सहिद परिवार
बाजुराका २१ वर्षीय ओझन बुढा उच्च शिक्षाको रहर पालेर करिब पाँच वर्षअघि काठमाडौं आएका थिए।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ का ओझनले परिवारको आर्थिक अवस्था कमजोर भए पनि सानैदेखि पढाइमा निकै लगाव राख्थे।
मणिपाल बुढा र चउपताका तीन सन्तानमध्ये ओझन दोस्रो सन्तान थिए। कक्षा ३ सम्म गाउँकै स्कुलमा पढेका उनी आठ वर्षको उमेरदेखि बाजुराको कोल्टीमा अरूको घरमा बसेर पढेको दाजु कपुर बुढा बताउँछन्।
'छोराको भविष्य राम्रो होस् भनेर बुबाले भाइलाई अरूको घरमा राखिदिनुभएको थियो,' कपुरले भने, 'जसको घरमा भाइलाई राखिएको थियो, उहाँ शिक्षक हुनुहुन्थ्यो। उहाँले भाइलाई राम्रोसँग हेरचाह गरेर पढाइदिनुभयो।'
ओझनले शिक्षकको घरमा सकेको काम गर्थे। त्यसबापत त्यो परिवारले उनको पढाइ खर्च बेहोर्थ्यो।
यसरी कोल्टीमै बसेर कक्षा १० सम्म अध्ययन गरेका ओझनलाई उच्च शिक्षा निम्ति त्यही शिक्षक परिवारले काठमाडौं ल्याएको कपुर बताउँछन्।
काठमाडौं आएपछि ओझनले कानुन विषय लिएर प्लस–टू अध्ययन गर्न थाले। प्लस–टू सकेर स्नातक पढ्ने तयारी गर्दै गर्दा करिब एक वर्षअघि उनी शिक्षकको घर छाडेर छुट्टै बस्न थालेका थिए।
'शिक्षकको घर छाडेको एक–दुई महिनापछि मात्र हामीले थाहा पायौं,' कपुरले भने, 'त्यहाँबाट निस्केर चाबहिलतिर डेरा लिएर बस्न थालेको रहेछ।'
डेरा लिएर एक्लै बसेको भए पनि उनी घरपरिवारसँग नियमित सम्पर्कमा रहन्थे। दाजु र आमालाई एक–दुई दिनको फरकमा फोन गर्थे।
भदौ २० गते दिउँसो पनि उनले दाजु कपुरलाई फोन गरेर विदेश जाने इच्छा व्यक्त गरेका थिए।
'विदेश जान चाहन्छु, पैसा हालिदिनुहुन्छ भनेर सोध्यो,' कपुरले सम्झिए, 'पहिला खाडी गएर पछि युरोप जाने योजना सुनाएको थियो।'
कपुरले आफू गाउँमै बस्ने भएकाले त्यति धेरै पैसा जुटाउन नसक्ने जबाफ भाइलाई दिएका थिए। त्यसपछि दाजुभाइबीच विशेष कुराकानी भएन।
त्यसको केही दिनमै काठमाडौंमा जेनजी आन्दोलन भए पनि त्यसबारे कपुरले धेरै ध्यान दिएका थिएनन्। तर आन्दोलनमा परेर धेरै युवाको ज्यान गएको खबर आएपछि उनलाई भाइको सम्झना आयो।
'कतै भाइ पनि आन्दोलनमा गएको त छैन भनेर फोन गरेँ, तर लागेन,' उनले भने।
भदौ २५ र २६ गतेसम्म पनि ओझनसँग सम्पर्क हुन सकेन। परिवारको चिन्ता बढ्दै गयो।
ओझनका साथीहरू कसैलाई पनि परिवारले नचिनेका कारण खोजी गर्न गाह्रो भयो। आफन्तहरूले विभिन्न ठाउँमा खोजी गर्दा पनि उनी फेला परेनन्।
त्यसपछि कपुरले भाइ सम्पर्कविहीन भएको भन्दै सामाजिक सञ्जालमा उनको फोटोसहित भिडिओ बनाएर राखे।
'भदौ २७ गते बिहान भिडिओ राखेको थिएँ,' उनले भने, 'त्यही साँझ काठमाडौंको बिएन्डबी अस्पतालबाट खबर आयो।'
त्यही खबर पछ्याउँदै उनका आफन्तहरू अस्पताल पुगे।
अस्पताल पुगेपछि कपुरले थाहा पाए — ओझनको जेनजी आन्दोलनमा परेर मृत्यु भइसकेछ।
'हामीले पाँच दिनपछि मात्र भाइको मृत्यु भएको खबर थाहा पाएका थियौं,' उनले भने, 'गाउँपालिकाका वडाध्यक्षले गाडी व्यवस्था गरिदिएपछि सपरिवार काठमाडौं आयौं।'
कपुरका अनुसार पोस्टमर्टम क्रममा ओझनको टाउकोको पछाडि गोली लागेको देखिएको थियो। चिकित्सकहरूले टाउकोमा गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।
तर उनलाई कहिले गोली लाग्यो भन्नेबारे परिवार अझै अन्योलमै छ।
'कसैले भदौ २३ गते भनिरहेका छन्, कसैले २४ गते,' कपुरले भने, 'हामीले त पाँच दिनपछि अस्पतालको शवगृहमा मात्र भाइलाई भेट्यौं।'
परिवारले भदौ २८ गते पशुपतिमा उनको अन्त्येष्टि गरेको थियो। काजकिरिया सकेर परिवार गाउँ फर्किसकेको छ। तर काठमाडौंमा ओझन बसेको डेरा परिवारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
'हामी काठमाडौं कहिल्यै आएका थिएनौं,' कपुरले भने, 'भाइका साथीहरूले चाबहिल नजिकै बस्ने बताएका छन्, तर कसैले पनि ठ्याक्कै कोठा देखाउन सकेका छैनन्।'
डेरा पत्ता नलागेकै कारण उनका कागजातहरू समेत अझै फेला पार्न नसकिएको उनी बताउँछन्।
यसैबीच ओझनको परिवारले जेनजी आन्दोलन क्रममा उठाइएका माग पूरा हुनुपर्ने बताएको छ। भ्रष्टाचारमुक्त देश, सुशासन र रोजगारीको जुन माग राखेर आन्दोलन भयो, त्यसको निम्ति फेरि नवयुवाहरू सडकमा आउनु नपरोस् भन्ने कपुरको भनाइ छ।
'ज्यान गुमाउनेहरूको माग पूरा होस्,' उनले भने, 'सहिद परिवारलाई सरकारले केही राहत पनि दिनुपर्छ।'
उनले सहिद परिवारको माग अनुसार परिवारका एक सदस्यलाई रोजगारी दिन र कक्षा ९ मा पढिरहेको कान्छा भाइको पढाइमा सहयोग गरिदिन सरकारसँग आग्रह गरेका छन्।
***