१९२३ को सन्धि: अध्याय २
‘दक्वं फुत जुजु!’ (सबै खत्तम भयो महाराज!)
कीर्तिपुर लडाइँमा ज्यान जोगाएर आधी रात हाँपदाँप गर्दै हनुमानढोका दरबार आइपुगेका घाइते सुबेदारले भयभीत हुँदै, भक्कानिँदै कान्तिपुरका राजा जयप्रकाश मल्लसमक्ष जाहेर गरे —
‘गोर्खाय् च्वंपिन्सं किपू त्याकल जुजु!’ (गोर्खालीहरूले कीर्तिपुर जिते महाराज!)
पराजयको खबरले जयप्रकाशका नौनाडी गले।
उनको मन घाइते सुबेदारभन्दा बढी घायल भयो।
ओइलाएको फूलझैं उनी लत्रक्कै परे।
आक्रोश र अनिश्चयले थरथरी कामेका दुवै हात शिरतिर लगे।
जयप्रकाशको शिरमा मल्लवंशको राजमुकुट धरोहरका रूपमा धपक्क बलेको थियो। उनले त्यो मुकुट सपक्क मिलाए।
मल्लवंशको अर्को धरोहर मणिमाणिक्य जडित राजगद्दीलाई पनि आफ्ना दुवै हातले मायाले मुसारे।
उनलाई आफ्नो गद्दीको गारो गल्दै गएको अनुभूति हुँदै थियो, सायद!
नहोस् पनि किन; तत्कालीन ललितपुर राज्य मातहत रहेको कीर्तिपुरको हार नेपाल मण्डलमाथि गोर्खालीहरूको सबभन्दा ठूलो जित थियो।
गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान सुरू गरेको पछिल्लो बाइस वर्षमा नेपाल मण्डललाई दक्षिण र पूर्वबाट घेरा हालिसकेका थिए।
नुवाकोट, लामीडाँडा, फर्पिङ, कुलेखानीदेखि धुलिखेल, पनौती, सिन्धुपाल्चोक, दोलखा र मकवानपुरमा समेत गोर्खालीको कब्जा भइसकेको थियो। उनीहरूले पूर्वमा दूधकोसीसम्म सीमा विस्तार गरेका थिए र तिब्बतको खासासम्म सिधै पहुँच पुर्याएका थिए। जुन तिब्बत व्यापारले नेपाल मण्डलको समृद्धि उत्कर्षमा थियो, त्यो व्यापारका दुवै नाका — केरूङ र कुती — गोर्खालीको नियन्त्रणमा थियो।
उपत्यका आसपासका पाँगा, चोभार, साँखु लगायतका नेवार गाउँहरूमा पनि गोर्खालीले विजय पताका फहराइसकेका थिए।
कीर्तिपुरमा भने दुईचोटि नराम्ररी शिकस्त खाए।
पहिलो लडाइँमा गोर्खाली सेनाका ‘काजी’ कालु पाँडेको ज्यान गयो भने दोस्रोमा राजा पृथ्वीनारायणकै साख्खै भाइ शूरप्रताप शाहको देब्रे आँखा फुट्यो। गोर्खाली सैनिकहरू ठूलो संख्यामा हताहत भए।
दुई–दुईचोटि हार खाएका पृथ्वीले घाइते बाघझैं कीर्तिपुरमाथि धावा बोल्न ‘काजी’ वंशराज पाँडे नेतृत्वको पल्टनलाई तेस्रोचोटि दहचोक गढीबाट नगरतर्फ बढाए।
कीर्तिपुरका स्थानीय संरक्षकहरूले गोर्खाली पल्टनबाट आफ्नो बचाउ गर्न कान्तिपुरका राजा जयप्रकाश र ललितपुरका राजा तेजनरसिंह मल्लसँग गुहार मागेका थिए। तर दुवै राजाले थप सैन्य सहायता पठाउन सकेनन्।
अनि आयो त्यो रात — सन् १७६६ मार्च १२, अर्थात् विक्रम सम्बत् १८२२ चैत ३ गते — जब गोर्खालीको हातबाट कीर्तिपुर किल्ला पनि ढल्यो।
र, आधी रात आइपुगेको हारको खबरले जयप्रकाशको गद्दी हल्लियो!
लगभग छ सय वर्षदेखि नेपाल मण्डलमा अकन्टक शासन गर्दै आएको मल्लवंशको विरासतमा मडारिएको विघ्नबाट अत्तालिएर जयप्रकाश मल्लले भक्तपुरका राजा रणजित मल्ल, ललितपुरका राजा तेजनरसिंह मल्लसहित सबै प्रभावशाली ‘प्रधान’ वा मन्त्रीहरूलाई गुह्येश्वरी मन्दिरमा गोप्य परामर्श निम्ति आमन्त्रण गरे।
उक्त गोप्य परामर्शले तीनैवटा मल्लराज्य एक गठ भएर गोर्खालीसँग भिड्ने निर्णय गर्यो।
उनीहरूको ठहर थियो — मल्लराज्यहरूले मिलेर मुकाबिला नगर्ने हो भने धेरै दिन बच्न सकिँदैन!
आफ्नो निर्णय अमल गर्न उनीहरूले आपसमा धर्म पनि भाके।
राजा जयप्रकाश मल्ललाई भने मल्लराज्यहरूको शक्ति एकीकृत पार्दा पनि गोर्खालीसँग मुकाबिला गर्न सकिँदैन भन्ने आभास भइसकेको थियो। लामो समयदेखि आपसमै लड्दै–भिड्दै र खुट्टा तान्दै आएका मल्लराज्यहरूले लडाइँको अन्तिम घडीमा कुनै जालझेलबिना एकअर्कालाई साथ दिन्छन् भन्नेमा उनी पूर्ण विश्वस्त थिएनन्।
यस्तो असमञ्जस घडीमा जयप्रकाशले एउटै उपाय देखे — उत्तरी भारतमा तीव्र गतिले फैलिरहेको ब्रिटिस साम्राज्यसँग सैन्य सहायता माग्ने।
यसरी आफ्नो सुरक्षा निम्ति ब्रिटिस सेना बोलाउँदा नेपाल मण्डलमा फस्टाएको मल्लकालीन कला, संस्कृति, सम्पदा र व्यापार–व्यवसाय चौपट होला भन्ने डर पनि जयप्रकाशलाई थियो। अर्कातिर, नबोलाउँदा निकट भविष्यमै गोर्खालीका हातबाट मल्लवंश पतन हुने प्रस्ट संकेत उनले देखिसकेका थिए।
उनको हालत त्यो यात्रुको जस्तो थियो; जसको अगाडि अजंग पहाड छ, पछाडि गहिरो खाई!
उनले दुवै परिस्थिति मूल्यांकन गरे।
र, आखिरमा गोर्खालीसँग भिड्न ब्रिटिस सहायता लिने निष्कर्षमा पुगे।
सायद उनले सोचे — राज्य रह्यो भने भोलि लाख रणनीति अपनाउन सकिएला!
राज्य नै नरहे केको रणनीति!
जयप्रकाशको यही सोच र निष्कर्षले त्यति बेला हिमाली तथा पहाडी क्षेत्रमा राज्य विस्तार गरिरहेको गोर्खाली सेना र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिस सेनालाई पहिलोपटक सिन्धुलीमा जम्काभेट गराउन मार्गप्रशस्त गर्यो।
हामीले यो कथा शृंखलामा चर्चा गरिरहेको सन् १९२३ डिसेम्बर २१ को नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धिको ऐतिहासिक पृष्ठभूमि यही सिन्धुलीको जम्काभेटसँग जोडिन्छ। त्यसैले, सन्धिको अन्तर्य र सन्धि टुंगोमा पुर्याउन नेपाल र ब्रिटेनबीच दुई वर्षसम्म चलेको अथक नेगोसिएसनमा प्रवेश गर्नुअघि हामी तपाईंहरूलाई त्योभन्दा डेढ सय वर्षअघि सन् १७६७ को घटनामा फर्काउन चाहन्छौं, जब गोर्खाली र ब्रिटिस सेनाको पहिलो आमनासामना भयो।
नेपाललाई १९२३ को सन्धि गर्नुपर्ने ऐतिहासिक आवश्यकता किन पर्यो भनेर बुझ्न दुई देशबीच सिन्धुलीमा भएको पहिलो जम्काभेटको कथा बुझ्नुपर्छ।
यो घटनालाई लिएर नेपालमा दुईवटा ‘न्यारेटिभ’ प्रचलित छ —
इतिहासकार बाबुराम आचार्यले आफ्ना किताबहरू ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ र ‘नेपालको संक्षिप्त वृत्तान्त’ मा गोर्खाली पक्षको कथा भनेका छन्।
लडाइँमा इस्ट इन्डिया कम्पनीका तर्फबाट ब्रिटिस सेनाको नेतृत्व गरेका कप्तान जर्ज किनलकको डायरीले भने अर्को पक्षको कथा भन्छ। किनलकको डायरी इतिहासकार योगेश राजले ब्रिटिस पुस्तकालयबाट संकलन गरेका हुन् र आफ्नो समीक्षात्मक परिचयसहित उनले ‘एक्सपेडिसन टू नेपाल भ्यालीः द जर्नल अफ क्याप्टेन किनलक’ शीर्षकको किताब प्रकाशन गरेका छन्।
हामीले यिनै किताबका आधारमा दुवै न्यारेटिभ सिलसिलेवार उनेका छौं।
त्यो समय नै लडाइँ–भिडाइँको थियो।
शक्तिको एक मात्र स्रोत भूमिलाई मानिन्थ्यो।
जोसँग जति भूमि, ऊ उति शक्तिशाली; र जसको जति शक्ति, उसको उति भक्ति!
