सहिद परिवार
भदौ २४ गते दिउँसो १ बजेसम्म उनी प्रहरी वृत्त गौशाला अगाडिको प्रदर्शनीमै थिइन्।
छोरी प्रदर्शनीमा हिँडिरहँदा उनकी आमा कल्पना गौतम कोठामा एक्लै बसिरहन सकिनन्। उनी छोरीलाई लिन प्रहरी वृत्त गौशाला अगाडि पुगिन्।
१९ वर्षीया निखिता गौतम प्रदर्शनीको भिडिओ खिचिरहेकी थिइन्।
छोरीलाई भिडिओ खिचिरहेको देखेर कल्पनाले छोरीसमेत आउने गरी भिडिओ खिचिन्।
केही मिनेट त्यहाँ बसेपछि कल्पनाले छोरीलाई साथमा लिएर कोठा फर्किइन्।
निखिताको परिवार काठमाडौं महानगरपालिका-९ गौशालामा बस्छ। उनीहरूको घर प्रहरी वृत्त गौशालाबाट करिब ५ सय मिटर दुरीमा छ। त्यस दिन कल्पना र निखिता घर फर्किँदा पनि प्रहरी वृत्त अगाडि प्रदर्शनी चलिरहेकै थियो।
केही बेरमा बाहिरी होहल्ला बढेको सुनियो। आसपासका मान्छे कोही झ्यालबाट त कोही छतमा उक्लेर हेर्न थाले।
निखिता पनि चारतले घरको छतमा उक्लिइन्। छतमा उनीसँगै अरू चार-पाँच जना पनि थिए।
'उनी अघिल्लो दिन त आफै प्रदर्शनीमा गएकी थिइन्। सुशासनको पक्षमा आवाज उठाउनुपर्छ भनेर मलाई सम्झाइरहन्थिन्,' आमा कल्पनाले भनिन्, 'त्यही भएर पनि उनलाई आफ्नै घर अगाडि भइरहेको प्रदर्शनी हेर्न उत्सुकता थियो।'
निखिता छतमा उक्लेको केही बेरमै बाहिर गोली चलेको आवाज आयो।
त्यस लगत्तै छतमा हल्लीखल्ली सुनियो — निखितालाई गोली लाग्यो!
'छतमा भएका मान्छे माथिल्लो तलाको भर्याङदेखि नै निखितालाई गोली लाग्यो भनेर चिच्याउँदै थिए,' कल्पनाले भनिन्, 'त्यो सुन्नेबित्तिकै म आत्तिएर कसरी माथि पुगेँ पत्तै पाइनँ।'
उनका अनुसार निखिता छातीमा गोली लागेर ढलेकी थिइन्। उनीसँगै अर्का एक युवक कुमार उपाध्याय पनि ढलेका थिए।
'निखितालाई लागेको गोलीले छाती छेडेर पछाडिको युवकलाई लागेको रहेछ,' कल्पनाले भनिन्, 'छोरी ढलेको ठाउँमा रगतको पोखरी जमेको थियो।'
कल्पनाले छरछिमेकको सहयोगमा निखिता र कुमारलाई पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल पुर्याइन्।
अस्पताल पुर्याएको केही छिनमै निखितालाई मृत घोषित गरियो।
त्यस दिन उनका बुबा लोकनाथ गौतम घरमा थिएनन्। फर्निचर कारखानामा काम गर्ने उनी त्यही सिलसिलामा भक्तपुर च्यामसिं पुगेका थिए। कल्पनाले छोरीलाई अस्पताल लैजाँदा लैजाँदै खबर गरेकी थिइन्, तर सवारी साधन नचलेकाले उनी तुरून्तै आउन सकेनन्।
'सार्वजनिक यातायात बन्द थिए। फाट्टफुट्ट चलेका निजी गाडीले पनि लैजान मानेनन्,' लोकनाथले भने, 'म भक्तपुरबाट हिँड्दै आएँ। साढे २ बजेतिर हिँडेको म अस्पताल पुग्दा ५ बजेको थियो।'
