जंगलभित्रको कथा
सन्द्राकली पहिलोचोटि आफ्नो बच्चाबाट अलग भएकी थिई। उसको बच्चालाई तालिम दिन अन्तै लगिएको थियो।
बच्चाबाट छुट्टिनुपरेको दुःखमा हुडदंग मच्चाउँछ भनेर सन्द्राकलीका दुइटा खुट्टा फलामे साङ्लाले बाँधिएका थिए।
उसलाई एक्लो महसुस नहोस् र रोइकराई पनि नगरोस् भनेर सरस्वतीकली साथी बसेकी थिई।
मकुना पनि त्यस दिन कतै गएन।
ऊ दिनैभरि सरस्वतीकलीसँग मस्त रह्यो। सरस्वतीकलीलाई आकर्षित गर्ने प्रयास गरिरह्यो। पाँच मिटर पर रहेकी सन्द्राकलीलाई त उसले हेर्दा पनि हेरेन।
अन्ततः मकुनाको प्रयास सफल भयो।
सरस्वतीकलीले सहमतिको इसारामा शिर हल्लाउनासाथ मकुनाले उसलाई छोपिहाल्यो।
मकुनालाई अब छिटो छिटो आफ्नो काम भ्याउनुछ। किनभने, एकैछिनमा रोनाल्डो आइपुग्छ।
मकुना र सरस्वतीकलीलाई सँगसँगै देख्यो भने रोनाल्डोको रिसको पारो छुट्छ। त्यसपछि उसलाई काबुमा लिन गाह्रो पर्छ।
रोनाल्डो आइपुग्नुभन्दा अगाडि नै काम सकेर भागिहाल्ने मकुनाको सुर छ।
नभन्दै अलि बेरमा रोनाल्डो टुप्लुक्क आइपुग्यो।
सरस्वतीकलीसँग समागममा मग्न मकुनाले जसै रोनाल्डोलाई देख्यो, उसको सातोपुत्लो उड्यो। आफ्नो काम बीचैमा छाडेर ऊ कुलेलाम ठोक्यो।
रोनाल्डो झन् के कम! ऊ त यहाँको 'दादा' नै भइहाल्यो!
मकुना र सरस्वतीकलीलाई एकसाथ देखेर ऊ रिसले आगो भइसकेको थियो। उसले निकै परसम्म मकुनालाई लखेटिरह्यो।
'यो यिनीहरूको रोजको खेला हो,' मनपुरनले मुसुमुसु हाँस्दै भने, 'आज मकुना बिहानैदेखि ढुकेर बसेको थियो, बेलैमा मौका पारिहाल्यो। तर रोनाल्डोको अगाडि उसको केही जोड चल्दैन।'
हात्तीहरूको यौन समागमबारे वर्णन गर्दा मनपुरनका गाला लाजले राता भएका थिए।
हामी चितवन राष्ट्रिय निकुञ्जको खोरसोर भन्ने ठाउँमा थियौं। सौराहा नजिकै रहेको खोरसोरमा हात्ती प्रजनन तथा तालिम केन्द्र छ, जहाँ सात वटा छावासहित १९ हात्ती छन्। यी पाल्तु हात्तीसँग संसर्ग गर्न मकुना र रोनाल्डोजस्ता जंगली हात्ती आइरहन्छन्। तीमध्ये रोनाल्डो सबभन्दा तगडा छ।
पहिले रोनाल्डो पोथी हात्तीसँग संसर्ग गर्न मात्र आउँथ्यो। अचेल पाल्तु हात्तीका लागि तयार पारिएको कुची (खानेकुरा) खान पनि पल्केको छ। धान, भेली, नुन र चना मिसाएर हरियो घाँसमा पोको पारिने खानेकुरा खान ऊ खोरसोर आसपासै रूँघेर बस्छ।
हात्तीको दिनचर्या र आनीबानी नजिकबाट नियाल्ने मनपुरन चौधरी चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र प्रमुख हुन्। यो केन्द्र २०४४ सालमा स्थापना भएको हो। तर मनपुरनले हात्तीलाई साथी बनाएको त्योभन्दा धेरै पहिले हो।
२०२९ कात्तिक २९ गते सर्लाहीको पिडारीमा जन्मिएका मनपुरनले हात्तीको पहरेदारी गर्ने खुबी विरासतमै पाएका हुन्।
मनपुरनले थाहा पाएसम्म उनको परिवार हजुरबुबाका पालादेखि हात्तीको पहरेदारी गर्थ्यो। हजुरबुबाले सुनाउने राजा, रानी र राणा प्रधानमन्त्रीहरूको सवारीका किस्सा सुन्दै उनी हुर्के। हात्तीका क्षमता र महिमाबारे पनि हजुरबुबाकै मुखबाट सुने।
उनका हजुरबुबा सन्तराम चौधरी चितवन निकुञ्जको हात्तीसारमा दरोगा थिए। उनैलाई पछ्याउँदै बुबा तनुकलाल माउते भए। उनी पर्साको डुमरवाना, कोशीटप्पु वन्यजन्तु आरक्ष, शुक्लाफाँटा र चितवनको हात्तीसारमा नियुक्त भएका थिए।
मनपुरनले पनि सानैदेखि हात्तीको संगत गरे। हात्तीसँगै हुर्के, बढे।
र, एसएलसी (एसइई सरह) दिएपछि परिवारको विरासत धान्दै हात्तीसारकै काममा लागे।
उनले २०५१ सालमा पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारबाट काम सुरू गरेका हुन्। त्यति बेला उनी पशुपतिकली भन्ने हात्तीका माउते थिए। यो राजा महेन्द्र र वीरेन्द्र सवार हुने हात्ती हो।