त्यसैले राजा–रजौटाहरू आफ्नो भूमिको दायरा फैलाउन चाहन्थे र दूर भूगोलसम्म विजय ध्वज लहराउन चाहन्थे।
यसका लागि काट्नु–काटिनु, सेर्नु–सेरिनु, मर्नु–मारिनु आम कुरा थियो।
आन्तरिक र बाह्य राजनीति दुवैतर्फ हक बढाउने प्रमुख हतियार नै हिंसा थियो, खाली यो हतियार कसले कति प्रयोग गर्छ र कोभन्दा कसले पहिला प्रयोग गर्छ भन्ने मात्र फरक!
फेरि आफूले हतियार उठाएन भन्दैमा धर पाइने अवस्था थिएन — आइ लाग्नेहरूमाथि जाइ लाग्न हतियारको जवाफ हतियारले नै दिनुपर्थ्यो!
आजभन्दा साढे दुई सय वर्षअघि, सन् सत्र सयको उत्तरार्द्धसम्म ५३ भन्दा बढी स्वतन्त्र राज्यमा बाँडिएको अहिलेको नेपाल हिंसाको त्यस्तै भुमरीमा फसेको थियो।
सुदूरपश्चिमको कर्णाली नदी क्षेत्रमा २२ वटा (बाइसे राज्य); गण्डकी नदी आसपास २४ वटा (चौबीसे राज्य); काठमाडौं उपत्यकाभित्र कान्तिपुर, ललितपुर र भक्तपुर गरी तीन मल्लराज्य; दक्षिण र पूर्वी भेगमा मकवानपुर, चौदण्डी र विजयपुर गरी तीन विशाल सेनराज्य र गोरखासमेत स्वतन्त्र राज्यहरू अस्तित्वमा थिए।
यी सबै राज्य कुनै न कुनै किसिमले अर्को राज्यको सेखी झार्ने ताकमै हुन्थे। हरेक समय लडाइँझगडा चलिरहेकै हुन्थ्यो। नेपाल मण्डलका कान्तिपुर, ललितपुर र भक्तपुरबीच नै कयौंचोटि युद्ध छेडिएको इतिहास छ। मल्लराज्यहरूलाई आफ्नो अधीन पार्न सुदूरपश्चिमको खसराज्यदेखि तनहुँ र मकवानपुर समेतले बारम्बार कोसिस गरेकै हुन्।
अर्कातिर, दक्षिणमा हिन्दुस्तानका राजा–रजौटाबीच पनि कसले कति भूमि आर्जन गर्ने र कसलाई कति क्षेत्रफलमा खुम्च्याउने भन्ने होड चलिरहेकै थियो।
यो होडमा अफगानिस्तानबाट फैलिँदै आएको मुगल साम्राज्य र महाराष्ट्रका ‘गौरव’ मानिने छत्रपति शिवाजी महाराजले जग बसालेको मराठा साम्राज्यबीच सबभन्दा चर्को प्रतिस्पर्धा थियो। उनीहरू कोभन्दा को कमझैं आपसमा जुधिरहेका थिए।
यसरी हिमालयदेखि समुद्री तटसम्म राजनीतिक रूपले चिरा–चिरा परेको दक्षिण एसियाको भूखण्डमा लगभग एकै समयतिर दुइटा शक्तिको जबर्जस्त उदय भयो —
पृथ्वीनारायण शाहको गोर्खाली साम्राज्य र तत्कालीन ग्रेट ब्रिटेनको ब्रिटिस साम्राज्य।
जति बेला पृथ्वीनारायण शाह गोर्खा राज्य विस्तारमा द्रुत गतिले अगाडि बढ्दै थिए, ठ्याक्कै त्यही बेला ग्रेट ब्रिटेन मातहतको ‘इस्ट इन्डिया कम्पनी’ पनि हिन्दुस्तानी राजा–रजौटामाथि अधिनायकत्व स्थापना गर्ने अभियानमा थियो।
यता पृथ्वीनारायण नुवाकोट जितेर काठमाडौं उपत्यकाका मल्लराज्यहरूमाथि धावा बोल्दै थिए भने उता ब्रिटिसहरू बंगाल, अवध र बिहारका मुगल शासकमाथि राजनीतिक धाक जमाउने प्रयत्नमा थिए।
दुवै साम्राज्यका निम्ति सन् १७५७, अर्थात् विक्रम सम्बत् १८१४ एउटा महत्वपूर्ण साल रह्यो।
यसै वर्ष गोर्खालीले पहिलोपटक काठमाडौं उपत्यकाको महत्वपूर्ण किल्ला कीर्तिपुर हाने र नराम्ररी हार खाए। ‘काजी’ कालु पाँडेको मृत्युले युद्धको कहिल्यै नभरिने चोट गोर्खालीमाथि पर्यो।
त्यसको लगभग एक महिनापछि नै ब्रिटिसहरूले कलकत्ताबाट डेढ सय किलोमिटर उत्तरमा पर्ने हुग्ली नदी किनारको ‘पलासी’ लडाइँमा महत्वपूर्ण जित हात पारेर हिन्दुस्तानमा ब्रिटिस राज्यको शिलान्यास गरे।
हिन्दुस्तानमा सन् १९४७ सम्म चलेको ब्रिटिसराजको आधारशिला पलासी लडाइँलाई नै मानिन्छ।
त्यसपछि पनि गोर्खा र ब्रिटिस साम्राज्यको विजय यात्रा लगभग उस्तै रह्यो — माथि माथि गोर्खाली फैलिँदै गए, तल तल ब्रिटिस।
सन् १७६४ मा बिहारको पटनाबाट १३० किलोमिटर पश्चिममा पर्ने गंगा नदी किनारको ‘बक्सर’ लडाइँमा ब्रिटिसहरूको अर्को महत्वपूर्ण जित भयो।
पलासी लडाइँले हिन्दुस्तानमा ब्रिटिसराजको जुन आधारशिला खडा गरेको थियो, त्यसलाई बक्सर लडाइँले अर्को उचाइमा पुर्यायो र उत्तरी भारतमा ब्रिटिस अधीनस्थ छुट्टै राज्य निर्माण गर्यो।
यसले गोर्खाली र ब्रिटिस अधीनस्थ राज्यको सीमा इतिहासमै पहिलोपटक एकअर्कासँग जोडिन आइपुगेको थियो।
अनि आउँछ सन् १७६६ —
जब पृथ्वीनारायण शाहको फौजले आधी रात कीर्तिपुरको ‘कोतघर’ मा गोर्खाली विजयध्वज फहरायो।
आधी रातमै कीर्तिपुर लडाइँमा घायल सुबेदार हाँपदाँप गर्दै कान्तिपुरका राजा जयप्रकाश मल्ललाई हारको खबर सुनाउन आए।
र, जयप्रकाशले गोर्खाली साम्राज्यबाट मल्लवंशको विरासत जोगाउन उत्तरी भारतमा राजनीतिक धाक जमाइरहेको ब्रिटिस साम्राज्यसँग सैन्य सहयोग माग्ने निधो गरे।
यसले माथि–माथि, तल–तल आफ्नै हिसाबले फैलिरहेका दुई साम्राज्यलाई पहिलोपटक लडाइँको एउटै मैदानमा आमनासामना गरायो।
सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक। तस्बिर स्रोत: स्टोरी साइकल
जयप्रकाश मल्ललाई ब्रिटिससँग सैन्य सहायता माग्ने जुक्ति काठमाडौं उपत्यकामा रहेका क्रिश्चियन पादरीहरूले सिकाएका थिए।
गोर्खाली नाकाबन्दीले ती पादरीहरूलाई पनि ठूलो अप्ठ्यारो परेको थियो। हुन त पृथ्वीनारायणले ती युरोपेली पादरीहरूलाई भारतको बेतियामा रहेका गिर्जाघरमा आवतजावत गर्ने छुट दिएकै थिए; तर नाकाबन्दीका कारण खाद्यवस्तु, कपडा, कपास लगायतका मालमत्ता ओसार्न उनीहरूलाई गाह्रो परेको थियो। हरेकचोटि आफूले ल्याएका सामान गोर्खाली सिपाहीहरूलाई देखाएर जाँचपड्ताल गराउनुपर्थ्यो।
त्योभन्दा ठूलो कुरा, उनीहरू लामो समयदेखि मल्लराजाहरूको आश्रयमा थिए। त्यसैले मल्लराज्यमाथि परेको विघ्नले उनीहरूको सहानुभूति स्वाभाविक रूपमा त्यता ढल्कियो। पृथ्वीनारायणले काठमाडौं उपत्यका जितेको खण्डमा पहिलेजस्तै यहाँ धर्म प्रचार गर्न पाइन्छ भन्नेमा पनि उनीहरू ढुक्क थिएनन्।
