
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' भव्य रूपमा सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल प्रहरीको ब्लू प्याभिलियन अडिटोरियम हलमा मंगलबार विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो।
स्पेसल प्यानल अफ गेस्टबाट उद्घाटन गरिएको एक्स्पोको पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो सवारीसाधन खरिद–बिक्री गर्ने थलो मात्र नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने साझा थलो भएको बताइन्।
उनले पटक–पटक परिवर्तन हुने सरकारी नीतिले व्यवसायमा अनिश्चितता सिर्जना गरेको भन्दै नयाँ लगानी भित्र्याउन समस्या भइरहेको बताइन्।
निजी क्षेत्र तथा सरोकारवालासँग छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेर मात्र व्यवसायको दायित्व पूरा नहुने बताए।
उनले सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि व्यवसायीले ध्यान दिनुपर्ने भन्दै बिक्रीपछिको सेवामा विशेष जोड दिन ब्रान्डहरूलाई सुझाव दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्वको स्रोतका रूपमा मात्रै हेर्दै आएको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए।
नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर लागू भइरहेको उल्लेख गर्दै श्रेष्ठले विद्युतीय सवारीसाधनका लागि पनि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताए
। निजी क्षेत्र लगानी गर्न तयार रहे पनि त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।