सहिद परिवार
भदौ २३ गते बिहान ११ बजेतिर कारखानाबाट फर्किएका थिए, सन्तोष विश्वकर्मा।
उनी पुरानो बानेश्वर नजिकै एक सुन पसलमा काम गर्थे। उनको डेरा पुरानो बानेश्वर नजिकै छ। उनी जहिले पनि ११ बजे खाना खान डेरा आउँथे।
त्यो दिन खाना खाएपछि उनले श्रीमती अम्बिकालाई भने, 'म नयाँ बानेश्वरसम्म गएर आउँछु है। एउटा सामान पुर्याउनुछ। त्यहाँ आन्दोलन पनि चल्दै रहेछ। एकछिन हेरेर आउँछु।'
सन्तोष यति भनेर साढे ११ बजेतिर केही साथीहरूसँग कोठाबाट निस्किए। अम्बिका आफ्नो घरधन्दामा लागिन्।
साढे १ बजेतिर अम्बिकाले फेसबुक हेर्दै गर्दा नयाँ बानेश्वरमा गोली चलेको थाहा पाइन्।
सन्तोष पनि त्यतै भएकाले उनलाई सुर्ता भयो। उनले तुरून्तै फोन गरिन्।
'मैले ४ बजेसम्म लगातार फोन गरेँ,' अम्बिकाले भनिन्, 'घन्टी जान्थ्यो, फोन उठ्थेन।'
तारन्तार फोन गर्दा पनि सन्तोषसँग सम्पर्क नभएपछि अम्बिका र परिवारका सदस्यहरू खोजीमा लागे। तैपनि केही खबर पाउन सकेनन्।
सन्तोषसँगै गएका साथीहरूले साँझ ६ बजेतिर उनी गोली लागेर घाइते भएको जानकारी दिए।
उनीहरूलाई सन्तोष घाइते भएकोसम्म थाहा थियो, तर कुन अस्पताल लगियो भन्ने थाहा रहेनछ।
त्यसैले अम्बिका सिभिल अस्पतालदेखि एभरेस्ट, केएमसी लगायत त्यस दिन आन्दोलनका घाइतेको उपचार भइरहेका सारा अस्पताल चहार्न थालिन्।
'गोली लागेर घाइते भएकाहरूलाई कुन–कुन अस्पताल लगेको छ भनेर बुझ्दै म त्यही–त्यही अस्पताल पुगेँ,' उनले भनिन्, 'सिभिल, एभरेस्ट, केएमसी हुँदै ट्रमा सेन्टर पुग्दा रात परिसकेको थियो।'
अरू अस्पतालमा नभेटिएकाले ट्रमा सेन्टरमै होलान् भन्ने अम्बिकालाई लागेको थियो। तर घाइते र घाइतेका आफन्तको भिडभाडले ट्रमा सेन्टर छिर्न दिइएन।
लाख कोसिस गर्दा पनि छिर्न नपाएपछि ८ बजेतिर उनी घर फर्किइन्।
'राति १० बजेतिर मेरा दाजुहरू जबर्जस्ती छिर्नुभएछ,' अम्बिकाले भनिन्, 'उहाँहरू साढे ११ बजेतिर डेरा फर्किनुभयो। एकछिनसम्म त केही बोल्न सक्नुभएन, अलि बेरमा मलाई देखेर दाजुहरू रून थाल्नुभयो।'
'तेरो भाग्य यस्तै रहेछ बहिनी, अब भान्जा–भान्जीको मुख हेरेर भए पनि आफूलाई सम्हाल,' अम्बिकाले दाजुको भनाइ उद्धृत गर्दै भनिन्, 'अब तैंले भान्जा–भान्जीको मुख हेरेर बाँच्नुपर्छ।'
दाजुले यति भनेपछि अम्बिकालाई त्यसको आसय बुझ्न गाह्रो भएन।
सन्तोष रहेनन् भन्ने थाहा पाएपछि उनी पीडाले बेहोस नै भइन्। राति दुई–तीन बजेसम्म आफू अर्धबेहोस रहेको उनी बताउँछिन्।
'ट्रमा सेन्टरका डाक्टरले बिहान आएर हेर्नू भनेका रहेछन्। त्यसैले म र दाजुहरू भोलिपल्ट ८ बजेतिर ट्रमा सेन्टर पुग्यौं,' उनले भनिन्, 'त्यहाँ पुग्दा अघिल्लो दिन आन्दोलनमा गोली लागेर मारिएकाहरूको शव पोस्टमर्टम गर्न टिचिङ अस्पताल लगियो भन्ने थाहा भयो।'
शव पोस्टमर्टमका लागि लगिएपछि उनले देख्ने कुरै भएन। एकैचोटि भदौ २८ गते शनिबार मात्र शव देखेको उनी बताउँछिन्।
'मैले त राम्ररी हेर्न पनि सकिनँ। दाजुहरूले नै बायाँ कोखामुनि गोली लागेको रहेछ भन्नुभयो,' अम्बिकाले भनिन्, 'पछि थाहा भयो, उहाँको शरीरमा ढाडपट्टि गोली लागेको रहेछ। हुलमुलमा साथीहरूसँग भाग्दा पछाडिबाट गोली लाग्यो होला!'