यिनै कारणले कीर्तिपुरको पतनपछि हड्बडाएका जयप्रकाशलाई ती पादरीले ब्रिटिससँग सहयोग माग्ने जुक्ति मात्र सिकाएनन्, त्यसको निम्ति मध्यस्थता गरिदिने बाचा पनि गरे।
त्यसपछि ग्रेट ब्रिटेन मातहतको इस्ट इन्डिया कम्पनीसँग पत्राचारको सिलसिला सुरू भयो।
त्यति बेला ह्यारी वेरलेस्ट नामका व्यक्ति इस्ट इन्डिया कम्पनीको नयाँ गभर्नर भएर बंगालको कलकत्ता आएका थिए। सैन्य सहयोग प्राप्त गर्न गभर्नरको अनुमति अनिवार्य हुन्थ्यो। तर उनलाई सोझै अर्जी पठाउन जयप्रकाशको पहुँच थिएन। त्यसैले उनले घुमाउरो बाटो अपनाए र बिहारको बेतियामा रहेका ब्रिटिस वाणिज्यदूत गोल्डिङमार्फत् गभर्नरसम्म आफ्नो कुरा पुर्याउने निधो गरे।
यसका लागि क्रिश्चियन पादरीहरूले जयप्रकाशको अर्जीपत्र आफ्नो बगलीमा राखेर बेतिया लगिदिन सक्थे। जयप्रकाशले भने राज्यको भविष्यसँग जोडिएको महत्वपूर्ण कूटनीतिमा उनीहरूको भर पर्न उचित ठानेनन्।
जयप्रकाशलाई के थाहा थियो भने, बेतियाका वाणिज्यदूत, पटनाका ब्रिटिस प्रतिनिधि र कलकत्ताका गभर्नरलाई अर्जीपत्र पठाएर मात्र काम बन्नेवाला छैन; उनीहरूलाई बकाइदा नेपालको परिस्थिति बुझाउनुपर्छ र सैन्य सहायताको बदलामा ब्रिटिसहरूलाई के लाभ हुनसक्छ भन्ने पनि सम्झाउनुपर्छ।
त्यसैले जयप्रकाशले दुई जना विश्वासिला दूत बेतिया पठाउने निर्णय गरे।
दूतका रूपमा छनौट भए — कान्तिपुरमा रहेर व्यापार गर्दै आएका ‘उमदा’ नामक कश्मिरी मुसलमान; र तीर्थयात्रा गर्न आउँदा गोर्खाली नाकाबन्दीले कान्तिपुरमै थुनिएका ‘रामदास फकिर’ नामक नागा बैरागी।
दुवै जना गोर्खालीका कट्टर विरोधी थिए र जयप्रकाशबाट पाइआएको आश्रयले उनीप्रति विशेष सहानुभूति राख्थे।
यी दूतहरू १७६७ मार्च आखिरीतिर जयप्रकाशका प्रतिनिधिका रूपमा बेतिया पुगे।
उनीहरूले ब्रिटिस वाणिज्यदूत गोल्डिङलाई अर्जीपत्रको मजबुन सुनाउनुका साथै गोर्खाली नाकाबन्दी र लगातारको हमलाले मल्लराज्यहरूमाथि आइपरेको विषम् परिस्थिति पनि अवगत गराए।
यो पनि भने — ब्रिटिसले जयप्रकाश मल्ललाई सैन्य सहायता दिएर गोर्खाली फौज लखेट्न मद्दत गरेको खण्डमा इस्ट इन्डिया कम्पनीले ठूलो आर्थिक लाभ लिन सक्नेछ।
‘काठमाडौं उपत्यकाको सिमाना चीनको तिब्बतसँग जोडिएको छ। ब्रिटिसको मद्दतबाट गोर्खाली फौजलाई तह लगाउन सकियो भने तिब्बत व्यापारमा प्रयोग हुने केरूङ र कुती नाका फेरि कान्तिपुरकै अधीनमा आउँछ,’ उनीहरूले भने, ‘ती नाका हुँदै इस्ट इन्डिया कम्पनीले सोझै तिब्बतसँग व्यापार गर्न सक्नेछ र यो व्यापार परिमाण निकै ठूलो हुनसक्छ।’
व्यापारिक लाभको अवसर देखेपछि वाणिज्यदूत गोल्डिङका आँखाकान चनाखा भए।
उनी चनाखो हुनु स्वाभाविक पनि थियो। किनभने, सन् अठारौं शताब्दीको मध्यतिर केरूङ र कुती मार्ग हुँदै तिब्बतसँगको व्यापारिक सम्बन्ध निकै फस्टाएको थियो। गोर्खालीले नुवाकोट र सिन्धुपाल्चोक जितेर तिब्बत छिर्ने यी दुवै मार्ग कब्जामा लिएदेखि नै त्यो भेगसँग सम्बन्ध विच्छेद भएको थियो। यसले उपत्यकाका मल्लराज्यको बाटो हुँदै चीनसँग व्यापार गर्ने ब्रिटिसहरूको मनसुबामा पानी फेरिदिएको थियो।
त्यो समय कपास, रेशम, नुन लगायतका वस्तु ठूलो परिमाणमा तिब्बत जान्थे भने कस्तुरी, चौंरी गाईको पुच्छर, मह, मैन, विभिन्न किसिमका तेल, जडिबुटी, कीटनाशक औषधिका रूपमा प्रयोग हुने बोरेक नामक खनिज लगायतका वस्तु तिब्बतबाट तल आउँथे।
यही आर्थिक लाभ विचार गरेर गोल्डिङले जयप्रकाशका दूतहरूलाई पटनास्थित ब्रिटिस हाकिम थमस रम्बोल्डकहाँ पठाइदिए।
साथमा आफ्नो तर्फबाट सिफारिसपत्र पनि लेखिदिए, जसको सार थियो —
‘नेपालका मल्लराजाहरूले हामीसँग सैनिक सहायता माग गरी पत्र पठाएका छन्। हामीले उनीहरूको मागअनुसार सैनिक सहायता उपलब्ध गराउनु नैतिकताको दृष्टिले मात्र होइन, सैन्य दृष्टिले पनि आवश्यक देखिन्छ। यसो गरेमा त्यहाँको एउटा ठूलो सहर बर्बर गोर्खाली सैनिकहरूको हातबाट रक्तपात तथा लुटपाट हुनबाट बच्न सक्छ। साथै, कम्पनी सरकारलाई ठूलो आर्थिक लाभ पनि प्राप्त हुन सक्छ।’
‘गोर्खाली सैनिकहरू अलि अलि गर्दै हाम्रो राज्यक्षेत्रको सिमानासम्मै आइपुगिसकेका छन्। काठमाडौं उपत्यका गोर्खाली सैनिकहरूको नियन्त्रणमा पर्न गयो भने हामीले आफूले कल्पना गरेको ‘सल्ला योजना’ बाट पनि सदाको निम्ति हात धुनुपर्नेछ।’
यहाँ गोल्डिङले चासो देखाएको ‘सल्ला योजना’ ले बेतिया नजिकको सीमावर्ति पहाडी जंगलबाट खोटेसल्लाको रूख काट्ने कार्यक्रमलाई बुझाउँछ।
ब्रिटिसहरूले हिन्दुस्तानका बंगाल, अवध र बिहार राज्यमा आफ्नो राजनीतिक अधिकार कायम गरेदेखि नै सीमावर्ति पहाडी जंगलबाट खोटेसल्लाको रूख काट्न थालेका थिए। यसका लागि दूधकोसीपारिको माझकिराँत र सप्तरीको तराई भूभागसमेत जोडेर बनेको चौदण्डी राज्यका सेन राजाहरूबाट सल्लाका रूख किन्ने गरेका थिए।
खोटेसल्लाको रूखबाट जहाजको मस्तुल (पाल बाँध्न बीचमा उभ्याइने ठूलो लट्ठा) र खोटाबाट बार्नेस बनाउने गरिन्थ्यो। यसले सेनराज्यलाई आर्थिक लाभ भइरहेको थियो। त्यसैले उनीहरू ब्रिटिस सरकारका समर्थक थिए।
यस्तो अवस्थामा काठमाडौं उपत्यका जितेर गोर्खालीको दखल बढ्दै गयो भने सल्ला योजना बन्द गर्नुपर्ला भन्नेमा गोल्डिङको चासो थियो।
यति मात्र होइन, गोर्खाली फैलिँदै गए कम्पनी सरकारको अधिकारमा आएको बेतियामा पनि हमला र लुटपाट मच्चाउन सक्ने शंका गोल्डिङलाई थियो।
