—निकाल्नै पर्यो नि!'
नेपालका मूलधारका पत्रकारहरूमा आफूले देखेको साहसको पनि उनले प्रशंसा गरे।
'हाम्रा रिपोर्टर साथीहरूमा जस्तो उत्सुकता, तत्परता र साहस छ, त्यो उदाहरणीय छ।'
तर पत्रिका निकाल्ने निर्णय गर्नु र पत्रिका निकाल्नु एउटै कुरा थिएन।
अनलाइनमा समाचार अपलोड गरेजस्तो पत्रिका निकाल्न सकिँदैन।
पत्रिकाका इन्डिजाइन फाइलहरू ठूला हुन्छन्। तिनलाई ट्रान्सफर गर्नुपर्छ। कसैसँग राम्रो नेटवर्क हुँदैन। कसैसँग डेस्कटप हुँदैन। कसैसँग सिस्टम हुन्छ, तर सीप हुँदैन। कसैसँग इन्डिजाइन फाइल नै हुँदैन।
कन्टेन्ट लेख्नेहरू एकातिर थिए, डिजाइन गर्नेहरू अर्कातिर। अनि, सम्पादन गर्नेहरू अर्कातिर।
तर त्यो दिन जसले जे गर्न सक्छ, त्यही गरे।
कसैले मोबाइलबाट समाचार टाइप गरे। कसैले ल्यापटपबाट काम गरे। कसैले डेस्कटपबाट।
त्यो दिन कतिपय पत्रकार फिल्डमै रबरको गोली लागेर अस्पताल पुगेका थिए। रिपोर्टिङमा गएका कोही पनि सुरक्षित थिएनन्।
तर पत्रकारले काम गरे।
समाचार लेखे।
र, पत्रिका निकाले।
'ती साथीहरूलाई जोडेर अब फेरि पत्रिका निकाल्ने कमिटमेन्ट छ,' चौहानले सम्झिए, 'सबैले मिलेर हामीले काम गर्यौं। बिहान ३ बजे पेज फाइनल भएको थियो।'

भोलिपल्ट कार्यालय जान उनीहरूसँग कार्यालय नै थिएन।
न्युजरूम जलिसकेकाले केही दिन सबैले घरबाटै काम गरे।
उता तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको भवन पनि जलेको थियो। कान्तिपुर एफएमको कार्यालय भने बाँकी थियो।
केही समयपछि एफएमकै कार्यालयबाट काम सुरू भयो।
कान्तिपुर टेलिभिजनको जलेको भवन अगाडिको आँगनमा बसेर उनीहरूले धेरै दिनसम्म बैठक गरेका थिए।
भदौ २४ को घटनाले कान्तिपुरका पत्रकारहरूको मनमा गहिरो चोट छाडेको र आफू र आफ्ना साथीहरू भावनात्मक रूपमा निकै गाह्रो अवस्थाबाट गुज्रिएको चौहान सम्झन्छन्।
'मैले आत्तिएका आफन्तहरूलाई के भनेर सम्झाउने? थाहै पाइरहेको थिइनँ। मेरा साथीहरूलाई पनि त्यस्तै थियो,' उनले भने, 'साथीहरूलाई पनि गाह्रो भयो। आफ्नो वर्कस्टेसन जलेको कुरा, पत्रकारको किबोर्ड जलेको कुरा, पत्रकार बस्ने कुर्सी जलेको कुरा, पत्रकारको डायरी जलेको कुरा — कसरी भुल्न सकिन्छ सजिलै?'
हुन पनि पत्रकारका लागि सबभन्दा ठूलो कुरा भनेको उसको न्युजरूम हो — घरजस्तै।
त्यो दिन कान्तिपुरका पत्रकारले आफ्नो घर नै गुमाएका थिए।
हरेक पत्रकारले आफ्नो घर जल्दै गरेको देखेका थिए।
समाचार टिप्ने डायरी जलेको देखेका थिए। समाचार टाइप गर्ने कम्प्युटर जलेको देखेका थिए।
तर त्यही आगोको बीचबाट भोलिपल्ट कान्तिपुर प्रकाशन पनि गरेका थिए।
त्यो संकट र विपत्तिको घडीमा पनि कान्तिपुरकर्मीहरूले जसरी अखबार निकालेर पत्रकारको धर्म निर्वाह गरे, त्यो नेपाली पत्रकारिताका लागि अदम्य साहसको कथा हो।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***




