सहिद परिवार
सुनिता राईका लागि भदौ २३ गते सामान्य दिनजस्तै सुरू भयो।
उनलाई न त्यो दिन जेनजी आन्दोलन हुँदैछ भन्ने जानकारी थियो, न त्यसको प्रभावले आफ्नो जीवन बदलिँदैछ भन्ने कुनै अनुमान।
अपराह्नतिर सामाजिक सञ्जालमा फैलिएका मृत्युका खबर देखे–सुनेपछि मात्र सुनिताले काठमाडौंमा आन्दोलन भइरहेको थाहा पाएकी थिइन्।
अरूका लागि त्यो सामान्य खबर मात्र होला, ४० वर्षीया सुनिताको भने त्यही खबरले जीवन नै उल्ट्याइदियो।
सामाजिक सञ्जालबाट आन्दोलनबारे जानकारी पाएपछि सुनिताले त्यसै दिन साँझ आफ्ना श्रीमान सारकुमार राई (सन्तोष) लाई फोन गरेकी थिइन्।
फोन लाग्यो, तर उठेन।
सारकुमार उर्फ सन्तोष काठमाडौंको कपनमा बस्थे। उनको डेरा मूल सडकबाट अलि भित्र भएकाले मोबाइल नेटवर्क सजिलै टिप्थेन। यो कुरा सुनितालाई पनि थाहा थियो।
उनी काठमाडौंको महँगीमा परिवार धान्न गाह्रो भएपछि तीन वर्षअघि दुई छोरीसहित चितवन फर्केकी थिइन्। उनी चितवनको भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको क्यान्टिनमा काम गर्छिन्।
सुनिता र दुई छोरी चितवन फर्केपछि सन्तोष काठमाडौंमा एक्लै बस्थे। उनी काठमाडौंमा पेन्टिङको काम गर्थे।
सुनिता र सन्तोषको एक–दुई दिनको अन्तरालमा नियमित कुराकानी भइरहन्थ्यो।
पहिले पनि धेरैचोटि सन्तोषको फोन नलाग्ने समस्या बेहोरेकी सुनिताले त्यो दिन पनि नेटवर्ककै समस्या भएको ठानिन्।
'राजनीतिमा खासै चासो नभएको मान्छे आन्दोलनमा गएका होलान् भन्ने त मैले सोच्दै सोचिनँ,' सुनिताले भनिन्, 'मोबाइल नेटवर्ककै समस्या होला भनेर म ढुक्क थिएँ।'
मन ढुक्क भए पनि काठमाडौंको खबरले उनको दिमागमा खैलाबैला मच्चाइरहेको थियो।
उनले सन्तोषलाई तारन्तार फोन गरिरहिन्।
राति ९ बजेसम्म लगातार फोन गर्दा पनि सन्तोषसँग सम्पर्क हुन सकेन। व्यस्तता वा नेटवर्ककै कारण फोन नलागेको होला भनेर मन बुझाइन्।
तर सुनितालाई तनाव त्यतिखेर भयो, जब भदौ २४ गते पनि बिहानभरि सन्तोषको फोन लागेन।
त्यसै दिन दिउँसो साढे २ बजेतिर सुनिताले आफ्नो मोबाइलमा सन्तोषको 'मिस्ड कल' देखिन्। भान्साको काममा व्यस्त हुँदा सन्तोषको नम्बरबाट फोन आएको रहेछ, उनले घन्टी नै सुनिनन्।
श्रीमानको 'मिस्ड कल' देखेपछि सुनिताले थकथकी मान्दै हतार हतार कलब्याक गरिन्।
केही बेर घन्टी गएपछि उताबाट जसले फोन उठायो, ती सन्तोष थिएनन्।
सन्तोषको सट्टा युवतीको स्वर सुनेर सुनिताको सातो गयो।
त्योभन्दा बढी सातो त्यति बेला गयो, जब फोन उठाउने युवतीले भनिन्, 'यो नम्बरको मान्छे गोली लागेर गम्भीर घाइते भएको छ। उहाँलाई चाबहिलको मेडिकेयर अस्पताल ल्याइएको छ। तपाईं जति सक्दो छिटो आइदिनुहोस्।'
खबर सुनेर एकछिन त सुनितालाई भाउन्न भयो। के गर्ने, कसो गर्ने सोच्नै सकिनन्।
एकछिनमा आफूलाई सम्हाल्दै उनले आफन्त र चिनजानका व्यक्तिलाई फोन गरेर सहयोग मागिन्।
उनी तुरून्तै काठमाडौं जान चाहन्थिन्। तर कर्फ्यु लागेका बेला चाहेर पनि काठमाडौं जाने स्थिति थिएन।
यसबीच उनले सन्तोषको नम्बरमा फेरि फोन गरिन्।
फोन उठाउने युवती अस्पतालकै कर्मचारी रहिछन्। ती युवतीले जे खबर दिइन्, त्यसले सुनितालाई शिरमाथि आकाश खसेझैं भयो।
उनले भनेकी थिइन्, 'अहिले भर्खर तपाईंको मान्छे बित्नुभयो। अब यहाँबाट पोस्टमर्टम गर्न टिचिङ अस्पताल पठाउनुपर्छ। तपाईं जतिसक्दो छिटो आइदिनू!'
