१९२३ को सन्धि: अध्याय १
खटाक ... खटाक ... खटाक
खटाक ... खटाक ... खटाक
अहिले पर्सा जिल्लामा पर्ने ठोरीको नेपाली सीमाबाट सय मिटर दक्षिणतर्फ भारतको भिखना ठोरीस्थित छोटी स्टेसनमा एउटा छोटो लम्बाइको रेल स्याइँय्य आवाज निकाल्दै घ्याच्च रोकियो।
यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जबाट बग्दै आउने ठुटे र सरस्वता खोलाको दोभानभन्दा ठ्याक्कै पारि पर्छ।
कलकत्ताबाट पटना हुँदै भिखना ठोरीको घना जंगलमा आइपुगेको त्यो कुनै मामुली रेल थिएन — शाही बग्गी थियो।
शाही बग्गी चढेर आएका यात्रु पनि मामुली थिएनन्।
ती यस्ता पाहुना थिए, जसलाई स्वागत गर्न स्वयं श्री ३ महाराज चन्द्रशमशेर राणाको काठमाडौंबाट सवारी भएको थियो।
साथमा उनका तीन जना छोरा मोहनशमशेर, बबरशमशेर र केशरशमशेर पनि थिए।
उनीहरू सँगसँगै सेनाका उच्च अधिकारी, निजामती भारदारहरू र परराष्ट्र मामिला हेर्ने अड्डाका प्रमुखसमेत भिखना ठोरीको जंगलमा उपस्थित भएका थिए।
यति मात्र कहाँ हो र!
ती खास पाहुनाको सम्मानमा सलामी दिन जंगी पोसाक लगाएका सय जनाजति जवान हात–हातमा राइफल बोकेर तम्तयार उभिएका थिए।
स्वागत टोलीकै लहरमा नेपालस्थित ब्रिटिस ‘एनभ्वाय’ (राजदूत) लेफ्टिनेन्ट कर्नेल विलियम फ्रेडरिक ट्राभर्स ओकनरको पनि उपस्थिति थियो। उनी महाराज चन्द्रशमशेरसँगै अघिल्लो पंक्तिमा उभिएका थिए भने उनीसँगै आएका ब्रिटिस लिगेसन (दूतावास) का अधिकारीहरू नेपाली टोलीकै लहरमा पछाडि थिए।
यी विशिष्ट व्यक्तिहरूका अतिरिक्त विशेष पाहुनाको स्वागत गर्न केही सर्वसाधारणलाई पनि लामबद्ध उभ्याइएको थियो।
बिहान ठिक १० बजे जसै शाही बग्गी भिखना ठोरी रेल्वे स्टेसनमा रोकियो, नेपालका विशेष अतिथि ग्रेट ब्रिटेनका राजकुमार एडवार्ड ४९ सदस्यीय दलबलसहित बाहिर निस्के।
प्रधानमन्त्री चन्द्रशमशेर र ब्रिटिस एनभ्वाय ओकनर राजकुमार एडवार्डको स्वागत गर्न रेलको ढोकासम्मै पुगे।
लामबद्ध उभिएका सर्वसाधारणले राजकुमार एडवार्डको स्वागतमा चामल र फूल बर्साए।
लगत्तै सय जना जवान सम्मिलित राइफल पल्टनले ब्रिटिस राजकुमारको सम्मानमा बन्दुक पड्काएर शाही सलामी अर्पण गर्यो।
त्यसपछि राजकुमार एडवार्डलाई खास उनकै निम्ति कलकत्ताबाट झिकाइएको र यही रेलमा ढुवानी गरेर ल्याइएको ‘क्रस्ले’ गाडीमा चढाएर नेपाली सीमाभित्र प्रवेश गराइयो।
ब्रिटिस एनभ्वाय ओकनर पनि राजकुमारसँग एउटै गाडीमा सवार थिए।
यो आजभन्दा एक सय दुई वर्षअघिको घटना हो —
सन् १९२१ डिसेम्बर १४, अर्थात् विक्रम सम्बत् १९७८ मंसिर २१ गते, बुधबार।
ब्रिटिस राजकुमारको यो शिकार भ्रमणलाई १९२३ को नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धिमा ‘कोशेढुंगा’ मानिन्छ, किनभने यही भ्रमणले सन्धिको आधारशिला खडा गरेको थियो।
ब्रिटिस एनभ्वाय ओकनरले शिकारकै बीच पहिलोपटक सन्धिको निम्ति औपचारिक कुराकानी सुरू भएको आफ्नो किताबमा लेखेका छन्। त्यसको दुई वर्षपछि १९२३ डिसेम्बर २१ का दिन सन्धिमा सहीछाप भएको थियो, जसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्वतन्त्र र सार्वभौम मुलुकको राजनीतिक हैसियत दिलायो।
त्यसैले, सन्धिको अन्तर्य र पृष्ठभूमिमा प्रवेश गर्नुभन्दा अगाडि हामीले सन्धिको आधारशिला खडा गरेको राजकुमार एडवार्डको उक्त शिकार भ्रमण कति भव्य थियो भन्ने बुझ्नुपर्छ।
शिकार अवधिभर राजकुमारको छाया बनेर हिँडेका ब्रिटिस एनभ्वाय ओकनरले आफ्नो किताब ‘अन द फ्रन्टियर एन्ड बियोन्डः अ रेकर्ड अफ थर्टी इयर्स सर्भिस’ मा त्यस बेलाका एक–एक घटना मिहिन वर्णन गरेका छन्। हाम्रो यो स्टोरी ओकनरको त्यही किताबमा आधारित छ।
त्यस दिन भिखना ठोरीको छोटी रेल्वे स्टेसनबाट निस्केर ठुटे र सरस्वता खोलाको संगम तर्दै नेपाली सीमामा प्रवेश गर्दा राजकुमार एडवार्डले ओकनरलाई भनेका थिए, ‘म बाघको शिकार गर्न उत्सुक छु। तर यति ख्याल राख्नू, शिकार गर्दा कसैले पनि मलाई विशेष सहुलियत दिइरहनुपर्दैन। मेरै हातबाट बाघको शिकार होस् भनेर तारतम्य मिलाइदिन वा अरूले पाएको अवसर मेरो लागि छाडिदिन जरूरी छैन।’