'चितवन निकुञ्जमा राजाको सवारी हुँदा पशुपतिकलीलाई तयार पार्नुपर्थ्यो,' मनपुरनले भने, 'भग्गु सुब्बाले सवारी चलाउँथे, मेरो काम पशुपतिकलीलाई स्याहार्ने र चराउन लैजाने थियो।'
पशुपतिकली असाध्यै निर्भीक र बलियी थिई। कसैसँग डराउँथिन। जस्तोसुकै ठाउँमा ठमठम्ती जान्थी। सजिलै मान्छे पहिचान गर्थी। सुँघेरै परसम्मको अवस्था पत्ता लगाउँथी। खतरा भाँपेर संकेत दिने र बचाउने काम पनि गर्थी।
मनपुरनले एउटा घटना सम्झे —
उनी पशुपतिकलीलाई चराउन चुरेको फेदीतिर गएका थिए। घाँसको ढड्डी भेटेपछि पशुपतिकली चर्नमा मग्न भई। उनी भने रूखमुनि आराम गर्न थाले।
शितल छहारीमा मनपुरन भुसुक्कै निदाएछन्।
अलि बेरपछि ठूलो आवाज निकाल्दै हात्ती कराएको सुनेर झसंग ब्युँझिए।
जुरूक्क उठेर हेर्दा परबाट पशुपतिकली दौडिँदै आइरहेकी थिई।
पशुपतिकली हस्याङफस्याङ गर्दै नजिक आई र उनको अगाडि टक्क उभिई। उनलाई हत्तपत्त आफ्ना चार खुट्टाको बीचमा छोपेर राखी।
हात्तीको चाला देखेर मनपुरन छक्क परे।
'यसले आज किन मलाई यस्तो गरिरहेको छ! कतै यो मदेखी रिसाएको त होइन! आक्रमण गर्न आँटेको त होइन!' मनपुरनले सोचे।
केही बेरमै उनले थाहा पाए, आसपास जंगलमा एउटा बाघ हिँडिरहेको रहेछ। बाघले मनपुरनमाथि हमला नगरोस् भनेर पशुपतिकली कुदेर आएकी रहिछे र आफ्ना चार खुट्टाको बीचमा जोगाएर राखेकी रहिछे।
'पशुपतिकलीले जंगलमा धेरैपटक मेरो ज्यान जोगाएको छ,' मनपुरनले भने, 'मैले २० वर्ष पशुपतिकलीसँग बिताएँ। उसकै संगतबाट हात्तीको आनीबानी र हात्तीले दिने संकेतहरू बुझ्न सिकेँ।'
पछि कसरामा पशुपतिकलीको मृत्यु भयो। त्यसपछि मनपुरनले अरू हात्ती सम्हाल्न थाले।
उनले पशुपतिकलीको संगतबाट जे सिके, त्यो जीवनभरको निम्ति पुँजी साबित भयो। त्यही संगतका आधारमा उनी भन्छन्, 'हामी मान्छेले गुमाउँदै गएका कतिपय क्षमता हात्तीसँग अझै बाँकी छन्।'
मनपुरनले आफ्नो लामो अनुभवबाट देखेका हात्तीका क्षमता के हुन्? त्यस्तो के कुरा छ, जुन हात्तीले सजिलै थाहा पाउँछ, हामी थाहा पाउन सक्दैनौं?
हात्तीको आनीबानी कस्तो हुन्छ? जीवनशैली कस्तो हुन्छ? ऊ कस्तो अवस्थामा आक्रामक हुन्छ? उसको समूह कसरी चल्छ?
यिनै विषयमा जिज्ञासा राख्दै हामीले हात्तीका पहरेदार मनपुरन चौधरीसँग लामो कुराकानी गर्यौं
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मनपुरन चौधरी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
चौधरीसँगको कुराकानीमा प्रवेश गर्नुअघि म तपाईंहरूलाई एउटा ऐतिहासिक घटनामा लैजान चाहन्छु, जसले हात्तीको खुबी झल्काउँछ।
घटना सन् १९०६ फेब्रुअरीको हो।
त्यति बेला श्री ३ चन्द्र शमशेर राणाले तत्कालीन ब्रिटिस राजकुमार जर्ज पाँचौंलाई चितवनमा शिकार खेल्न निम्त्याएका थिए। यसका लागि चितवनको जंगलमा सबै प्रबन्ध मिलाइएको थियो। ब्रिटिस राजकुमारको स्वागत गर्न चन्द्र शमशेर स्वयं चितवन आइपुगेका थिए।
उनले बिजुलीप्रसाद नामको हात्तीलाई शिकार निम्ति चितवन लैजान आदेश दिएका थिए। त्यही हात्ती चढेर शिकार गर्ने चन्द्रको योजना थियो। तर जतिसुकै बलजफ्ती गर्दा पनि बिजुलीप्रसादले डेग खुट्टा चालेन।
चन्द्र शमशेरले रिसको झोकमा 'यसलाई भोकभोकै राख्नू' भन्ने आदेश दिए।
यस्तो आदेश सुनेपछि बिजुलीप्रसाद गहभरि आँसु पार्दै चितवन झरेको भनाइ छ।
चितवन आएर चन्द्र शमशेरले बाघको शिकार गर्न थाले। पहिलो दिनको शिकारमा चन्द्रले हानेको गोली सही ठाउँमा लागेन। बाघ घाइते मात्र भयो।
