
आज (मंगलबार) बाट सुरू भएको दोस्रो संस्करणको 'नाइमा मोबिलिटी एक्स्पो २०२६' मा बिवाइडीका एट्टो सिरिजअन्तर्गत तीन विद्युतीय गाडी प्रदर्शनीमा छन्।
ती गाडीका मोडल क्रमशः एट्टो–१, एट्टो–२ र एट्टो–३ हुन्।
यी गाडीहरूको मूल्य, आकार, ब्याट्री क्षमता र रेन्जमा के कस्तो भिन्नता पाइन्छ त?
बिवाइडी एट्टो–१
यीमध्ये एट्टो–१ सबैभन्दा सानो र सस्तो मोडल हो।
यसको मूल्य भेरियन्टअनुसार २९ लाख ७५ हजारदेखि ३३ लाख ८० हजार रूपैयाँसम्म छ।
यसमा ३०.०८ र ३८.८८ किलोवाट–घण्टा क्षमताका ब्याट्री विकल्प छन्। डाइनामिक भेरियन्टको रेन्ज २३० किलोमिटर र प्रिमियम भेरियन्टको ३०० किलोमिटर रहेको कम्पनी बताएको छ।
एट्टो–१ मा ४५ किलोवाटको विद्युतीय मोटर छ। यसमा पाँच जनासम्म यात्रु अट्छन्।
गाडीमा ब्लेड ब्याट्री, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एबिएस, ट्र्याक्सन कन्ट्रोल, हिल–स्टार्ट असिस्ट, क्रुज कन्ट्रोल र रियर भ्यु क्यामेरालगायतका सुरक्षा सुविधा छन्।
यसमा २.२ किलोवाटसम्मको भेहिकल–टु–लोड (भीटुएल) सुविधा पनि दिइएको छ।
एट्टो–१ को लम्बाइ ३ हजार ९२५ मिलिमिटर छ भने १६ इन्चका पांग्रा प्रयोग गरिएको छ।
बिवाइडी एट्टो–२
एट्टो–२ एट्टो–१ भन्दा ठूलो र बढी क्षमताको एसयुभी हो।
यसको मूल्य ४८ लाख ९९ हजार रूपैयाँ छ। यसमा ५१.१३ किलोवाट–घण्टा क्षमताको ब्लेड ब्याट्री र १०० किलोवाटको विद्युतीय मोटर छ।
मोटरले २९० एनएम टर्क उत्पादन गर्छ। एकपटक चार्जमा ३४५ किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ।
एट्टो–२ को लम्बाइ ४ हजार ३१० मिलिमिटर र ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ।
यसमा सेल–टु–बडी (सिटिबी) प्रविधि प्रयोग गरिएको छ। यो प्रविधिमा ब्याट्रीलाई गाडीको संरचनासँग एकीकृत गरिएको हुन्छ।
गाडीमा ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस), एलइडी हेडलाइट, घुमाउन मिल्ने स्मार्ट टचस्क्रिन, इलेक्ट्रिक रूपमा समायोजन गर्न मिल्ने तथा भेन्टिलेसन सुविधा भएका अगाडिका सिट र पानोरामिक सनरुफ दिइएको छ।
एट्टो–२ मा भेहिकल–टु–लोड सुविधा पनि उपलब्ध छ।
बिवाइडी एट्टो–३
यी तीनमध्ये ठूलो र बढी रेन्ज दिने मोडल एट्टो–३ हो।
नेपालमा यसको एड्भान्स भेरियन्टको मूल्य ६१ लाख ९९ हजार र सुपेरियर भेरियन्टको मूल्य ६७ लाख ८० हजार रूपैयाँ छ।
एट्टो–३ मा ४९.९२ र ६०.४८ किलोवाट–घण्टा क्षमताका ब्याट्री विकल्प छन्। दुवैमा १०० किलोवाटको विद्युतीय मोटर प्रयोग गरिएको छ।
एड्भान्स भेरियन्टको रेन्ज ३४० किलोमिटर र सुपेरियरको ४२० किलोमिटर रहेको नेपालका आधिकारिक वितरकको विवरणमा उल्लेख छ।
एट्टो–३ मा १८ इन्चका २३५/५० आर१८ टायर, एलइडी हेडलाइट, पानोरामिक सनरुफ, वायरलेस फोन चार्जिङ र १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन दिइएको छ।
यसमा सातवटा एयरब्याग तथा एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट, रियर क्रस ट्राफिक अलर्टलगायतका चालक सहायता तथा सुरक्षा सुविधा छन्।
एट्टो–३ मा पनि भेहिकल–टु–लोड सुविधा छ।
यसको सुपेरियर भेरियन्टमा ३.३ किलोवाटसम्मको भिटुएल सुविधा प्रयोग गर्न सकिन्छ।
यसरी हेर्दा एट्टो–१ तीनमध्ये सबैभन्दा सानो र कम मूल्यको मोडल हो।
एट्टो–२ आकार, ब्याट्री क्षमता र मूल्यका हिसाबले बीचमा पर्छ भने एट्टो–३ ठूलो आकार, बढी ब्याट्री क्षमता र लामो रेन्ज चाहने ग्राहकका लागि लक्षित मोडल हो।
तीनै मोडल बिवाइडीको ई–प्लाटफर्म ३.० मा आधारित छन्।