‘यो जंगलमा हामी सबै बराबर छौं, बाघ मार्ने हक हामी सबैलाई बराबर छ,’ एडवार्डले अगाडि भने, ‘म एउटा प्रतिस्पर्धात्मक खेलको हिस्सा बन्न चाहन्छु। प्रतिस्पर्धात्मक रूपमै शिकारमा सहभागी हुन चाहन्छु। यहाँ हामी सबै एकअर्काका प्रतिस्पर्धी हौं र खुलेर प्रतिस्पर्धा गरौं।’
‘जसको हातमा दम होला, उसैको हातबाट बाघ मर्ला,’ उनले भने।
ओकनरले राजकुमारको इच्छा महाराज चन्द्रशमशेरदेखि शिकारको बन्दोबस्त मिलाइरहेका उनका छोराहरू बबरशमशेर र केशरशमशेरलाई सुनाए।
राजकुमारको इच्छामा कसैले नाइँनास्ती गरेनन्, तर चन्द्रशमशेरको पनि एउटा आग्रह थियो।
‘शिकार प्रतिस्पर्धात्मक ढंगमै हुनेछ,’ उनले ओकनरमार्फत् प्रस्ताव पठाए, ‘तर हामी के चाहन्छौं भने, जंगलमा जब पहिलो बाघ भेटिएला, तब पहिलो गोली राजकुमारकै बन्दुकबाट चलोस्। हामीले आफ्नो विशेष पाहुनाकै हातबाट यो उत्सव शुभारम्भ होस् भन्ने सदिच्छा राखेका छौं।’
एडवार्डले चन्द्रशमशेरको प्रस्ताव मञ्जुर गरे।
खासमा चन्द्रशमशेरको सदिच्छा त अर्कै थियो — उनी शिकारको बहानामा हर तरहले ब्रिटिस राजकुमारको खातिरदारी गरेर आफ्नो पक्षमा रिझाउन चाहन्थे।
सन् १९०१ मा श्री ३ को श्रीपेच धारण गरेदेखि नै चन्द्रशमशेरले त्यो बेलाको एक मात्र विश्व महाशक्ति ग्रेट ब्रिटेनसँग सुमधुर सम्बन्ध राख्न भगीरथ प्रयत्न गरेका हुन्। उनी सकेसम्म सन् १८१६ को सुगौली सन्धिमा नेपालले गुमाएको एकतिहाइ भूभाग फिर्ता लिन चाहन्थे; नसके पनि कम्तिमा नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर ब्रिटिस साम्राज्यबाटै लाहाछाप गराउने उनको मनसुबा थियो।
यही मनसुबा राख्दै उनले ‘शिकार कूटनीति’ सुरू गरे र सन् १९०६ फेब्रुअरीमा पहिलोपटक तत्कालीन ब्रिटिस राजकुमार जर्ज पाँचौंलाई शिकार खेल्न निम्त्याए। यसका लागि चितवनको जंगलमा सबै प्रबन्ध मिलाइएको थियो। जर्ज पाँचौंलाई उपहार दिन केही ज्यूँदा जनावर र ज्यूँदा चराहरूको बन्दोबस्त पनि गरिएको थियो।
तर चितवनमा एकाएक भयंकर हैजा फैलिएपछि शिकार कार्यक्रम स्थगित गर्नुपरेको इतिहासकार पुरूषोत्तमशमशेर जबराले आफ्नो किताब ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा लेखेका छन्।
त्यसको पाँच वर्षपछि सन् १९११ मा उनै जर्ज पाँचौंलाई दोस्रोपटक शिकार खेल्न निम्त्याइयो। त्यति बेला उनी ग्रेट ब्रिटेनका राजा भइसकेका थिए। यसपालि शिकार निम्ति ठोरीको जंगल छानिएको थियो।
राजा जर्ज पाँचौंले दस दिनमा ३७ वटा बाघ, १८ वटा गैंडा र चारवटा भालु शिकार गरेको ओकनरको किताबमा छ।
उनले नेपालका जंगली जनावरहरूको शिकार त गरे, नेपालसँग सुमधुर सम्बन्धको कसिलो हात पनि बढाए, तर चन्द्रशमशेरको मनसुबाले मूर्तरूप लिएन।
ब्रिटिस साम्राज्यबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकताको जुन सुनिश्चितता चन्द्रशमशेरले चाहेका थिए, त्यो राजा जर्ज पाँचौंको भ्रमणबाट पूरा हुन सकेन।
त्यसैले, दस वर्षपछि १९२१ मा उनले फेरि एकपटक शिकार कूटनीतिको चाल चले र राजकुमार एडवार्डलाई ठोरीको जंगलमा निम्त्याए।
सन् १९११ मा ठोरी जंगलमा बाघको शिकार गरेपछि ब्रिटिस राजा जर्ज पाँचौं र चन्द्रशमशेर राणा। तस्बिर स्रोत: मदन पुरस्कार पुस्तकालय
चन्द्रशमशेर राजकुमारको खातिरदारी गर्न ठोरी जंगलमा उपस्थित भए पनि शिकारमा भाग लिएनन्।
उनको स्वास्थ्य खराब थियो।
आफू शिकार नखेले पनि पाहुनाहरूको बन्दोबस्ती उनले भव्य गराए।
खासगरी राजकुमार एडवार्डको सुख, सुविधा र सयलमा कुनै कमी नरहोस् भनेर उनले रिठ्ठो नबिराई चाँजो मिलाएका थिए। कहीँ कुनै चुक नहोस् भनेर हरेक दिन आफैं शिविर निरीक्षण गर्थे र पाहुनाहरूको आरामको खोजखबर राख्थे।
दुई जना छोराको नित्य निगरानीमा जंगलभित्रै यस्तो साजसजावट र यस्तो तामझाम गरिएको थियो; मानौं ब्रिटिस राजकुमार शिकार खेल्न होइन, सहर बसाउन आएका हुन्!
