सहिद परिवार
भदौ २४ गते जसै प्रहरी कार्यालयहरू तोडफोडको खबर फैलियो, ४६ वर्षीय केशव रायले आफ्ना दुई जना छोरालाई तारन्तार फोन गर्न थाले।
उनी १०-१५ मिनेटको अन्तरमा कहिले जेठा छोरा हरिबाबुलाई फोन गर्थे, कहिले कान्छा छोरा मिलन रायलाई।
दिउँसो १ बजेसम्म कुरा हुँदा मिलनले भनेका थिए, 'मेरो मोटरसाइकल जल्यो, तर म सुरक्षित छु बुबा।'
हरिबाबुलाई पनि आफू सुरक्षित रहेको बताएका थिए।
केशवका यी दुवै छोरा प्रहरी हुन्। हरिबाबु नुवाकोटको ककनीमा कार्यरत छन् भने मिलन त्यति बेला महाराजगन्ज प्रहरी कार्यालयमा थिए। जेनजी आन्दोलनको दोस्रो दिन ककनीभन्दा काठमाडौंका प्रहरी कार्यालय बढी असुरक्षित रहेकाले केशवलाई बढी चिन्ता मिलनकै थियो। त्यही भएर बिहानदेखि दिउँसो १ बजेसम्म उनले लगभग २० पटक मिलनसँग फोनमा कुरा गरेका थिए।
'अन्तिम चोटि कुरा हुँदा उसको प्रहरी कार्यालयमा आगजनी सुरू भइसकेको थियो। मिलनले बाइक जले पनि आफू सुरक्षित रहेको बताएको थियो,' केशवले भदौ २४ को घटना सम्झँदै भने, 'ऊ प्रहरी कार्यालय नजिकको पसलमा लुकेर बसेको थियो।'
अन्तिम कुराकानी भएको ४५ मिनेटपछि पौने २ बजेतिर जब केशवले मिलनलाई फोन लगाए, उनको फोन उठेन। घन्टी जान्थ्यो, तर फोन उठ्थेन।
लगातार फोन गर्दा पनि नउठेपछि केशव आत्तिए।
'एकपल्ट फोन उठाइदिए सास आउँथ्यो जस्तो भएको थियो। तर ४ बजेसम्म उठ्दै उठेन,' केशवले भने, 'तैपनि मैले फोन लगाउन छाडिनँ।'
त्यसपछि उनी घरबेटीको गाडीमा छोराको हालखबर बुझ्न निस्के।
गोकर्णेश्वर नगरपालिका-५, नयाँबस्तीको डेराबाट महाराजगन्ज जाँदा उनलाई धुम्बाराहीबाट अगाडि बढ्न दिइएन। त्यो दिन काठमाडौंमा कर्फ्यु लागेको भए पनि प्रदर्शनकारीहरू सडकभरि थिए।
बीचैमा रोकिएका केशवलाई 'मिलन घाइते भएर अस्पताल भर्ना गरिएको' खबर आयो।
केशव झन् आत्तिए।
उनी फरक्क मोडिएर अस्पताल जान चाहन्थे, तर प्रदर्शनकारीहरूले सडक अवरूद्ध गरेकाले कतै जाने अवस्था थिएन।
ढुकढुक मुटु थामेर बसिरहेका बेला फेरि खबर आयो — मिलनको उपचार क्रममै मृत्यु भयो।
'म त ठाउँको ठाउँ बेहोसजस्तै भएँ,' केशवले भने, 'त्यही बेला जापानमा रहेकी बुहारी (मिलनकी श्रीमती) को फोन आयो। मिलनको फोन नउठेपछि मलाई गरेकी रहिछ। मैले उसलाई छोराको मृत्युको खबर सुनाउन सकिनँ।'
उनी भोलिपल्ट अस्पताल पुगे।
'अस्पताल पुगेपछि थाहा भयो, प्रदर्शनकारीहरूले मिलनलाई कुटी कुटी मारेका रहेछन्,' केशवले भने, 'शरीरमा कुनै चोट लाग्न नदिएको छोराको शरीरका अंगहरू बटुल्नुपर्ने अवस्था मैले हेर्नै सकिनँ।'
कुराकानी क्रममा केशवले भने, 'मिलन मेरो आफ्नै छोरा होइन, दाइको छोरा हो। तर मैले दुई-तीन वर्षको उमेरदेखि उसलाई हुर्काएको हुँ। त्यसैले ऊ मलाई आफ्नो छोराभन्दा कम लाग्दैन।'
मिलन साढे १ वर्षको हुँदा उनका बुबाको निधन भयो। बुबा बितेको एक वर्ष नबित्दै आमाले पनि संसार त्यागिन्।
दाजु-भाउजूको मृत्युपछि एक-दुई वर्ष अन्तरालका तीन सन्तानको जिम्मा केशवको काँधमा आयो। त्यसमध्ये मिलन सबभन्दा कान्छा थिए।
'मैले दाजुका छोराहरूलाई आफ्नै छोराहरू जसरी हुर्काएँ, बढाएँ। दाजुका तीन सन्तान र आमाबाको जिम्मेवारी पूरा गर्न म सरकारी सेवामा प्रवेश गरेँ,' नेपाली सेनामा कार्यरत केशवले भने।
केशवको पुर्ख्यौली घर सिन्धुलीको दुधौली-८ खोरभञ्जाङ हो। परिवारको जिम्मा काँधमा आएपछि उनी रोजगारी सिलसिलामा काठमाडौं आए। आफू यहाँ आएर व्यवस्थित भएपछि दिवंगत दाजुका छोराहरूलाई पनि यतै ल्याए।