घाइते बाघ झन् बढी भयंकर हुन्छ। उसले चन्द्र शमशेर चढेको हात्तीलाई नै झम्टियो।
बाघको झम्टाइले हात्ती पछारियो। त्यो घटनामा चन्द्र शमशेर मुस्किलले बाँचेको इतिहासकार पुरूषोत्तम शमशेर जबराले आफ्नो किताब 'श्री ३ हरूको वृत्तान्त' मा लेखेका छन्।
यति मात्र होइन, त्यसको केही दिनमै चितवनमा हैजा फैलियो। कयौं मान्छेले ज्यान गुमाए। हैजा फैलिएको खबर पाएपछि ब्रिटिस राजकुमारले चितवन आउने कार्यक्रम स्थगन गरे। चन्द्र शमशेर पनि हतार हतार काठमाडौं फर्के।
त्यसपछि चन्द्रले 'बिजुलीप्रसादको संकेत नबुझ्दा मृत्युको मुखबाट बल्लतल्ल बाँचेँ' भन्दै माफी मागेका थिए भनिन्छ।
यो घटना सत्य हो वा अतिरञ्जित, यसलाई परीक्षण गर्ने आधार हामीसँग छैन। तर हात्तीको क्षमतासँग जोडिएका यस्ता थुप्रै घटना मनपुरनले भोगेका छन्।
उनले दुइटा घटना सुनाए —
पहिलो घटना २०५८ सालको हो। मनपुरन पर्सा निकुञ्जको अमुवा पोस्टमा कार्यरत थिए।
पर्सासँग सिमाना जोडिएको चितवनको बाँदरझुलामा मानव बसोबास बढ्न थालेपछि बस्ती उठाउने निर्णय भयो। चितवन र पर्सा निकुञ्जका कर्मचारी र सेनाको टोली हात्तीसहित बाँदरझुला पुग्दा अँध्यारो भइसकेको थियो।
राति ९-१० बजेतिर हात्तीहरू बेस्सरी कराए।
त्यसरी कहिल्यै नकराउने हात्तीलाई एकाएक के भयो भनेर समूहमा हल्लीखल्ली भयो। कुनै अशुभ संकेत पो हो कि भन्ने मनपुरनलाई लागेको थियो।
नभन्दै केही बेरमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यहरूको हत्याको खबर आइपुग्यो।
हात्ती कराउनु र हत्या हुनु संयोग मात्रै हो कि के हो भन्ने मनपुरनले अहिलेसम्म बुझ्न सकेका छैनन्। यति कुरामा चाहिँ निश्चित छन् — हात्तीले केही अनौठो गतिविधि गर्यो भने केही न केही अशुभ घटना अवश्य हुन्छ!
'त्यो बेला दरबार हत्याकाण्डको खबर पाएपछि बाँदरझुला बस्ती उठाउन हिँडेको टोली यसै फर्किएको थियो,' मनपुरनले भने।
दोस्रो घटना २०७२ सालको हो, जब गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भुइँचालो आएको थियो।
त्यो बेला पनि भुइँमा बसिरहेका सबै हात्ती जर्याकजुरूक उठेर असामान्य ढंगले चल्न र चिँघाड्न थालेका थिए। उनीहरूले आफ्नो खुट्टामा बाँधेको साङ्ला छिनालुँलाझैं जोड जोडसँग तानेका थिए।
'हात्तीहरूको अस्वाभाविक हलचल देखेर मलाई अब के हुने हो भन्ने भइरहेको थियो,' मनपुरनले भने, 'केही समयमै भुइँचालोको कम्पन छुट्न थालिहाल्यो। हात्तीसार बेस्कन हल्लियो। जंगलका रूख पनि थरथरी कामे।'
'हामी हात्तीलाई खेदेर, लखेटेर, दपेटेर आफ्नो नियन्त्रणमा त लिन्छौं, तर हात्तीसँग भएका कतिपय क्षमताको तुलना मान्छेसँग हुनै सक्दैन,' उनले भने।
हात्तीकै विषयमा विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामको अनुसन्धानले पनि सुन्ने, सुँघ्ने, पहिचान गर्ने, सम्झिने र अनुशासन पालना गर्ने क्षमतामा हात्तीहरू मान्छेभन्दा धेरै अगाडि रहेको देखाउँछ।
उनको अनुसन्धानले भन्छ —
हात्तीको सुन्ने र सुँघ्ने शक्ति बलियो हुन्छ। ऊ १५ देखि २० किलोमिटर टाढाका आफ्ना साथीहरूको खुट्टाको चाल थाहा पाउन सक्छ। त्यति नै पर रहेको आहार सुँघेरै पत्ता लगाउन सक्छ।
हात्तीसँग जमिनको कम्पन पहिचान गर्ने क्षमता हुन्छ। यही क्षमताका कारण उसलाई भुइँचालो जाँदैछ भन्ने पहिल्यै थाहा हुन्छ।
हात्तीमा आफ्नो जमातका सबै सदस्य चिन्ने र सबैको आवाज पहिचान गर्ने क्षमता हुन्छ।
