
काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरू भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' मा नयाँ मोडलका दुईपांग्रे र चारपांग्रे सवारी साधनको बाक्लो उपस्थिति छ।
हुन्डाईले ल्याएका दुई नयाँ मोडल 'भेन्यु' र 'भेन्यु एन लाइन' तिनैमध्ये पर्छन्। यी दुवै विद्युतीय नभई पेट्रोलबाट चल्ने गाडी हुन्।
हुन्डाईका यी दुवै मोडल नेपालमै एसेम्बल गरिएको कम्पनीले जनाएको छ। हेर्दा एउटै जस्तो देखिए पनि यी दुई मोडलका विशेषता, कार्यक्षमता र लक्षित ग्राहकवर्ग फरक छन्।
हुन्डाई भेन्युले पारिवारिक र आरामदायी यात्रालाई प्राथमिकता दिन्छ भने भेन्यु एन लाइनले स्पोर्टी लुक र पावरफुल ड्राइभिङ अनुभव चाहनेलाई लक्षित गरेको छ।
सबभन्दा पहिला कुरा गरौं बाहिरी डिजाइनको।
नयाँ भेन्युको अगाडिको भाग पहिलेको तुलनामा निकै फरक देखिन्छ। यसमा ठूलो डार्क क्रोम ग्रिल, क्वाड-बिम एलइडी हेडलाइट र ट्विन-हर्न एलइडी डिआरएल राखिएको छ। अगाडिको डिजाइनले गाडीलाई पहिलेभन्दा चौडा र बलियो देखाउँछ।
पछाडिको भागमा पनि नयाँ डिजाइनका होराइजन एलइडी टेललाइट दिइएको छ। साइडमा नयाँ डिजाइनका डायमन्ड-कट एलोय ह्विल र ब्रिज टाइप रूफ रेल जस्ता डिजाइन छन्।
भेन्यु एन लाइन भने हेर्दा सामान्य भेन्युसँग धेरै कुरा मिल्छ। तर यसमा स्पोर्टी डिजाइनलाई प्राथमिकता दिइएको छ।
यी दुवै गाडीको लम्बाइ ३.९ मिटर, चौडाइ १.८ मिटर, उचाइ १.६ मिटर र ह्विलबेस २.५ मिटर छ।
ह्विलबेस भनेको अगाडिको र पछाडिको पाङ्ग्राबीचको दूरी हो। ह्विलबेस लामो हुँदा सामान्यतया गाडीभित्र यात्रुका लागि बढी ठाउँ र खुट्टा राख्ने स्थान पाउन सहयोग गर्छ।
दुवै गाडीको ग्राउन्ड क्लियरेन्स पनि १९० मिलिमिटर छ। ग्राउन्ड क्लियरेन्स भनेको गाडीको तल्लो भाग र सडकबीचको दूरी हो। यो दूरी बढी हुँदा उबडखाबड सडक, स्पिड ब्रेकर तथा सामान्य खाल्डाखुल्डी पार गर्दा गाडीको तल्लो भाग सडकमा ठोक्किने सम्भावना कम हुन्छ।

अब कुरा गरौं, भित्री बनावटको।
नयाँ भेन्युको इन्टेरियरमा पहिलेको भन्दा ठूलो परिवर्तन गरिएको छ। यसको ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रिन राखिएका छन्। एउटा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हो भने अर्को इन्फोटेनमेन्टका लागि प्रयोग हुन्छ।
यी दुवै स्क्रिनलाई कर्भ्ड प्यानोरामिक डिस्प्लेका रूपमा राखिएको छ। यसले गाडीभित्रको ड्यासबोर्डलाई आधुनिक र प्रिमियम देखाउँछ।
भेन्यु एन लाइनको इन्टेरियर भने स्पोर्टी छ। यसमा कालो इन्टेरियरसँग रातो एक्सेन्ट प्रयोग गरिएको छ। एन लाइनको विशेष स्टेरिङ, गियर सिफ्ट नब, एन ब्याज र मेटल पेडलले यसलाई सामान्य भेन्युभन्दा फरक देखाउँछ। माथिल्लो एन१० भेरियन्टमा १२.३ इन्चका दुईवटा कर्भ्ड डिस्प्ले र बोस साउन्ड सिस्टम पनि उपलब्ध छ।