उनले अगाडि भने, 'बिहान छोरीलाई कोठामा सुतिरहेको अवस्थामा छाडेर गएको थिएँ, बेलुकी शवगृहमा देख्नुपर्यो।'
निखिताको मृत्यु भएको पाँच महिना बितिसक्यो। तर कल्पना र लोकनाथलाई अझै पनि छोरी छैन भनेर पत्याउन गाह्रो परिरहेको छ। हामी भेट्न जाँदा पनि उनीहरू मोबाइलमा छोरीकै भिडिओ हेर्दै थिए।
'हेर्नुस् त, त्यस दिन हाम्रो घर अगाडि भएको प्रदर्शन यही हो,' कल्पनाले भनिन्।
यसो भन्दै गर्दा कल्पनाको आँखा आँसुले भरिएको थियो।
लोकनाथको पनि हालत उस्तै थियो। तर उनले आँसु झर्न दिएनन्।
'हामीलाई बाँच्न सिकाइरहेकी छोरीलाई गोली हानेर मारिदिए,' लोकनाथले आँसु लुकाउँदै भने, 'अब हामी काठमाडौंमा बसेर केही काम छैन। छोरी नभएपछि यहाँ बस्न पनि सक्दैनौं।'
उनीहरूको पुर्ख्यौली घर काभ्रे हो। दुई दशकअघि चितवनको कालिका नगरपालिका-८ मा जग्गा किनेका थिए। त्यहीँ सानो घर बनाएका छन्।
पहिलो छोरा जन्मेपछि उसको शिक्षाका लागि उनीहरू २०६० सालमा काठमाडौं आए। २०६२ सालमा निखिताको जन्म काठमाडौंमै भयो।
'दुई सन्तानको उज्यालो भविष्यका लागि हामीले कुनै कसर बाँकी राखेनौं। हाम्रो सारा मिहिनेत उनीहरूको भविष्यकै लागि थियो। त्यसका लागि ज्याला मजदुरीदेखि फुटपाथमा लुगा बेच्ने कामसम्म गर्थ्यौं,' लोकनाथले भने।
'हामीजस्तो गरिबका लागि सन्तान नै सम्पत्ति हो। त्यही सन्तान नै मारिदिएपछि बाँच्नुको के अर्थ रह्यो,' उनले भने, 'घरको छतमा ताकी ताकी गोली हान्ने प्रहरीलाई अझै पनि कारबाही गरिएको छैन। कारबाही गरियोस् भन्ने हाम्रो माग छ।'
जेनजी आन्दोलनमा छोरी गुमाएका यी आमाबुबा यसै साता काठमाडौं छाडेर चितवन फर्किँदै छन्। उनीहरू भन्छन्, 'न्याय पाइएला कि भनेर पाँच महिना धायौं। तर सबै आस मर्यो। अब काठमाडौं छाडेर जाँदैछौं।'
निखिताले जेभियर कलेजबाट कम्प्युटर साइन्समा १२ कक्षा पास गरेकी थिइन्। प्लस-टू सकिएपछि विदेश जान चाहन्थिन्। तर दुवै सन्तान टाढा पठाउँदा आफूहरूलाई गाह्रो पर्ने भएकाले छोरीलाई यहीँ बसेर पढाइ पूरा गर्न भनेको उनीहरू बताउँछन्।
उनीहरूका छोरा अहिले डेनमार्कमा पढ्दै छन्। निखिताको पनि त्यहीँ जाने सोच थियो।
'सानैदेखि पढाइमा राम्रो थियो। प्लस-टूमा पनि राम्रो जिपिए ल्याएको थियो,' कल्पनाले भनिन्।
'सन्तानको भविष्यका लागि जुन सहरमा आयौं, त्यही सहरले हाम्रो सन्तान खोस्यो।'
***