‘हाम्रो सैनिक सहायताले गोर्खालीको दखल रोक्न सकियो भने मल्लराजाहरू कृतज्ञ हुनेछन्,’ उनले लेखे, ‘यसबापत् हामीलाई तिब्बत र चीनसम्म सम्बन्ध स्थापित गर्न राम्रो सुविधा प्राप्त हुनेछ।’
गोल्डिङले अगाडि लेखे —
‘सल्ला योजना लागू गर्न र कम्पनी सरकारको अधिकारमा रहेको बेतिया क्षेत्रको सुरक्षा निम्ति पनि हामीले ढिलो वा चाँडो गोर्खालीसँग निर्णायक लडाइँ नलडी सुख छैन। त्यसैले गोर्खालीहरू विशेष शक्तिशाली हुनुभन्दा पहिले नै परास्त गरिहाल्नु बुद्धिमानी हुनेछ। फेरि अहिले यो अभियानका लागि हामीले आर्थिक चिन्ता गर्नुपर्ने आवश्यकता छैन। सम्पूर्ण खर्च मल्लराजाहरू स्वयं बेहोर्न तयार छन्।’
उता पृथ्वीनारायण पनि नेपाल मण्डल वरिपरिका प्रत्येक गौंडामा गुप्तचर परिचालन गरेर मल्लराजाहरूका हरेक गतिविधिमा निगरानी राखेर बसेका थिए।
ब्रिटिस वाणिज्यदूत गोल्डिङसँग जयप्रकाशले साँठगाँठ गर्ने प्रयत्न गरिरहेका छन् भन्ने खबरले पृथ्वीनारायण चनाखो भए।
उनले आफ्नो तर्फबाट पटनास्थित ब्रिटिस हाकिम थमस रम्बोल्डलाई चिठी पठाए —
‘कम्पनी राज्य र मेरो राज्यको सिमाना जोडिइसकेको छ। त्यसैले मेरो सुरक्षाको प्रबन्ध गर्न तयार हुनुहुन्छ भने म तपाईंलाई भेट्न पटना आउनेछु।’
रम्बोल्डले जयप्रकाशको परिस्थिति र पृथ्वीनारायणको पहल दुवैलाई तराजुको दुई पल्लामा तौले।
त्यसपछि दुवैले पठाएका चिठीसहित गोल्डिङको सिफारिसपत्र र आफ्नो रायसमेत कलकत्तामा रहेको कम्पनी सरकारका गभर्नर ह्यारी वेरलेस्टकहाँ पठाए।
रम्बोल्डले गभर्नरका नाममा लेखेको रायमा भनिएको थियो —
‘नेपालसँगको हाम्रो व्यापार सम्बन्धलाई गोर्खालीले पूरापूर ध्वस्त पारिदिएका छन्। त्यसैले मल्लराज्यहरूमाथि लागेको नाकाबन्दी हटाउने प्रयोजनका लागि मात्र होइन, गोर्खाली राजालाई हामीसामु घुँडा टेकाउन पनि नेपालमाथि सैनिक हस्तक्षेप अत्यावश्यक छ भन्ने मेरो राय छ। यसको निम्ति ठूलो सैन्य शक्ति प्रयोग गर्नुपर्दैन, गोर्खालीलाई झुकाउन हाम्रो सामान्य शक्ति नै पर्याप्त हुनेछ।’
उनले आफ्नो रायमा यो पनि भनेका थिए —
‘हामी जयप्रकाश मल्ललाई सैन्य सहायता उपलब्ध गराउँदैछौं भन्ने छनक पृथ्वीनारायण शाहले पाइसकेका छन् भन्ने मलाई लागेको छ। किनभने, उनले लेखेको एउटा पत्र मैले हिजै मात्र प्राप्त गरेको छु। त्यसमा उनले आफ्नो सुरक्षाको प्रबन्ध भए हामीसँग कुरा गर्न पटना आउन तयार छु भनेका छन्।’
रम्बोल्डले पठाएको यस्तो राय गभर्नर वेरलेस्टले इस्ट इन्डिया कम्पनीको विषय समितिमा पेस गरे।
विषय समितिले गम्भीरतापूर्वक छलफल गरेर अप्रिल ३० मा आफ्नो निर्णय दियो।
सुरूमा पृथ्वीनारायणलाई काठमाडौं उपत्यकामाथिको नाकाबन्दी हटाउन शिष्टतापूर्वक आग्रह गर्ने र यसरी आग्रह गर्दा पनि उनी राजी भएनन् भने मात्र जयप्रकाशले भनेअनुसार सैन्य सहायता उपलब्ध गराउने विषय समितिको निर्णय थियो।
इतिहासकार बाबुराम आचार्यका अनुसार यस्तो निर्णय लिइनुमा तीन मुख्य कारण थिए —
एक, गोर्खाली नाकाबन्दीले बन्द भएको मल्लराज्यहरूसँगको व्यापार फेरि चालू गराउन।
दुई, बंगालको कोषबाट सुन रित्तिँदै गएकाले मल्लराज्यसँगको व्यापार चालू गराएर सुन आपूर्ति गर्न।
तीन, मल्लराज्यको बाटो हुँदै सोझै चीनसँग व्यापार सम्बन्ध स्थापना गर्न।
विषय समितिको यही ठहरबमोजिम गभर्नर वेरलेस्टले पृथ्वीनारायणका नाममा प्रत्युत्तर लेख्न रम्बोल्डलाई निर्देशन दिए।
रम्बोल्डले पृथ्वीनारायणलाई पठाएको जवाफी पत्रमा भने —
‘हाम्रा मित्रका रूपमा रहँदै आएका नेपालका मल्लराजाहरूमाथि लागेको नाकाबन्दी तुरून्तै हटाइदिनुहुन हामी अनुरोध गर्छौं। अन्यथा, कम्पनी सरकारको सम्मानको रक्षाका लागि तपाईंलाई आफ्नो शत्रु घोषित गर्न हामी बाध्य हुनेछौं।’
यसमा पृथ्वीनारायणका तर्फबाट सकारात्मक जवाफ आउँदैन भन्नेमा ब्रिटिस अधिकारी विश्वस्त थिए। त्यसैले उनीहरूले जवाफको प्रतीक्षा गरेनन्।
बरू गोर्खालीसँग लड्न जुलाई २१ का दिन सेना परिचालनको आदेश जारी गरे।
र, सैन्य अभियानका नेता चुनिए — कप्तान जर्ज किनलक, जो तत्कालीन इस्ट इन्डिया कम्पनीको एक काबिल अफिसरका रूपमा चिनिन्थे।
सन् १७६६ को बक्सर युद्धमा देखाएको बहादुरीका कारण ब्रिटिस सेनामा उनको निकै वाहवाही थियो।
गोर्खाली फौजविरूद्ध नेतृत्व गर्न छानिएका बेला पनि उनी त्रिपुरा लडाइँ जितेर भर्खरै कलकत्ता फर्किएका थिए।
इस्ट इन्डिया कम्पनीको विषय समितिले कप्तान किनलकका नाममा ‘आफ्नो नेतृत्वमा रहेका सैनिकलाई लिएर कलकत्ताबाट बिहारको मुंगेर हुँदै यथासम्भव चाँडो पटना गएर बस्नू’ भन्ने आदेश जारी गर्यो।
यस्तो आदेश जारी हुनु भनेको गोर्खालीविरूद्ध ब्रिटिसको युद्ध घोषणा थियो।
आदेश प्राप्त भएलगत्तै कप्तान किनलक नेतृत्वको ब्रिटिस फौज कलकत्ताबाट कूच गर्यो र पटना पुग्नेबित्तिकै उनले गोर्खालीविरूद्ध तम्तयारी सुरू गरिहाले।
सबभन्दा पहिला; पटनाबाट काठमाडौं उपत्यकासम्म पुग्ने बाटोको भूगोल, दुरी र बाटोमा आइपर्ने सम्भावित विघ्नबाधाहरू केलाए।
उनी काठमाडौं उपत्यकाको भूगोल मात्र होइन, त्यहाँको राजनीतिबाट पनि बेखबर थिए।
यसबारे जानकारी बटुल्न पटनामा रहेका उच्च अधिकारी रम्बोल्डसँग छलफल गरे। अनि, जयप्रकाशका दुई जना दूत उमदा र रामदास फकिरसँग विस्तृत कुराकानी गरे।
किनलकले सोधे — गोर्खाली फौज कति ठूलो छ?
दूतहरूले भने — पचास हजारभन्दा बढी छैन। तीमध्ये २० हजार सैनिक काठमाडौं उपत्यकाको नाकाबन्दीमा खटिएका छन् भने बाँकी ३० हजार आ–आफ्ना ठाउँमा खेतीपातीमा लागेका छन्।
किनलकले अगाडि सोधे — गोर्खाली सैनिकसँग कस्ता हतियार छन्?
