सहिद परिवार
भदौ २३ गते साँझ २२ वर्षीय महेश बुढाथोकीले आफ्ना बुबा केशवलाई भनेका थिए, 'भोलि तपाईं काममा नजानू है, आज धेरै मान्छे मारिएका छन्, भोलि झन् ठूलो आन्दोलन हुनसक्छ।'
छोराको सुझाव केशवका कानमा अहिले पनि गुञ्जिरहेको छ।
केशवले त छोराको सुझाव माने, भदौ २४ गते उनी कहीँ पनि गएनन्। तर जसले घर छाडेर कतै नजानू भनेका थिए, उनी आफै प्रहरीको गोली लागेर यो धर्तीबाट विदा भएका छन्।
केशव र दिलकुमारीका पहिलो सन्तान थिए, महेश। उनका एक भाइ पनि छन्।
भक्तपुर क्यान्सर अस्पताल नजिकै डेरा बस्ने ४६ वर्षीय केशव सुकेधाराको एक ग्यास डिपोमा काम गर्छन्। महेशले पनि प्लस-टूको जाँच दिएपछि 'पठाओ' चलाएर आमा दिलकुमारीको स्तन क्यान्सर उपचारमा सहयोग पुर्याउँदै आएका थिए।
उपचार खर्च भरथेग गर्न प्लस-टू सकेदेखि पठाओमा दिनरात मिहिनेत गरिरहेको केशव बताउँछन्।
भदौ २३ गते पनि महेश आधा दिनसम्म पठाओ चलाएर डेरा फर्किएका थिए। जेनजी आन्दोलनको प्रभावले सडकहरू जताततै जाम भएकाले उनी छिट्टै घर फर्किएको केशवको भनाइ छ।
'काम गर्न नपाएपछि स्कुटी सर्भिसिङमा दिएर घर आएको थियो,' केशवले भने, 'त्यसै दिन साँझ मलाई र भाइलाई भोलि काममा नजानू भनेको थियो।'
तर मनलाग्दी छुट्टी बस्न नमिल्ने भएकाले उनी बिहानै उठेर काममा गए। कान्छो छोरा पनि काममा गएको उनी बताउँछन्।
बुबा र भाइ बाहिर गए पनि महेश बिहानभरि कतै गएका थिएनन्। दिनभरि आमासँगै बस्छु भनेर उनले अघिल्लो दिन नै सुनाएका थिए। त्यही भएर आफू दिनभरि ढुक्कले काम गरेको उनी सम्झन्छन्।
'छोराहरू घरमै होलान् भन्ने सोचेर एक सुरले आफ्नो काम गरिरहेको थिएँ,' केशवले भने, 'दिउँसो ३ बजेतिर कान्छो छोराले फोन गरेर महेशलाई गोली लागेको खबर सुनायो।'
उनले थपे, 'बिहान घरमै छाडेर आएको छोरालाई एक्कासि गोली लाग्यो भन्ने सुन्दा छाँगाबाट खसेजस्तो भएँ।'
खबर सुन्नासाथ केशव कार्यालयबाट निस्किएका थिए। तर बस, पठाओ केही पाएनन्।
उनी सुकेधारादेखि तीन घन्टा हिँडेर ललितपुरको किष्ट मेडिकल कलेज पुगे। त्यहाँ पुग्दा छोराको मृत्यु भइसकेको थियो।
उनका अनुसार महेशलाई भदौ २४ गते दिउँसो कोटेश्वरमा प्रहरीको गोली लागेको थियो।
'घाँटीमा गोली लागेकाले उपचार गर्नै नपाई मृत्यु भएको रहेछ,' चिकित्सकहरूको भनाइ सम्झँदै केशवले भने, 'मलाई जेनजी आन्दोलनमा जान हुँदैन भनेर सम्झाएको थियो, उसैको प्रहरीको गोली लागेर मृत्यु भयो।'
