सहिद परिवार
भदौ २४ गते साढे ११ बजेको थियो।
अभिषेक चौलागाईंले आफ्नी आमालाई फोन गरेर भने, 'म अहिले काम गर्ने ठाउँमै छु।'
अभिषेक ठमेलको एउटा होटलमा काम गर्थे। जेनजी आन्दोलनको दोस्रो दिन बिहानैदेखि सहर अशान्त भएकाले अभिषेक घर फर्कन पाएका थिएनन्।
सहरभरि हिंसात्मक प्रदर्शन भड्किएका बेला छोरा घरमा नभएकाले आमा रिता चौलागाईं चिन्तित हुँदै तारन्तार फोन गरिरहेकी थिइन्।
रिताले २० वर्षीय छोरा अभिषेकलाई भनिन्, 'बाहिर राम्रो स्थिति छैन, कतै ननिस्कनू है। होटलमै बसिरहनू।'
'हुन्छ,' अभिषेकको भनाइ उद्धृत गर्दै रिताले भनिन्, 'होटलमै बस्छु, कतै जान्न, तपाईं चिन्ता नलिनू।'
अभिषेकले होटलमा काम थालेको ६–७ महिना मात्र भएको थियो। उनी घरबाटै आवतजावत गर्थे। उनको परिवार भक्तपुरको चाँगुनारायण नगरपालिका–१ मा बस्छ। पुर्ख्यौली घर भने दोलखाको शैलुङ गाउँपालिका–४ हो।
रिताका अनुसार भदौ २३ गते बिहान साढे १० बजे चाँगुनारायणबाट पेप्सीकोलासम्म आमाछोरा सँगै आएका थिए।
'त्यस दिन मेरो पेप्सीकोलामा काम थियो,' रिताले भनिन्, 'त्यसैले मलाई त्यहाँसम्म छाडेर ऊ अफिस गयो।'
घरदेखि पेप्सीकोलासम्मको त्यो यात्रा नै आमाछोराको अन्तिम भेट हुन पुग्यो।
त्यस दिन नयाँबानेश्वरमा गोली चलेपछि रिता र उनका पति दिनेश चौलागाईंले अभिषेकलाई फोन गरेर होटलमै बस्न भने। उनीहरू होटल सञ्चालकलाई पनि राम्ररी चिन्थे। छोरा राति कतै निस्केलान् भन्ने डरले उनीहरूले अभिषेकको मोटरसाइल चाबी समेत लिएर राख्न होटल सञ्चालकलाई भनेका थिए।
रिता र दिनेशले भोलिपल्ट पनि अभिषेकलाई फोन गरेर बाहिर ननिस्कन सम्झाइरहे।
'जताततै गोली चलेको खबर सुनेर हामीलाई छोराको खुब पिर लाग्यो। त्यसैले पटक पटक सम्पर्क गर्थ्यौं,' दिनेशले भने, 'उसले फोनमा सिमकार्ड पनि हालेको थिएन। हाम्रो अनलाइनमै कुरा भइरहेको थियो।'
आमा र बुबाले एक–एक घन्टाको फरकमा फोन गरिरहँदा पनि झर्को नमानी उठाइरहेका अभिषेकसँग साढे १ बजेपछि सम्पर्क भएन।
अभिषेकको फोन नलागेपछि त्यही होटलमा काम गर्ने उनको साथीलाई सम्पर्क गरेको दिनेश बताउँछन्।
'छोराको साथीले होटलको सामान लिन अभिषेक बाहिर गएको छ भन्यो। नजिकै गएको होला भन्ने सोचेर हामी ढुक्कै बसेका थियौं,' दिनेशले भने, 'तर केही बेरपछि फोन गर्दा पनि लागेन। हामीले फेरि उही साथीलाई फोन गर्यौं। सामान किन्न गएको अभिषेक अझै आइपुगेको छैन भन्ने सुनेपछि हामीलाई चिन्ता पर्यो।'
उनीहरूले होटल सञ्चालकलाई पनि सम्पर्क गरे। अभिषेकको मोटरसाइकल होटलमै थियो। त्यसैले टाढा गएका होइनन् होला भनेर उनीहरूले मन बुझाए।
साँझसम्म पनि अभिषेकसँग सम्पर्क नभएपछि उनी आन्दोलनमा गए कि भनेर मनमा चिसो पसेको दिनेश बताउँछन्।
'होटलका मान्छेले त साँझ पनि यतै कतै अड्केका होलान् भन्ने जबाफ दिएका थिए। तैपनि छोरासँग कुरा नभएकाले हामी रातभरि निदाउन सकेनौं,' दिनेशले भने, 'भदौ २५ गते बिहान पनि उसको फोन नलागेपछि खोजखबर गर्न थालियो।'
त्यस दिन बिहानदेखि लगातार फोन गर्दा पनि सम्पर्क नभएपछि उनीहरूको हंसले ठाउँ छाडिसकेको थियो।
होटलका साथीहरूले पनि वरपरका ठाउँमा खोजी गरे। तर कतै फेला पारेनन्।
अपराह्न साढे ५ बजेतिर अभिषेकका एक जना साथीले दिनेशलाई फोन गरेर भने, 'अभिषेकलाई त हिजो नयाँ बानेश्वरमा गोली लागेछ। अस्पतालमा छ।'
अघिल्लो दिनदेखि सम्पर्कविहीन छोरालाई गोली लागेको खबर सुनेर रिता र दिनेशलाई एकैपटक आकाश खसेर थिचेजस्तै भयो।
'सुरूमा त हामीले पत्याउनै सकेनौं। अभिषेक नै हो कि होइन भनेर फोटो वा भिडिओ पठाउन भन्यौं,' दिनेशले भने, 'फोटोमा छोराको लुगा देखेपछि हामीले चिनिहाल्यौं। त्यसपछि अत्तालिँदै सोधपुछ गर्न थाल्यौं।'
सोधपुछ गर्दा अभिषेक सिभिल अस्पतालमा छ भन्ने थाहा भयो।
उनीहरू हाँपदाँप गर्दै अस्पताल पुगे।
अस्पताल पुगेपछि थाहा भयो — अभिषेकको मृत्यु भइसकेछ!