कतिसम्म भने, राजकुमारको बसोबास निम्ति ठुटे र सरस्वता खोला मिसिने दोभानको उत्तरपट्टि सालका रूखहरू बेस्सरी फाँडेर ठूलो मैदान बनाइएको थियो र त्यो मैदानमा ठुल्ठूला शामियानाहरू सजाइएका थिए। त्यहाँ जंगली हात्ती र हिंस्रक जनावरहरू छिर्न नसकून् भनेर चारैतिर बाँसको पर्खाल गाढेर सानोतिनो किल्ला नै निर्माण गरिएको थियो। किल्लाको भित्र र बाहिर चौबीसै घन्टा बन्दुकधारी सिपाहीहरूको कडा पहरा रहन्थ्यो।
शामियानाको निम्ति चन्द्रशमशेरले ठाउँ पनि खुबै सुन्दर छानेका थिए।
कस्तो भने —
बर्खामा भेल उर्लिए पनि हिउँद बेला मन्द बग्ने दुइटा खोला हरपल सुसाइरहने।
पूर्व–पश्चिम दुवैतर्फ सयौं किलोमिटर टाढासम्म घना जंगल।
उत्तरतर्फ पनि लगभग बीस किलोमिटरको त्यस्तै बाक्लो वन, अनि त्यसपछि मात्र फाट्टफुट्ट गाउँहरू।
शिकारको कुरा गर्दा, वनभरि ठूलो संख्यामा सर्वत्र उपलब्ध बाघहरू र नजिकै विशेष संरक्षित क्षेत्रमा छुट्टयाएर राखिएका गैंडा।
यसबाहेक चित्तल र चितुवा, हरिण र जरायो, बँदेल र भालुदेखि विभिन्न थरीका चराचुरूंगीको त्यहाँ कुनै कमी थिएन।
सबभन्दा आँखा चोर्ने र मन हर्ने दृश्य त, आकाश छ्यांग खुल्दा उत्तरतिर प्रस्टै देखिने लमतन्न हिमाली शृंखला।
यस्तो मोतीको दानाझैं टपक्क टिपेको ठाउँमा लगभग मध्य–भागतिर राजकुमार एडवार्डसहित ४९ सदस्यीय ब्रिटिस टोलीको निम्ति मुख्य शामियाना खडा गरिएको थियो। त्यसको ठ्याक्कै पछाडि ब्रिटिस पाहुनाहरूको भान्सा थियो। उनीहरूको सेवामा खटिएका नोकरचाकर पनि त्यहीँ वरिपरि स–साना झुपडीमा बस्थे।
राजकुमार यहाँ रहुञ्जेल ती नोकरचाकरले एक निमेष फुर्सद पाएनन्। शिविरभित्र चौबीसै घन्टा उनीहरूको हाँपदाँप, हस्याङफस्याङ र हल्लीखल्ली चलिरह्यो।
अर्कातिर; महाराज चन्द्रशमशेर, उनका भाइहरू र उच्च ओहोदाका नेपाली टोलीको निम्ति नजिकै अर्को ठाउँमा जंगल फाँडेर त्यति नै ठूलो मैदान सम्याइएको थियो र त्यति नै विशाल शामियाना सजाइएको थियो।
यहाँ पनि राणाजीका व्यक्तिगत सुसारे र सामूहिक नोकरचाकरले आफ्ना मालिकको सेवासुश्रुषाबाट एक पल फुर्सद पाएनन्।
पाहुनाहरूको सेवामा विलम्ब र अलमल नहोस् भनेर चन्द्रशमशेरले नोकरचाकरको संख्यामा मनग्गे फुरमास गरेका थिए। नेपालीहरूले मात्र नपुग्ला भनेर भारतबाट समेत ठूलो संख्यामा झिकाइएको थियो। तिनमा हिन्दु, क्रिश्चियन र इस्लाम धर्म मान्नेहरू सराबरी थिए। धर्मअनुसार छुट्टाछुट्टै बसाइको बन्दोबस्त थियो। हिन्दु धर्ममा पनि जातअनुसार शिविर छुट्टयाइएको थियो।
चन्द्रशमशेर ब्रिटिस टोलीका सदस्यहरूको खान्कीलाई लिएर पनि खुरन्धार थिए।
उनले अंग्रेजहरूको जिब्रो सुहाउने थरीथरी स्वाद र परिकारको प्रबन्ध मिलाउन कुनै कसर छाडेनन्। यसका लागि थरी थरीका परिकारमा पारंगत भान्सेहरू छानी छानी ल्याए।
पानी र बिजुली बन्दोबस्तीको त ओकनरले नै मुक्तकण्ठले तारिफ गरेका छन्। यी दुवै चिज नियमित आपूर्ति होस् भनेर ‘मानवीय रूपले सम्भव हुने हदसम्म प्रयत्न गरिएको’ उनको भनाइ छ।
यहाँ पानीका लागि नजिकै खोलाबाट पाइप तानिएको थियो। शिविरमा खपत हुने हरेक थोपा सुरूमा भकभकी उमालिन्थ्यो, चिस्याइन्थ्यो र त्यसपछि परम्परागत विधिबाट प्रशोधन गरिन्थ्यो।
बिजुली बाल्न कलकत्ताबाट ठूलो प्लान्ट नै झिकाइएको थियो, जसले शिविरका कुना–कुनासम्म तार तानेर जडान गरिएका अर्धचन्द्राकार बत्ती रात–रातभर झल्झलाकार राख्थ्यो।
बसोबासका यस्ता प्रबन्धमा मात्र होइन, शिकारी पाहुनाहरूको मनोरञ्जन र जंगल ओहोरदोहोर गर्न कष्ट नहोस् भन्नेमा पनि चन्द्र चनाखा थिए।
हरेक साँझ रात्रिभोजन सुरू हुनुभन्दा अगाडि एउटा सैनिक टुकडीले ब्यान्ड बाजासहित सैनिक धुन र अन्य विभिन्न गीत बजाएर राजकुमार लगायत ब्रिटिस टोलीको मन बहलाउँथ्यो। यसका लागि देशका विभिन्न भागबाट लोक गायक र नर्तकहरूको समूहलाई खास राजकुमारको मनोरञ्जनकै निम्ति जंगलमा झिकाइएको थियो। त्यही क्रममा केही जवानले नांगो खुकुरी हातमा नचाउँदै सैन्य झाँकीहरू पनि प्रदर्शन गर्थे।
जंगल विहार सहज होस् भनेर साना मोटरगाडी गुड्ने दुइटा कच्ची बाटो खनिएको थियो; जसमध्ये एउटा बाटो शामियानाबाट पश्चिमतर्फ झन्डै पचास किलोमिटर, र अर्को बाटो पूर्वतर्फ झन्डै तेह्र किलोमिटर तन्किएको थियो।
मोटरगाडी पनि सबैलाई पुग्दो संख्यामा झिकाइएका थिए।
ब्रिटिस राजकुमार कलकत्ताबाटै रेलमा चढाएर ल्याइएको ‘क्रस्ले’ गाडी चढ्थे भने ब्रिटिस एनभ्वाय ओकनर आफ्नो पुरानो मोडलको ‘एसेक्स’ हाँक्न सजिलो मान्थे। कच्ची बाटोका लागि एसेक्स नै उपयुक्त भएको ओकनरको भनाइ थियो। उनी बेलाबेला राजकुमारको निम्तोमा क्रस्लेमा पनि सवार हुन्थे।
गाडी नगुड्ने घना जंगलभित्र जानुपर्दा चाहिँ हात्तीको काँध चढ्नुको विकल्प थिएन। यही प्रयोजनका लागि ४५० भन्दा बढी हात्ती परिचालन गरिएका थिए। ती हात्तीलाई तीनवटा बेग्लाबेग्लै शिविरमा राखिएको थियो। प्रत्येक शिविरमा कम्तिमा डेढ सयवटा हात्ती थिए।
राजकुमार एडवार्ड, ब्रिटिस एनभ्वाय ओकनर र अन्य गन्यमान्य सवार हुने हात्तीको ढाडमा हौदाको प्रबन्ध पनि गरिएको थियो। काठको हौदाले शिकारमा ठूलो सुरक्षाको काम गर्थ्यो।