उनीहरू आफ्नो साथी भेट्दा विशेष किसिमको आवाज निकालेर कुराकानी गर्छन्। कुनै खतरा आइपरे कराएर सूचना दिन्छन्। साथीहरू एकत्रित गर्नुपरे सुँडले जोड जोडसँग भुइँमा हान्छन्। त्यही आवाज सुनेर वरपरका सबै हात्ती एकै ठाउँ जम्मा हुन्छन्।
हात्तीसँग मान्छेको जस्तै इख, रिस र संवेदना हुन्छ। तपाईंले कुनै दिन हात्तीलाई ढुंगाले हानेर भाग्नुभयो र पछि त्यो हात्तीसँग जम्काभेट भयो भने उसले तपाईंलाई चिन्छ र बदला लिन सक्छ।
ढोई (पोथी हात्ती) सँग समागममा मस्त रहेको मत्ता (भाले हात्ती) लाई जिस्काउनु असाध्यै खतरनाक हुन्छ। त्यत्तिकै खतरनाक हात्तीको सानो बच्चालाई असर पुर्याउन खोज्दा हुन्छ। त्यस्तो बेला ढोई हात्तीले हमला गर्न सक्छे।
परिवारमा कसैको मृत्यु भयो भने हात्ती शोकमा डुब्छ। सुँडले माटो समातेर छर्किने र रूने-कराउने गर्छ।
मरेको साथी वा परिवारको सदस्यलाई गाडेको ठाउँमा पुग्दा हात्तीहरू संवेदना प्रकट गर्छन्।
बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले हात्तीको संवेदना पुष्टि गर्न युगान्डाको उदाहरण दिए —
एकपटक युगान्डाका वैज्ञानिक र निकुञ्जका कर्मचारीले जंगलमा हात्तीको कान र खुट्टा फेला पारेछन्। ती कान र खुट्टा बेच्न भनेर उनीहरूले आफू बस्ने छाप्रोमा ल्याएर राखेछन्।
त्यसको केही समयपछि नै हात्तीको बथान छाप्रोमा आएछ। बथानले सामान तोडफोड गरेर जंगलमा फेला परेका कान र खुट्टा भुइँमा पुरेर हिँडेछ।
'हात्तीले आफ्नो साथीको मृत्युपछि कुहिएको लासबाट दाह्रा निकाल्छ,' रामले भने, 'त्यस्तो दाह्रा र हड्डी टाढा लगेर लुकाएर राख्छ भनिन्छ।'
रामको अनुसन्धानले हात्तीको सूचना प्रणाली विशेष हुन्छ भन्ने देखाएको छ। उनीहरू सुँड र खुट्टाको कम्पनबाट एकअर्काको चाल थाहा पाउन सक्छन्।
जंगली हात्तीहरू आफ्ना पुर्खा हिँडेको बाटो पत्ता लगाएर निकै लामो दुरी यात्रा गर्न सक्ने पनि अध्ययनले देखाएको छ।
'उनीहरू आफ्नो पुर्खा कुन बाटो हिँड्थे भन्ने पत्ता लगाएर त्यही बाटो पछ्याउँदै कयौं किलोमिटर यात्रा गर्न सक्छन्,' राम भन्छन्, 'भारतबाट हुलका हुल हात्ती नेपाल आइरहनुको कारण यही हो। मकुना लगायतका पाँच जंगली हात्ती झापाको बाहुनडाँगीबाट चितवन आइपुगेको पनि यही क्षमताले हो।'
उनका अनुसार दाह्रा नभएको मकुना र यमगज; र ठूलो दाह्रा भएको एउटासहित पाँच हात्तीलाई अध्येताहरूले बाहुनडाँगीबाटै पछ्याएका थिए।
ती सबै हात्ती बाहुनडाँगीबाट कोशी, सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट हुँदै पर्सा आइपुगेका थिए। तीमध्ये मकुना चितवन आउन सफल भयो भने दुइटा हात्ती पर्साको पश्चिम क्षेत्रसम्म आएर फेरि झापातिरै फर्किए।
बाँकी दुइटा चाहिँ चितवन र मकवानपुरको सिमाना लोथर कट्न सकेका छैनन्।
रोनाल्डो हात्ती। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
हात्तीको समूहमा भाले र पोथीले कसरी काम गर्छ भन्ने पनि रामको अनुसन्धानले देखाएको छ।
अनुसन्धानअनुसार भाले हात्ती बलियो हुन्छ। तर समूहमा पोथीको आदेश चल्छ। जंगली हात्तीहरू प्रायः समूहमै बस्छन्। उनीहरूको समूह मातृसत्तात्मक हुन्छ। सबभन्दा बूढी ढोईले समूहको नेतृत्व गर्छे। उसको आदेश नै अन्तिम हुन्छ।
'कता जाने, के खाने, कसले प्रजनन् गर्न पाउने, कुन भालेले कुन पोथीसँग संसर्ग गर्ने लगायतको विषय बूढी ढोईले भनेअनुसार नै हुन्छ। समूहमा जसले टेर्दैन उसको खैरियत हुँदैन। ऊ समूहबाट अलग हुन्छ,' रामले भने।
रामले हात्तीको प्रजननसम्बन्धी जानकारी पनि दिए।
उनका अनुसार हात्तीले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा पाउँछ। पोथी हात्तीको गर्भ बस्ने समय १८ दिनको हुन्छ। यो अवधिमा पोथीले आफूले मन पराएको हात्तीसँग मात्रै संसर्ग गर्छे।
