सहिद परिवार
२६ महिनाको छोराले जब 'बाबा ... बाबा' भनेर बोलाउँछ, कान्ति गुरूङका आँखा भरिएर आउँछन्।
उनी एकोहोरो रून थाल्छिन्। अनि, रूँदारूँदै छोराको अनुहार हेरेर आफूलाई सम्हाल्छिन्।
यसरी कहिले छोराको अनुहार त कहिले आफ्नै बितेका पलको सम्झनामा उनी श्रीमान अमृत गुरूङलाई खोजिरहेकी छन्।
भदौ २४ गते बिहान अमृतसँग अन्तिम पटक फोनमा कुराकानी हुँदा उनले भनेका थिए, 'अहिलेसम्म कार्यालयमै छु। केही पर्यो भने बाहिर जानुपर्छ होला, चिन्ता नलिनू।'
अमृतले यसो भन्दा बिहानको सवा १० बजेको थियो। उनले खाना खाने बेला कान्तिलाई फोन गरेर आफू सुरक्षित रहेको जानकारी दिएका थिए।
३० वर्षीय सहायक हवल्दार अमृत कोटेश्वरको प्रहरी प्रभागमा कार्यरत थिए। उनी प्रहरी क्वार्टरमै बस्थे।
अघिल्लो दिन भदौ २३ गते जेनजी आन्दोलन क्रममा युवाहरूको ज्यान गएपछि प्रहरीविरूद्ध उर्लिएको आक्रोश कान्तिले सामाजिक सञ्जालमा देखेकी थिइन्।
'सामाजिक सञ्जालमा त्यो आक्रोश देख्दा डर लागेको थियो,' कान्तिले भनिन्, 'त्यो रात राम्रोसँग निदाउन पनि सकिनँ।'
रातिबाटै कर्फ्यु जारी भएपछि भदौ २४ गते आन्दोलन नहोला भन्ने उनको आश थिए। तर दोस्रो दिनको अवस्था अझ भयानक बन्यो।
बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शनी भइरहेको थाहा भएपछि कान्तिले सवा १० बजेतिर अमृतसँग फोनमा कुराकानी गरिन्। त्यसपछि दिनैभरि उनीहरूको कुराकानी भएन।
त्यसैबीच कोटेश्वरको प्रहरी कार्यालय तोडफोड भएको थाहा पाएपछि उनले २ बजेतिर अमृतलाई फोन गरेकी थिइन्। तर फोन उठेन।
'फोन नउठेपछि त झन् डर बढ्दै गयो,' उनले भनिन्।
अमृतले फोन नउठाएपछि उनले अमृतका साथीहरू र कार्यालयमा फोन गरिन्। तर त्यो दिन कसैको फोन उठेन।
साँझतिर कोटेश्वर वृत्तका एक प्रहरीले फोन उठाए। तर उनले अमृत कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी नदिएको कान्ति बताउँछिन्।
'कार्यालयमा आगलागी भएकाले हामी सबै भाग्नुपर्यो। को कहाँ छन्, केही थाहा छैन। थाहा हुनेबित्तिकै हजुरलाई जानकारी गराउँछौं,' एक प्रहरीको भनाइ उद्धृत गर्दै कान्तिले भनिन्, 'मैले त्यसपछि लगातार फोन गरिरहेँ, तर उठ्दै उठेन।'
'त्यो रात कसरी कट्यो मलाई नै थाहा छैन,' उनले अगाडि भनिन्, '२५ गते बिहानसम्म फोन नउठेपछि काठमाडौंमा रहेका आफन्तलाई कार्यालयमा बुझ्न पठायौं।'
उनीहरूले पनि तत्काल केही जानकारी पाउन सकेनन्।
मनमा जतिसुकै त्रास भरिए पनि कर्फ्युबीच कान्ति तुरून्तै काठमाडौं आउन सकिनन्।
अमृतको घर कास्कीको रूपा गाउँपालिका–५ हो। अमृत घरका एक्ला छोरा थिए। एक दिदी र एक बहिनी छन्।
अमृत र कान्तिले पाँच वर्षअघि प्रेम विवाह गरेका थिए। उनीहरूको २६ महिनाका एक छोरा छन्।
छोरा हुर्काउन सजिलो हुन्छ भनेर कान्ति ससुराबुबा र बहिनीसँग गाउँमै बस्छिन्। छोरालाई स्कुल पढाउने बेला भएपछि काठमाडौं आउने र श्रीमानसँगै बस्ने उनको सपना थियो। तर भदौ २३ र २४ को जेनजी आन्दोलनले उनको सपना चकनाचुर भयो।
भदौ २४ गते बिहानदेखि श्रीमानको खोजखबर गरिरहेकी कान्तिलाई २५ गते अपराह्न ३ बजेतिर नयाँ नम्बरबाट फोन आयो।
'तपाईं अमृतजीको श्रीमती बोल्नुभएको हो?' फोन गर्नेले सोध्यो।
कान्तिले मुटुको बढेको चाल सम्हाल्दै 'हो' भनिन्।
उताबाट जबाफ आयो, 'अमृतजी अब रहनुभएन।'
यति सुनेपछि कान्ति केही बोल्नै सकिनन्। एक्कासि चिच्याइन्, अनि भुइँमा ढलिन्।
'खबर सुन्नासाथ म त बेहोस भएछु, त्यसपछि के के भयो, मलाई याद छैन,' कान्तिले भनिन्।
उनले केही दिनपछि मात्र थाहा पाइन् — कोटेश्वर प्रहरी प्रभागकै कार्यालयमा प्रदर्शनकारीहरूले धारिलो हतियार प्रहार गरेर अमृतलाई कुटी कुटी हत्या गरेछन्!
