
जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले एमजीको नयाँ प्रिमियम एसयुभी 'एमजी मेजेस्टर' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले मेजेस्टर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार मेजेस्टर नेपालमा हालसम्म सार्वजनिक गरिएको एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयुभी हो।
यसलाई भारतको पहिलो 'डी प्लस' एसयुभीका रूपमा कम्पनीले प्रस्तुत गरेको छ। भारतबाहिर मेजेस्टर उपलब्ध हुने प्रारम्भिक बजारमध्ये नेपाल पनि परेको कम्पनीको दाबी छ।
पाँच मिटरभन्दा बढी लम्बाइ, दुई मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ रहेको मेजेस्टरमा ल्याडर फ्रेम संरचना प्रयोग गरिएको छ।
यसमा २१९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र २६५/५५ आर१९ अल टेरेन टायर दिइएको छ।
मेजेस्टरमा २.० लिटर ट्विन टर्बो डिजेल इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले २१५.५ पिएस शक्ति र ४७८.५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
यसमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ। गाडी ४×२ र ४×४ दुवै विकल्पमा उपलब्ध हुनेछ।
अफरोड क्षमतातर्फ मेजेस्टरमा बालुवा, हिउँ, हिलो र चट्टानी सडकसहित विभिन्न अवस्थाका लागि १० वटा ड्राइभिङ मोड उपलब्ध छन्।
फ्रन्ट, सेन्टर र रियर गरी ट्रिपल डिफरेन्सियल लक तथा ८१० मिलिमिटरसम्म पानीमा चल्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ।
गाडीको भित्री भागमा ६ सिटे र ७ सिटे विकल्प उपलब्ध छन्। ६ सिटे संस्करणमा दोस्रो पङ्क्तिमा क्याप्टेन सिट दिइएको छ। अगाडिका सिटमा मसाज र भेन्टिलेसन सुविधा छ।
प्यानोरामिक ग्लास रुफ, १२.३ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन तथा ७५ भन्दा बढी कनेक्टेड कार फिचर पनि यसमा समावेश छन्।
सुरक्षाका लागि ६ वटा एयरब्याग, लेभल २ एडास, ३६० डिग्री क्यामरा तथा इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायत सुविधा उपलब्ध छन्।
कम्पनीले मेजेस्टरमा पाँच वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी र चौबीसै घण्टा सडक सहायता उपलब्ध गराउने जनाएको छ।
गो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपालमा गाडी बिक्रीमा मात्र केन्द्रित नभई बिक्रीपछिको सेवा र ग्राहक सहयोगसहितको प्रणाली विकास गरिरहेको बताएका छन्।
कम्पनीले काठमाडौंको धोबीघाटमा एमजीको छुट्टै सर्भिस वर्कसप सञ्चालन गरिरहेको र देशभर सेवा सञ्जाल विस्तार भइरहेको जनाएको छ।
नाइमा एक्स्पोलाई लक्षित गर्दै कम्पनीले मेजेस्टरमा विशेष अफरसमेत ल्याएको छ।
एक्स्पोमा बुकिङ गर्ने ग्राहकले आठ लाख रूपैयाँ नगद छुटसहित एक वर्षको कम्प्रिहेन्सिभ बीमा, प्रिमियम एसेसरिजलगायत गरी कुल १५ लाख ५० हजार रूपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
१० हजार रूपैयाँभन्दा बढीको बुकिङमा गिफ्ट ह्याम्पर तथा प्रत्येक बुकिङलाई सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको लक्की ड्रमा सहभागी गराइने कम्पनीले जनाएको छ।