जवाफमा दूतहरूले भने — ब्रिटिस सेनाले जस्तो आधुनिक बन्दुक र तोप उनीहरू प्रयोग गर्दैनन्। गोर्खालीका हतियार भन्नु नै धनुकाँड, तरबार र भाला हुन्। उनीहरू पत्थरकलामा पनि माहिर छन्। ठुल्ठूला ढुंगा शत्रुमाथि बर्साउँछन् र ढुंगाबाट बच्न शत्रुहरू भागाभाग गरिरहेका बेला धनु चलाउँछन्।
किनलकले उपत्यकासम्म पुग्ने बाटोघाटो, रसदपानीबारे पनि सोधीखोजी गरे।
दूतहरूले भने — पटनाबाट जनकपुरसम्मको बाटो समथर छ। सेनालाई कुनै दुःख हुँदैन। त्यसपछि भने पहाडी बाटो सुरू हुन्छ। सिन्धुलीमाडीबाट अगाडि बढेपछि ठाडै उकालो चढ्नुपर्छ।
रसदपानीका सम्बन्धमा भने बाटोमा पर्ने बजारहरूमा चामल पर्याप्त किन्न पाइने र केही समस्या परे किसानबाटै किन्न सकिने जवाफ दिए।
ती दूतले पटनाबाट काठमाडौंसम्म जाने बाटो, दुरी, बास, रसदपानीको बन्दोबस्त लगायत उल्लेख गरेर योजनाको खाका नै किनलकसमक्ष पेस गरे।
योजनाअनुसार पटनाबाट काठमाडौं उपत्यकाको पनौती पुग्न सैन्य दलले ७६ कोस दुरी पार गर्नुपर्थ्यो। यसबीच एघार ठाउँमा बास बस्नुपर्ने र तीमध्ये तीन ठाउँमा मात्र रसदपानी उपलब्ध नहुने उल्लेख थियो।
अन्तिम गौंडा नाघेर उपत्यका छिरेपछि रसदपानीको सम्पूर्ण बन्दोबस्त राजा जयप्रकाश मल्लले नै गर्ने उनीहरूले जानकारी दिए।
जयप्रकाशका दूतहरूले किनलकलाई दिएका धेरै सूचना गलत भएको इतिहासकार बाबुराम आचार्यले आफ्नो किताबमा उल्लेख गरेका छन्।
खासगरी गोर्खाली सैनिक संख्या त बिल्कुलै गलत भएको उनको भनाइ छ।
उनका अनुसार त्यो बेला उपत्यका नाकाबन्दीमा एक–डेढ हजारभन्दा बढी गोर्खाली सैनिक प्रयोग भएका थिएनन्। खेतीपातीमा लागेका जगेडा सैनिकको संख्या पनि दुई–तीन हजारभन्दा बढी थिएन। बाँकी सैनिक जम्मै युद्धको निम्ति तयारी अवस्थामा विभिन्न ठाउँका गढीहरूमा तैनाथ थिए।
‘गोर्खालीले नाकाबन्दीमा तालिमी सैनिकहरू लगेका थिएनन्। रिक्रुटहरूबाट काम लिइएको थियो। तिनमा ब्राह्मण, क्षत्री र मगरसमेत छ्यासमिस थिए,’ आचार्य लेख्छन्, ‘यिनीहरू सहर बस्तीबाहिर पाखो जग्गा आबाद गरी मकै–कोदो, मास–मस्याङ र सागपात पैदा गरी ठाना कुर्थे। यिनलाई नुन र कपडा सरकारबाट प्राप्त हुन्थ्यो। यिनका परिवारको रक्षा सरकारबाट गरिन्थ्यो। तालिमी सैनिकको संख्या दुई हजारभन्दा बढी थिएन।’
जहाँसम्म अन्तिम गौंडा नाघेर उपत्यका छिरेपछि रसदपानीको बन्दोबस्त जयप्रकाश मल्लले नै गर्ने कुरा छ, त्यो पनि सम्भव नभएको आचार्यले लेखेका छन्। त्यति बेलासम्म तीन मल्लराज्यका राजधानी — कान्तिपुर, पाटन र भक्तपुर — बाहेक वरपरका गौंडा जम्मैमा गोर्खालीले दखल गरिसकेका थिए। यस्तोमा गोर्खालीको कडा नाकाबन्दी रहेको काठमाडौं उपत्यकाबाट एक गेडा अन्न पनि बाहिर आउने अवस्था थिएन।
यति मात्र होइन, त्यो समय जनकपुरबाट घना जंगल नाघेर सिन्धुलीतिर बढ्दा त्यत्रा ब्रिटिस फौजलाई पुग्दो रसदपानी किन्ने बजार पनि खासै थिएन। त्यसबीच अलि ठिक्कको बजार भनेको सिन्धुलीमाडी नै हो, तर त्यो पनि गोर्खालीको कब्जामा थियो। गोर्खालीले कब्जा गरिसकेको ठाउँमा उनै गोर्खालीसँग भिड्न आएका ब्रिटिस सेनाका लागि अन्नपानी जुटाउन सहज थिएन। दूतहरूले यो सूचना पनि गलत दिएको देखिन्छ।
किनलकलाई भने यसबारे थाहा हुने कुरै भएन।
दूतले दिएको सूचना पत्याउनुको विकल्प उनीसँग थिएन।
त्यसैले ब्रिटिस अधिकारी रम्बोल्ड र जयप्रकाशका दूतहरूबाट प्राप्त छिपछिपे सूचनाकै भरमा किनलकले गोर्खालीविरूद्ध सैन्य अभियानको थालनी गरे।
१७६७ अगस्ट २६ का दिन कप्तान किनलक नेतृत्वको ब्रिटिस सेना पटनाबाट रवाना भयो।
सिन्धुलीमाडीको खुला फाँट। यहीँबाट पाँच किलोमिटर उकालो चढेपछि पौवागढी पुगिन्छ। तस्बिर स्रोत: स्टोरी साइकल
कप्तान किनलक नेतृत्वको ब्रिटिस सेना जति बेला गोर्खालीसँग भिड्न पटनाबाट रवाना भयो, त्यही बेला गोर्खाका राजा पृथ्वीनारायण शाह नुवाकोट दरबारमा आफ्ना भारदारसँग भेला गर्दै थिए।
पटनाबाट रम्बोल्डले पठाएको धम्कीपूर्ण जवाफी पत्र उनलाई प्राप्त भइसकेको थियो।
मल्लराज्यहरूमाथि लगाइएको नाकाबन्दी तुरून्तै नहटाए गोर्खालीलाई शत्रु घोषणा गर्न बाध्य हुने ब्रिटिसको प्रत्युत्तरले युद्धको प्रस्टै छनक दिएको थियो। पृथ्वी कुनै हालतमा मल्लराज्यलाई माया मार्न तयार थिएनन्। त्यसैले नाकाबन्दी हटाएर गोर्खाली सेना फर्काउने त सवालै आउँदैनथ्यो। यसले ब्रिटिससँग भिड्नुपर्ने परिस्थिति सिर्जना भएको पृथ्वीले राम्ररी बुझिसकेका थिए।
उनले नुवाकोट दरबारमा डाकेको भारदारी सभामा रम्बोल्डको जवाफी पत्र पढेर सुनाए र भने, ‘ब्रिटिसहरूले अब पक्कै गोर्खालीविरूद्ध आक्रमण गर्नेछन्। गोर्खाली र ब्रिटिस सेना पहिलोपटक आमनासामना हुने परिस्थिति बनेको छ।’
पृथ्वीको यस्तो सम्बोधनले भारदारहरू हच्किएनन्, बरू हौसिए।
नहौसिनुपर्ने कारण पनि थिएन। गोर्खालीले केही वर्षदेखि लगातार विजयको स्वाद चाख्दै थिए। दुई–दुईपटक पराजित हुनुपरेको कीर्तिपुर पनि भर्खरै जितिसकेका थिए। नेपाल मण्डलकै बलियो किल्ला मानिएको कीर्तिपुर ढल्नुले गोर्खालीको हौसला बुलन्द थियो।
यस्तोमा ब्रिटिस सेना जतिसुकै ठूलो संख्यामा आए पनि र जतिसुकै धेरै तोप र बन्दुक ल्याए पनि गोर्खालीहरू धनुकाँड, तरबार, भाला र ढुंगाकै भरमा बहादुरीसाथ भिड्न तयार छन् भनेर भारदारहरूले पृथ्वीको आँतमा ऊर्जा भरे।
भारदारहरूको भर पाएर पृथ्वीको छाती चौडा भयो।
उनले ब्रिटिससँग पहिलो लडाइँका लागि तयार रहन सेनालाई हुकुम दिए; र सँगसँगै तराईबाट काठमाडौं छिर्ने सबै गौंडामा रहेका गढहरू मजबुत बनाउन निर्देशन पठाए।
पृथ्वीले ब्रिटिस सेना पटनाबाट जनकपुर हुँदै नेपाल हान्न आउँदैछ भन्ने खबर गुप्तचरहरूबाट पाएका थिए। जनकपुर हुँदै आउँदा सिन्धुलीको बाटो नै सबभन्दा सजिलो र छोटो पर्थ्यो। त्यसैले उनले सिन्धुलीगढीको संरक्षक रहेका ‘खजाञ्ची’ वीरभद्र उपाध्यायलाई आवश्यक सैन्य सहायता उपलब्ध गराउन कीर्तिपुरमाथि फतह गरेका ‘काजी’ वंशराज पाँडेको नेतृत्वमा एक हजारजति गोर्खाली सैनिक सिन्धुलीगढीतर्फ खटाए। सिन्धुलीदेखि जनकपुरसम्मका बाटामा पर्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा बसोबास गराउन पनि वंशराजलाई आदेश दिए।
ब्रिटिस सैनिक मकवानपुरको हरिहरपुरगढी हुँदै काठमाडौं उपत्यका छिर्ने सम्भावना पनि उत्तिकै थियो। यसलाई विचार गरेर पृथ्वीनारायणले हरिहरपुरगढीको सुरक्षा निम्ति तीन सयजति गोर्खाली सैनिक परिचालन गरे।
र, आफू चाहिँ भर्खरै जितेको कीर्तिपुर आएर त्यहीँबाट सिन्धुली लगायत वरपरका गढी र गौंडाहरूमा सैनिक परिचालनको बन्दोबस्त मिलाउन थाले।
यसबीच ब्रिटिस सेना जयप्रकाशका दूतहरूलाई पथप्रदर्शकका रूपमा अघि लगाएर पटनाबाट सिन्धुलीतर्फ बढ्दै थियो। महिला र नोकरचाकरसमेत गरी २४ सय सैनिक थिए। यिनमा केही अंग्रेज र धेरैजसो हिन्दुस्तानी सिपाही थिए।