'डाक्टरहरूले शव हेरेर सनाखत गर्नू भनेका थिए, तर हामीले हेर्नै सकेनौं। आफन्तहरूले नै हाम्रै छोरा हो भनेर पुष्टि गरिदिए,' दिनेशले भने, 'उनीहरूले शव हेरेर पुष्टि गरिसके पनि हामीलाई पत्याउन मुस्किल भयो। हामी साहस गरेर हेर्न गयौं, नभन्दै हाम्रै छोरा रहेछ।'
'अघिल्लो दिनदेखि हराइरहेको छोरा २४ घन्टापछि मृत अवस्था भेटियो,' उनले भने।
उनका अनुसार अभिषेकलाई भदौ २४ गते २ बजेतिर गोली लागेको रहेछ। उपचार निम्ति अस्पताल ल्याइएका उनको त्यही साँझ मृत्यु भएको उनले बताए।
'टाउकोको पछाडि भागमा गोली लागेको डाक्टरहरूले बताउनुभयो। त्यसबाहेक हामीलाई अरू केही थाहा छैन,' उनले भने।
रिता र दिनेशका दुई सन्तानमध्ये अभिषेक जेठा हुन्। उनीभन्दा मुनि १५ वर्षकी छोरी छिन्।
अभिषेकले भर्खरै प्लस–टू सकेर स्नातक पढ्न सुरू गरेका थिए। बेलायत जाने प्रक्रिया पनि पूरा भइसकेको थियो। दुई सन्तानको पढाइ र भविष्यका लागि नै आफूहरू पुर्ख्यौली गाउँ छाडेर भक्तपुर बस्न थालेको दिनेश बताउँछन्।
'बेलायतको सबै प्रक्रिया पूरा गरेर भिसाको पर्खाइमा थियो। भिसाको कुनै समस्या आयो भने पढाइ बिग्रिन्छ भनेर यहाँ पनि स्नातकमा भर्ना भएको थियो,' उनले भने, 'सन्तानको खुसीका लागि दु:ख गरियो। बुढेसकालको सहारा बन्छन् भन्ने थियो, अहिले उही रहेन।'
अभिषेक आफूले होटलबाट कमाएको पैसा बहिनीको पढाइमा खर्च गर्थे। उनी १० कक्षामा पढ्दै छिन्।
'उसलाई यस्तो गतिविधिमा कुनै रूचि थिएन। त्यो दिन कसरी आन्दोलनमा गयो, हामीले थाहा पाउन सकेका छैनौं,' दिनेशले भने, 'पाँच महिना बितिसक्दा पनि यो प्रश्न अहिलेसम्म अनुत्तरित छ।'
यो प्रश्नको उत्तर खोज्न यी दम्पतीले प्रयास नगरेका होइनन्।
त्यस दिन अभिषेक कहाँ–कहाँ गएका थिए भनेर उनले खोजी गरेका थिए। सिसिटिभी फुटेज हेर्दा भदौ २४ गते दिउँसो १ बजेतिर उनी होटलबाट निस्किएको थाहा भएको छ। त्यसबाहेक अरू केही तथ्य फेला नपरेको दिनेश बताउँछन्।
'छोरा कसरी नयाँबानेश्वर पुग्यो भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ, त्यसमाथि उसकी आमालाई अहिलेसम्म सम्हाल्न सकेको छैन,' उनले भने, 'अहिले पनि छोरालाई सम्झेर रोइरहन्छे। हाम्रो मात्र छोरा होइन, अरू धेरैका छोराछोरी गुमेका छन् भनेर सम्झाउन खोज्छु। तर आमाको मन न हो!'
'आफ्नो सन्तान आफूभन्दा अघि लागेको पीडा सहन नसकिने रहेछ,' दिनेशले भने, 'अहिले त छोरी एकैछिन स्कुलबाट ढिला घर आउँदा पनि मन आत्तिन्छ।'
जेनजी आन्दोलनको बलमा बनेको यो सरकारले त्यही आन्दोलनका सहिदको परिवारलाई कुनै राहत दिन नसकेको उनको गुनासो छ।
परिवारका कुनै एक सदस्यलाई जागिर, छोरीको पढाइ खर्च, नि:शुल्क स्वास्थ्य सेवा र भत्ता दिनुपर्ने उनको माग छ।
***