सहिद परिवार
काठमाडौंको कीर्तिपुर नगरपालिका-५ बस्ने अर्जुन भट्ट २७ वर्ष पुगेका थिए।
भदौ २३ को जेनजी आन्दोलनमा आफू पनि जानुपर्छ भनेर उनले ५२ वर्षीया आमा जानुका भट्टलाई पटक पटक सम्झाइरहे।
जानुकाले भने अर्जुनलाई आन्दोलनमा पठाउन मन गरेकी थिइनन्। उनले बरू सधैंझैं मोबाइलमा गेम खेलेर घरमै बसे हुन्छ भनेर फकाइन्।
तर अर्जुन मानेनन्।
'यो हाम्रै उमेरका साथीहरूले आयोजना गरेको आन्दोलन हो आमा। हामी जानुपर्छ, बोल्नुपर्छ,' अर्जुनको भनाइ उद्धृत गर्दै जानुकाले भनिन्, 'देश सधैं कहाँ बुढापाकाले चलाएर हुन्छ। युवा पनि आउनुपर्यो नि राजनीतिमा।'
भदौ २३ गते बिहान यही शब्द बोलेर आन्दोलनमा सरिक हुन गएका थिए अर्जुन।
बिहान डेराबाट निस्कँदा उनमा देश परिवर्तनको जोश भरिएको थियो।
साँझ फर्किँदा भने उनी थकित, दु:खी र आक्रोशित थिए। प्रहरीले हानेको अश्रुग्यासले आँखा पोलेर उनी राम्ररी हेर्नसमेत सकेका थिएनन्। त्यसमाथि दुई-तीन जना आफ्नै साथीहरूको गोली लागेर मृत्यु भएकाले अर्जुन पीडामा परेको जानुका सम्झन्छिन्।
'प्रहरीको गोली लागेर दुई-तीन जना साथीहरूले ज्यान गुमाउनुपर्यो। एक जना साथीको त मेरै अगाडि ज्यान गयो,' अर्जुनको भनाइ उद्धृत गर्दै जानुकाले भनिन्, 'साथीको मृत्युले उसको मन पोलिरहेको थियो।'
यही पीडाले उनी त्यस दिन खानै नखाई सुते।
भोलिपल्ट भदौ २४ गते दिउँसो पौने १ बजेतिर उनी फेरि आन्दोलनमा जाने तयारी गर्दै थिए। अर्जुनका साथीहरूले लगातार फोन गरिरहेको जानुकाले देखेकी थिइन्।
जानुकाले दोस्रो दिन पनि अर्जुनलाई आन्दोलनमा नजान आग्रह गरिन्।
उनी मानेनन्।
'सरकारले यति धेरै मान्छे मारिरहेको छ। यस्तो बेला पनि घरमै बसेर हुन्छ भन्दै ऊ रिसाएको थियो,' जानुकाले भनिन्, 'मरियो भने मरिन्छ, हाम्रा साथीहरूलाई भकाभक गोली ठोकिएका बेला म यसै डरले चुप बस्न सक्दिनँ भनेर ऊ घरबाट निस्कियो।'
अघिल्लो दिन जताततै गोली चलेको घटनाले जानुका डराएकी थिइन्। त्यही भएर उनले छोरालाई घरबाट ननिस्कन पटक पटक सम्झाएकी थिइन्। 'नजा बाबु' भन्दै रोक्न पनि खोजिन्।
तर अर्जुनले आमाको कुरा सुन्दै सुनेनन्।
अर्जुनको जिद्दीका अगाडि जानुकाको केही जोड चलेन।
उनले खाना पकाएर तयार पारिसकेकी थिइन्। तयार भएर घरबाट निस्कन लागेका छोरालाई भनिन्, 'जाने भए खाना खाएर जा।'
अर्जुनले भने खान पनि मानेन।
'एक घन्टापछि आएर खान्छु' भन्दै उनी फुत्त निस्के।
जानुकाको मन डराएर होला, छोरा आँखाबाट ओझेल नहुञ्जेल उनी हेरेको हेर्यै थिइन्।
उनलाई के थाहा, त्यसपछि उनी आफ्नो छोरालाई कहिल्यै देख्न पाउने छैनन्!
