सहिद परिवार
प्रवीण कुलुङ र मौसम कुलुङ दाजुभाइ हुन्।
उनीहरू दुवै भदौ २३ को प्रदर्शनमा सामेल थिए। दिनभरि नयाँबानेश्वरमा अश्रुग्यास र पानीको फोहोरा खाँदाखाँदा लखतरान भएका उनीहरू साँझ सकुशल डेरा त फर्किए, तर आँखैअगाडि गोली लागेका युवाहरूको अनुहार सम्झेर उनीहरूको मन बेचैन थियो।
बुढानिलकण्ठ नगरपालिका-१२, कपन बस्ने प्रवीण र मौसम दिनभरिको पीडाले त्यो रात राम्ररी सुत्न सकेनन्।
'सरकारले कलिला युवाहरूको छातीमा कसरी गोली चलाउन सक्छ भन्ने प्रश्न मनमा गडिरहेको थियो,' मौसमले भने, 'दिउँसोको घटनाबारे हामी दाजुभाइ राति ढिलासम्म गफ गरेर बस्यौं। कुरा गर्दागर्दै कतिखेर निदाइयो थाहै पाइएन।'
भोलिपल्ट भदौ २४ गते पनि बिहानैदेखि प्रदर्शनहरू सुरू भए। प्रवीणले आफ्ना भाइसहित अन्य आफन्तलाई पनि प्रदर्शनमा सरिक हुन प्रोत्साहित गरे।
'यस्तो बेला हामी बोल्नुपर्छ, प्रहरी दमनको विरोध गर्नुपर्छ भन्दै उहाँले आन्दोलनमा भाग लिन हामीलाई प्रेरित गर्नुभएको थियो,' मौसमले भने, 'उहाँकै प्रोत्साहनले हामी दोस्रो दिन पनि आन्दोलनमा गयौं।'
उनीहरू भदौ २४ गते दिउँसो साढे १२ बजेतिर चार-पाँच जनाको समूह बनाएर प्रदर्शनमा निस्के। त्यति बेला साना-ठूला थुप्रै समूहले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन सुरू गरिसकेका थिए।
उनीहरू पनि कपनबाट हिँड्दै गौशाला चोकसम्म पुगे। त्यहाँ प्रदर्शनकारीहरूको समूह प्रहरी वृत्त अगाडि झुम्मिएका थिए।
'त्यही बेला पुरानो बानेश्वरबाट सेनाको गाडी आउँदै थियो। हामी पनि त्यतै जाँदै थियौं,' मौसमले भने, 'दाइ फोनमा बोल्दै अगाडि अगाडि हिँडिरहनुभएको थियो। एक्कासि प्रहरीको गोली चल्यो, दाइ फोनमा बोल्दा बोल्दै ठाउँको ठाउँ ढल्नुभयो।'
उनले अगाडि भने, 'गोली चल्नुभन्दा केही समयअघि मात्र दाइले सुरक्षित भएर हिँड्नू है भनेर हामीलाई सम्झाउनुभएको थियो। दाइ ढलेपछि मात्र उहाँलाई गोली लागेको थाहा भयो।'
मौसमका अनुसार गोली चल्दा दिउँसो ३ बजेको थियो। गोली उनको छातीमा आरपार भएको थियो। उनीहरूले प्रवीणलाई तुरून्तै फ्रन्टलाइन अस्पताल पुर्याए।
अस्पताल पुर्याएर उपचार सुरू गर्दागर्दै प्रवीणको मृत्यु भएको मौसमले बताए।
'दाइ छैन भन्ने थाहा भएपछि मैले आत्तिएर घरमा फोन गरेँ। तर त्यो बेला घरमा पनि कसैले फोन उठाउनुभएन,' उनले भने, 'साथीहरूले आफन्तलाई फोन गरेर खबर सुनाइदिए।'
आफू सँगसँगै प्रदर्शनमा हिँडेको र आफ्नै अगाडि गोली लागेर दाइको निधन भएपछि मौसम केही बेर अर्धबेहोसझैं भए।
