
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' को अवसर पारेर नयाँ 'पन्च इभी' र नयाँ 'टियागो इभी' सार्वजनिक गरेको छ।
नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ।
तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रूपैयाँमै खरिद गर्न सक्नेछन्।
त्यसैगरी, नयाँ टियागो इभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रूपैयाँ रहेको छ।
एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने 'नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौं। नयाँ पन्च इभी र टियागो इभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ।'
दुवै गाडी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको जानकारी उनले दिए।
इभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको जनाएको छ।
सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले इभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल विस्तार गरिरहेको प्रष्ट पारे।
नयाँ पन्च इभी: थप शक्तिशाली र प्रविधियुक्त एसयूभी
अत्याधुनिक 'एक्ट.इभी' प्लेटफर्ममा आधारित नयाँ पन्च इभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।
यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बिएनसिएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सिडिसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।
नयाँ टियागो इभी: सुरक्षित र अत्याधुनिक ह्याचब्याक
दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो इभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन्।