सहिद परिवारको कथा
भदौ २४ गते, दिउँसो १ बजेको थियो।
सिन्धुलीको तीनपाटन गाउँपालिका-६ घर भएकी भीममाया सुनुवारले काठमाडौंमा जताततै आगलागी र तोडफोड भएको खबर सुनिन्।
खबर सुन्नासाथ उनले काठमाडौं बस्ने छोरा दिपेश सुनुवारलाई फोन गरिन्।
'म आन्दोलनमा आएको छु, हजुरलाई साँझ ६ बजेतिर फोन गर्छु,' छोराको भनाइ उद्धृत गर्दै भीममायाले भनिन्, 'तपाईं चिन्ता नलिनू।'
यति भन्नासाथ दिपेशले हतार हतार फोन काटे।
त्यसपछि समाचारमा काठमाडौंको आगलागी र तोडफोडका दृश्य देखेर भीममायाको मुटु नै हल्लियो। त्यही आन्दोलनमा हिँडेको छोराको चिन्ताले उनी भित्रैदेखि कामिन्।
छोरालाई लगातार फोन गरिरहिन्, तर दिपेशले उठाउँदै उठाएनन्।
एकैचोटि साँझ साढे ६ बजेतिर दिपेशको फोन उठ्यो। तर आवाज फरक थियो।
त्यो फरक आवाज भीममायालाई भन्दै थियो, 'यो फोन मैले बाटोमा भेटेको हो। कसको हो थाहा छैन।'
अपरिचित व्यक्तिले छोराको फोन उठाएर यस्तो भनेपछि भीममायाको हंसले ठाउँ छाड्यो।
उनी तुरून्तै काठमाडौं जान चाहन्थिन्। तर रात परिसकेकाले सम्भव थिएन। त्यस दिन सार्वजनिक सवारीहरू पनि चलेका थिएनन्।
यस्तोमा आमाको न्यास्रो मेट्ने माध्यम त्यही फोन थियो। त्यो पनि छोराको साथमा नभएपछि भीममाया आत्तिइन्।
त्यो रातभर उनी निदाउन सकिनन्। काठमाडौंमा भएका आफन्तलाई सोधपुछ गर्दै रात छर्लंग काटिन्।
छोराको खोजखबर लिन भोलिपल्ट भदौ २५ गते काठमाडौं जान खोजेकी थिइन्, तर त्यो दिन पनि गाडी पाइनन्।
'म आफै काठमाडौं आउन नपाएपछि छोराको फोटो, हुलिया र सम्पर्क नम्बर दिएर आफन्तहरूलाई खोज्न आग्रह गरेँ,' उनले भनिन्, 'तर भदौ २७ गतेसम्म पनि कोही आफन्तले पत्ता लगाउन सकेनन्।'
त्यसै पनि त्यो फोटो पुरानो थियो। फोटो खिच्दा छोटो कपाल राखेका दिपेशले कपाल पालेर रङ लगाएको भीममाया बताउँछिन्।
लाख कोसिस गर्दा पनि आफन्तहरूले छोरालाई कतै भेट्न नसकेपछि उनी चुपचाप घरमा बसिरहन सकिनन्।
भदौ २७ गतेपछि सवारी साधनहरू चल्न थाले। भीममाया त्यसै दिन साँझ काठमाडौं आइपुगिन् र भोलिपल्ट बिहानदेखि आन्दोलनका घाइतेहरू राखिएका अस्पताल चहार्न थालिन्। छोराका साथीहरूसँग पनि सोधपुछ गरिन्। तर कसैबाट केही जानकारी नपाएको उनी सम्झन्छिन्।
यसबीच उनका आफन्तले २८ गते साँझ नै दिपेश कहाँ छ भन्ने थाहा पाइसकेका थिए। तर भीममायालाई त्यसको सूचना दिएनन्।
उनीहरूले भदौ २९ गते बिहान 'छोरा खोज्न जाऊँ' भन्दै भीममायालाई महाराजगन्जको मनमोहन कार्डियो अस्पताल लगे।
काठमाडौं आएदेखि एकपछि अर्को अस्पताल धाएकी भीममाया त्यस दिन आफन्तले भनेपछि मनमोहन अस्पताल जान तयार भइन्।
त्यहाँ उनले जे देखिन्, त्यो सम्झँदा आज पनि भीममायाको आँत काम्छ।
भदौ २४ देखि हराइरहेका छोरासँग पाँच दिनपछि उनको भेट भयो — अस्पतालको शवगृहमा।
'मैले देख्दा छोराको शव पूरै कालो हुन लागिसकेको थियो,' उनले भनिन्, 'छोरा नभइदिए हुन्थ्यो भन्ने सोचेर हेरिरहेँ। तर उही थियो।'
छोरा हो भन्ने थाहा पाएपछि अस्पतालमै बेहोस भएको उनले बताइन्।
भर्खर १९ वर्ष टेकेका दिपेश घरका जेठा छोरा थिए। उनको छातीमा गोली लागेको थियो। कहाँ र कसरी गोली लाग्यो भन्नेबारे अहिलेसम्म अत्तोपत्तो छैन।
'हामीले खेतीपाती गर्दै दुवै छोरा हुर्काएका थियौं। उनीहरूलाई पढाउन कुनै कसर बाँकी राखेनौं,' भीममायाले भनिन्, 'गाउँमा हाम्रो कच्ची घर छ। बर्खा बेला सधैं पानी चुहिन्छ। दिपेशले पक्की घर बनाएर आमाबुबालाई राख्छु भन्थ्यो। पानी चुहिने छत टाल्न पैसा कमाउने सपना बोकेर हिँडेको थियो।'
भीममायाका अनुसार उनी अघिल्लो वर्ष एसइई पास गर्नासाथ रोजगारीका लागि काठमाडौं गएका थिए। ललितपुर महानगरको फोहोर उठाउने गाडीमा काम गर्न थालेका थिए। ललितपुरमै साथीहरूसँग बस्थे।
काममा लागेर कलेज जान छाडेपछि भीममायाले पढाइलाई निरन्तरता दिन पटक पटक सम्झाएकी थिइन्।
दिपेश भने पढ्नुभन्दा पैसा कमाउनु ठुलो कुरा हो भन्दै उल्टै आमालाई सम्झाउँथे।
उनले जति कोसिस गर्दा पनि छोराको त्यो सोच बदल्न सकिनन्। दिपेश आफूले कमाएको दुई–चार पैसा घर पनि पठाउने गर्थे। त्यही पैसाले घर व्यवहार चलिरहेको उनी बताउँछिन्।
उनका अनुसार दिपेश भदौ २३ गतेको आन्दोलनमा गएका थिएनन्। २४ गते कसरी आन्दोलनमा गए र कहाँ गोलीको सिकार भए भन्ने उनलाई थाहा छैन।
ठूलो छोराको मृत्युपछि उनको परिवार विक्षिप्त अवस्थामा छ। छोराको मृत्युले न्याय पाओस् भन्ने उनीहरूको माग छ।
'सरकारले आगामी दिनमा कुनै पनि आमाको काख रित्तो बनाउन काम नगरे हुन्थ्यो,' भीममाया भन्छिन्, 'अब यस्तो घटना कहिल्यै नदोहोरिए हुन्थ्यो।'
***