सहिदका परिवार
ईश्वर अधिकारी बिहान-बेलुकी नै छोरालाई खोजिरहन्छन्। साँझ परेपछि छोरा टुप्लुक्क घर आइहाल्छन् कि भनेर बाटो हेरेर बसिरहन्छन्।
उनी भदौ २३ गते जेनजी आन्दोलन क्रममा नयाँबानेश्वरमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ईश्वत अधिकारीका बुबा हुन्।
ईश्वत दिनभरि कलेज वा अन्त काममा व्यस्त भएर साँझ मात्र घर फर्किन्थे। त्यसैले दिनभरि छोराको कमी महसुस नभए पनि जति जति दिन ढल्दै जान्छ, उनका बुबा छोराको सम्झनामा टोलाउन थाल्छन्।
२७ वर्षीय ईश्वत घरका जेठा छोरा थिए। उनका एक भाइ छन्।
अंग्रेजी र मनोविज्ञान गरी दुइटा विषयमा स्नातकोत्तर गरेका ईश्वत सामाजिक सेवामा सक्रिय थिए। थप अध्ययनका लागि बेलायत जाने तयारी पनि गर्दै थिए।
'बेलायत जान सबै प्रक्रिया पूरा भइसकेको थियो, तर साउन १२ गते मलाई हृदयाघात भएपछि हेरविचार गर्न यतै रोकियो,' बुबा ईश्वरले मंगलबार सेतोपाटीसँग भने, 'मलाई हृदयाघात हुँदा समयमै अस्पताल पुर्याएर ज्यान बचाउने नै उही हो। उसले समयमै अस्पताल नपुर्याएको भए म बाँच्ने थिइनँ।'
'मेरो ज्यान बचाउन त सफल भयो, तर उसको ज्यान मैले बचाउन सकिनँ,' ईश्वरले भावुक हुँदै भने।
ईश्वत आफ्ना बुबा पूर्ण रूपमा निको भएपछि तिहार मनाएर बेलायत जाने सोचमा थिए। त्यसको निम्ति आवश्यक चाँजो मिलाउँदै थिए। त्यसैबीच जेनजी आन्दोलन क्रममा गोली लागेर एउटा सपनाको अवसान भयो। सँगसँगै गुम्यो, बिरामी बुबाको सहारा पनि।
उनीहरूको पुर्ख्यौली घर तनहुँको भान नगरपालिका-१२ हो। अहिले काठमाडौं महानगरपालिका-११ को थापाथलीमा स्थायी बसोबास छ। केही समययता व्यक्तिगत समस्याका कारण दुई छोरा र श्रीमतीसहित बालाजु बस्दै आएको ईश्वरले बताए।
ईश्वतका हजुरबुबा भीमबहादुर अधिकारी पनि समाजसेवीका रूपमा चर्चित थिए। त्यही गुण ईश्वतमा सरेको उनको भनाइ छ।
'ईश्वतले कतै जागिर खाएका थिएनन्। पढाइ र समाजसेवामै केन्द्रित थिए,' उनले भने, 'परोपकारी मन र देश परिवर्तनमा योगदान गर्नुपर्छ भन्ने भावनाले नै उसको ज्यान लियो।'
छोरा बितेको दुई महिना भइसक्दा पनि उनी यो संसारमा छैनन् भन्ने ईश्वरले स्वीकार गर्न सकेका छैनन्। छोरामाथि गोली चलाउन आदेश दिने व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने उनको जोड छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई कारबाही नभएसम्म छोरा र आफूले न्याय नपाउने उनी बताउँछन्।
'राज्यले सहिद घोषणा गरे पनि यी तीन जनालाई कारबाही नभएसम्म मृतक र उनको परिवारले न्याय महसुस गर्दैनन्, हामीले शान्ति पाउँदैनौं,' ईश्वरले भने।
यही माग राखेर आफू सहित मृतकका परिवारले जेनजी सहिद परिवार संघर्ष समिति गठन गरेको उनले जानकारी दिए।
उक्त संघर्ष समितिका अध्यक्ष भोजविक्रम थापा ईश्वतका आफन्त नै हुन्। भोजविक्रमले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारको प्रतिनिधित्व गर्दै सरकारसँग छलफल गरिरहेका छन्।
'हामी भदौ २३ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतक परिवारको न्यायका लागि लडिरहेका छौं। उनीहरूलाई न्याय दिलाउने प्रयास गरिरहेका छौं। सबैले न्याय महसुस गर्न पाउँछन् भन्ने हाम्रो आशा छ,' ईश्वरले भने, 'छोरा त गुमाइसक्यौं, कम्तिमा न्याय पाए थोरै भए पनि सन्तोष हुन्थ्यो।'
उनका अनुसार ईश्वत तत्कालीन पूर्वप्रधानमन्त्री ओलीको कार्यशैली देखेर दिक्दार मान्थे।
जनताले चाहे अनुसार काम नगरेको, भ्रष्टाचारलाई मलजल गरेको र जनताको हकहितविरूद्ध लागेको भन्दै उनी सरकारको रवैयाविरूद्ध आवाज उठाउँथे। प्रत्यक्ष रूपमा कुनै पार्टीमा आबद्ध नभए पनि दलका गतिविधिलाई नजिकबाट नियाल्ने उनको स्वभाव रहेको बुबा ईश्वर बताउँछन्।
'हामी बाबु र छोराबीच कहिलेकाहीँ कुराकानी हुँदा ऊ समाजमा फैलिएको भ्रष्टाचारबारे चासो देखाइरहन्थ्यो। गरिबहरूमाथि राज्यले गरेको दमनको खुलेर विरोध गर्थ्यो,' उनले सम्झे, 'ओली सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि त एकदमै आक्रोशित भएको थियो।'
त्यही आक्रोशलाई ईश्वतलाई भदौ २३ को आन्दोलनमा सहभागी हुन प्रेरित गरेको उनको भनाइ छ।
'समाजमा समानता र समावेशिता होस् र भ्रष्टाचार शून्य होस् भन्ने उसको चाहना थियो,' उनले भने, 'अब यो देश उसले चाहेजस्तै बनेको देख्न चाहन्छु।'
***
यी पनि पढ्नुहोस्: