सहिद परिवार
पार्वती अधिकारीका आँखा चार महिनादेखि ओभानो छैनन्।
हरेक दिन घाम ढल्दै जाँदा उनलाई रात कसरी कटाउने होला भन्ने पीर हुन्छ। ९ वर्षकी छोरी साथमा हुँदा त छोरीको मुख हेरेर जसोतसो हाँस्न खोज्छिन्, तर राति छोरी सुतेपछि श्रीमानलाई सम्झिएर टोलाउँछिन्, एक्लै रून थाल्छिन्।
पार्वतीका ३१ वर्षीय श्रीमान देवकुमार सुवेदीले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए।
कालिमाटीमा गोली लागेका उनको मृत्यु भोलिपल्ट भदौ २५ गते भएको हो।
'दिनभरि त यताउता गरेर बित्छ, रात परेपछि चाहिँ श्रीमान कतैबाट टुप्लुक्क आइहाल्छन् कि भन्ने हुन्छ,' २८ वर्षीया पार्वतीले भनिन्, 'पहिले हरेक रात छोरी निदाएपछि उसलाई यस्तो पढाउने, उस्तो गर्ने भन्दै हामी बूढाबूढीको भविष्यको कुरा गर्न थाल्थ्यौं। अब त उहाँ नै रहनुभएन।'
देवको पुर्ख्यौली घर उदयपुर हो। उनीहरू त्यहाँबाट बसाइँ सरेर सिन्धुलीको दुधौली नगरपालिका पुगे। २०७४ सालमा पार्वती बिहे गरेर आएको सिन्धुली नै हो।
बिहेको केही महिनापछि भने उनीहरू सिन्धुलीबाट सर्लाहीको लालबन्दी नगरपालिका-५ बसाइँ सरे।
देव रोजगारका लागि काठमाडौं आए पनि पार्वती उतै बसिरहेकी थिइन्। छोरी जन्मेपछि उसको शिक्षाका लागि काठमाडौं आएको पर्वती बताउँछिन्।
'छोरीलाई राम्रो शिक्षा दिने सपना बुनेर म २०७७ सालतिर १९ महिनाकी छोरी बोकेर काठमाडौं आएकी थिएँ,' पार्वतीले भनिन्।
यहाँ आएपछि जीवनयापनका लागि देवकुमार र पार्वतीले ज्याला मजदुरीदेखि अनेक काम गरे।
त्यसै क्रममा साढे ५ वर्षअघि देवले ललितपुरको सानेपास्थित सडक डिभिजन कार्यालयमा काम पाए। उनी कार्यालयको गाडी हाँक्नेदेखि सुरक्षागार्डसम्मको काम गर्थे। उनीहरूलाई कार्यालय परिसरमै बस्न दिइएको थियो।
छोरीलाई स्कुल पठाउन थालेपछि पार्वतीले पनि बिहान-बेलुका अरूको घरमा भात पकाउने, भाँडा माझ्ने लगायत काम गर्न थालिन्।
'बूढाबूढीले जतिसुकै दु:ख पाए पनि छोरीको भविष्य सपार्नुपर्छ भनेर हामी खटिएका थियौं,' पार्वतीले भनिन्, 'हामी दुवै उसको भविष्यको नयाँ नयाँ योजना बुन्थ्यौं।'
तर जेनजी आन्दोलन उनका ती सारा योजनामाथि कहर बनेर बर्सियो।
पार्वतीका अनुसार देव भदौ २३ को कार्यक्रममा सरिक भएका थिएनन्। उनी आफ्नै काममा व्यस्त थिए। तर त्यस दिन प्रहरीले चलाएको गोलीले केही घन्टामै २० जनाको ज्यान गएपछि उनी विक्षिप्त भए। र, देशभरका हजारौं नागरिकझैं उनी पनि भदौ २४ को प्रदर्शनमा ओर्लिए।
त्यस दिन उनी खाना खाएपछि 'काम छ' भन्दै बाहिर निस्केका थिए। तर गाडी नपाएपछि एकैछिनमा फर्किए।
केही समय कोठामै भुले, अनि फेरि 'आन्दोलन हेरेर आउँछु' भन्दै डेराबाट निस्किए।
पार्वतीले 'कर्फ्यु लागेको छ, यताउता नहिँड्नू' भनेर सम्झाएकी थिइन्।
जबाफमा देवले भने, 'यस्तो बेला युवाहरू घरमा लुकेर हुन्छ?'