सुनिता झन् बढी अत्तालिइन्। आफन्तहरूसँग सहयोग मागिन्। छरछिमेक गुहारिन्। चोकमा भेटिने गाडी चालकहरूलाई काठमाडौंसम्म पुर्याइदिन बिन्ती गरिन्। तर आपत पर्दा सुनिताले कसैको सहयोग पाइनन्।
भोलिपल्ट भदौ २५ गते पनि दिनभरि काठमाडौं जाने गाडी र खर्च खोज्दैमा बित्यो।
आखिरमा चिनजानका साथीहरूसँग सरसापट मागेर भदौ २६ गते साँझ उनी काठमाडौं आइपुगिन्।
नियमितभन्दा दोब्बर भाडा तिरेर काठमाडौं आएकी सुनिता त्यो रात नै श्रीमानको शव हेर्न चाहन्थिन्। तर अस्पतालले अनुमति दिएन।
यसबीच उनले आफ्ना छोरीहरूलाई घटनाबारे केही बताएकी थिइनन्। दुर्घटनामा परेर आइसियूमा राखेको छ भन्दै उनले दुवै छोरीलाई काठमाडौं ल्याएकी थिइन्। भदौ २७ गते बिहान टिचिङ अस्पताल जाने बेला मात्र उनले छोरीहरूलाई साँचो कुरा बताइन्।
'दुवै छोरीले बाबालाई धेरै माया गर्ने भएकाले तत्काल साँचो कुरा भन्न सकिनँ,' सुनिताले भनिन्।
खबर सुनेर छोरीहरू भक्कानिँदै रोए।
त्यस दिन टिचिङ अस्पतालको शवगृहमा सन्तोषको शव हेर्दाको दृश्य सम्झँदा सुनिता आज पनि स्तब्ध हुन्छिन्।
'जताततै शवहरू थिए, एकमाथि अर्को शव राखिएका,' उनले भनिन्, 'शवहरूको खातबाट छुट्टयाउँदै जब उहाँको रगताम्मे शव देखेँ, त्यो देखेर एकछिन त म आफै अचेत भएँ।'
पोस्टमर्टमपछि राई परम्परा अनुसार अन्त्येष्टि गर्न सुनिताले श्रीमानको शव गाउँ लगिन्।
त्यति बेला शव लैजान नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराइएको थियो। कसरी र कसको सहयोगमा हेलिकप्टर उपलब्ध भयो भन्ने सुनितालाई थाहा छैन।
सारकुमार राई उर्फ सन्तोष उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का स्थायी बासिन्दा थिए। आमा नेपी माया र बुबा गजबसिं राईका पाँच सन्तानमध्ये उनी तेस्रा थिए।
कक्षा ८ सम्म पढेका उनी करिब तीन दशकअघि एक जना साथीसँग रोजगारीको खोजीमा काठमाडौं आएका थिए।
सुनिताले आफ्ना दाजुमार्फत सन्तोषलाई भेटेकी थिइन्। उनका दाजु र सन्तोष सँगसँगै पेन्टिङको काम गर्थे।
यही भेटघाट प्रेममा बदलिएपछि करिब २० वर्षअघि उनीहरूको विवाह भयो।
उनीहरूका दुवै छोरी काठमाडौंमै जन्मिएका थिए। तर एक जनाको आम्दानीले चार जनाको गुजारा चलाउन गाह्रो भएपछि सुनिता कामको खोजीमा चितवन सरेकी थिइन्।
'आन्दोलन हुनुभन्दा दुई दिनअघि हाम्रो अन्तिम कुरा भएको थियो,' सुनिताले भनिन्, 'जेठी छोरीले प्लस–टू सकेकीले उसको पढाइ खर्च कसरी जुटाउने भन्नेबारे हामीले सल्लाह गरेका थियौं।'
त्यसपछि उनीहरूबीच कुराकानी भएन। भदौ २४ गते दिउँसो एक्कासि श्रीमानलाई गोली लागेको खबर आयो र त्यसको दुई दिनपछि अस्पतालको शवगृहमा उनले सन्तोषको रगताम्मे शव देखिन्।
'मैले देख्दा उहाँको टाउकोभरि रगतै रगत थियो,' उनले भनिन्, 'उहाँको टाउकोमा गोली लागेको डाक्टरहरूले बताएका छन्। उहाँ कोसँग आन्दोलनमा जानुभएको थियो? कहाँ र कसरी गोली लाग्यो? अहिलेसम्म थाहा भएको छैन।'
सन्तोषको मृत्युपछि कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि अधुरै रहेको उनी बताउँछिन्।
यति मात्र होइन, जुन जेठी छोरीको पढाइ खर्चबारे सुनिता र सन्तोषले अन्तिम कुरा गरेका थिए, अहिले ती छोरीको पनि पढाइ छुटेको छ। अहिले उनी भारतमा आफन्तसँग बसेर काम गरिरहेकी छन्।
कान्छी छोरी भने १० कक्षा पढिरहेकी छन्। उनलाई प्लस–टूसम्म पढाउन गोल्यान ग्रुपले सहयोग गर्ने भनेको छ। त्यसपछि कसरी पढाउने भन्ने सुनितालाई चिन्ता छ।
सरकारसँग उनका दुइटा माग छन् — आफू वा जेठी छोरीलाई रोजगारीको व्यवस्था गरियोस्, र कान्छी छोरीलाई डाक्टरी पढ्ने अवसर दिइयोस्।
***