सामान्यतया छावा जन्मिएको २० देखि ३० मिनेटमा उठिसक्नुपर्छ। त्यसपछि ऊ माउसँग हिँड्न थालिहाल्छ। तर उमेर नपुगेको र अपरिपक्व भालेबाट गर्भधारण भयो भने बच्चा पनि उमेर नपुगी जन्मिन सक्छ। त्यसैले समूहको नेतृत्व गर्ने ढोईले बलियो र राम्रो जिन स्थानान्तरण गर्न सक्ने भालेलाई मात्र समागमको अवसर दिन्छे।
यहाँनिर समागम निम्ति भाले हात्तीहरूबीच झगडा पनि पर्छ।
समूहमा ८ देखि २० वर्षका वयस्क भाले धेरै छन् भने प्रजननका लागि झगडा पर्ने राम बताउँछन्। त्यो अवस्थामा बूढी ढोईको आदेश पालना नगर्ने हात्तीहरू समूहबाट निकालिन्छन्।
'ढोईको आदेश नमान्ने र अनुशासित भएर नबस्नेले समूहमा कुनै अवसर पाउँदैन भन्ने यसले देखाउँछ,' रामले भने।
आहारको कुरा गर्दा एउटा वयस्क हात्तीलाई दिनमा १५० दखि २०० किलो खाना र त्यति नै पानीको आवश्यकता पर्छ। ठूलो संख्यामा रहेको हात्तीको परिवारले चरिचरनका लागि ८-१० वटाको दरले समूह विभाजन गर्छ। अनि भेट हुने ठाउँ पनि तय गर्छ। उनीहरू एक ठाउँबाट छुट्टिएर अघाएपछि अर्को ठाउँमा भेट्छन्। अध्ययन क्रममा ठूलो समूहलाई पछ्याउँदै जाँदा हात्तीहरूको यो स्वभाव थाहा पाएको राम बताउँछन्।
हात्तीको समूहले खानाको खोजीमा लामो दुरी तय गरेको पाइएको छ। यसबीच खानेकुरा र प्रजननलाई लिएर समूहमा झगडा पर्छ। त्यतिखेर पनि अटेर गर्नेहरू समूहबाट निकालिन्छन्। कुनै हात्ती त समूहमा बस्न नसकेर आफैं भाग्न सक्छ।
समूहबाट अलग भएकाहरूले एक्लै वा आफूजस्तै अलग्गिएका साथीसँग मिलेर यात्रा तय गर्छन्। त्यसो गर्दा पुर्खाले हिँडेको बाटो हिँड्ने, खानाको नयाँ स्रोत प्राप्त गर्ने र प्रजननका लागि नयाँ साथी फेला पार्ने अवसर हुन्छ।
'अहिले चितवनको जंगलमा एक्लै हिँड्ने रोनाल्डो, ध्रुवे र गोविन्दे पनि समूहबाट निष्कासनमा परेर कतैबाट चितवन आइपुगेका हुन सक्छन्,' रामले भने।
उनको अध्ययनले यो पनि देखाउँछ —
पूर्वबाट आएका हात्तीहरू चितवन र पर्सा क्षेत्रसम्म आउजाउ गरिरहे पनि नवलपुर कटेर पश्चिम जान सकेका छैनन्। नारायणी नदी र गण्डक ब्यारेजका कारण उनीहरूलाई नवलपरासी र रूपन्देही हुँदै पश्चिम जान समस्या छ।
वाल्मिकी आश्रम क्षेत्र आउने हात्तीहरू भने त्यहाँबाट भारतको बाटो हुँदै सोएल्भा वाइल्ड लाइभ सेन्चुरीसम्म पुग्छन् र दाङ, बर्दिया, बाँके हुँदै शुक्लाफाँटासम्म जान सक्छन्। कपिलवस्तुको पश्चिमी सिमाना गुगौलीसम्म अहिले पनि पश्चिम नेपालका हात्तीहरू आउने गरेका छन्।
मनपुरनको अनुभव र रामको अध्ययनले हात्तीको विवेक अन्य जनावरको तुलनामा धेरै रहेको देखाउँछ। रिस उठेको बेला भने जंगली हात्ती मात्र होइन, पाल्तु हात्ती पनि भयंकर हुन्छ।
मनपुरनले दुइटा घटना सुनाए —
करिब पाँच वर्षअघि मोतीप्रसाद 'ख' नामको हात्ती चराउन र घाँस काट्न भनेर सर्लाहीका बहसरीलाल सरदार जंगल गएका थिए।
उनले जंगल पुगेर घाँस काटे र हात्तीको ढाडमा बाँधे। त्यसपछि उनी हात्तीमाथि चढ्न खोज्दा चिप्लिएर भुइँमा लडे। लगत्तै हात्ती जुरूक्क उठ्यो र फनक्क घुम्यो। हात्तीको खुट्टाले बहसरीलाललाई कुल्चिन पुग्यो। उनको त्यहीँ मृत्यु भयो।
अर्को घटना करिब पन्ध्र वर्ष पुरानो हो। धीरेन्द्रप्रसाद नामको हात्तीले आफ्नै माउते गोनीलाल चौधरीलाई ढाडबाट खसालेर टुक्रा-टुक्रा पारिदिएको थियो। उनको परिवारका सदस्यले टुक्राहरू टिपेर दाहसंस्कार गरेका थिए। गोनीलालका भाइ मुनीलाल अहिले पनि खोरसोरमै काम गर्छन्।