भेन्युमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, अगाडिका भेन्टिलेटेड सिट, इलेक्ट्रिक सनरूफ र बोसको ८ स्पिकर भएको साउन्ड सिस्टमजस्ता सुविधा छन्। पछाडिका यात्रुका लागि एसी भेन्ट र सनसाइड पनि दिइएको छ।
अब कुरा गरौं इन्जिनको।
यी दुवैबीच सबभन्दा ठूलो फरक इन्जिनमा छ।
नेपालका लागि नयाँ भेन्युमा १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध छ। यसले ८३ पिएस शक्ति र ११४ एनएम टर्क उत्पादन गर्छ। यसमा ५-स्पिड म्यानुअल गियरबक्स दिइएको छ।
भेन्यु एन लाइनमा भने १.० लिटर टर्बो पेट्रोल इन्जिन छ। यसले १२० पिएस शक्ति र १७२ एनएम टर्क उत्पादन गर्छ। यसमा ६-स्पिड म्यानुअल र ७-स्पिड डुअल क्लच अटोमेटिक गियरबक्सको विकल्प छ।
साधारण भाषामा भन्नुपर्दा, सामान्य भेन्यु दैनिक प्रयोग र सहरमा चलाउन केन्द्रित छ भने एन लाइन बढी पावर र स्पोर्टी ड्राइभिङ अनुभवका लागि बनाइएको हो।

अब आउँछ, सुरक्षाको कुरा।
नयाँ भेन्युमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, एबिएस, इबिडी, टायर प्रेसर मनिटरिङ सिस्टम र इलेक्ट्रिक पार्किङ ब्रेकजस्ता सुरक्षा फिचर छन्।
यसमा ३६० डिग्री क्यामरा अर्थात् गाडी वरिपरि हेर्न सकिने ‘साउन्ड भ्यु मोनिटर’ पनि उपलब्ध छ। पार्किङ गर्दा यसले चालकलाई गाडीको वरिपरि रहेका वस्तु हेर्न सहयोग गर्छ।
नयाँ भेन्युको अर्को ठूलो विशेषता लेभल–२ एडिएएस हो। यसमा अगाडि रहेको गाडी, पैदल यात्रु वा साइकलसँग ठोक्किन लाग्दा चेतावनी दिने तथा आवश्यक अवस्थामा ब्रेक लगाउन सहयोग गर्ने प्रणाली, लेन किपिङ असिस्ट, ड्राइभर अटेन्सन वार्निङ र स्मार्ट क्रुज कन्ट्रोलजस्ता फिचर छन्।
भेन्यु एन लाइनमा पनि धेरै फिचर उपलब्ध छन्। यसमा ब्लाइन्ड स्पट वार्निङ, लेन किपिङ असिस्ट, स्मार्ट क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक वार्निङ तथा ३६० डिग्री क्यामराजस्ता सुविधा छन्।
समग्रमा हेर्दा नयाँ भेन्यु र भेन्यु एन लाइनको आधार एउटै भए पनि उद्देश्य केही फरक छ।
नयाँ भेन्युमा आराम, प्रविधि, पारिवारिक प्रयोग र दैनिक ड्राइभिङलाई प्राथमिकता दिइएको छ। एन लाइनमा त्यही गाडीलाई अझ स्पोर्टी बनाइएको छ।
त्यसैले दैनिक प्रयोग, परिवार र आरामका लागि भेन्यु रोज्न सकिन्छ भने स्पोर्टी लुक, बढी पावर र ड्राइभिङको मजा चाहनेका लागि भेन्यु एन लाइन आकर्षक विकल्प बन्न सक्छ।
नयाँ हुन्डाई भेन्युको मूल्य ४८ लाख ९६ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै, यसको स्पोर्टी संस्करण भेन्यु एन लाइनको मूल्य ६७ लाख ९६ हजार रूपैयाँ रहेको छ।