गर्मी याम सुरू भइसकेको थियो। प्रचण्ड तातोले तराईको हावापानी ब्रिटिस सेनाको निम्ति अस्वस्थकर हुँदै थियो। यस्तो समय उनीहरूले गोर्खाली फौजको मात्र होइन; बर्खाको अविरल झरी र लामखुट्टेले सार्ने औल रोग सामना गर्नुपर्ने नौबत पनि आउँदै थियो।
हुन त ब्रिटिसहरूले गर्मी, बर्खा र औलको खतरा टरेपछि मात्र काठमाडौं हान्न उचित हुने धारणा नराखेका होइनन्। तर ब्रिटिस अधिकारीमाझ जयप्रकाशको पक्षमा वातावरण मिलाउन गएका क्रिश्चियन पादरीहरूले त्यति बेलासम्म धेरै ढिला भइसक्ने तर्क गरे।
औल पर्खेर बसुञ्जेल गोर्खालीले उल्कै गरिसक्ला भन्ने पादरीहरूलाई डर थियो।
त्यही भएर ती पादरीले ब्रिटिस अधिकारीहरूलाई सम्झाए, ‘छिट्टै सैन्य अभियान सञ्चालन गरिएन भने जयप्रकाशले गोर्खाली हस्तक्षेपबाट आफ्नो राज्य बचाउन सक्ने छैनन्। त्यसपछि सैन्य सहायता पठाउनु र नपठाउनुको कुनै अर्थ हुँदैन।’
यही राय अमल गर्दै किनलक नेतृत्वको सेना प्रचण्ड गर्मी र मध्य बर्खाबीच नै अघि बढ्दै गयो र पटनाबाट हाजिपुर, दरभंगा, बघाहा लगायतका हिन्दुस्तानी भूभाग हुँदै नेपाली सरहदमा प्रवेश गर्यो।
यसबीच उनीहरूले रसदपानीको कमी महसुस गर्न थालिसकेका थिए। बीचका बजारबाट पुग्नेजति उपलब्ध हुन सकेको थिएन।
किनलकले आफ्नो डायरीमा लेखेअनुसार रसदपानी बन्दोबस्त गर्न धन्दो चौधरी भन्ने ठेकेदारलाई जिम्मा दिइएको थियो। ती ठेकेदारले जनकपुर पुगेपछि पर्याप्त आपूर्ति हुने आश्वासन दिएका थिए।
तर जसै ब्रिटिस फौज जनकपुर पुग्यो, उनीहरूले त्यहाँको बजार र बस्ती सुनसान देखे।
जनकपुरका हाटबाट अन्नपात गायब पारिएको थियो।
ब्रिटिस फौज आउँदैछ भन्ने खबर गाउँभरि फैलिएकाले स्थानीय व्यापारी तथा किसानहरूले आफूसँग भएका अन्नपात र अन्य सरसामग्री लुकाएका थिए।
यस्तो हुनुमा पृथ्वीनारायणले परिचालन गरेका गोर्खाली गुप्तचरको ठूलो हात थियो। उनीहरूले ब्रिटिस सेनालाई कुनै हालतमा सहयोग नगर्नू भनेर गाउँलेलाई सम्झाएका थिए। लुटपाट र आक्रमणको भय देखाएर जनकपुरदेखि सिन्धुलीमाडीसम्मको बाटोमा पर्ने गाउँहरू पनि खाली गर्न लगाएका थिए।
पृथ्वीको यो रणनीति गोर्खालीको निम्ति मद्दतगार साबित भयो।
जनकपुरजस्तो सुगम बजारमा त अप्ठ्यारो पर्यो भने अगाडि दुर्गम गाउँहरूको अवस्था के होला भनेर किनलक हड्बडाए। खानेकुराकै अभावले सिपाहीहरू हायलकायल हुने त होइनन् भनेर मनमा चिसो पसेको उनको डायरीबाट बुझिन्छ।
मनमा चिसो पसे पनि किनलकले आफ्नो मुहार चाउरिन दिएनन्।
ग्रेट ब्रिटेनको शक्तिशाली सेनाको नेतृत्व सम्हालेका कप्तानलाई जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि अप्ठ्यारो मान्ने सहुलियत थिएन।
उनले जयप्रकाशका दूतहरूसँग सरसल्लाह गरे।
दुवैले सिन्धुलीमाडी पुगेपछि अन्नपात प्रशस्त पाइने आश्वासन दिए।
जनकपुरबाट चार दिनको यात्रामा ब्रिटिस फौज सिन्धुलीमाडी पुग्यो।
यहाँ दुइटा महत्वपूर्ण घटना भए —
पहिलो, जयप्रकाशका दूतहरूले भनेजस्तो सिन्धुलीमाडीमा पनि अन्नपात किन्ने ठाउँ उपलब्ध भएन।
जनकपुरजस्तै सिन्धुलीमाडी बजार पनि ब्रिटिस सेना पुग्नुभन्दा अगाडि नै सुनसान थियो। बजारबाट एक गेडो अन्न बाँकी नराखी गायब पारिएको थियो। बस्तीमा मान्छेहरू पनि खासै थिएनन्। कामविशेषले बसेका फाट्टफुट्टबाहेक बाँकी सबै बस्ती रित्तो पारेर अन्यत्र सरिसकेका थिए। यसका पछाडि गोर्खाली गुप्तचर र सैनिकहरूकै ठूलो हात थियो।
दोस्रो, जनकपुरबाट सिन्धुली हुँदै काठमाडौं उपत्यका छिर्ने बाटोमा गोर्खालीको पहिलो मुख्य गढी सिन्धुलीमाडीमै पर्थ्यो। तर ब्रिटिसको सैन्य बल ठूलो भएको खबर पाएपछि पृथ्वीनारायणले सिन्धुलीमाडीको गढी पहिल्यै खाली गराइसकेका थिए।
जनकपुरदेखि सिन्धुलीमाडीसम्मको बाटो समथर भएकाले शत्रुका तोपहरू सजिलै आइपुग्ने; र ती तोपसँग धनुकाँड र भालाको भरमा भिड्न कठिन पर्ने हुँदा उक्त गढी खाली गराउनू भन्ने पृथ्वीको आदेश थियो।
उनले सिन्धुलीमाडीमा रहेका सैनिकलाई गढी छाडेर आठ किलोमिटर माथि सिन्धुली भञ्ज्याङमा रहेको पौवागढीमा तैनाथ हुन निर्देशन दिएका थिए।
सिन्धुलीमाडीबाट पौवागढी पुग्न ठाडो उकालो चढ्नुपर्थ्यो। ब्रिटिसहरूलाई यो उकालो तोप चढाउन गाह्रो पर्ने र तलबाट उक्लिरहेका शत्रु सिपाहीलाई माथिबाट ढुंगा वा अन्य हतियारले आक्रमण गर्न सजिलो पर्छ भन्ने पृथ्वीको रणनीति थियो। यसका लागि ‘शिकारी’ अफिसर वंशु गुरूङलाई धुलिखेलदेखि दुम्जासम्म रहेका पाँच सयजति सैनिक दलका साथमा पौवागढी रवाना गराइसकेका थिए।
आखिर भयो पनि त्यस्तै!
यहाँसम्म आइपुग्दा ब्रिटिस फौज एक महिनाभन्दा बढीको यात्राले थकित र गलित भइसकेको थियो।
यो एक महिनामा उनीहरूले सय जुनी बराबरको कष्ट झेलेका थिए, जसको एक–एक वर्णन किनलकले आफ्नो डायरीमा गरेका छन्।
उनका अनुसार अविरल झरीले धेरै ठाउँमा बाटो हिलाम्मे र दलदले थियो। ठाउँ ठाउँमा बाटो झुक्किँदा एउटै नदी दर्जनौंचोटि तर्नुपरेको थियो। बर्खेभेल उर्लिएको नदी तर्नु आफैंमा महाभारत त छँदै थियो, त्यसमाथि डुंगा बन्दोबस्त गरेर ठुल्ठूला तोप तार्नु झन् ठूलो कष्टसाध्य थियो।
कयौंचोटि भनेजस्तो डुंगा फेला नपर्दा नदी तरेर अगाडि बढ्नै धौधौ भयो। कहिले सानो डुंगा भेटिन्थ्यो, जसले अजंग तोपको वजन धान्न सक्दैनथ्यो। कहिले ठूलो डुंगा फेला पर्थ्यो, त्यस्तो बेला नदी भने एकदमै सानो हुन्थ्यो।
उनीहरू जसोतसो नदी त तर्थे; अर्को किनारमा आँखाले भ्याउनै गाह्रो पर्ने दलदल पर्खिरहेको भेटिन्थ्यो, जसलाई पार गर्न अप्ठ्यारो मात्र होइन, असम्भवै हुन्थ्यो।
लगातार परेको पानीले पनि ब्रिटिसहरूलाई पर्नु पीर पारेको थियो। न उनीहरू रफ्तार पक्रेर हिँड्न सक्थे, न बास बस्दा आराम पाउँथे। कयौं दिन, कयौं रात झरीमा निथ्रुक्क भिजेर हिँड्दा थुप्रै सिपाही उठ्नै नसक्ने गरी थला परे।
एकचोटि ब्रिटिस सेनाले नदी किनार शिविर लगाएको थियो। आकाशमा डम्म बादल मडारिएको मौसम थियो। नदीमा पानीको भेल उर्लिएको थियो। झरी रोकिने नामनिसान थिएन। बाढीले शिविर नै बगाउला भनेर किनलक भयभीत थिए। त्यस्तो भयो भने सैनिकहरूको ज्यानको जोखिम त छँदै थियो, सँगसँगै खाद्यान्न र बारूदसमेत सोत्तर हुन सक्थ्यो।
जयप्रकाशका दूतहरूले भने यत्तिको मौसममा बाढी आउँदैन भनेर आश्वासन दिए।
तर भइदियो के भने, त्यो रातभरि पानी रोकिएन। अविरल झरीले नदीमा यस्तरी बाढी उर्लियो, किनलक शिविरसमेत झन्डै २५ मिटर पर हुत्तिए।
बिहान उनले देखे — शिविरमा रहेको एकदिनको अन्न र ठूलो परिमाणको बारूद पानीले भिजेर धुस्नु भएछ।
चार जना सिपाही पनि बाढीमा बेपत्ता भएछन्।
यति मात्र कहाँ हो र!