त्यस दिन अर्जुन मात्र होइन, उनका जेठा छोरा अभिलाख पनि आन्दोलनमा जान्छु भनेर बिहानै घरबाट निस्केका थिए। दिउँसो कान्छो छोरा अर्जुन पनि निस्केपछि जानुका र उनका श्रीमान चित्रबहादुर मात्र डेरामा बसिरहे।
दुई छोरा आन्दोलनमा गएदेखि जानुका बेचैन थिइन्। छोराहरूलाई घरि घरि फोन गरिरहन्थिन्। भिडभा अगाडि अगाडि नजान सम्झाउँथिन्। मनका डर डेराका भित्तासँग पोखिरहेकी थिइन्।
पौने ३ बजेतिर जेठो छोरा अभिलाखले फोन गरेर सुनाए, 'आमा, भाइलाई गोली लागेर अस्पताल पुर्याएको छ।'
जानुकाले कुन अस्पताल लगिएको भनेर सोधपुछ गरिन्।
बल्खुको बयोधा अस्पताल लगियो भन्ने थाहा पाएपछि उनी हस्याङफस्याङ गर्दै त्यहाँ पुगिन्।
'मेरो होसहवास नै उडेको थियो। तैपनि छोरालाई भेट्न अस्पताल पुगेँ,' जानुकाले भनिन्, 'अस्पतालमा भिड भएकाले भित्र पस्न दिइएन। डाक्टरहरूले गोली निकाल्दै छौं भनेर टारिदिए।'
उनका अनुसार अर्जुनलाई कालिमाटी प्रहरी वृत्त अगाडि प्रदर्शन गर्दा टाउकोमा गोली लागेको थियो। त्यति बेला अभिलाख पनि त्यहीँ वरपर थिए। तर उनले भाइलाई गोली लागेको देखेनन्। भाइका साथीहरूले फोन गरेर भनेपछि मात्र थाहा पाएको अभिलाख बताउँछन्।
अर्जुनलाई त्यसै साँझ अस्पतालले मृत घोषणा गर्यो।
त्यो सुनेर आफू बेहोस भएको जानुका बताउँछिन्।
'हाम्रो बुढेसकालको सहारा ढल्यो,' उनले भनिन्, 'आफ्नो सन्तान गुमाउँदाको पीडा सहनै नसकिने रहेछ।'
अभिलाख र अर्जुनबीच दुई वर्षको मात्र अन्तर छ। उनीहरूका एक छोरी पनि छन्। दाजुभाइ उही उमेर समूहको भएकाले एकदमै मिल्ने साथीजस्ता रहेको जानुका सम्झन्छिन्।
'यिनै सन्तान हुर्काउन हामीले दु:ख गरिरहेको थियौं,' जानुकाले भनिन्, 'उनीहरूकै खुसी र भविष्यका लागि गाउँ छोडियो। अहिले उही हामीसँग छैन।'
गोरखाको गण्डकी गाउँपालिका-४ घर भएका उनीहरूले दुई दशकअघि नै गाउँ छाडेका हुन्। जेठो छोरा र छोरी जन्मेपछि यी दम्पती केही समय भारतमा बसे। अर्जुन भारतमै जन्मेका थिए।
त्यहाँबाट करिब डेढ दशकअघि काठमाडौं आएको जानुका बताउँछिन्।
उनीहरूले कीर्तिपुरको पाँगा दोबाटोस्थित माइक्रो बसपार्क नजिकै साँघुरो गल्लीमा एउटा सानो चिया पसल खोलेका छन्। यो पसललाई धेरैले 'गोरखा दाइको चिया पसल' भनेर चिन्छन्। उनीहरू बिहान बिहान चिया बेच्छन्, साँझ ६ देखि ८-९ सम्म तरकारी बेच्छन्।
अर्जुन र अभिलाखले बिहान-बेलुकी त्यही पसलमा आमाबालाई सघाउँथे। यसबाहेक अर्जुन जापानी भाषा पनि सिकिरहेका थिए।
२०८० पुस महिनामा दुई दाजुभाइ नै वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए। भनेजस्तो काम नपाउँदा अभिलाख छोटो समयमै फर्किए। अर्जुन भने १६ महिना बसेर यसै वर्ष असार ५ गते मात्र फर्किएका थिए।
'एक वर्षजति राम्रै काम थियो। पछि कम्पनीले सडकको काममा पठाएछ। त्यो काम गाह्रो भयो भनेपछि हामीले नै घर फर्काएका थियौं,' जानुकाले भनिन्, 'फर्केपछि जापानी भाषा पढिरहेको थियो।'
उनीहरूकी छोरी जापानमै छिन्। दिदीले नै भाषा सिकेर जापान आउन सुझाव दिएकाले अर्जुनले त्यसै अनुसार तयारी गरिरहेको जानुकाले बताइन्।
'अर्जुनको पढाइ राम्रो थियो। जे पनि छिट्टै सिक्थ्यो। हामीले भनेको जे पनि मान्थ्यो। यसपालि आन्दोलनमा नजा बाबु भनेको चाहिँ मानेन,' उनले भने, 'पहिलेजस्तै त्यो दिन पनि मैले भनेको कुरा मानेको भए ऊ अहिले हामीबीचै रहन्थ्यो भन्ने लागिरहन्छ।'
उनले अगाडि भनिन्, 'अब जति रूने-कराउने गरे पनि छोरा फर्किँदैन। त्यसैले उसको बलिदान खेर नजाओस्।'
भ्रष्टाचार र बेथितिविरूद्ध जेनजी आन्दोलन सुरू भएको भए पनि जेनजी समूहले राखेका मागबारे अहिलेको सरकार गम्भीर नभएको उनको आरोप छ।
सहिद परिवारलाई १५ लाख रूपैयाँ क्षतिपूर्ति र सहिद घोषणा गर्नेबाहेक पहिले भनेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी लगायत क्षेत्रमा कुनै पनि सुविधा नदिइएको उनले बताए।
'राज्यबाट भ्रष्टाचार र बेथिति अन्त्य भई सुशासन स्थापना भए मात्र मेरा छोराहरूको मृत्युले सार्थकता पाउनेछ,' जानुकाले भनिन्, 'तर अहिलेसम्म सरकारले उनीहरूको मागबारे चासो देखाएको देखिँदैन।'
***