'यी दुवै घटनामा हात्ती रिसाएका हुन सक्छन्। उनीहरूले आफूलाई गाह्रो परेको संकेत गरेका थिए होलान्,' मनपुरनले भने, 'माउतेले हात्तीको संकेत नबुझ्दा दुर्घटना भएको हुनसक्छ।'
'रिस उठेपछि घरपालुवा हात्तीले त छाड्दैन भने जंगलीको त कुरै छाडौं,' उनले भने।
उनका अनुसार पोथी हात्तीको तुलनामा भाले आक्रामक हुन्छ। भाले तुलनात्मक बलिया र बदमास हुन्छन्। वयस्क अवस्थामा बदमासी अझै बढ्छ।
'बहादुरगज नामको हात्ती असाध्यै बदमास थियो। आफ्नो माउतेबाहेक अरूलाई टेर्दै टेर्थेन। प्रायः भालेको स्वभाव यस्तै हुन्छ,' मनपुरनले भने, 'जतिसुकै अन्धकार भए पनि हात्तीले आफ्नो मान्छे चिन्छ र भनेको मान्छ; तर बाहिरी मान्छे नजिक पर्यो भने सिध्याइदिन्छ। उनीहरूको मुड कुन बेला बिग्रिन्छ थाहा हुँदैन। त्यसैले सधैं सतर्क रहनुपर्छ।'
पालेका हात्ती भागेर महिनौंसम्म नभेटिएका उदाहरण पनि छन्। चितवन निकुञ्जका विभिन्न पोस्टबाट भागेका हात्ती खोज्न प्रशासनलाई हम्मे हम्मे नै पर्छ।
एकचोटि कृष्णचन्द्रगज नामको हात्ती पोस्टबाट भाग्यो। उसलाई समात्न ५३ दिन लागेको थियो। चराउने क्रममा ठूलो हात्तीले हानेपछि कृष्णचन्द्र भागेको मनपुरन बताउँछन्।
'हात्ती चम्केको मेसो पाएपछि माउते हामफालेर बाँचे,' उनले भने, 'त्यो हात्ती खोज्ने क्रममा भागेको लक्कीगज नामको अर्को हात्ती अहिलेसम्म भेटिएको छैन।'
घरपालुवा पोथी हात्ती पनि बेलाबेला भाग्ने गर्छन्। पोथीहरू प्रायः भाले हात्तीको खोजीमा भाग्ने विज्ञहरूको भनाइ छ। त्यस्तो बेला सावधानी अपनाएर काम गरेन भने पोथी हात्तीबाट पनि खतरा हुनसक्छ।
गणेशकली आफ्नो सातौं छावा विजयगजसँग। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
अब हामी जंगली हात्तीको रजगज र छावाको जन्मबारे कुरा गरौं।
हात्तीहरू प्राय: हात्तीसारमै वा जंगलमा चर्न गएका बेला भाले हात्तीसँगको संसर्गले गर्भवती हुन्छन्। घरपालुवा भाले हात्तीको प्रजनन शक्ति कमजोर हुने भएकाले उनीहरूको संसर्गबाट हात्ती गर्भवती हुने सम्भावना कम हुन्छ। प्राय: सबै हात्ती जंगली हात्तीकै सम्पर्कबाट गर्भवती भएका छन्।
मनपुरनले यस्ता थुप्रै उदाहरण हामीलाई सुनाए —
चालीसको दशकमा कोशीमा गणेशगज नामको जंगली हात्ती थियो। ऊ कमला नदी कटेर पश्चिमतर्फ कहिल्यै आएन। कोशीमा ऊसँगको शारीरिक सम्पर्कबाट जन्मिएका धेरै हात्ती पछि काजमा चितवन ल्याइएका थिए। कोशीमा गणेशगजका नौवटा बच्चा जन्मिएका थिए।
पचासको दशकमा चितवन राष्ट्रिय निकुञ्जमा रोमियो नामको जंगली भाले हात्तीको जगजगी थियो। ऊ खोरसोरका लागि भरपर्दो भाले भएर उदायो। यहाँ रहेका पोथी हात्तीलाई बन्धनबाट फुत्काएर रासलीला गर्न पनि ऊ पछि पर्दैनथ्यो। साङ्लो र विद्युतीय तारबार भत्काएर पोथी हात्ती उसलाई खोज्दै भाग्थे रे। त्यसैले उसको नाम नै रोमियो राखियो।
केही वर्षपछि नाना पाटेकर नामको जंगली हात्ती देखापर्यो। त्यतिखेर बलिउडमा नाना पाटेकर लोकप्रिय थिए। उनैको नामबाट यो हात्तीको नाम राखियो। ऊ अरू भाले हात्ती देखी सहँदैन थियो। झन् पालुवा हात्तीलाई त लखेटिहाल्थ्यो।
एकदिन खोरसोरमा यी हात्तीको जम्काभेट भयो। नाना पाटेकरसँग लड्दा करेन्ट लागेर रोमियोको मृत्यु भयो।
रोमियो र नाना पाटेकरपछि २०७० सालबाट चितवन निकुञ्जमा रोनाल्डोको राज चल्न थाल्यो। अन्तर्राष्ट्रिय फुटबल मैदानमा रोनाल्डोको वाहवाही भइरहेका बेला चितवन जंगलमा रोनाल्डो हात्तीको एकछत्र थियो। अहिले रोनाल्डोका प्रतिस्पर्धी थपिएका छन्। तर रोनाल्डो नै सबभन्दा अब्बल छ।
