सहिदको कथा
लच्छुमान राई काठमाडौं, बालाजुमा भारी बोक्ने काम गर्थे।
नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३६ वर्षीय लच्छुमानसँगै भारी बोक्ने साथीहरू नै उनका परिवार सरह थिए। उनी साथीहरूसँगै काम गर्थे, खान्थे, बस्थे।
भदौ २३ गते साथीहरूसँगै जेनजी प्रदर्शनमा गए।
लच्छुमानका भतिज दीपेन्द्र राईका अनुसार २३ गते उनी सकुशल फर्किएका थिए। भदौ २४ गते फेरि लच्छुमान गए।
'काका आन्दोलनमा जानुभएको रहेछ। तर दोस्रो दिन फर्किएर आउनुभएन,' दीपेन्द्रले भने, 'बालाजु प्रहरी वृत्तअगाडि गोली लागेर घाइते हुनुभयो।'
प्रहरी वृत्त बालाजुमा भएको आन्दोलन क्रममा लच्छुमानको टाउकोमा गोली लागेको थियो।
त्यस दिन सँगै गएका साथीहरूले लच्छुमानको उद्धार गरेर अस्पतालसम्म पुर्याएका थिए। साथीहरूसँगै बस्दै आएका उनको परिवारलाई तत्काल खबर भएन। उनका आफन्तहरूको सम्पर्क नम्बर साथीहरूसँग थिएन।
त्यसैले गोली लागेको चौथो दिन बल्ल उनीहरूले खबर दिन सके।
'आफन्तको नम्बर थाहा नभएकाले खबर गर्न ढिला भएको काकाको साथीले बताएका थिए,' दीपेन्द्रले भने, 'हामीले २७ गते दिउँसो मात्र थाहा पायौं। त्यही साँझ भेट्न अस्पताल आइपुग्यौं।'
परिवार भेट्न जाँदा लच्छुमानलाई ट्रमा सेन्टरको आइसियूमा राखिएको थियो। उनको टाउकोमा जताततै चोटैचोट देखिएको दीपेन्द्र सम्झिन्छन्।
'समयमै आफन्त नभेटिएकाले राम्रो उपचार हुन नसकेको चिकित्सकहरूले बताएका थिए,' दीपेन्द्रले भने, 'चिकित्सकहरूले टाउकोको गोली निकाल्न सकेनौं भन्नुभयो। बेहोस हुनुहुन्थ्यो। होस नै नआई बित्नुभयो।'
उपचार क्रममा असोज १३ गते लच्छुमानको मृत्यु भयो।
लच्छुमानको मृत्युले उनकी ८२ वर्षीया आमा मानकुमारी राईको सहारा खोसिएको छ।
मानकुमारीले १५ सन्तान जन्माएकी थिइन्। तीमध्ये ५ छोरा र ६ छोरी बाँचेका थिए। बाँचेकामध्ये पनि जेठाको पहिल्यै कुकुरले टोकेर मृत्यु भएको दीपेन्द्रले बताए।
'अब अहिले कान्छा काका पनि बित्नुभयो,' दीपेन्द्रले भने, 'कान्छो काका हजुरआमाको निकै प्यारो हुनुहुन्थ्यो।'
लच्छुमानको बिहे भए पनि उनकी श्रीमती र छोरीले छाडेर गएका थिए। त्यसपछि उनी गाउँमा खासै आउजाउ गर्थेनन्। कहिलेकाहीँ आमा भेट्न गए पनि कुनै दाजुभाइको घरमा छिर्थेनन्।
मानकुमारी गाउँमै भूकम्पपछि अनुदानमा बनाएको एककोठे घरमा बस्दै आएकी छिन्। रासन र खानेकुरा लच्छुमानले नै हेरिदिन्थे।
'हजुरआमाको बुढेसकालको सहारा जेनजी आन्दोलनमा खोसियो,' दीपेन्द्रले भने।
दीपेन्द्रले सुने अनुसार साधारण लेखपढ गरेका लच्छुमान सानैरदेखि हक्की स्वभावका थिए। उनी पढ्नभन्दा काम गरेर दुई–चार पैसा कमाउन रमाउँथे। त्यसैले उनले सानैदेखि ज्याला मजदुरी गरे।
काम गर्दैगर्दा गाउँकै एक युवतीसँग उनको प्रेमविवाह भयो। बिहेपछि आर्थिक भार बढ्दै गयो। छोरी पनि जन्मिइन्। गाउँमा कमाएको पैसाले दुई छाक टार्नै मुस्किल भयो।
छोरी पढाउन र आर्थिक अवस्था बलियो बनाउन भनेर उनी ८ वर्षअघि काठमाडौं आएका थिए। बालाजुमा डेरा गरेर बस्थे। ज्याला मजदुरी गर्दै गुजारा चलाइरहेका थिए।
'छोरी जन्मिएपछि उतै पढाउने, राम्रो मान्छे बनाउने भनेर काठमाडौंमा डेरा गरेर बस्न थाल्नुभएको थियो,' दीपेन्द्रले भने, 'काठमाडौं गएको केही वर्षपछि काकीले अर्कैसँग विवाह गर्नुभयो।'
श्रीमती गएपछि लच्छुमानलाई फेरि बिहे गर्न परिवारले दबाब दिएको थियो। तर उनले मानेनन्। आजीवन आमा र छोरीका लागि कमाउने र उनीहरूकै लागि बाँच्ने भन्थे।
'काकी गए पनि छोरी मेरै रगत हो भन्नुहुन्थ्यो। उसलाई पढाएर ठूलो मान्छे बनाउने उहाँको सपना थियो, अधुरै रह्यो,' दीपेन्द्रले भने, 'काकाले देशका लागि ज्यान गुमाउनुभयो। उहाँको सपना मर्न दिन हुँदैन। उहाँकी छोरीको पढाइ र भविष्यका लागि सरकारले हेरिदिनुपर्छ।'
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। विभिन्न कागजी समस्याका कारण लच्छुमानकी छोरीले भने अहिलेसम्म सो रकम नपाएको दीपेन्द्रले बताए।
'काकाको मृत्युपछि हकवाला छोरी नै हो। तर कागजात नमिलेकाले पाएकी छैनन्,' उनले भने, 'श्रीमती अरूसँग गए पनि क्षतिपूर्ति छोरीको हक हुने कानुनी व्यवस्था छ। तर अर्कैसँग बिहे गरेर गएपछि छोरीको जन्मदर्तामा सौतेला बुबाको नाम राखिएछ। त्यसैले समस्या परेको हो।'
देशमा परिवर्तन ल्याउन ज्यान गुमाएकाहरूको बलिदान खेर जान नहुने दीपेन्द्र बताउँछन्।
***