आजभन्दा करिब १८ वर्षअघि, २०६४ सालतिरको कुरा हो।
१३ वर्षका एक बालकलाई काठमाडौंको क्षत्रपाटीबाट 'भ्वाइस अफ चिल्ड्रेन' (भिओसी) ले उद्धार गर्यो। ती बालकसँग सोधपुछ गर्दा उनले आफ्नो घर नुवाकोटको छाप भन्ने ठाउँमा रहेको बताए।
भिओसीले ती बालकलाई आफ्नो संरक्षणमा राख्यो र उनको घरपरिवार खोज्न थाल्यो।
करिब डेढ वर्ष खोजेपछि उनको घरपरिवार पत्ता लाग्यो।
भिओसीकी संयोजक अप्सरा महत आफ्ना एक सहकर्मीका साथमा ती बालकलाई लिएर काठमाडौंबाट निस्किइन्।
सुन्दरीजलको बाटो हुँदै उनीहरू बालकको घर पुगे।
घरमा एक महिला पिठ्युँमा सानो बच्चा बोकेर आँगन बढार्दै थिइन्।
अप्सर घरको आँगनमा टुसुक्क बसेर ती महिलासँग कुराकानी गर्न थालिन्।
महिलाले अप्सरालाई सोधिन्, 'कहाँ जान लाग्नुभयो तपाईंहरू? कति टाढाको यात्रा हो?'
अप्सराले आफूसँगै लिएर गएका बालकलाई देखाउँदै भनिन्, 'हामी यी बाबुको घर खोज्दै हिँडेको।'
ती महिलाले पुलुक्क बालकतिर हेरिन्, तर उनको अनुहारको भावमा कुनै परिवर्तन आएन।
'तपाईं यो बाबुलाई चिन्नुहुन्छ?' अप्सराले सोधिन्।
'अहँ,' ती महिलाले छोटो जबाफ दिइन्।
महिलाको जबाफ सुनेर अप्सरा र उनका साथीले एकअर्काको मुख हेराहेर गरे।
एकछिनको मौनपछि अप्सराले भनिन्, 'यो बाबु तपाईंकै छोरा हो नि!'
त्यसपछि चाहिँ ती महिलाको अनुहारमा परिवर्तन आयो। उनी ती बालकलाई एकटक हेरेको हेर्यै भइन्।
अलि बेरमा उनले हाम फल्दै आएर बालकलाई अँगालो मारिन् र रून थालिन्।
त्यसपछि उनले अप्सरातिर फर्केर 'तपाईंहरू मेरो लागि भगवान हुनुभयो' भन्दै खुट्टा ढोग्न खोजिन्।
१८ वर्षअघि हराएका बालकलाई आमासँग भेटाउन सफल भएपछि अप्सराले आफूलाई सम्हाल्न सकिनन्। उनका आँखाबाट खुसीका आँशु बग्न थाले।
ती बालकको नाम थियो, धनबहादुर तामाङ। धनबहादुर ती महिलाका पहिलो सन्तान हुन्। उनका एक भाइ र दुई बहिनी छन्।
धनबहादुर ८-९ वर्षको हुँदा स्कुलको झोला र किताब बाटैमा छाडेर काठमाडौं जाने गाडी चढेका थिए।
लहलहैमा काठमाडौं त आए, फर्केर जान सकेनन्।
'कतिले छोराको घेवा (तामाङ संस्कृति अनुसार मृत्युपछि गरिने एक कर्म) गर्दे भनेका थिए। तर मेरो मनमा छोरा आउँछ भन्ने आस थियो,' ती महिलाको भनाइ उद्धृत गर्दै अप्सराले भनिन्, 'घेवा गर्न नमानेको भनेर सबै जना रिसाएका थिए मसँग।'
'भ्वाइस अफ चिल्ड्रेन' २०५७ सालमा स्थापना भएको गैरसरकारी संस्था हो। यसले सडक बालक, यौन दुर्व्यवहार र शोषणमा परेका बालकको उद्दार र पुनर्स्थापना गर्दै आएको छ। पारिवारिक तथा सामाजिक पुनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारको क्षमता अभिवृद्धि पनि गराउँछ।
