सहिद परिवार
'हेलो, निर्मलादेवी बोल्नु भएको हो?'
उताबाट मलिनो स्वरमा आवाज आयो, 'हो, म निर्मलादेवी थापा बोलेको हुँ।'
हामीले आफ्नो परिचय दियौं र उत्तम थापाबारे बुझ्न फोन गरेको जानकारी गरायौं।
उनले हाम्रो भाषा बुझ्न सकिरहेकी थिइनन्, हामीले उनको। उनी दार्चुली भाषा बोलिरहेकी थिइन्। तैपनि उत्तम थापाको नाम प्रस्टै बुझिन्।
'उत्तमलाई मारिदिए, अब छैन,' निर्मलाले भक्कानिँदै भनिन्।
त्यसपछि बोल्नै सकिनन्।
हामीले उनको मौनता तोड्ने हिम्मत गरेनौं।
पर्खिरह्यौं।
उनी निकै बेरपछि बोल्न थालिन्।
निर्मलादेवी पुजरा (थापा) उनै हुन्, जसले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आफ्ना ३१ वर्षीय छोरा उत्तम थापालाई गुमाएकी छन्।
उत्तम प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए। उनी प्रहरी जवान हुन्। प्रदर्शनकारीहरूले कार्यालय तोडफोड गरेपछि कुटपिट गरेर उत्तमको हत्या गरेका थिए।
छोरा गुमेको साढे चार महिना बितिसक्दा पनि निर्मलालाई उनको झझल्को आउन छाडेको छैन।
उत्तम हरेक दिन बिहान–बेलुकी नै फोन गरेर आमाको हालखबर सोधिरहन्थे। त्यही भएर बिहान–बेलुकी आउने फोनले निर्मलालाई झस्काउँछ।
त्यही छोरासँग बोल्न निर्मला 'टुकटुके' फोन चलाउँथिन्। फोन उठाउन कान्छो छोराले सिकाएका थिए। अहिले ती दुवै छोरा निर्मलाको साथमा छैनन्। एक वर्षको अन्तरालमै उनले दुवै सन्तान गुमाइन्।
'छोरा बित्यो भन्ने पनि एक सातापछि मात्र थाहा भयो,' ६१ वर्षीया निर्मलाले भनिन्, 'कान्छो छोराको मृत्युपछि जेठोको अनुहार हेरेर बाँचेको थिएँ, उसलाई पनि मारिदिए।'
उनले २०८१ मंसिरमा कान्छो छोरा महेशलाई गुमाएकी थिइन्। २२ वर्षीय महेशको मृत्यु भीरबाट लडेर भएको थियो। उनी पनि दाजुजस्तै प्रहरी सेवामा जाने तयारी गर्दै थिए।
निर्मलाको घर दार्चुलाको लेकम गाउँपालिका–३, लाली घुम्खोली हो। उनका श्रीमान करिब एक दशकअघि नै बितेका थिए। त्यसपछि दुई सन्तान हुर्काउने जिम्मा निर्मलाको काँधमा आएको थियो।
महेश प्रहरी सेवामै रहेका आफ्ना काका रूपसिंह थापाबाट प्रभावित भएर प्लस–टू पास गर्नेबित्तिकै भर्ती भएका थिए।
काका रूपसिंहका अनुसार उत्तम २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनको तालिम दिपायलमा भएको थियो भने पहिलो दरबन्दी प्रदेश प्रहरी गुल्म धनगढीमा भएको थियो।
करिब ६ महिनाअघि प्रहरी वृत्त महाराजगन्जमा उनको सरूवा भयो।
'म उपत्यकाबाहिर थिएँ। भदौ २४ गते दिउँसोसम्म हामीलाई केही खबर नै थिएन,' काका रूपसिंहले भने, 'भाउजू गाउँमै हुनुहुन्थ्यो। उहाँलाई झन् केही थाहा हुने कुरै भएन।'
उनले अगाडि भने, 'काठमाडौंमा प्रहरी कार्यालयहरू जलाइए भने थाहा पाएपछि हामीले फोन गरेका थियौं, तर लाग्दै लागेन।'
त्यसैबीच प्रहरी वृत्त महाराजगन्जका डिएसपी मारियो भन्ने खबर आयो। त्यसपछि निर्मलादेवी, रूपसिंह लगायत आफन्तले उत्तमलाई पटक पटक फोन गरे।
रूपसिंहका अनुसार २४ गते दिउँसो एकछिन फोन लागे पनि त्यसपछि अफ भएको थियो। त्यो नम्बरमा अहिलेसम्म फोन लाग्दैन।