प्रवीण र मौसम दाजुभाइ मात्र होइन, एकअर्काका साथीझैं थिए। उमेरले १४ महिनाको अन्तर रहेका उनीहरू केही वर्षदेखि नै सँगसँगै बसेर पढिरहेका थिए। उनीहरू दुवै स्नातक दोस्रो वर्ष पढ्दै थिए। यसले पनि उनीहरूबीच दाजुभाइभन्दा साथीको सम्बन्ध बढी थियो।
२१ वर्षीय प्रवीण घरका माइला छोरा थिए भने मौसम कान्छा छोरा हुन्। उनीहरूका दाजु नेपाली सेनामा आबद्ध छन्।
'अध्ययन र वैदेशिक रोजगारीमा जाने तयारी गर्न हामी काठमाडौंमा डेरा गरेर बसेका हौं,' मौसमले भने, 'दाइले पढाइ सँगसँगै कोरिया जान इपिएसको तयारी गर्दै हुनुहुन्थ्यो। त्यो सब एकैछिनमा ध्वस्त भयो।'
आँखै अगाडि दाजु ढलेको दृश्य मौसमले चार महिनासम्म बिर्सन सकेका छैनन्। आमाबुबाको हालत पनि उस्तै छ।
उनीहरूका बुबा बालकिशोर त्यस दिन मोबाइल चार्जमा राखेर बाहिर काममा निस्किएका थिए। अपराह्न ४ बजेतिर घर फर्किँदा बाटोमै छोरालाई गोली लागेको हल्ला सुने। हत्तपत्त घर पुगेर फोन हेर्दा कान्छो छोरा मौसमले र केही आफन्तले १५-२० पटक फोन गरेको देखे।
'मैले कलब्याक गर्दा तत्काल कसैको फोन उठेन। पछि उतैबाट फोन आउँदा श्रीमतीले उठाइन्,' बालकिशोरले भने, 'छोराको मृत्यु भएको खबर सुनेर ऊ त बेहोसै भइन्।'
यो घटना हुँदा उनीहरू आफ्नो घर संखुवासभाको सिलिचोङ गाउँपालिका-३ मा थिए। कर्फ्यु लागेकाले खबर पाउनासाथ काठमाडौं आउन सकेनन्।
'माइला (प्रवीण) र कान्छासँग केही दिनअघि मात्र कुरा भएको थिएन,' बालकिशोरले भने, 'दसैंमा को-को घर आउने भनेर छलफल गरेका थियौं। पढाइका कारण माइलोले घर नआउने कुरा गरेको थियो, कहिल्यै घर नआउने गरी अस्तायो।'
मृत्यु भएको १० दिनपछि प्रवीणको शव नेपाली सेनाको हेलिकप्टरमा विराटनगर हुँदै सिलिचोङ ल्याइएको र गाउँमै अन्त्येष्टि गरिएको उनी बताउँछन्।
'मेरो छोरा देशको परिवर्तनका लागि सहिद भयो भनेर आफूलाई सम्झाउने कोसिस गरिरहेको छु,' उनले भने, 'म पनि परिवर्तन चाहने व्यक्ति हुँ। मेरो त्यही गुण छोरामा सरेजस्तो लाग्यो।'
उनी आफू पनि देशको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएको बताउँछन्।
'झन्डै एक दशकसम्म म देश परिवर्तनका लागि जनयुद्धमा होमिएको थिएँ। शान्ति प्रक्रियापछि गाउँ फर्केर घरपरिवारसँग बस्न थालेको हुँ,' उनले भने, 'गणतन्त्र आएपछि केही परिवर्तन होला भन्ने लागेको थियो। तर केही सुधार भएन।'
उनले अगाडि थपे, 'सुधार आउनुको सट्टा भ्रष्टाचार, अनियमितता र कुशासन बढ्दै गयो। त्यही बेथितिविरूद्ध छोराले आवाज उठाउँदै गर्दा छोराले ज्यान गुमाउनुपर्यो।'
छोराले देशका लागि दिएको बलिदान खेर नजाओस् भन्ने उनको कामना छ।
***