अप्सरा दुई दशकदेखि यही संस्थामा आबद्ध भई हराएका बालकहरूको पारिवारिक पुनर्मिलन गराउने काम गर्दै आएकी छन्।
धनबहादुरलाई १८ वर्षपछि उनकी आमासँग भेट गराउँदाको क्षण अप्सराको जिन्दगीको सबभन्दा खुसी र अविश्मरणीय पल हो। त्यो दिन उनी धनबहादुरकै घरमा बास बसेकी थिइन्।
'म अहिले पनि सम्झिन्छु, ती आमा रातभरि छोराको अनुहार हेरेर रोइरहेकी थिइन्,' उनले भनिन्, 'हामीलाई पनि घरि घरि ढोग गर्न आइरहिन्।'
अप्सराको निम्ति यस्तै खुसी र अविश्मरणीय क्षण अर्को पनि छ।
यो घटना करिब १२ वर्षअघिको हो।
चार र साढे पाँच वर्षका दुई बालकलाई उनले काठमाडौंको महांकाल मन्दिरमा माग्दै गरेको अवस्थामा फेला पारिन्। उनले ती दुई बालकलाई आफूसँगै संस्थामा ल्याइन्। उनीहरूको पहिचान र आफन्त खोज्ने जिम्मेवारी पनि आफैले लिइन्।
ती दुई बालक आफ्नो घर-ठेगानाको पूर्ण विवरण बताउन सक्ने अवस्थामा थिएनन्। साढे ५ वर्षको बालकले यति मात्र भने, 'हाम्रो घर काभ्रे हो।'
बालकहरू आफ्नो ठेगाना खुलाउन असमर्थ भएपछि अप्सराले उद्धार गरेकै ठाउँबाट खोजी कार्य सुरू गरिन्। यसबीच दुवै बालक संस्थाको संरक्षणमा हुर्कँदै गए।
खोजतलास गर्दै जाँदा ती बालकहरूकी आमा महांकाल मन्दिरमा माग्न बस्ने गरेको अप्सराले जानकारी पाइन्।
'कुनै बेला आमा पनि त्यही मन्दिरमा माग्न बस्दी रहिछन्। त्यही क्रममा उनी सिकिस्त बिरामी परेपछि केही व्यक्तिले पाटन अस्पताल पुर्याएको जानकारी पाएँ,' अप्सराले भनिन्, 'म त्यही जानकारीका आधारमा पाटन अस्पताल बुझ्न गएँ।'
पाटन अस्पताल पुगेपछि थाहा भयो — ती बालकहरूकी आमाको उपचार क्रममै मृत्यु भएछ।
त्यसबाहेक थप विवरण केही फेला नपरेको अप्सराले बताइन्।
अस्पतालबाट कुनै सूचना फेला नपरेपछि उनले दुवै बालकका फोटो देखाउँदै कसैले चिनेका रहेछन् कि भनेर सोधिखोजी गरिन्।
तर उपयोगी सूचना केही फेला परेन।
दुई वर्ष यत्तिकै बित्यो।
एक दिन चाहिँ चमत्कारै भयो — अप्सरासँगै काम गर्ने एक जना बनेपाको संस्थाको काम गर्न गएकी थिइन्। त्यहाँ उनले ती दुई बालकबारे कुरा झिकिन् र फोटो पनि देखाइन्।
सबैलाई फोटो देखाउँदै जाँदा कुनै समय ती बालकहरू पढेको स्कुल पत्ता लाग्यो।
यो कुरा थाहा पाएपछि अप्सरा फोटो लिएर स्कुलमा पुगिन्।
स्कुलकी एक महिला शिक्षकले ती दुवै बालकलाई मात्र चिनिनन्, उनीहरूको डेरा पनि थाहा भएको बताइन्।
उनकै सहयोगमा अप्सरा उनीहरूको डेरामा पुगिन्।
त्यहाँ पुगेपछि उनले थाहा पाइन् — डेरावालहरू चार-पाँच महिनादेखि सम्पर्कविहीन रहेछन्। कोही नआएपछि घरबेटीले सामानहरू बाहिर निकालेर कोठामा साँचो लगाइदिएछन्।