कसरी भने —
कथंकदाचित् बाघलाई गोली लाग्यो, तर ठाउँको ठाउँ ढलेन भने घाइते बाघले झन् बढ्ता उग्र भएर हमला गर्न सक्थ्यो। यस्तो बेला बाघले हात्तीमाथि नै उफ्रिएर माहुतेलाई झम्टिने र सके माहुतेभन्दा माथि बसेको शिकारीलाई पञ्जा हान्ने खतरा हुन्थ्यो।
कहिलेकाहीँ त शिकारीको सन्तुलन बिग्रेर भुइँमा पछारिने र स्वयं बाघको शिकार हुने नौबत पनि आउँथ्यो।
यस्तो अवस्थामा हौदा छ भने शिकारीको सन्तुलन गुम्न पाउँदैन। हात्ती जतिसुकै ढलपल गरे पनि ऊ हौदाको आडमा आफूलाई सम्हाल्न सक्छ।
हौदाका अतिरिक्त हात्तीमा सवार ब्रिटिस राजकुमार, एनभ्वाय र गन्यमान्यको सुरक्षाका लागि दुई जना बलिया सिपाही तैनाथ गरिएका थिए। उनीहरू हौदाको ठ्याक्कै पछाडि हात्तीको ढाडमा दुईतिर उभिएका हुन्थे।
यति मात्र होइन, श्री ३ सरकारले आफ्ना विशेष अतिथिको सुरक्षा निम्ति एक साताअघिबाटै जंगल खाली गर्न उर्दी जारी गरेको थियो। बसोबास स्थलबाट चालीसदेखि पचास किलोमिटरको क्षेत्रभित्र बाहिरका कुनै पनि व्यक्तिलाई प्रवेश गर्न दिइएको थिएन।
बाघ शिकार सहज होस् भनेर राजकुमार आउनु एक वा दुई दिनअघि नै वरिपरिका गाउँहरूबाट बथानका बथान भैंसी ल्याएर जंगलमा छाडिएका थिए।
शिकारी टोलीले आफ्नो काम सुरू गर्नुभन्दा अगाडि भैंसी वा बाख्राको बथान जंगलमा छाड्नुका पछाडि विशेष कारण छ।
त्यो के भने —
जब बाघले जंगलमा छाडिएका निरीह भैंसी वा बाख्रालाई आफ्नो आहार बनाउँछ, तब ऊ अघाएर आराम गर्न थाल्छ। वा, तिर्खाएर खोला किनार पानी पिउन आउँछ।
यी दुवै अवस्थामा बाघ कहाँ छ भनेर पत्ता लगाउन र शिकार गर्न एकदमै सजिलो हुन्छ।
राणा सरकारले आफ्नै तर्फबाट गरेका यी प्रबन्धबाहेक एउटा यस्तो व्यवस्था पनि त्यहाँ थियो, जसका लागि ब्रिटिस एनभ्वाय ओकनरले व्यक्तिगत आग्रह गरेका थिए।
त्यो हो, राजकुमार एडवार्डका लागि पोलो खेल्ने चउर।
एडवार्ड घोडसवार र पोलो खेलका सोखिन छन् भन्ने ओकनरलाई थाहा थियो। त्यसैले उनले ब्रिटिस शामियानाकै छेउमा उपयुक्त ठाउँ रोजेर सम्याउन लगाएका थिए। संयोगले ओकनरले रोजेको ठाउँ ब्रिटिस इन्डियाको भूभागतर्फ परेको थियो।
पोलो मैदान तयार भएपछि उनले केही साना घोडाहरू, पोलो खेल्ने छडी र बल पनि जुटाए।
राजकुमार एडवार्ड ठोरी जंगलमा बसुञ्जेल हरेक दिन बिहान एक घन्टा पोलो अभ्यास गर्थे।
बन्दोबस्तीका यी विवरणपछि अब हामी जंगलभित्र के-के भए, त्यो हेरौं। ब्रिटिस एनभ्वाय ओकनरले त्यति बेलाको पल–पलको खबर किताबमा लेखेर गएका छन्।
शिकारमा बाघभन्दा पहिला आउँछ, बाघको खबर!
हामीले माथि भनेजस्तै एक–दुई दिनअघि नै जंगलमा छाडिएका भैंसीका बथानलाई अघाउँजी आहार बनाएका बाघहरू त्यतै कतै सुस्ताइरहेका हुन्छन्; वा तिर्खाएर पानी खान खोला नजिक धाएका हुन्छन्।
बाघको यही अवस्थिति बुझ्न जंगलमा छाडिएका ‘खबरी’ हरूले हरेक बिहान शिकारीहरूको शामियानामा खबर ल्याइपुर्याउँछन् — आज जंगलको फलानो फलानो ठाउँमा यति–यति संख्यामा बाघ भेटिन सक्छ! तयार रहनू!
बाघ मात्र होइन, यस्ता खबरीहरू गैंडा, भालु, चितुवा लगायत अन्य ठूला शिकार पनि पछ्याइरहेका हुन्छन्।
जुन खबरीले जति बढी खबर ल्याउन सक्यो, उसले राणाजीहरूबाट उति बढी खिताब पायो!
जसै खबर आइपुग्थ्यो, शिकारी टोली सुसज्जित भएर शिविरबाट निस्कन्थे र आ–आफ्नो गाडी चढेर जंगलको एउटा निश्चित विन्दुसम्म पुग्थे। त्यहाँबाट घना जंगलभित्र प्रवेश हात्तीको कारवांमा हुन्थ्यो। कुन टोली कुन शिकार छोप्न कता कुद्ने भन्ने बिहान खबर आउनासाथ तय गरिन्थ्यो।
अनि, सुरू हुन्थ्यो — शिकारको मुख्य खेला!
शिकार र फुटबलमा एउटा कुरा समान छ — जसरी फुटबलमा कहिले खेल सुरू भएको पहिलो मिनेटमै फ्याट्टै गोल हुन्छ, कहिले चाहिँ अतिरिक्त समय थप्दा पनि गोलै हुँदैन; शिकारमा त्यस्तै हुन्छ। कहिले शामियानाबाट निस्केको केही मिटर दुरीमै फ्याट्टै शिकार फेला पर्छ, अनि कहिले चाहिँ दिनभरि जंगलको खाक छान्दा पनि एउटा चरा मर्दैन!
यस्तो बेला फुटबलमा पेनाल्टी ‘सुट–आउट’ भएजस्तै राणाजीहरूले आफ्ना विशेष पाहुनालाई खुसी पार्न चाँदीको थालीमा सजाएर शिकार पेस गर्ने चलन थियो रे!
सायद त्यही भएर राजकुमार एडवार्डले ‘खेल प्रतिस्पर्धात्मक होस्’ भनेर सुरूमै भनेका होलान्!
ओकनरको कुरा सुन्दा, एडवार्डले साँच्चै नै शिकारमा कुनै विशेष सहुलियत पाएनन् भन्ने बुझिन्छ। किनभने, कहिले छिनभरमै शिकार भेटिएको त कहिले एउटै खोला दसौंचोटि वारपार गर्दा पनि, दसौंचोटि जंगलको उत्तर–दक्षिण चहार्दा पनि र दिनभरि हात्तीमाथि लचक–लचक लच्किँदा पनि शिकार फेला नपरेको ओकनरले बयान गरेका छन्।
उनले आफ्नो किताबमा बाघ मार्ने विधि पनि रौंचिरा उतारेका छन्।
योजनाअनुरूप भयो भने बाघ शिकार गर्न सामान्यतया धेरै समय लाग्दैन।
सबभन्दा पहिला, जुन ठाउँमा बाघ छ भनेर निधो गरिन्छ, त्यो ठाउँलाई चारैतिरबाट हात्तीले एक लहर घेरा हालिन्छ।
घेरा हाल्दा जंगलको नीरवता बरकरार राख्नुपर्छ भन्ने मान्यता छ।
किनभने, जतिसुकै घेरा हाले पनि बाघले छिसिक्क चाल पायो भने हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ!