'कहिलेकाहीँ फोन उठिहाल्छ कि भनेर थिची हेर्छु। तर अफ भन्छ,' रूपसिंहले भने।
उत्तमको फोन नलागेपछि रूपले प्रहरी हेडक्वार्टरमा सम्पर्क गरे। त्यहाँबाट पनि तत्काल केही जानकारी आएन।
भोलिपल्ट पनि उनीहरूले दिनैभरि उत्तमको खोजखबर गरे। तारन्तर मोबाइल सम्पर्क गरिरहे, हेडक्वार्टरमा बुझिरहे।
प्रहरी हेडक्वार्टरले आगलागीका कारण कर्मचारीहरू छरिएर बसेको र सबैसँग सम्पर्क नभएको जानकारी दिए।
त्यसै क्रममा भदौ २५ गते साँझ समाचार आयो — प्रहरी वृत्त महाराजगन्जमा डिएसपी भन्दै मारिएका प्रहरी जवान उत्तम थापा हुन्।
'बुझ्दै जाँदा मारिएका प्रहरी जवान हाम्रै छोरा उत्तम हो भन्ने पुष्टि भयो,' रूपसिंहले भने।
त्यति बेला निर्मला गाउँमै थिइन्। रूपसिंहले तत्काल उनलाई छोराको मृत्युको खबर सुनाएनन्। आन्दोलन क्रममा सामान्य घाइते मात्र भएको बताए।
रूपसिंहको मनमा दोस्रो दिन साँचो कुरा बताऊँला भन्ने थियो। तर उनले दोस्रो दिन पनि कुरा खोल्न सकेनन्। उपचार जारी छ भनेर ढाँटे।
तेस्रो दिन अवस्था गम्भीर हुँदै गएको भन्दै फेरि ढाँटे।
यसरी विभिन्न बहाना गर्दै रूपसिंहले एक सातापछि मात्र निर्मलालाई साँचो कुरा बताए।
'भाउजू कान्छो छोरा गुमेको पिरमै हुनुहुन्थ्यो। त्यसैले एक्कासि जेठो छोराको मृत्यु भयो भन्दा अर्को दुखद घटना होला भन्ने डरले चरण चरणमा भन्नुपर्यो,' रूपसिंहले भने।
निर्मलाले अन्तिम पटक जेठो छोराको मुखधरि हेर्न पाइनन्। उत्तमकी श्रीमतीले पनि खबरै खबरमा श्रीमानसँग बिछोड हुनुपर्यो।
उत्तमको पहिचान पुष्टि भएपछि कानुनी प्रक्रिया पूरा गर्न रूपसिंहका छोरा र अरू केही आफन्त काठमाडौं गए।
हेलिकप्टर उपलब्ध भयो भने कालीगण्डकी ल्याएर शव अन्त्येष्टि गर्ने उनीहरूको विचार थियो। तर प्रहरीले हेलिकप्टर व्यवस्थापन गर्न नसक्ने बताएपछि शव वाहनमा लैजानुपर्ने भयो।
त्यसमाथि दिउँसोको समय मात्र शव वाहन चलाउन पाइने र साँझ ६ बजेपछि जहाँ पुग्यो, त्यही रोकिनुपर्ने नियम रहेछ।
'त्यसरी भ्यानमा लैजाँदा ४–५ दिन लाग्थ्यो। त्यही भएर आफन्तहरूले भदौ २७ गते पशुपतिमै अन्त्येष्टि गर्यौं,' रूपसिंहले भने, 'म कोहलपुरमा किरिया बसेँ।'
उनले अगाडि भने, 'प्रहरीले हेलिकप्टरसम्म व्यवस्था गरिदिएको भए शव गाउँमै लैजान पाइन्थ्यो। आमा र श्रीमतीले अन्तिम चोटि मुख देख्न पाउँथे। हामी सबैले एकचोटि मुख पनि नदेखी बिदा गर्नुपर्यो।'
रूपसिंहका अनुसार उत्तमले जागिरबाट दुई–चार पैसा बचत गरेपछि आमालाई आफूसँगै राख्ने योजना गरिरहेका थिए।
छोरासँगै बस्ने दिन पर्खेर बसिरहेकी निर्मलादेवीले एक्कासि छोरा कहिल्यै नफर्कने गरी गएपछि आफूलाई सम्हाल्नै नसकेको उनी बताउँछन्।
परिवारका सदस्यहरूले उत्तमलाई कुटपिट गरेर मार्नेहरूविरूद्ध कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
'हामीलाई अब अरू केही चाहिएको छैन। हाम्रो छोरा मार्नेविरूद्ध कारबाही होस्,' रूपसिंहले भने, 'प्रदर्शनकारीहरूका लागि ऊ प्रहरी थियो होला, त्यही भएर राज्यसँगको रिस उसैमाथि पोख्यो होला, तर उनीहरूको रिसले आमाको काख रित्तियो।'
***