महेश त्यो दिन कसरी आन्दोलनमा पुगे भन्ने केशवलाई अहिलेसम्म थाहा छैन। उनी सर्भिसिङमा दिएको स्कुटर लिन जान्छु भनेर घरबाट निस्किएको आमा दिलकुमारी बताउँछिन्।
'स्कुटी लिन जानुछ भनेर हजार रूपैयाँ मागेको थियो, मैले पैसा दिएपछि पौने १ बजेतिर घरबाट निस्कियो, फर्केर आएन्,' दिलकुमारीले भनिन्, 'स्कुटी लिन जान्छु भनेको मान्छे आन्दोलनमा कसरी पुग्यो, केही थाहा छैन।'
उनले साँझसम्म पनि छोरा सर्भिस सेन्टरमा स्कुटी लिन गएको छ भन्ने नै सोचिरहेकी थिइन्। साँझ मात्र मृत्युको खबर पाएको उनी बताउँछिन्।
'छोरालाई गोली लाग्यो भन्ने सुन्दा त शून्यजस्तै भएको थिएँ, हतार हतार अस्पताल पुग्दा पनि उसको बोली सुन्न पाइनँ,' दिलकुमारीले भनिन्, 'घटना भएको तीन महिना बितिसक्दा पनि छोरा छैन भनेर स्वीकार गर्न सकेको छैन।'
उनलाई अझै पनि छोराले 'आमा' भन्दै बोलाउँछ कि भन्ने आस लाग्छ। कोही भर्याङ चढेको आवाज सुन्दा पनि छोरा नै आयो कि भन्ने सोचिरहन्छिन्।
'तपाईंलाई जसरी पनि बचाउँछु आमा, केही हुन दिन्न भन्थ्यो, अहिले उही छैन,' दिलकुमारीले भनिन्, 'हाम्रो बाँच्ने आधार नै टुट्यो।'
दिलकुमारीको शरीरको घाउ बिस्तारै निको हुँदैछ, तर मनको घाउले रातभर निदाउन सकेकी छैनन्।
छोराहरूको भविष्यकै लागि गाउँ छाडेर सहरको भीडमा मिसिएका उनीहरू जेठो छोराको मृत्युपछि यो सहरमा बस्ने मन नभएको बताउँछन्।
उनीहरूको घर दोलखाको बिगु गाउँपालिका-३ हो। केशवले ज्याला मजदुरी गरेर भए पनि छोराहरूलाई पढाउन कुनै कसर बाँकी राखेका थिएनन्।
महेशले अघिल्लो वर्ष मात्र प्लस-टू पास गरेका थिए। वैदेशिक रोजगारका लागि माल्टा जाने तयारीमा थिए। त्यही भएर फुर्सतको समय पठाओ चलाइरहेको केशव बताउँछन्।
'वैदेशिक रोजगारमा गएर परिवारको आर्थिक अवस्था सुधार्छु भनेर आड दिन्थ्यो। उही ढल्यो,' केशवले भने, 'छोराका रहर र सपनाहरू झल्झली आँखामा आइरहन्छन्।'
घरका साना साना काममा सहयोग गर्ने बानीले पनि परिवारलाई उनको अभाव खट्किरहेको छ। उनी लुगाधुने, खाना पकाउने, आमाको औषधि ल्याउने, खुवाउने लगायत सबै काम गर्थे। केशवले घरको कुनै पनि काम गर्नुपर्दैन थियो।
'छोरालाई गोली हान्ने प्रहरीमाथि कारबाही हुनुपर्छ,' केशवले भावुक हुँदै भने, 'जनताका छोराछोरीलाई यसरी ताकी ताकी गोली हानेर मार्न पाइँदैन।'
छोरा गुमेको शोकसँगै उनले देश परिवर्तन गर्न ज्यान दिएकोमा केशव गर्व पनि मान्छन्। जेन आन्दोलनमा सहिद भएका महेश लगायतको सपनालाई कसैले व्यर्थ जान दिनुहुन्न भन्ने उनको जोड छ।
***