अरू बेला हिँड्दा पनि प्रलय आएजस्तो हुने त्यस्तो भीमकाय जनावरले आवश्यक पर्दा कस्तरी बिरालोको चाल पक्रन सक्छ भन्ने यस्तै बेला थाहा हुँदो रहेछ!
यी सब गतिविधिमा स्थानीय सैनिक सुबेदारले शिकारी टोलीको नेतृत्व गर्छ। उसकै हातको इसारा वा सुसेली पछ्याउँदै माहुतेहरूले आ–आफ्नो हात्तीलाई दायाँ वा बायाँ सार्छन्।
जसै बाघ घेराको मध्यविन्दुमा पर्यो भन्ने ठहर हुन्छ, तब हात्तीलाई दायाँ–बायाँ सार्न छाडेर अगाडि–अगाडि हिँडाउन थालिन्छ।
सुरूको घेरा एकदमै फराकिलो हुन्छ। यो बेला हरेक हात्तीको बीचमा लगभग ४० देखि ९० मिटरको दुरी राखिन्छ।
र, बाघलाई बीचमा पारेपछि बिस्तारै घेरा साँघुरो पार्दै लगिन्छ।
यस क्रममा एउटा यस्तो घडी आउँछ, जब सबै हात्ती एकअर्कासँग टाँसिएका हुन्छन् र घेराबन्दीमा परेको बाघ उम्किने ठाउँ नपाएर उकुसमुकुस हुँदै घरि यता, घरि उता फड्फडाउन थाल्छ।
ऊ हात्तीको टाङमुनि छिर्न खोज्छ।
हात्ती चलमलाएर बाटो दिँदैन।
ऊ रिसले मुर्मुरिँदै जंगल थर्किने गरी गर्जिन्छ र आफ्नो पञ्जाले हात्तीलाई नै चिथोर्न खोज्छ।
हात्ती आफ्ना भीमकाय पाइलाहरू पछाडि सार्दै बाघको पञ्जाबाट उम्किन्छ।
बाघ झनै रन्थनिन्छ।
ऊ आफ्ना ठुल्ठूला कैला आँखाका काला नानीहरू आपसमा जोडिने गरी काँचै खाऊँलाझैं गरेर शिकारीलाई हेर्छ। तल्लो र माथिल्लो लहरका दुई–दुईवटा लामा र तीखा दाँतहरू फालीझैं उजाउँदै एकै गाँसमा चपाऊँलाझैं गरेर गर्जिन्छ।
बाघको गर्जनले हात्तीको पनि रिसको सीमा नाघ्छ।
वरिपरि घेरा हालेका हात्तीहरू एकै स्वरमा चिँघाड्न थाल्छन्।
र, त्यो सँगसँगै हात्तीमा सवार शिकारीहरू जोसले भरिएर हाहु कराउँछन्।
हो, ठ्याक्कै त्यही बेला — जंगलको नीरवता भंग हुँदै भयंकर कोलाहल मच्चिएका बेला; हात्तीको लहरले बाघलाई उम्किनै नमिल्ने गरी घेरामा पारेका बेला; असहाय बाघ चक्रव्यूह तोड्ने कुनै बाटो नदेखेर आफ्नो भारी ज्यान यताउता बेपत्ता हल्लाइरहेका बेला; र शिकारीहरूको झुन्डले विजय उन्मादमा हाहा हुहु गरिरहेका बेला; हात्तीको हौदामा सवार शिकारीहरूमध्ये जो बाघको सबभन्दा नजिक छ, उसले बन्दुक उठाउँछ, निशाना साँध्छ र ट्रिगर दबाउँछ।
शिकारी निशानेबाज पर्यो भने एकै गोलीमा ठाउँको ठाउँ बाघ शान्त भइहाल्छ।
गोली त लाग्यो, तर ठाउँमा परेन भने चाहिँ घाइते बाघ झन् खुंखार हुन्छ।
ऊ अन्धाधुन्ध उफ्रिँदै हात्तीलाई झम्टिन थाल्छ। माहुते र अझ त्योभन्दा माथि हौदामा बसेका शिकारीसम्मै आफ्नो पञ्जा पुर्याउन खोज्छ।
यस्तो बेला चलाख शिकारीले फेरि गोली दाग्छ र बाघको लीला समाप्त पार्छ।
उसले सकेन भने शिकारी टोलीमै अरू कोही गोली दाग्न अघि सर्छ।
‘यसरी सारा तारतम्य मिलाएर बाघ मार्न कहिले एक वा दुई घन्टासम्म लाग्छ,’ ओकनरले लेखेका छन्, ‘कहिले भने एकै गोली काफी हुन्छ।’
बाघ शिकार गर्दा एकदिन रोचक घटना भयो —
राजकुमार एडवार्डले ठोरी जंगलमा पाइला टेकेकै दिन शिकार खेल्दा आफूलाई कुनै सहुलियत नदिइयोस् भनेर भनेकै थिए। तर त्यस दिन बाघलाई घेराबन्दीमा पारेर बन्दुक चलाउन खोज्दा राजकुमारलाई के लागेछ भने, सबै मिलेर जानीजानी उनलाई बाघ मार्न सजिलो हुने ठाउँमा राखिदिएका छन्।
यस्तो शंका हुनेबित्तिकै राजकुमारले आफ्नो माहुतेलाई हात्ती अगाडि नसार्न हुकुम दिए।
र, घेराबन्दीको अर्को दिशामा रहेका शिकारीलाई हातले इसारा गरेर अगाडि बढ्न भने।
राजकुमारको हुकुमपछि ती शिकारी अगाडि बढे र गोली चलाए।
शिकारकै क्रममा एकचोटि राजकुमार एडवार्डको झन्डै झन्डै ज्यान जाने अवस्था आइपरेको ओकनरले लेखेका छन्।
यो दोस्रो दिनको कुरा हो — १५ डिसेम्बर।
बाघ खोज्न हात्तीको कारवां बाक्लो जंगलभित्र छिरिसकेको थियो।
अगाडि बाटोमा कालो दलदले हिलो देखियो, जुन झन्डै ३० देखि ४० मिटर लामो थियो।
हात्तीहरू टक्क अडिए।
माहुते र शिकारीहरूले स्थिति मुआयना गरे।
उनीहरूलाई त्यो दलदल खासै गहिरो लागेन।
कारवां अगाडि बढ्यो।
सुरूका केही हात्तीले ठमठम हिँड्दै दलदल पार गरे। ती हात्तीका खुट्टा एक वा दुई फिटसम्म दलदलमा गाडिएका थिए।
तर जसै राजकुमार एडवार्ड चढेको हात्ती दलदलमा घुस्यो र आधी बाटो तय गर्यो, ऊ त्यहीँ बीचमै अड्केको अड्क्यै ठँसठँस्ती कन्न थाल्यो।
उसले आफ्ना खुट्टाहरू दलदलबाट झिक्नै सकेन।
खुट्टा मात्र झिक्न नसके त बरू डरमर्दो केही थिएन, तर त्यो हात्ती बिस्तारै दलदलमा जाकिँदै गयो।
हात्ती जति चलमलाउँथ्यो, दलदलमा जाकिने रफ्तार उति बढ्थ्यो।