'मिलनको बुबाको मृत्यु क्यान्सरका कारण भएको थियो। उहाँको शारीरिक दु:ख देखेकाले म मिलनलाई डाक्टर बनाउन चाहन्थेँ। ऊ पढाइमा राम्रो पनि थियो। तर आर्थिक अवस्थाले नभ्याएपछि डाक्टरी पढाउन सकिएन। ऊ पनि मजस्तै सरकारी जागिरे भयो र प्रहरी सेवातिर लाग्यो,' केशवले भने।
मिलनले काठमाडौंको चाबहिलस्थित पुष्षलाल मेमोरियल कलेजबाट प्लस-टू पास गरेका थिए। त्यसपछि बौद्धस्थित अरूणिमा कलेजबाट स्नातक सके। स्नातक पास गरेलगत्तै २०७४ सालमा प्रहरी सेवामा आबद्ध भएको केशव बताउँछन्।
भरतपुरमा प्रहरी तालिम लिएपछि मिलनको पहिलो पोस्टिङ जनकपुरमा भएको थियो। त्यहाँबाट दरबारमार्ग प्रहरी वृत्त काजमा आए।
दरबारमार्गबाट उनको सरूवा रामेछाप भयो। रामेछापबाट सात-आठ महिनाअघि काजमा महाराजगन्ज पठाइएको केशव बताउँछन्।
मेहनती र कामप्रति इमानदार भएकै कारण उनी प्रहरी सहायक निरीक्षक (असई) भएका थिए। त्यसैबीच धादिङ घर भएकी मंगला श्रेष्ठसँग मिलनको प्रेम भयो। क्षत्री र नेवारबीच विवाह गर्न घरपरिवारले मानेका थिएनन्। दुवै परिवारलाई सम्झाइबुझाइ गरेपछि २०८० फागुनमा मिलन र मंगलाको विवाह भएको केशवले बताए।
विवाहपछि मिलन सोह्रखुट्टेमा बस्न थालेका थिए। श्रीमती जापान गएपछि उनी एक्लै त्यहाँ बस्थे।
'छोराहरू आ-आफ्नो खुट्टामा उभिएको देख्दा दाजु-भाउजूको सपना पूरा भयो भन्ने सोचिरहेको थिएँ। त्यही बेला यस्तो घटना भयो,' केशवले भने, 'मिलनको माइलो दाजु पनि प्रहरी सेवामै छ। दुवै सँगसँगै प्रहरी सेवामा छिरेका थिए।'
'मिलनको जेठो दाजु भने धर्म परिवर्तन गरेर आफ्नै बाटो हिँडिरहेको छ। बेला-बेला घर आए पनि परिवारबाट टाढै बस्छ,' उनले भने।
सबभन्दा सानो मिलन भएकाले केशवले सबभन्दा बढी रेखदेख उनकै गरेका थिए। परिवारको कान्छो सदस्य गुमाएपछि केशवको मात्र होइन, हजुरआमा र हजुरबाका आँखा पनि ओभानो हुन सकेका छैनन्।
'हामी जति चिच्याए पनि उसलाई फिर्ता पाउन सक्दैनौं। तर मिलनलाई कुटपिट गरी हत्या गर्नेहरूविरूद्ध कारबाही हुनुपर्छ,' केशवले भने, 'तर अहिलेसम्म उसका हत्याराहरू पक्राउ परेका छैनन्, यसमा चाहिँ दु:ख लाग्छ।'
सरकारले कात्तिक १७ गते केशवलाई सहिद घोषणा गरेर 'अमर प्रहरी' को सम्मान दिएको छ। क्षतिपूर्ति पनि दिइएको छ।
सरकारसँग मिलनको परिवारको दुईवटा माग छ — हत्यामा संलग्नलाई कारबाही गरियोस्, अनि मिलनको सालिक निर्माण गरियोस्।
पहिलो माग पूरा गर्न केशवले मिलनमाथि कुटपिट गरी हत्या गर्नेहरूविरूद्ध कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले मिलनलाई कुटपिट गरेको आरोपमा अहिलेसम्म ६ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको र थप एक जनाविरूद्ध अनुसन्धान भइरहेको जानकारी दिए।
उनका अनुसार कारागार पठाइएका ६ जनामध्ये एक जनाले केही वर्षअघि आफूलाई प्रहरीले कुटेर आँखा फुटाइदिएको र त्यही रिसमा भदौ २४ गते प्रहरीलाई देख्नेबित्तिकै कुटेको बयान दिएका छन्।
केशव अहिले मिलनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन प्रहरी कार्यालय र अदालत धाइरहेका छन्। न्याय नपाएसम्म धाइरहने उनको अडान छ।
'जनतालाई सुरक्षा दिन प्रहरी सेवामा छिरेको मेरो छोरालाई भिडले कुटी कुटी मार्यो,' केशवले भने, 'न्याय नपाएसम्म म लडिरहन्छु।'
उनका अनुसार त्यस दिन प्रहरी कार्यालय छेउको सटरभित्र लुकेर बसेका मिलन सिभिल ड्रेसमा थिए। भिडले सुरूमा उनी प्रहरी हुन् भन्ने थाहा पाएको थिएन। तर एक्कासि कसैले 'यो त डिएसपी हो' भन्ने हल्ला फैलाएपछि भिडले कुटपिट गरेको उनी बताउँछन्।
'मैले आफैले सोधपुछ गरेर यति पत्ता लगाएको हुँ। उनीसँगै रहेका प्रहरीले नै केही भन्न चाहेनन्, अरू के आस गर्नु?' केशवले भने।
***