'कार्यालयमा आगो लागेपछि बाहिर निस्किँदा प्रदर्शनकारीहरूले कुटेर मारे भन्ने सुनेँ,' उनले भनिन्, 'उहाँलाई कुटेर हत्या गर्नेहरू को थिए, तिनीहरू पक्राउ परे कि परेनन्, अहिलेसम्म थाहा पाएकी छैन।'
आमा इन्द्रमाया बितेको वर्षदिन नपुग्दै अमृतको हत्या भएको कान्ति बताउँछिन्। उनी आफ्नो छोरा र ६० वर्षका एक्ला ससुरबुबा हस्तबहादुरसँग गाउँमै बस्थिन्। घरखर्च चलाउने एक मात्र खम्बा अमृत नै थिए।
'उहाँ नरहेपछि त मेरो जिन्दगीको सहारा नै गुम्यो,' २९ वर्षीय कान्तिले भनिन्, 'छोराले आफ्नो बुबाको मुख पनि देख्न पाएन। मेरो जस्तो कलिलो उमेरमा कसैको पनि सिन्दुर नपुछियोस्!'
अमृत प्रहरी सेवामा आबद्ध भएको असोजमा १२ वर्ष पूरा हुन्थ्यो। उनले बुटवलमा तालिम लिएर पाल्पाको नियुक्ति पाएका थिए। त्यसपछि मुगु, सुर्खेत हुँदै दुई वर्षअघि मात्र काठमाडौं सरूवा भएको कान्ति बताउँछिन्।
'आन्दोलनमा ओर्लिएकाहरू पनि नेपाली नै हुन्। प्रहरी पनि आफूजस्तै नेपाली हो भनेर भिडले किन नसोचेको होला? उनीहरूको दुश्मनी त सरकारसँग थियो होला, प्रहरीसँग के को दुश्मनी? प्रहरीमा आफूजस्तै मान्छे नै हो भनेर भिडले किन नसोचेको होला?' उनले भनिन्, 'जसको सुरक्षाका लागि १२ वर्ष ड्युटी गरे, उनीहरूले नै कुटी कुटी मारे!'
जनता र देशको सेवामा घरपरिवार नभनी खटिने प्रहरीमाथि त्यतिसम्म घृणा र आक्रोश देखाउनुपर्ने कुनै कारण नभएको कान्ति बताउँछिन्।
'प्रहरीको पनि परिवार र छोराछोरी हुन्छन्। मेरो भर्खर हुर्किँदै गरेको छोराले त आफ्नो बुबाको मुख पनि हेर्न पाएन। बाबुको हात समातेर स्कुल जान, घुम्न र समाजमा बुबा छन् भनेर भन्न पनि पाएन। मेरो परिवारको, मेरो छोराको त्यो अधिकार खोस्नेहरू को हुन्? उनीहरूले त्यसको जबाफ दिनुपर्छ,' कान्तिले भनिन्।
ड्युटीकै क्रममा अमृतको ज्यान गएकाले सरकारले छोराको नि:शुल्क शिक्षा र घरपरिवार चलाउन आफूलाई रोजागरीको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने कान्तिको भनाइ छ।
'घरमा कमाउने मान्छे ढलेपछि छोरा र ससुराबाको हेरचाह गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ। त्यसैले कतै जागिर पाए हुन्थ्यो,' उनले भनिन्।
सँगसँगै, राज्यले श्रीमानको बलिदानको सम्मान गर्दै घटना भएको ठाउँमा शालिक बनाइदिए हुन्थ्यो भन्ने पनि कान्तिलाई लाग्छ।
'मैले प्रहरी प्रमुखहरूसँग यसबारे कुरा गरेकी थिएँ। उहाँहरूले शालिक बन्छ भनेर आश्वासन पनि दिनुभएको थियो। तर अहिले यसबारे के भयो, मलाई थाहा छैन,' उनले भनिन्।
***