उनले अगाडि भनिन्, 'जति बेला म तारन्तार फोन गर्दै थिएँ, त्यही बेला उहाँ गोली लागेर घाइते हुनुभएको रहेछ।'
मोबाइल भिडभाडमै कतै खसेकाले घन्टी गए पनि फोन नउठेको उनले थाहा पाइन्।
'मृत्युको खबर सुनेपछि पनि तीन–चार दिनसम्म उहाँको मोबाइलमा फोन गरिरहन्थेँ। आफ्नो आँखाले शव देखेको थिइनँ, त्यसैले फ्याट्ट फोन उठाएर 'अम्बिका म ठिक छु' भन्नुहुन्छ कि भन्ने आस लागिरहँदो रहेछ!'
त्यति बेला सन्तोषले चलाउने मोबाइल अहिलेसम्म भेटिएको छैन। अम्बिका अहिले पनि बेला बेला सन्तोषको नम्बर डायल गर्छिन्। पहिले घन्टी जान्थ्यो, अब त घन्टी पनि जान छाडेको छ।
बिहान र बेलुकी खाना खाने बेला सन्तोष कतैबाट आइहाल्छन् कि भन्ने अम्बिकालाई लाग्छ।
'पहिले पनि कहिले घर आउनुहोला भनेर कुरेर बस्नुपर्थ्यो,' उनले भनिन्, 'अहिले पनि कतैबाट आइहाल्नुहुन्छ कि भन्ने झझल्को आइरहन्छ।'
अम्बिका विवाह भएको १२ वर्षपछि श्रीमानसँगै बस्ने भनेर गत चैतमा छोरा र छोरी लिएर काठमाडौं आएकी थिइन्। त्यसअघि उनी सासू–ससुरासँग उदयपुरको बेलका नगरपालिका–४ हरिपुरमा बस्दै आएकी थिइन्।
सन्तोषको पुर्ख्यौली घर खोटाङको लिकुवापोखरी हो। उनीहरू १५–१६ वर्षअघि त्यहाँबाट बसाइँ सरेर उदयपुर झरेका थिए।
सन्तोषका चार दाजुभाइ छन्। उनी कान्छा छोरा हुन्। उनले एसएलसीसम्म खोटाङमै पढेका थिए। उदयपुर आएपछि नै सन्तोष र अम्बिकाको भेट भएको थियो। अम्बिकाको माइती त्यहीँ हो।
अम्बिका र सन्तोषको १३ वर्षअघि प्रेम विवाह भएको थियो। त्यति बेला उनीहरू १६–१७ वर्षका थिए। अहिले १० वर्षका छोरा र ८ वर्षकी छोरी छन्।
'विवाह भएको एक वर्षदेखि नै उहाँ काम गर्न काठमाडौं आउनुभएको थियो। चाडपर्वमा मात्र घर आउनुहुन्थ्यो। म उतै सासू–ससुरा र छोराछोरी हेरेर बस्थेँ,' उनले भनिन्, 'छोराछोरीलाई राम्रो ठाउँमा पढाउनुपर्छ भनेर गत चैतमा मात्र छोराछोरीलाई लिएर काठमाडौं आएकी थिएँ।'
'यतिका वर्ष टाढा बस्यौं, अहिले सँगै बस्ने भनेर आउँदा उहाँ सधैंका लागि टाढा हुनुभयो,' अम्बिकाले भनिन्।
जोसँग जीवन बिताउने भनेर काठमाडौं आइन्, उनै नरहेपछि अब अम्बिकालाई यो सहरमा बस्न मन छैन। उनी गाउँ फर्किन चाहन्छिन्। तर छोराछोरीको भविष्य सोचेर मात्र यहाँ बसिरहेको उनी बताउँछिन्।
उनका छोरा र छोरी मध्य बानेश्वरस्थित रत्नराज्य स्कुलमा पढ्थे। अर्को शैक्षिक सत्रबाट निजी स्कुलमा भर्ना गर्ने सन्तोषको योजना थियो।
सन्तोषको त्यो योजना अहिले गोल्यान ग्रुपको सहयोगमा पूरा भएको छ। गोल्यान ग्रुपले छोरा र छोरी दुवैलाई काठमाडौंकै एक निजी स्कुलमा पढाउने बन्दोबस्त गरिदिएको छ। अम्बिकाले स्कुलको नाम भने खुलाइनन्।
'दुवै जनालाई १२ कक्षासम्म नि:शुल्क पढाइदिने भन्नुभएको छ। अहिले छोरा ३ र छोरी २ कक्षा पढ्छे,' उनले भनिन्, 'छोराछोरीको पढाइको बन्दोबस्त त भयो, अब म काठमाडौंमा जीविका चलाउन रोजगारीको खोजीमा छु।'
'सरकारले गोली हान्ने आदेश दिएर उहाँलाई मारियो,' अम्बिकाले भनिन्, 'अब सरकारले नै अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ।'
***