चितवनमा रोनाल्डोभन्दा बदमास र धेरै पोथी हात्तीसँग सम्बन्ध बनाउने अर्को जंगली भाले हात्ती ध्रुवे हो। २०७६ सालयता चितवन निकुञ्जमा जन्मिएका धेरै छावाको बाबुका रूपमा उसको नाम दर्ज छ।
ध्रुवेले पश्चिम चितवन र माडी क्षेत्रमा साम्राज्य बनाएको छ। दुई वर्षअघि सौराहामा डार्ट गरेर दाह्रा काटिदिएपछि ध्रुवेले उक्त क्षेत्र छाडेको थियो।
ध्रुवेको ध्यान मानव बस्तीतिर पनि बढेको छ। कहिले बस्ती पसेर मान्छेको घर भत्काइदिन्छ, कहिले निकुञ्जभित्रका संरचना भत्काइदिन्छ। निकुञ्ज प्रशासनले पटक पटक नियन्त्रणमा लिएर दाह्रा काटे पनि उसले आफ्नो लय छाडेको छैन।
रोनाल्डो र ध्रुवेले अहिलेसम्म ४० जनाको ज्यान लिइसकेका छन्।
केही वर्षयता जंगली भाले हात्ती गोविन्देको चहलपहल पनि बढ्दो छ। तर शारीरिक रूपले सानो भएकाले ठूला पोथी हात्तीसँग उसको सम्पर्क हुन सक्दैन।
दाह्रा नभएको भाले हात्ती मकुना चाहिँ यसै वर्ष चितवनमा देखापरेको हो। सौराहा आसपासका क्षेत्रमा पोथी हात्तीलाई आफ्नो बनाउन रोनाल्डो र मकुनाबीच तीव्र प्रतिस्पर्धा चलिरहेको देखिन्छ। शारीरिक रूपले ठूलो र बलियो रोनाल्डोका अगाडि मकुनाको खासै जोड भने चल्दैन। प्रायः हात्ती प्रजनन केन्द्र आसपासै रहने रोनाल्डोले आफ्नो नजिक आएको मकुनालाई खेद्ने गरेको पाइन्छ।
यिनै भाले हात्तीहरूसँगको संसर्गबाट २०५४ सालयता प्रजनन केन्द्रमा ६३ वटा छावा जन्मिएका छन्। गत वर्ष मात्रै सातवटा जन्मिएका थिए। अहिले नौवटा हात्ती गर्भवती छन्। तिनले २०८१ सालमा छावा जन्माउँछन्।
यहाँ एउटै हात्तीले बढीमा सातवटा छावा जन्माएको रेकर्ड छ। गणेशकली नामको हात्तीले अहिलेसम्म सातवटा छावालाई जन्म दिएकी छे। रूपकलीले जन्माएकी गणेशकली ५५ वर्षकी भइन्। तीर्थमानकली, चुरियाकली, कसरागज, कृष्णचन्द्रगज, कमलप्रसाद, अप्सराकली र विजयगज उसैका सन्तान हुन्। सातौं बच्चा विजयगज गत जेठ २६ गते खगेन्द्रमल्ली पोस्टमा जन्मिएको हो।
यहाँ देवीकली नामको हात्तीले २०६५ कात्तिक २१ गते जुम्ल्याहा छावा जन्माएकी थिइन्। यो विश्वमै दुर्लभ घटना हो। राम र लक्ष्मण नाम दिइएको जुम्ल्याहा छावाको तस्बिर एक हजार रूपैयाँको नोटमा राखिएको छ।
त्यस्तै, गण्डकीकलीको पेटमा रहेको छावालाई नेपालमै पहिलोपटक शल्यक्रिया गरेर जन्माइएको थियो। यो घटना पनि विश्वमै दुर्लभ मानिन्छ।
गर्भवती हात्ती जुनसुकै ठाउँमा रहेको भए पनि सुत्केरी हुने समय प्रजनन केन्द्रमा ल्याइन्छ। दुई वर्षअघि चितवनकलीले लामिचौरमा छावा जन्माएकी थिई। गर्भवती अवस्थाकी उसलाई प्रजनन केन्द्र ल्याउने तयारी हुँदाहुँदै सुत्केरी भएकी थिई। उक्त छावाको नाम पेमगज राखियो। तत्कालीन वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलको नामबाट छावाको नामाकरण गरिएको थियो।
हात्ती नामाकरणको परम्परा पनि रोचक छ।
पहिले पहिले दरबारको निर्देशनअनुसार छावाको नाम राखिन्थ्यो। प्रायः नाम राजपरिवारका सदस्यको नामबाटै राख्ने चलन थियो।
उदाहरणका लागि —
पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने हात्तीको नाम महेन्द्रकली थियो। राजा महेन्द्रका नामबाट उसको नाम राखिएको थियो। ज्ञानेन्द्रकै नामबाट पनि ज्ञानेन्द्रप्रसाद र ज्ञानेन्द्रकली नामका ठूला हात्ती थिए। यी दुइटैको दस वर्षअघि मृत्यु भयो।
२००८ सालमा पर्साको शिकारीबासबाट समातिएको हात्तीको नाम राजा त्रिभुवनको नामबाट त्रिभुवनकली राखिएको थियो।
राजा वीरेन्द्रको नामबाट नामाकरण गरिएको वीरेन्द्रप्रसादको मृत्यु भएको २० वर्ष भइसकेको छ। त्यतिखेर ऊ ४० वर्षको थियो।
