घरका जेठा दाजु रोजगारीमा लागेर घरव्यवहार चलाउँदै कान्छा भाइलाई पढाएको घटना त हामीले धेरै देखे-सुनेका छौं।
विजय चौधरीको कथा भने ठिक उल्टो छ।
२७ वर्षीय विजय घरका कान्छा छोरा भए पनि उनले आफ्ना दाइको पढाइदेखि घरको सम्पूर्ण जिम्मेवारी सम्हालेका थिए।
उनका दाजु अजय इन्जिनियरिङ पढ्दै छन्। विजयले भने एसइई पास गरेपछि थप पढ्न रूचि देखाएनन्। उनलाई सानैदेखि पढाइभन्दा व्यवसायमा रूचि थियो।
उनी हाउस–वायरिङको काम गर्थे। तीन–चार वर्षदेखि यही क्षेत्रमा लागेका विजयले एक वर्षदेखि ठेक्कामा काम लिन थालेका थिए।
ठेक्का लिन थालेपछि आम्दानी पनि राम्रै हुन थाल्यो।
'घरमा कमाउने एक्ला व्यक्ति विजय नै थिए। उसैको मिहिनेत र कमाइले परिवार चलेको थियो,' दाजु अजय चौधरीले भने, 'आफू नपढे पनि मेरो पढाइ पूरा होस् भनेर कुनै कसर बाँकी राखेन।'
उनका अनुसार आर्थिक स्थिति सुध्रिँदै गएपछि विजयले केही महिनाअघि तीन वर्षीया छोरी र श्रीमतीलाई काठमाडौं ल्याएका थिए। सबै परिवार सँगै बस्ने उनको योजना थियो।
तर यो योजना पूरा हुन पाएन।
भदौ २४ को घटनामा चौधरी परिवारको सहारा एकै झट्कामा गुम्यो।
भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन विजय घरमै थिए। प्रदर्शनमा युवाहरू मारिएको दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएपछि उनी दोस्रो दिन डेरामा बसिरहन सकेनन्।
बिहान खाना खाएपछि उनी 'एकछिन बाहिर गएर आउँछु' भन्दै काठमाडौंको जडिबुटीस्थित डेराबाट निस्के।
'छोरीले बुबालाई बाहिर जान नदिने प्रयास गरेकी थिइन्,' अजयले भने, 'ऊ रोइरहेकी छोरीलाई शौचालय जान्छु भनेर कोठाबाट निस्केछ।'
उनका अनुसार विजय घरबाट निस्कँदा करिब ११ बजेको थियो।
सरकारी कार्यालयहरूमा आगजनी हुन थालेको खबर आएपछि विजयकी श्रीमती ढुक्कसँग कोठामा बसिरहन सकिनन्। उनले पटक पटक विजयलाई फोन गरिन्। जति चोटि फोन गर्दा पनि उठेन।
प्रदर्शनमा भिडभाड भएकाले फोन नउठेको होला भन्ने सोचेर उनले केही मिनेटको अन्तरालमा फोन गरिरहिन्।
साढे दुई बजेतिर बल्ल फोन उठ्यो। तर फोन अर्कै व्यक्तिले उठाए।
'तपाईंको मान्छे सिभिल अस्पतालमा हुनुहुन्छ, छिटो आउनुहोस्,' यत्ति भनेर फोन काटिएको विजयकी पत्नी अमेरिकाकुमारीले भनिन्।
यस्तो खबर आएपछि उनले तुरून्तै परिवारलाई सम्पर्क गरिन्।
विजयको स्थायी घर सिराहा जिल्लाको लहान नगरपालिका–१५ ढोडना हो। उनका बुबा हरिप्रसाद र आमा जागेश्वरीदेवी गाउँमै बस्छन्।
परिवारले अस्पतालमा फोन गरेर थप सोधपुछ गर्दा विजयलाई गोली लागेको थाहा भयो।
अजयका अनुसार विजयको त्यही दिन मृत्यु भइसकेको थियो। संसद भवनको पछाडिपट्टि प्रहरीको गोली लागेर उनको ज्यान गएको अजयले बताए।
'आन्दोलनको भिडियो बनाउँदै हिँड्दा ढुंगा हान्न आयो भनेर प्रहरीले मेरो भाइलाई नै गोली हानिदिएछ,' अजयले भने, 'बिना कुनै गल्ती प्रहरीले भाइलाई गोली हानेको हो। त्यसको प्रमाण हामीसँग छ। दोषीलाई कारबाही हुनुपर्छ।'
उनका अनुसार हिँड्दै गरेका विजयमाथि गोली हानिएको भिडिओ सामाजिक सञ्जालमा छ। त्यही भिडिओ देखेर आफूले भाइको मृत्यु भएको थाहा पाएको अजय बताउँछन्।
प्रहरीले आन्दोलनकारी भन्दै जथाभाबी गोली चलाएर निर्दोषलाई मारेको उनको आरोप छ।
विजयको मृत्युपछि अहिले अमेरिकाकुमारी छोरीसहित गाउँ फर्किएकी छन्। उनीहरू सधैंका लागि काठमाडौं छाडेर गएका हुन्।
छोरीलाई राम्रो शिक्षा दिने सपना बोकेर काठमाडौं आएकी अमेरिकाकुमारी श्रीमानको मृत्युपछि सबै सपना त्यागेर फर्किन बाध्य भएको बताउँछिन्।
अहिले विजयकै भरमा लिइएको २५ लाख रूपैयाँ ऋण परिवारका लागि बोझ बनेको छ।
'विजयको विश्वासमा ऋण लिइएको थियो। उनी नरहेपछि हामी घरको न घाटको भएका छौं,' अजयले भने, 'हामीसँग न सीप छ, न जागिर।'
अहिले परिवारलाई विजयले लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ। त्यसैले सरकारले अजय र अमेरिकाकुमारीलाई रोजगारीको व्यवस्था गर्न, छोरीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा दिन तथा परिवारलाई भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
***