‘त्यो भीमकाय जनावर भुँडी भुँडीसम्म कालो दलदलमा गाडिएको थियो र आफ्नो ज्यान बचाउन भयंकरसँग चलमलाउँदै थियो,’ ओकनर लेख्छन्, ‘ग्रेट ब्रिटेनको गद्दीका उत्तराधिकारी राजकुमार एडवार्ड पनि पुतलीजस्तो हौदामा घरि यता, घरि उता लड्खडाउँदै थिए। उनको पछाडि उभिएका दुई जना सेवक त झन् अप्ठ्यारो स्थितिमा थिए। उनीहरू कुनै पनि बेला हात्तीबाट उछिट्टिनसक्ने डर थियो।’
केही बेरको अफरातफरीपछि एक जना माहुतेले जुक्ति फुराए।
उनले सानो कदको एउटा हात्तीलाई दलदलभित्र हुले।
कम तौल र काँधमा केही भारी नभएकाले त्यो हात्तीलाई दलदलमा हिँड्न अरूभन्दा सजिलो भयो।
सानो हात्ती नजिक आइपुगेपछि राजकुमार एडवार्ड बिस्तारै त्यसमा फड्किए।
र, सुरक्षित किनारमा आए।
दलदलमा फसेका राजकुमारको उद्धार ठ्याक्कै त्यसरी नै गरिएको थियो, जसरी समुद्री आँधीमा फसेर डुब्दै गरेको ठूलो जहाजका यात्रुलाई स–साना डुंगामा सारेर किनारमा अवतरण गराइन्छ।
‘धन्न त्यो बेला अनिष्ट केही भएन, तर त्यो एकदमै कठिन र तनावपूर्ण घडी थियो,’ ओकनर लेख्छन्, ‘यति ठूलो घटना हुँदा पनि राजकुमार भने शान्त र तनावरहित देखिन्थे।’
यसरी सवारीहरू सारेपछि हात्तीको काँधबाट भारी झिकियो। तौल कम भएपछि दलदलमा भासिएको त्यो हात्ती बिस्तारै बाहिर निस्क्यो।
सवारीको मात्र होइन, हात्तीको पनि ज्यान बच्यो।
त्यस्तै, कुनै अर्को दिन राजकुमार एडवार्डले गैंडा मारेको क्षण पनि ओकनरले बयान गरेका छन्।
त्यो रातको समय थियो। शिविरबाट तेह्र–चौध किलोमिटर दुरीमा एउटा भाले गैंडा झुलुक्क देखियो। लगत्तै राजकुमारसहितको टोली गैंडा शिकार गर्न हिँड्यो।
राजकुमार एडवार्ड आफ्नो हौदा–हात्तीमा अगाडि अगाडि थिए। उनको हातमा ठूलो राइफल थियो।
पछाडि पछाडि ब्रिटिस एनभ्वाय ओकनर र चन्द्रशमशेरका छोराहरू मोहनशमशेर, बबरशमशेर र केशरशमशेर थिए।
जसै उनीहरू सुरूमा गैंडा देखिएको ठाउँसम्म पुगे, त्यहाँबाट बिरालो चाल समातेर झाडीका अन्तरकुन्तरमा गैंडालाई चियाउन थाले।
नभन्दै करिब तीसदेखि चालीस मिटर दुरीमा गैंडाको कालो छाया देखियो।
उनीहरू नजिक पुगेका मात्र के थिए, गैंडाले खस्याकखुसुक आवाज सुनेर आधा ज्यान पछाडि फर्काएर हेर्यो।
ठ्याक्कै त्यही मौकामा राजकुमार एडवार्डले गोली चलाए।
‘गैंडालाई एकै गोलीमा ढाल्ने हो भने घाँटीमा ताकेर हान्नुपर्छ,’ ओकनरका अनुसार राजकुमारको निशाना खेर गएन।
‘घाइते गैंडा तीव्र गतिमा अगाडि दौडिन थाल्यो,’ ओकनर लेख्छन्, ‘जनरल बबरशमशेरले गोली चलाउँदै गैंडा पछ्याए। केही मिटरसम्म भागेपछि त्यो गैंडा भुइँमा ढल्यो र प्राण त्याग्यो।’
शिकारी टोलीले परीक्षण गर्दा राजकुमारले चलाएको गोली ठ्याक्कै घाँटीमै लागेको थियो।
राजकुमारको शिकार कार्यक्रम बढीमा दिउँसो ३ वा ४ बजेसम्म मात्र चल्थ्यो। उनको सुरक्षालाई हेरेर अरूभन्दा छिट्टै शिविर फर्काउने बन्दोबस्त मिलाइएको थियो। कहिलेकाहीँ चाँडै शिविर फर्केका बेला राजकुमार एडवार्ड खोला तरेर ब्रिटिस इन्डियाको सिमानामा पर्ने भूभागतिर जान्थे र सानोतिनो जनावर वा चरा शिकार गर्थे।
बाघ वा गैंडाको ठूलो शिकारपछि सानोतिनो चराको पछाडि दगुर्नु राजकुमारका लागि मनोरञ्जनपूर्ण थियो, ओकनर लेख्छन्, ‘बिहानदेखि घन्टौं घन्टा हात्तीमाथि बस्दा बस्दा बाउँडिएका खुट्टाहरू हामी तन्काउन पाउँथ्यौं।’
चरा शिकार गर्दै जाँदा एकदिन ओकनरले दुइचोटि बन्दुक पड्केको आवाज सुने।
उनी आवाज आएतिर दौडिए।
त्यहाँ पुग्दा उनले देखे — राजकुमार एडवार्डले करिब १० फिट लामो सर्प मारेका रहेछन्। त्यो अत्यन्तै विषालु कोब्रा थियो।
इतिहासकार पुरूषोत्तमशमशेर जबराले यो घटनाको अलि फरक बयान गरेका छन्।
उनका अनुसार शिकार खेल्दै जाँदा एकदिन कोब्रा सर्पले राजकुमारलाई लखेटेछ। राजकुमारले गोली त हाने, तर निशाना चुक्यो। त्यसपछि त्यो कोब्रा झन् तीव्र गतिमा राजकुमारलाई पछ्याउन थाल्यो।
राजकुमारले दोस्रो गोली हाने।
यसपालि चाहिँ कोब्रा सर्प ठाउँको ठाउँ ठहरै भयो।
भ्रमणकै क्रममा ब्रिटिस राजकुमारको एउटा भावुक क्षण ओकनरले बयान गरेका छन् —
एक बिहान एडवार्ड र ओकनर जंगलको कच्ची बाटो गाडी हाँक्दै ब्रिटिस इन्डियाको भूभागतर्फ गएका थिए।
त्यही क्रममा उनीहरूले सीमा सुरक्षामा खटिएका एक ब्रिटिस सैनिकलाई देखे।
बीच जंगलमा ब्रिटिस सेनाको युनिफर्म लगाएको जवान देख्नासाथ राजकुमारले उत्साहित हुँदै गाडी रोके र ओकनरसँग भने, ‘यी ब्रिटिस सिपाही यहाँ के गर्दै छन्?’