एउटा खुसीको कुरा के भने, घरबेटीले उनीहरूको कागजपत्र भने जतन गरेर राखेका रहेछन्।
त्यही कागजपत्रबाट बालकहरूकी आमाको नागरिकता भेटियो। नागरिकताबाट ठेगाना खुल्यो। सँगसँगै, श्रीमानको नाम र ठेगाना पनि पत्ता लाग्यो।
ती बालकको मामाघर काभ्रेको तिमाल रहेछ।
अप्सराले त्यहाँको स्थानीय सरकार प्रतिनिधिसँग कुराकानी गरिन् र उनीहरूसँगकै समन्वयमा उनी तिमाल पुगिन्।
'आमाका चार दिदीबहिनी रहेछन्। छोरा नभएकाले कान्छी छोरीज्वाइँ त्यहीँ बस्ने गरेका रहेछन्। हराएका बालकहरूकी आमा भने बिरामी अवस्थामै छोराहरू लिएर माइतीबाट हिँडेकी रहिछन्,' अप्सराले भनिन्, 'माइती छाडेर हिँडेपछि एकचोटि पनि सम्पर्क नगरेकी रहिछन्।'
मावली परिवार फेला परेपछि उनीहरूले दिएको सूचनाका आधारमा अप्सरा बालकहरूको घर पुगिन्।
घरमा हजुरआमा र हजुरबुबा भेटिए। ती बालकहरूका बुबा भने अर्को बिहे गरेर छुट्टै बसेका रहेछन्।
'हजुरआमा र हजुरबुबालाई सबै कुरा बताएपछि उनीहरूले त नातिहरूलाई छाड्नै मानेनन्,' अप्सराले भनिन्, 'मैले सुरूमा एक साताका लागि दुवै जनालाई त्यहीँ छाडेर आएँ। त्यसबीच उनीहरू आफ्नो परिवारसँग राम्ररी झ्याम्मिएपछि सधैंका लागि त्यहीँ छाडेँ।'
यसरी हराएका बालबालिकाको परिवार फेला पर्दा सफलताको अनुभूति त हुन्छ नै, कसैको घाउमा मह्लम लगाएजस्तो खुसी पनि लग्ने अप्सरा बताउँछिन्।
तर सबै घटनामा यस्तो अनुभूति हुँदैन। कहिलेकाहीँ हराएका बालबालिका पुर्याउन जाँदा गाली खाएको अनुभव पनि अप्सरासँग छ।
करिब १५ वर्षअघि उनी उद्धार गरेर ल्याइएका तीन बालकको घर पहिचान गरेर कोशी प्रदेश पुगेकी थिइन्। उनीहरू झापा, विराटनगर र धनकुटाका थिए।
धनकुटा घर भएका बालक १२-१३ वर्षका थिए। उनी ८ वर्ष उमेरमा आफन्तहरूको घरबाट १०-१२ हजार रूपैयाँ चोरेर भागेका रहेछन्।
पैसा सकिएपछि काठमाडौंको सडकमै बस्ने र सडकमै सुत्ने गरेका रहेछन्। त्यसै क्रममा उद्धार गरेर उनलाई संस्थाको हेरचाहमा ल्याइएको थियो।
एक वर्ष हराएका ती बालकलाई घर पहिचान गरेर पुर्याउन जाँदा उल्टै परिवारको गाली खानुपरेको अप्सराले सुनाइन्।
'काठमाडौं पुगिसकेको मेरो छोरालाई किन फर्काएर ल्याउनुभयो भन्दै मलाई गाली गर्नुभयो,' अप्सराले भनिन्, 'बालक ल्याएको भन्दा पनि काठमाडौंबाट फर्काएकोमा परिवारको गुनासो थियो।'
उनले थपिन्, 'भोलि ठूलो भएपछि पनि काम गर्न काठमाडौं नै जाने हो, अहिले नै गइसकेको बच्चालाई बित्थामा फर्काएको भन्दै उनीहरूले गुनासो पोखेका थिए।'
अप्सराले 'तपाईंहरूको बच्चा सडकमा बसिरहेको थियो, संस्थाले उद्धार गरेर ल्याएको' भन्दा पनि परिवारलाई कुनै असर नपरेको उनी सम्झन्छिन्।