रानी ऐश्वर्यको नामबाट राखिएको ऐश्वर्यमाला अहिले पनि ज्युँदै छे। ऊ ४० वर्षकै भई। ऐश्वर्यका छावाहरूको नाम पारसगज, नारायणगज र रमेशगज हो।
युवराज दिपेन्द्रको नामबाट नामाकरण गरिएको दिपेन्द्रगज सन् २०१५ को गैंडा गणनामा सहभागी थियो। यो भारतले उपहार दिएको हात्ती हो। दिपेन्द्रगजको चार वर्षअघि मृत्यु भयो।
अधिराजकुमार निराजन शाहको नामबाट नामाकरण गरिएको निराजनप्रसादको पनि आठ वर्षअघि मृत्यु भयो। ऊ १७ वर्षको थियो।
रानी कोमल र युवराज्ञी हिमानीका नाममा कोमलकली र हिमानीकली नामका हात्ती अहिले पनि छन्।
थाइल्यान्डबाट उपहार आएको एउटा हात्तीको नाम अधिराजकुमारी श्रुतीका नामबाट श्रुतीकली राखिएको थियो। यो हात्तीलाई पछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइयो।
अधिराजकुमार धीरेन्द्रको नामबाट नामाकरण गरिएको धीरेन्द्रकली बेलसहर पोस्टमा छ। यो हात्तीलाई मनपुरनका हजुरबुबाहरूले पर्साको रामभौरी भाटा क्षेत्रमा खेदाएर समातेका थिए। यसको उमेर अहिले ६० वर्षभन्दा बढी भयो।
गणतन्त्र स्थापनापछि भने राजपरिवारका सदस्यको नामबाट हात्ती नामाकरण गर्ने चलन बन्द भयो।
अचेल वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय निकुञ्जका प्रमुख तथा उनीहरूले सिफारिस गरेका व्यक्तिको नामबाट छावाको नामाकरण गरिन्छ।
हात्तीसारमा अधिकांश कर्मचारी थारू समुदायको भएकाले हात्तीहरूलाई थारू भाषामै तालिम दिने चलन छ। त्यही भएर सबैजसो हात्तीले थारू भाषा मात्र बुझ्छन्। प्रजनन केन्द्रका १५५ जना कर्मचारीमा १० जना मात्र थारूबाहेक अन्य समुदायका छन्।
हात्ती विज्ञ अशोक रामका अनुसार मान्छेले परापूर्वकालदेखि हात्ती प्रयोग गर्दै आएका छन्। सम्राट अशोककै पालामा चार हजारभन्दा बढी हात्ती पालिएको इतिहास भेटिने उनी बताउँछन्।
त्यतिखेर हात्तीको प्रयोग सवारीदेखि युद्ध गतिविधिमा समेत हुन्थ्यो। ठूलाबडाले रवाफका लागि पनि हात्ती पाल्थे।
नेपालको कुरा गर्दा छैठौं शताब्दीमा लिच्छवि राजा मानदेवले मल्लपुरी आक्रमण गर्न हात्तीहरूको पुल बनाएर गण्डकी नदी तरेको विवरण चाँगुनारायणको स्तम्भलेखमा उल्लेख छ।
त्यस्तै, राजा पृथ्वीनारायण शाहले सिम्रौनगढमाथि अधिकार जमाउँदा तत्कालीन ब्रिटिस शासकलाई प्रत्येक वर्ष सातवटा हात्ती दिने सम्झौता गरेको इतिहास भेटिन्छ। अन्य विभिन्न सीमा विवाद सुल्झाउन हात्ती उपहार दिइएका घटना इतिहासमा छन्।
कुनै समय नेपालबाट हात्ती बिक्री हुन्थे। विभिन्न देशमा उपहार पठाइन्थे। पछि नेपाललाई विदेशीहरूले हात्ती उपहार दिने दिन आयो। यहाँका व्यापारीले भारतबाट हात्ती किनेर ल्याउन थाले।
चितवन राष्ट्रिय निकुञ्ज स्थापनापछि हात्ती सफारीलाई राजस्वसँग जोडेर पर्यटनको एउटा 'प्रोडक्ट' बनाइएको छ। यसको सुरूआत चितवनको मेघौलीमा विमानस्थल बनेपछि भएको थियो। पाहुनाहरूलाई विमानस्थलबाट जंगल र खोलाको बाटो हुँदै 'टाइगर टप्स जंगल लज' सम्म पुर्याउन हात्ती प्रयोग गरिन्थ्यो। पछि यसैलाई हात्ती सफारीका रूपमा विकास गरियो।
हात्तीपछि फेरि मनपुरन चौधरीकै कुरा गरौं।
तीन पुस्तादेखि हात्तीको पहरेदारीमा लागेको उनको परिवारको चौथो पुस्ता पनि यही काममा संलग्न छ।
मनपुरनका छोरा कृष्णदेव खोरसोरमै काम गर्न थालेका छन्। उनले स्नातक पढेका छन्। भतिज सरोज चौधरी वन अधिकृत भइसकेका छन्। कक्षा १० पढ्ने छोरी पनि रेन्जर बन्न चाहने मनपुरन बताउँछन्।
'पुस्तौंदेखि वन र वन्यजन्तु संरक्षणमा लागियो, अहिले सन्तानहरूले पनि यही क्षेत्र रोज्दा खुसी लाग्छ,' उनले भने।
***