शत्रुको शिकार गर्न आएका सिपाहीहरू सिन्धुलीको घना जंगलभित्र आफैं औल सार्ने लामखुट्टेको शिकार भए। कति त औल लागेर निस्लोट बिरामी परे। घना जंगलमा बाघ, भालु, जंगली हात्ती लगायतका हिंस्रक जनावरको डर उत्तिकै थियो।
पटनादेखि सिन्धुलीसम्मको यात्रामा जति सैनिक लामखुट्टेको शिकार भए, त्यति त शत्रुको हातबाट पनि नमरेको किनलकले डायरीमा लेखेका छन्।
जंगली जनावरको भय र मौसमी प्रतिकूलताबाहेक रसदपानीको संकट त सुरूदेखि अजिंगरझैं मुख बाएर बसेकै थियो।
बाटोभरि ठाउँ–ठाउँमा रसदपानी किन्न पाइन्छ भन्ने दूतहरूको दाबी पटकपटक गलत साबित भयो। खाद्यान्न आपूर्ति गर्ने ठेकेदारले पनि ज्यादातर निराशै पारे। उनले चाहिएका बेला अन्नपानीको प्रबन्ध कहिल्यै गर्न सकेनन्। जुन बेला निकै गाह्रो पर्थ्यो, ती ठेकेदार आफैं गायब भइदिन्थे।
ठेकेदारको सबभन्दा ठूलो ‘नालायकी’ त्यति बेला देखियो, जब लडाइँ उत्कर्षमा पुगेका बेला उनी जम्मा एक गाडा खाद्यान्न लिएर आइपुगे। किनलकले त्यो दिनलाई ‘भोकमरीको नवौं दिन’ भनेका छन्।
पटना छाडेदेखि अघाउँजी खान नपाएका ब्रिटिस सैनिकहरूले लगभग दुई साता नै भोकभरीमा बिताएको उनको भनाइ छ। त्यो बेला उनीहरू या त भोकभोकै बस्थे या एकदमै कम खान्थे। जंगलमा भेटिने रूखका जरा र पातपतिंगर खाएर भोक मेट्नुपर्ने अवस्थाधरि आएको किनलकको डायरीमा छ।
एकदिन त कस्तो स्थिति आयो भने, भोकले आलसतालस भएर किनलक स्वयंले आफ्ना सिपाहीहरूसँग एक मुठी चामल मागेर खानुपर्यो।
यात्रामा आइपरेका यस्ता अनेक विषम् परिस्थितिले कप्तान किनलकलाई हतास बनाएको थियो, तर हौसला हारेका थिएनन्।
त्यही हौसलाको भरमा बचेखुचेको रसदले आधा पेट भरेर उनी सिन्धुलीमाडीबाट खुर्कोटतर्फ बढे।
हजार निराशाबीच पनि सिन्धुलीमाडीबाट अगाडि बढ्दा किनलकको मनमा आशाको एउटा झिल्को सञ्चार हुँदै थियो।
सिन्धुलीमाडीजस्तो संवेदनशील गढी खाली देखेर कतै गोर्खालीहरू उपत्यका नाकाबन्दीमै अलमलिएका त छैनन् भन्ने उनलाई लागेको थियो।
तर उनलाई एउटा कुराको पत्तो थिएन —
सिन्धुलीको जुन डाँडो छिचोलेर खुर्कोट पुग्ने लक्ष्यका साथ उनी हिँडेका थिए, त्यही डाँडोको बीचतिर कतै गोर्खाली सैनिकहरू पूरापूर तयारीका साथ बाटो ढुकेर बसेका छन्।
गोर्खाली र ब्रिटिस सेनाबीच पहिलो आमनासामना भएको सिन्धुलीको पौवागढी। तस्बिर स्रोत: स्टोरी साइकल
सिन्धुलीमाडीबाट पौवागढीसम्मको पाँच किलोमिटर उकालोमा लगभग बीचतिर ढुंग्रेबास भन्ने ठाउँ पर्छ।
जंगलबीचको त्यही सुनसान ठाउँमा ‘शिकारी’ वंशु गुरूङ नेतृत्वको धनुर्धारी सैनिक गण ब्रिटिसहरूको बाटो ढुकेर बसेको थियो।
जसै ब्रिटिस सिपाहीहरू स्याँस्याँ र फ्याँफ्याँ गर्दै थकित हालतमा ढुंग्रेबास पुगे, रूखका आडमा लुकिछिपी निशाना साँधेर बसेका धनुर्धारी गोर्खाली सिपाहीले हमला बोलिहाले।
आकाशबाट असिना बर्सिएझैं पहाडका कुना कुनाबाट बर्सिएको बाणले ब्रिटिस सिपाहीहरू रक्तमुच्छेल हुँदै भुइँमा ढल्न थाले।
उनीहरू एक्कासि भएको आक्रमणबाट सम्हालिन पाएकै थिएनन्, त्यही बेला सिन्धुली भञ्ज्याङको मोहडामा रहेको पौवागढीबाट वीरभद्र उपाध्याय नेतृत्वको बन्दुकधारी गोर्खाली सैनिकहरू कमिलाको सलहजस्तो गुटुटुटु तल झरे र ब्रिटिस सिपाहीलाई ड्याम–ड्याम बन्दुकको निशाना बनाए।
सँगसँगै, ‘काजी’ वंशराज पाँडे पनि आफ्नो फौज लिएर ब्रिटिसमाथि जाइलग्न आइपुगे। कतिलाई खुकुरीले छप्काए, कतिको घाँटी सेरे।
धनुबाण, बन्दुक र खुकुरीका अतिरिक्त अर्काथरी हतियार पनि गोर्खालीले मैदानमा उतारेका थिए — सिस्नुका घारी र बच्छयुँका ठुल्ठूला गोला।
खासमा मकवानपुरका राजाले सिन्धुली हुँदै आउने विपक्षी सेनाको प्रतिकार गर्न पहिले नै सिस्नुका घारी र बच्छयुँका गोलाको ‘चक्रव्यूह’ बनाएर राखेका थिए। युद्धमा यस्ता प्राकृतिक हतियारको सामरिक महत्व बुझेर गोर्खालीले पनि नाश गरेनन्, बरू पहिलेभन्दा सुरक्षा दिएर झन् झन् फस्टाउने वातावरण बनाए।
तिनै सिस्नुका घारी र बच्छयुँका गोला यति बेला गोर्खालीको निम्ति बरदान साबित भए।
सेना, सिस्नु र बच्छ्युँको चौतर्फी कहर ब्रिटिस सिपाहीहरूले धान्नै सकेनन्।
सास फुल्ने गरी उकालो चढेर थकित भएका, कयौं दिनदेखि खान नपाएर भोकाएका र औल ज्वरोले निस्लोट परेका ब्रिटिस सिपाही या त माथिबाट हुरीझैं बत्तिँदै आउने गोर्खालीका खुकुरीको शिकार हुन्थे, या भागाभाग गर्दा सिस्नु घारीमा खसेर आत्थाआत्थु गर्न थाल्थे, या बच्छ्युँको निशानामा पर्थे।
हेर्दाहेर्दै ब्रिटिस फौजमा अफरातफरी मच्चियो।
भाग्न खोज्नेहरू सिस्नु घारीको घेराबन्दीमा जाकिए, नभाग्नेहरू खुकुरीको छप्काइ र बच्छ्युँको टोकाइले भुइँमा लम्पसार परे।
चकमन्न जंगल घाइते सिपाहीहरूको चित्कारले भरियो।
भुइँको माटो र रूखका पातहरू रगतले लाल भए।
ढुंग्रेबासबाट पौवागढीसम्मको बाटोमा ब्रिटिस सिपाहीहरूको लाश र हिँड्न नसक्ने घाइते शरीरको उरूङ लाग्यो।
आधाभन्दा बढी ब्रिटिस सैनिक हताहत भए।
बचेका सिपाही पनि अब सकिन्न भन्दै बन्दुक फालेर जंगलमा भागाभाग गर्न थाले।
कप्तान किनलक ती सिपाहीलाई अघि–पछि लगाएर जुन बाटो आएको हो, त्यही बाटो जनकपुर फर्किन बाध्य भए।
यो सन् १७६७ सेप्टेम्बर २७ को घटना हो — विक्रम सम्बत् १८२४ असोज १५ गते।
त्यस दिन गोर्खालीसँगको पहिलो लडाइँमा ब्रिटिस सेना नराम्ररी पराजित भयो।
कप्तान किनलकले उक्त हारको केही दोष जयप्रकाशका दूतहरूलाई दिएका छन्, जसले बाटोमा कुन–कुन ठाउँ गोर्खाली फौज तैनाथ हुनसक्छ भन्ने सही सूचना दिन सकेनन्।
उनीहरूले जुन–जुन ठाउँमा गोर्खाली उपस्थितिको संकेत गरेका थिएनन्, ती–ती ठाउँमा गोर्खालीहरू किल्ला बनाएर बसेका थिए। र, किल्लाको माथिल्लो भागबाट ठुल्ठूला ढुंगा असिनाझैं बर्साए।
किनलकले यस्तो त्रुटि कसरी भयो भनेर प्रश्न नगरेका होइनन्। उनीहरूको जवाफ थियो, ‘हामी पहिले हिँड्दा यहाँ गोर्खाली सैनिक थिएनन्। अहिले पक्कै पनि ब्रिटिसले हमला गर्दैछ भन्ने सुइँको पाएर किल्ला बनाएका हुन्।’