यति भनेर उनी 'कालिमाटीसम्म पुगेर आउँछु' भन्दै निस्किए।
उनी डेराबाट निस्केको केही बेरमै बल्खुबाट ठूलो संख्यामा आन्दोलनकारीहरू कालिमाटीतर्फ बढेको पार्वतीले थाहा पाइन्।
देव पनि त्यतै गएकाले पार्वतीलाई डेरामा अडिन मन मानेन।
उनी छोरी बोकेर, दिदीलाई पनि साथ लिएर देवलाई खोज्न कालिमाटीतिर लागिन्।
'भिडभाडमा बच्चा बोकेर हिँड्दा जोखिम हुन्छ भनेर दिदीले सम्झाएपछि हामी केही बेरमै फर्कियौं,' पार्वतीले भनिन्, 'घर आएर तारन्तार फोन गरेँ, तर उहाँले उठाउनुभएन।'
त्यस दिन दिनैभरि देवसँग सम्पर्क भएन।
अपराह्नतिर एक छिमेकी दाजु पार्वतीलाई बोलाउन आइपुगे।
'तिमी अस्पताल जानुपर्ने भयो,' उनले भने।
पार्वतीको मनमा चिसो पस्यो।
उनले आत्तिँदै 'के भयो' भनेर सोधिन्।
जबाफमा ती छिमेकी दाजुले भने, 'देवलाई खुट्टामा गोली लागेर वयोधा अस्पताल लगेको छ।'
गोली लागेको छ भन्ने सुनेपछि पार्वती हतार हतार अस्पताल पुगिन्।
अस्पताल पुगेपछि थाहा भयो — देवलाई खुट्टामा होइन, कोखामा गोली लागेको रहेछ।
'म अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाका लागि भित्र लगिँदै थियो,' पार्वतीले भनिन्, 'उहाँले हातको इसारले ठिक छु, तिमी चिन्ता नलिऊ भन्नुभयो।'
त्यो हातको इसारा नै पार्वती र देवकुमारको अन्तिम कुराकानी थियो।
अपरेसनपछि देवकुमारको होस खुल्दै खुलेन।
'त्यो रातभर म अस्पतालमै थिएँ। डाक्टरहरूले शरीरको भित्री अंग छिया छिया भएको छ भन्नुभएको थियो। रगत पनि रोकिएन रे,' उनले भनिन्।
भदौ २५ गते बिहान ९ बजेतिर देवलाई मृत घोषित गरियो।
यो खबर सुन्नेबित्तिकै पार्वती बेहोस भइन्।
त्यसपछि देवको शव पोस्टमर्टमका लागि टिचिङ अस्पताल लगियो। अनि, एक सातापछि पशुपतिमा अन्त्येष्टि गरेर काजकिरियाका लागि पार्वती सर्लाही पुगिन्।
'उता सबै काम सकेर म एक महिनापछि छोरीको पढाइका लागि काठमाडौं फर्केँ,' पार्वतीले भनिन्।
परिवारका चार दाजुभाइमा देव कान्छा छोरा हुन्। उनका बुबा ८५ वर्षीय उजिरबहादुर र ६७ वर्षीया यशोदाकुमारी गाउँमै बस्छन्। छोरी ललितपुर सानेपाको प्याराडाइज सेकेन्डरी स्कुलमा पढ्छिन्।
'छोरी पढाइमा प्रथम हुने भएकीले स्कुलमा पैसा तिर्नुपर्दैन,' उनले भनिन्, 'त्यस बाहेक खाना, खाजा र अरू खर्चमा गोल्यान ग्रुपले सहयोग गरिरहेको छ।'
पहिले उनीहरू श्रीमानकै कार्यालय परिसरमा बस्थे। श्रीमानको मृत्युपछि आफन्तकहाँ बस्न थालेको उनी बताउँछिन्।
डेढ महिनादेखि पार्वती सानेपास्थित चौधरी ग्रुपको कार्यालयमा काम गरिरहेकी छन्।
चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारको सदस्यलाई जागिर दिने विज्ञापन गरेको थियो। त्यसैमा आवेदन दिएर जागिर पाएको पार्वती बताउँछिन्।
सरकारले सहिद परिवारको हकहितमा काम गरोस् भन्ने उनलाई लाग्छ।
'मेरो सिन्दुर र छोरीको अभिभावक गुम्यो,' उनले भनिन्, 'मेरो जस्तो उमेरमा विधवा हुनुपर्ने अवस्था कसैको नआओस्!'
***