सहिद परिवार
धिरज श्रेष्ठ भदौ २३ गते दिनभरि नयाँबानेश्वरको आन्दोलनमै थिए।
प्रहरीको गोली लागेर आन्दोलनकारी युवाहरूको मृत्यु भयो भन्ने खबर सुनेपछि बुबा नारायण श्रेष्ठले लगातार फोन गरिरहे।
त्यस दिन उनी साँझ ५ बजेतिर घर फर्किए। दिनभर सडकको भागदौडले थाकेर लखतरान थिए। त्यसैले खाना खानेबित्तिकै सुतिहाले।
आन्दोलनको दोस्रो दिन भदौ २४ गते खाना खाएर ढिलासम्म घरमै बसे। दिउँसो १ बजेतिर 'काम पर्यो' भन्दै घरबाट निस्केका उनी त्यसपछि फर्केर आएनन्।
'उसको आफ्नै अनलाइन व्यवसाय थियो। त्यसैको काम मिलाउनुछ भन्दै १ बजेतिर घरबाट निस्केको थियो, एक घन्टा नबित्दै गोली लागेको खबर आयो,' नारायणले भने।
२५ वर्षीय धिरजलाई बालाजु प्रहरी वृत्त अगाडि गोली लागेको थियो। उपचार निम्ति तार्केश्वर सिटी अस्पताल लगिएको थियो। नारायणले गोलीको छर्रा लागेर सामान्य घाइते भएको होला भन्ठानेका थिए। तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो।
'उसलाई घाँटीमा गोली लागेको रहेछ। आन्दोलनमै लागेको हो या बाटोमा हिँड्दै गर्दा लागेको हो, अहिलेसम्म थाहा पाएको छैन,' नारायणले भने।
नुवाकोटको ताँदी गाउँपालिका–३ घर भएका नारायणको परिवार काठमाडौंको तार्केश्वर नगरपालिका–४ मा बस्छ। नारायण र उनकी पत्नी मेनुकाका दुई सन्तानमध्ये धिरज कान्छा थिए। जेठा छोरा अस्ट्रेलियामा छन्। धिरजले पनि दाजुसँगै अस्ट्रेलिया जान प्रक्रिया सुरू गरिसकेका थिए।
'जुन दिन उसको गोली लागेर मृत्यु भयो, त्यही साता बायोम्रेट्रिक थियो,' नारायणले भने, 'दाजु–भाउजू अस्ट्रेलियामै भएकाले ऊ पनि जाने निश्चितजस्तै थियो। यो घटना नभइदिएको भए यसपालि दसैंमै उड्थ्यो होला!'
उनका अनुसार धिरजले साथीहरूसँग मिलेर कपडा र जुत्ताको अनलाइन व्यवसाय सुरू गरेका थिए। दसैंका लागि नयाँ सामान झिकाउन केही दिनअघि मात्र दाजुसँग पैसा पनि लिएका थिए। त्यसैको काम मिलाउन कागजपत्र बोकेर हिँडेका थिए उनी।
'उसले बोकेको झोला र मोबाइल अहिलेसम्म भेटिएको छैन,' नारायणले भने।
आफ्नै व्यवसायका अतिरिक्त धिरज पब्लिक युथ क्याम्पसमा स्नातक पढ्दै पनि थिए। आफूलाई केही न केही काममा व्यस्त राख्ने उनको बानी थियो।
'राजनीतिमा रूचि त थियो, तर तत्काल राजनीति गर्छु भन्ने योजना थिएन। तर सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि ऊ निकै आक्रोशित थियो,' नारायणले भने, 'त्यही बेला आफ्नै उमेर समूहकाले आन्दोलन गर्ने भनेपछि ऊ भाग लिन गएको थियो।'
नारायण आफू भने नेपाली कांग्रेसमा आबद्ध छन्। उनलाई यसपालि कांग्रेसले समानुपातिक सूचीमा पनि राखेको छ। आदिवासी जनजाति क्लस्टरअन्तर्गत उनको नाम सूचीमा परेको हो।
'म पहिल्यैदेखि कांग्रेस राजनीतिमा आबद्ध भए पनि छोराहरू त्यसमा कहिल्यै लागेनन्,' नारायणले भने, 'त्यस दिन आन्दोलनमा होमिएका हजारौं युवाहरू भ्रष्टाचारविरूद्ध सडकमा ओर्लेका हुन्। मेरो छोरा त्यसैमध्ये एक हो।'
आन्दोलनमा ज्यान गुमाएका अधिकांश युवालाई राजनीतिसँग खासै सरोकार नभए पनि देशको बेथिति, कुशासन र भ्रष्टाचारले पिरोलिएर सडकमा ओर्लिन बाध्य भएको उनको भनाइ छ।
देशलाई भ्रष्टाचारमुक्त गरेर सही बाटोमा ल्याउन आफ्ना छोराहरूले ज्यानको बलिदान दिएको उनी बताउँछन्।
उनीहरूकै बलिदानको बलमा बनेको अन्तरिम सरकार जेनजी युवाहरूले उठाएका मागप्रति गम्भीर हुनुपर्ने धारणा राख्दै उनले भने, 'जेनजी युवाहरूले सुशासन र भ्रष्टाचार शून्य हुनुपर्ने कुरा उठाएका थिए। सत्तामा जो आए पनि जेनजीका मागप्रति गम्भीर हुनैपर्छ। यो नयाँ युगका नयाँ पुस्ताले उठाएको आवाज हो।'
यति मात्र होइन, आन्दोलनका घाइते र सहिद परिवारको पीडाबारे पनि राज्यले सोच्नुपर्ने उनको भनाइ छ।
'धेरै परिवारले आफ्नो सहारा गुमाएको छ। उनीहरूको मृत्युपछि परिवारको अवस्था नाजुक भएको छ। त्यस्ता परिवारका सदस्यलाई रोजगारी, नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउनुपर्ने विषयमा राज्यले ध्यान दिनुपर्छ,' उनले भने।
***