यति मात्र होइन, ब्रिटिसलाई साथ दिन सिन्धुलीसम्मै आउने भनेको जयप्रकाश मल्लको सेना पनि कहीँ कतै देखा नपरेको किनलकको भनाइ छ।
यसरी कप्तान किनलकले पहिलो कोसिसमा हार खानुपरे पनि हरेस भने खाएनन्।
ब्रिटिस सेनामा रणकौशलयुक्त सिपाहीको ख्याति कमाएका किनलक नेपाल हान्ने अर्को उपायको खोजीमा लागे।
जनकपुरबाट बागमतीको किनारै किनार हरिहरपुरगढीतर्फ लागेर त्यहाँबाट मकवानपुर हुँदै काठमाडौं उपत्यका छिर्न सकिन्छ भन्ने उनलाई थाहा थियो। पटनामा लडाइँको योजना बनाउँदा जयप्रकाशका दूतहरूले नै उनलाई यो वैकल्पिक बाटो चिनाएका थिए।
किनलकले केही समय जनकपुरमै बसेर घाइते सिपाहीको उपचार गराए। केही दिन आराम गर्न दिए। भारतको दरभंगाबाट रसदपानीको बन्दोबस्त पनि गराए।
त्यसपछि फेरि काठमाडौं उपत्यकामा धावा बोल्ने उद्देश्यसहित बागमतीको किनारै किनार अघि बढे।
त्यति बेलासम्म उनको सैनिक संख्या २४ सयबाट आठ सयमा झरिसकेको थियो।
उनी जान त गए, तर यसपालि पनि मौसमले साथ दिएन।
त्यो समय बागमतीमा ठूलो बाढी आएको थियो। नदी पार गर्न उनीहरूले काठको पुल बनाए। तर पुल बाँध्न मात्र के खोजेका थिए, बर्खेभेलले बनिसकेको काठेपुल ह्वात्तै बगाइदियो।
ब्रिटिस फौज जसोतसो खुँडाघाटसम्म पुग्यो।
यसबीच किनलक खुँडाघाट पुगेको खबर पाएपछि पृथ्वीनारायणले कान्तिपुर राज्यको घेराबन्दीमा लागेका रामकृष्ण कुँवरलाई थप सैनिक बलका साथ हरिहरपुरगढी दौडाए। त्योभन्दा अगाडि युद्धको तयारी क्रममै उनले हरिहरपुरगढीको सुरक्षा निम्ति तीन सयजति गोर्खाली सैनिक परिचालन गरिसकेका थिए।
हरिहरपुरगढी। तस्बिर स्रोत: स्टोरी साइकल
जब किनलकले गोर्खालीको सैन्य तयारीबारे चाल पाए, तब सिन्धुलीकै नियति होला भनेर अगाडि बढ्ने आँट गरेनन्।
त्यति बेला उनको स्वास्थ्य पनि ठिक थिएन। सिन्धुली लडाइँदेखि नै उनलाई औलले समातेको थियो र दिनप्रतिदिन ज्वरो चढ्दै थियो।
उनी आफ्नो साथमा रहेका आठ सय सैनिक लिएर खुँडाघाटबाटै फर्किन बाध्य भए र रौतहटको बाटो हुँदै अहिलेको बारा जिल्लामा आएर सैन्य शिविर स्थापना गरे।
लडाइँको मैदानबाट बारा आइपुग्दासम्म उनी निस्लोट ज्वरोले उभिनधरि नसक्ने हालतमा थिए। उनलाई सिपाहीहरूले बोकेर ल्याउनुपरेको थियो। बेतियास्थित ब्रिटिस वाणिज्यदूत गोल्डिङले अत्यन्तै दीनहीन अवस्थामा कप्तान किनलकलाई सम्हालेका थिए।
नेपालसँग जोडिएको यो पहिलो सैन्य अभियानमा ब्रिटिसहरू काठमाडौं उपत्यका छिर्न नसके पनि किनलकले बारा, पर्सा, रौतहट लगायत तराईको ठूलो भूभागमा आफ्नो पूर्ण आधिपत्य स्थापना गरेका थिए।
उनले पटनाका ब्रिटिस अधिकारी थमस रम्बोल्डलाई लेखेको एउटा पत्रमा भनेका थिए —
‘मेरो पूरा हार भएको छैन, सालको बीस लाख आय हुने जंगलसहितका भूभागमा अधिकार गरेको छु।’
उक्त भूभागमा तीन वर्षसम्म ब्रिटिसको नियन्त्रण रह्यो। यसबीच गोर्खालीले हरेक साल चौध हात अग्ला हात्तीहरू नजराना चढाउनुपर्थ्यो। पछि तराईको प्रतिकूल मौसममा उनीहरू टिकेर बस्न सकेनन्। प्रचण्ड गर्मी र औलले धेरै अधिकारी बिरामी परे। कतिको ज्यानै गयो। यही अवस्था हेरेर ब्रिटिसले निश्चित रकम हर्जाना तिराउँदै उक्त भूभाग नेपाललाई नै फिर्ता गर्यो।
कप्तान किनलकको मनमा सिन्धुलीको हार खिल बनेर गढेको थियो। उनले हिउँदमा पूर्ण तयारीका साथ काठमाडौं हान्न कलकत्तास्थित ब्रिटिस गभर्नरसँग अनुमति मागेका थिए। यसका लागि केही प्रभावशाली स्थानीय राजाहरूलाई ब्रिटिसको पक्षमा मिलाउन सफल पनि भएका थिए।
तर उनको प्रस्ताव स्वीकृत भएन।
ठिक त्यही बेला दक्षिण भारतमा राजा हैदर अलि र इस्ट इन्डिया कम्पनीबीच तानातान सुरू भयो। त्यही तानातानका कारण बंगाल र बिहारमा रहेका आफ्ना सैनिकलाई दक्षिण भारतमा परिचालन गर्ने निर्णय कम्पनी सरकारले गर्यो।
कप्तान किनलक नेतृत्वको सैन्य टोली १७६८ फेब्रुअरी १६ मा फिर्ता गयो।
किनलकको फिर्तीसँगै ब्रिटिसको सैन्य सहयोगमा कान्तिपुर राज्य जोगाउने जयप्रकाश मल्लको इच्छा पूरा हुन पाएन। गोर्खालीहरूले त्यसको केही महिनामै कान्तिपुरमाथि विजय गरे। पछि ललितपुर र भक्तपुरसहित पूरै उपत्यकामा गोर्खाली झन्डा फहरायो। मल्ल शासनको अस्तित्व पूरै मेटियो।
उता नेपालबाट फर्केको झन्डै तीन महिनापछि मे १० मा किनलकको निधन भयो।
जसरी किनलकको सैन्य अभियान अधुरै रह्यो, उनले लडाइँ क्रममा टिपेको डायरी पनि अधुरै सकिन्छ।
इतिहासकार योगेश राजले संकलन गरेको उक्त डायरीमा किनलकले आफ्नो अन्तिम वाक्यधरि पूरा गरेका छैनन्।
त्यो वाक्य त कहिल्यै पूरा भएन, तर नेपालविरूद्ध ग्रेट ब्रिटेनको सैन्य अभियानले ४७ वर्षपछि सन् १८१४ मा फेरि उफान मच्चायो। त्यति बेलासम्म पृथ्वीनारायण शाहका भाइ–छोराहरूले पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको विशाल भूभागमा अधिकार जमाइसकेका थिए।
आजको नेपाल निर्माणमा १७६७ को जित जति ऐतिहासिक र महत्वपूर्ण छ, टिष्टादेखि काँगडासम्म लेखिएको राज्य विस्तारको गाथाले विजयको जति गर्विलो अनुभूति दिन्छ; १८१४ को युद्ध नेपालको इतिहासमा त्यति नै ठूलो चोटका रूपमा रहेको छ।
झन्डै डेढ वर्षको त्यो युद्ध अवतरण गराएको सुगौली सन्धिमा नेपालले आफ्नो एकतिहाइ भूभाग मात्र गुमाएन, त्यसपछि सय वर्षभन्दा बढी अवधिसम्म ग्रेट ब्रिटेनसामु पराजित मानसिकता लिएर बस्नुपर्यो।
ऐतिहासिक जितपछि भोग्नुपरेको त्यो ऐतिहासिक हार नै १९२३ सन्धिको मुख्य कारण हो, जसलाई कतिपय इतिहासकारले सुगौली सन्धिको घाउमा मह्लम लगाउने कोसिस भनेका छन्।
१७६७ को ऐतिहासिक जितबाट हामी कसरी सुगौली सन्धिको ऐतिहासिक हारसम्म पुग्यौं?
सुगौली सन्धिको हार १९२३ सन्धिको मह्लमसम्म कसरी आइपुग्यो?
कथा शृंखलाको अर्को अध्यायमा हामी नेपाल पराजित भएको सुगौली सन्धिको लडाइँ र त्यसले तयार पारेको १९२३ सन्धिको पृष्ठभूमिबारे चर्चा गर्नेछौं।
...
१९२३ को सन्धि शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्