ओकनरले जवाफ दिनुअघि नै राजकुमार गाडीबाट ओर्लिसकेका थिए र सरासर ती सिपाही नजिक पुगिसकेका थिए।
उनले ती सिपाहीसँग कसिलो हात मिलाए, उनको कामबारे सोधपुछ गरे र यस्तो मध्य–जंगलमा ड्युटी गर्दाको गाह्रोसाह्रो बुझे।
भ्रमणमा अचानक भेटिएका ब्रिटिस सिपाहीसँगको कुराकानीले राजकुमारको चेहरामा कान्ति ल्याएको; र खुसी र सहानुभूतिले आँखा रसाएको ओकनरको भनाइ छ।
श्री ३ चन्द्रशमशेर राणा। तस्बिर स्रोत: मदन पुरस्कार पुस्तकालय
ब्रिटिस राजकुमारको भ्रमण डिसेम्बर १४ देखि २१ सम्म चलेको थियो।
यसबीच शिकारमा साथ दिन नसके पनि अरू बेला चन्द्रशमशेरले कहिल्यै उनको साथ छाडेनन्।
उनी मात्र होइन, तीन जना छोरा — मोहनशमशेर, बबरशमशेर र केशरशमशेर — पनि राजकुमारको खातिरदारी गर्न सदैव अगाडि–पछाडि घुमिरहेका हुन्थे।
राजकुमार पैदल हिँड्दै छन् भने उनीहरू पैदलै साथ दिन्थे; घोडामा छन् भने घोडामै सँगसँगै जान्थे; र हात्तीमा छन् भने उनीहरू पनि हात्ती नै चढ्थे।
बिहान पोलो खेल्दा पनि सँगै, साँझको गानाबजानामा पनि सँगै।
नास्तादेखि रात्रिभोजसम्म सँगसँगै!
भ्रमणको अन्तिम दिन डिसेम्बर २१ मा पनि राजकुमारले आफ्नो नियमित तालिका हेरफेर गरेनन् — उनले बिहान पोलो खेले, दिउँसो बाघ मारे र अपराह्न सानोतिनो खेलमा हिस्सा लिए।
साँझ ६ बजे फेरि पहिलेजस्तै नेपाली र अंग्रेजहरूको हुजूम भिखना ठोरीको छोटी रेल्वे स्टेसनमा जम्मा भयो।
सेनाको राइफल पल्टनले पहिलेजस्तै राजकुमारको बिदाइमा सलामी अर्पण गर्यो।
वरिपरि पंक्तिबद्ध उभ्याउन ल्याइएका सर्वसाधारणले राजकुमारमाथि चामल र फूल बर्साए।
ब्रिटिस टोली उही छोटो लम्बाइको शाही बग्गीमा सवार भएर भिखना ठोरीबाट पटना हुँदै कलकत्ता फर्कियो।
राजकुमार एडवार्डले आठ दिनको ठोरी भ्रमणमा १७ वटा बाघ, आठवटा गैंडा, दुइटा चितुवा र दुइटा भालु शिकार गरेका थिए।
ती सबै शिकार शाही बग्गीमा लादेर कलकत्ता लगियो।
यसबाहेक भ्रमणको आखिरीतिर चन्द्रशमशेरले थुप्रै ज्यूँदा चरा र ज्यूँदा जनावर राजकुमारलाई उपहार टक्र्याएका थिए। राजकुमारले ती ज्यूँदा पशुपन्छी पनि आफूसँगै लगे र बेलायतको लन्डनस्थित जुओलोजिकल गार्डेन्सलाई उपहार दिए।
यसरी राजकुमार एडवार्ड र उनका पिता राजा जर्ज पाँचौंलाई रिझाउन चन्द्रशमशेरले गरेको ‘शिकार कूटनीति’ मा ५४ वटा बाघ र २६ वटा गैंडासहित थुप्रै जनावरहरूको ज्यान गयो।
यो भ्रमणको सबभन्दा ठूलो उपलब्धि के रह्यो भने, राजकुमार एडवार्डले यसपालि ठोरीबाट फर्किँदा दस वर्षअघि आफ्ना पिता राजा जर्ज पाँचौंले जस्तो चन्द्रशमशेरको मनसुबामा पानी फेरेनन्।
आठ दिनको भ्रमणमा चन्द्रशमशेरले दसौंचोटि एडवार्डसँग खासखुस गरेका थिए र उनलाई नेपालको पक्षमा कुनै किसिमको सन्धि हस्ताक्षर गर्न राजी गराएका थिए।
एडवार्ड व्यक्तिगत रूपमा चन्द्रशमशेरको आतिथ्यबाट प्रशन्न मात्र थिएनन्, त्यसअघि पहिलो विश्वयुद्धमा दुई लाख गोर्खाली सेनाले ब्रिटिसको पक्षमा लडेकाले त्यसको गुन तिर्नुपर्छ भन्ने भावना पनि उनमा बलियो थियो। त्यसैले, १९२१ डिसेम्बर २१ को दिन भिखना ठोरीबाट ‘गुड बाई’ भन्नुअघि उनले नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको लाहाछाप लगाउने गरी सम्झौता गर्ने बाचा गरे।
‘राजकुमारको यही भ्रमणमा नेपाल र ग्रेट ब्रिटेनबीच नयाँ सन्धिबारे पहिलोपटक कुराकानी भएको थियो,’ ओकनरले किताबमा लेखेका छन्, ‘त्यति बेलासम्म नेपालसँग हाम्रो सम्बन्ध सुगौली सन्धिका प्रावधानहरूले निर्देशित गर्दै आएको थियो।’
उक्त भ्रमणपछि नै नेपाल र ब्रिटेनबीच सन्धिको मस्यौदामाथि औपचारिक वार्ता सुरू भयो, जुन पूरै दुई वर्ष चल्यो।
र, १९२३ डिसेम्बर २१ कै दिन सन्धिमा सहीछाप भयो।
‘सुगौली सन्धिले सय वर्षभन्दा बढी समयदेखि दुई देशबीच सौहार्द सम्बन्ध कायम राखेको छ। यसको कार्यान्वयन पक्ष सन्तोषजनक नै छ। त्यसैले खासमा सुगौली सन्धिलाई प्रतिस्थापन वा संशोधन गर्नुपर्ने खाँचो थिएन,’ ओकनर अगाडि लेख्छन्, ‘तर विश्वयुद्धपछि नेपाल र ग्रेट ब्रिटेनको घनिष्ठता जसरी बढ्यो, त्यो मित्रतालाई नयाँ सन्धि गरेर टुंगोमा पुर्याउनुपर्छ भन्ने दुवै तर्फको धारणा रह्यो।’
उनी यो पनि लेख्छन्, ‘ग्रेट ब्रिटेनले यो सन्धिमा नेपालको पूर्ण स्वतन्त्रता स्वीकार गरेको छ।’
चन्द्रशमशेरले ब्रिटिस अधिकारीहरूसँगको कुराकानीमा पनि ‘पूर्ण स्वतन्त्रता’ को मुद्दा सबभन्दा बढी चासोका साथ उठाएको ओकनरले उल्लेख गरेका छन्।