अप्सराले अहिलेसम्म हजारौं बालकलाई परिवारसँग भेट गराएकी छन्। कतिपय बालक परिवारसँग पुनर्मिलनपछि पढेर-लेखेर सफल भएका उदाहरण पनि छन्। कतिपयले राम्रो व्यवसाय पनि गरिरहेको उनी बताउँछिन्।
'मेरो अनुभवमा सडकमा भेटिने धेरैजसो बालक सहरमा के-के न होला भनेर उत्सुकतावश घरबाट भागेका हुन्छन्। कतिपयले भने आमाबुबासँगको नराम्रो सम्बन्ध र घरायसी कलहले आजित भएर पनि घर छाडेर हिँड्छन्,' उनले भनिन्, 'ठेगाना थाहा भएका वा आफन्तको कुनै स्रोत थाहा भएका बालक छन् भने परिवारसँग भेट गराउन सकिन्छ। शारीरिक अपांगता भएका बालकबालिका हकमा भने परिवार भेटाउन गाह्रो हुन्छ।'
उनले अगाडि भनिन्, 'शारीरिक अपांगता भएका बालकहरूले एक त आफ्नो परिवारको परिचय र ठेगाना प्रस्ट बताउन सक्दैनन्। कसैले बताइहाले पनि बुझाउन जाँदा परिवारले नै स्वीकार गर्दैनन्।'
त्यही भएर शारीरिक अपांगता भएका बालबालिकाको परिवारसँग पुनर्मिलन शून्य बराबर रहेको उनी बताउँछिन्।
उनी यसरी पारिवारिक पुनर्मिलनमा जाँदा एक रात वा केही दिन त्यही घरमा बस्छिन्। त्यसबीच बालक र परिवारमा आत्मीयता कायम भयो कि भएन, बालक त्यो घरमा सुरक्षित छ कि छैन भन्ने राम्ररी बुझेपछि मात्र उनीहरूलाई घरमै छाडेर फर्कने गर्छिन्।
यो पूरा प्रक्रियाका लागि कम्तिमा ६ महिना लाग्छ। कतिपय अवस्थामा घरमै छाड्नुअघि बालबालिकलाई पटक पटक परिवारसँग भेट गराउने उपाय पनि अपनाइन्छ।
यति मात्र होइन, पढ्ने चाहना भएका बालबालिकालाई परिवारको जिम्मा लगाउने बेला नजिकको स्कुलमा भर्ना पनि गराइदिन्छिन्।
'त्यस्ता बालकको मानसिक र पारिवारिक अवस्थाबारे स्कुलका शिक्षकहरूलाई जानकारी दिएर कसरी संरक्षण गर्न सकिन्छ भनेर बुझाइन्छ,' उनले भनिन्, 'एकचोटि परिवारसँग पुनर्मिलन गराएपछि हामी चटक्कै टाढिँदैनौं। बालकको परिवार र स्कुलसँग निरन्तर सम्पर्क गरिरहन्छौं।'
कतिपय बालक घरपरिवारसँग मिलेर बस्न सकेनन् वा पढ्न सकेनन् भने फिर्ता ल्याएर संस्थाकै संरक्षणमा राख्ने गरेको अप्सरा बताउँछिन्।
त्यस्तै, १४-१५ वर्षका बालक स्कुल जान चाहेनन् भने सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने कोसिस गरिन्छ। कतिपयलाई काममा समेत लगाइदिने गरिएको छ।
'कतिपय बालकले वर्षौंपछि पनि सम्झिएर फोन गरिरहन्छन्। आफ्नो जिन्दगीको बारेमा सुनाउँछन्,' उनले भनिन्, 'सडकमा भेटिएका बालकहरू पढेर सफल भएको देख्दा खुसी लाग्छ।'
यही खुसीले हो, 'भ्वाइस अफ चिल्ड्रेन' मा आबद्ध भएको करिब २० वर्ष बितिसक्दा पनि उनलाई आफ्नो काममा खुसी पनि छ, गर्व पनि छ।
'पहिला त यो काममा म एक्लै थिए, अहिले हामी चार जना छौं,' उनले भनिन्।
***