उनी लेख्छन्, ‘नेपालको सार्वभौम हैसियतलाई सुगौली सन्धिले नै सुनिश्चित गरेको थियो र नेपालको स्वतन्त्रतामा कहिल्यै कुनै प्रश्न वा चुनौती खडा भएको थिएन। तर विगतमा केही घटनाहरू भए, जसले नेपाल सरकारलाई केही समस्या र तनावमा पारे। अहिले पनि नेपालको सही हैसियत के हो भन्नेमा सार्वजनिक मतभेद र दुबिधाहरू ठूलो मात्रामा पाइन्छन्।’
‘नेपाललाई ब्रिटिस इन्डिया अधीनस्थ हिन्दुस्तानका राज्यहरूसँग दाँजेर हेर्नु अस्वाभाविक होइन। भारतीय सेनामा गोर्खाली भर्तीले धेरैलाई यस्तो दुबिधामा पारेको देखिन्छ। त्यसैले त्यस किसिमको गलत धारणा सधैंका लागि मेटेर नेपाललाई उसको सही राजनीतिक हैसियतमा स्थापित गर्नुपर्ने खाँचो हामीले महसुस गरेका छौं।’
यिनै विषयमा ब्रिटिस इन्डिया सरकारको निर्देशनपछि आफूले प्रधानमन्त्री चन्द्रशमशेर राणासँग छलफल गरेर सन्धिको प्रारम्भिक मस्यौदा तयार पारेको ओकनरले उल्लेख गरेका छन्।
ब्रिटिस एनभ्वाय ओकनरले तयार पारेको मस्यौदामा चन्द्रशमशेरका तर्फबाट बडाकाजी मरीचिमान सिंह र यज्ञमणि दीक्षितले ‘नेगोसिएसन’ गरेका थिए। यी दुवै परराष्ट्र मामिला र सन्धि लेखनमा निपुण मानिन्छन्।
सन्धिको नेगोसिएसन प्रक्रिया पनि कम कठिन र कम सकसपूर्ण रहेन।
सुरूआत सौहार्द भए पनि दिल्ली दरबार र लन्डनस्थित ब्रिटिस अधिकारीहरूले नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको हैसियतमा राख्ने गरी सन्धि गर्न आनाकानी गरेपछि प्रक्रिया लम्बिँदै गयो।
ब्रिटिस इन्डियाका कतिपय उच्च अधिकारी सन् १८१६ को सुगौली सन्धिपछि नेपालले स्वतन्त्र राज्यको हैसियत गुमाएको मान्यता राख्थे र उनीहरू नेपालका शाह राजा र राणा प्रधानमन्त्रीहरूलाई हिन्दुस्तानी राजा–रजौटा सरह नै व्यवहार गर्थे।
उनीहरूको यस्तो व्यवहारले चन्द्रशमशेरको मनसुबालाई झनै दृढ बनाएको थियो।
यही क्रममा सन्धिका बुँदाहरू एकपछि अर्को फेरिँदै जाँदा एक समय त चन्द्रशमशेरको मनसुबा नै तुहिने अवस्थामा पुगिसकेको थियो। लामो तयारीपछि पनि सम्झौता हस्ताक्षर नहुने हो कि भन्ने शंका मडारिएको थियो।
स्वयं चन्द्रशमशेरले सिंहदरबारमा आयोजित सन्धि हस्ताक्षर समारोहको आफ्नो भाषणमै नेगोसिएसनको कठिन चरण सम्झिँदै भनेका थिए, ‘कयौं महिनासम्म छलफल हुँदा कर्नेल ओकनरले देखाएको निपुणताको म कदर गर्छु। ग्रेट ब्रिटेनको प्रतिनिधि भएर उनले आफ्नो सरकारको हकपट्टि लाग्नैपर्थ्यो। मैले पनि आफ्नो मुलुकको हक खडा राख्न बल गर्नैपर्यो। यसमा हामी दुईको राय बराबर फाट्ने गर्थ्यो ... राजकाजको विषयमा उनको जस्तो चतुरता र एकनासको नम्रता नभइदिएको भए ती छलफलहरू अघि बढ्नै नसक्ने गरी अड्किन बेर थिएन।’
दुई वर्षको नेगोसिएसन क्रममा दुई देशबीच उठेका र भविष्यमा उठ्न सक्ने सबै प्रश्नमाथि गम्भीर र खुला ढंगले छलफल भएको ओकनरको भनाइ छ।
ब्रिटिस साम्राज्यको विश्वव्यापी मामिलामा नेपालसँगको नयाँ सन्धिले खासै कुनै विशेष चासो उत्पन्न नगरे पनि नेपाल र ग्रेट ब्रिटेनको ऐतिहासिक सम्बन्धमा यो एउटा महत्वपूर्ण घटना भएको ओकनरले उल्लेख गरेका छन्।
‘यो सन्धिले नेपाल र ग्रेट ब्रिटेनबीच निकट र मैत्रीपूर्ण सम्बन्ध र सहकार्य सुनिश्चित गरेको छ,’ उनी लेख्छन्, ‘ब्रिटिस सेनामा गोर्खा भर्तीको मौजुदा प्रावधान निरन्तर जारी रहन्छ भन्ने सन्धिले निश्चित गर्नुका साथै दुई देशबीच उत्पन्न हुन सक्ने सम्भावित तनाव र वैमनस्य पनि यसले निर्मूल पारेको छ।’
सन्धि नेगोसिएसन गर्दा नेपाल र ब्रिटेनबीच के–कस्ता मस्यौदा आदानप्रदान भए र ती मस्यौदाहरू कसरी संशोधन गरिए? दुई वर्षको त्यो सकसपूर्ण नेगोसिएसनबारे पनि हामी यो कथा शृंखलामा पछि चर्चा गर्नेछौं।
तर त्योभन्दा अगाडि, हामी कसरी १९२३ को सन्धिसम्म आइपुग्यौं? चन्द्रशमशेर राणालाई तत्कालीन ब्रिटिस साम्राज्यबाट नेपालको स्वतन्त्र र सार्वभौम राजनीतिक हैसियत सुनिश्चित गराउने दरकार किन पर्यो?
हामीले यो शृंखलाको ‘भूमिका’ मा पनि भनिसक्यौं — १९२३ सन्धिको ऐतिहासिकता बुझ्न सबभन्दा पहिला १८१६ को सुगौली सन्धिमा नेपालले खाएको चोट बुझ्नुपर्छ। सुगौली सन्धिको चोट बुझ्न गोरखाका राजा पृथ्वीनारायण शाहले सुरू गरेको राज्य विस्तार अभियानको गौरव गाथा बुझ्नुपर्छ। यो अभियानकै क्रममा हिमाली क्षेत्रमा राज्य विस्तार गरिरहेको नेपाल र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिसबीच पहिलोपटक सन् १७६७ (विसं १८२४) मा सिन्धुलीगढीमा जम्काभेट भएको थियो।
त्यसैले, कथा शृंखलाको अर्को अध्यायमा हामी सिन्धुलीगढी लडाइँबारे चर्चा गर्नेछौं।
अर्को अध्याय अर्को शुक्रबार।
...