
नाइमा नेपाल मोबिलिटी एक्सपोमा हिमालय मोट्रक्स प्रालिले म्याक्ससको नयाँ विद्युतीय पिकअप 'इटेरोन ९' दुई भेरियन्टमा राखेको छ।
कम्पनीले शक्तिशाली प्रिमियम इलेक्ट्रिक फोर–ह्विल ड्राइभ पिकअप प्रिमियम र कम्फर्ट गरी दुई भेरियन्टमा ल्याएको हो।
म्याक्सस इटेरोन ९ कम्फर्टको प्रारम्भिक मूल्य ८८ लाख रूपैयाँ तोकिएको छ।
नाइमामा दुई लाख छुट दिने कम्पनीले जनाएको छ। इटेरोन ९ प्रिमियमको मूल्य १ करोड २८ लाख रुपैयाँ तोकिएको छ। नाइमा अफरमा पाँच लाख छुट दिएको कम्पनीले जनाएको छ।
इटेरोन ९ कम्फर्टमा १०२.२ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्ज गर्दा एनइडिसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा डुअल मोटर र फोर–ह्विल ड्राइभ सिस्टम रहेको छ भने अधिकतम पावर ३२५ किलोवाट र टर्क ७०० न्युटन मिटर छ।
गाडीमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री करिब ४२ मिनेटमा चार्ज गर्न सकिने डिसी फास्ट चार्जिङ सुविधा दिइएको छ। ठूलो ब्याट्री, उच्च टर्क र फोर–ह्विल ड्राइभका कारण यो पिकअप नेपाली सडक तथा उकालो–ओरालोका लागि लक्षित गरिएको कम्पनीको भनाइ छ।
इटेरोन ९ को अर्को विशेषता यसको ग्राउन्ड क्लियरेन्स र सस्पेन्सन प्रणाली हो। गाडीमा स्वतन्त्र सस्पेन्सन तथा राइड हाइट समायोजन गर्न सकिने सुविधा रहेको छ, जसले असमान तथा कच्ची सडकमा आरामदायी यात्रा र नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
इटेरोन ९ करिब ५.५ मिटर लामो र ३.३ मिटर ह्विलबेस भएको ठूलो आकारको पिकअप हो। यसमा पाँच जनासम्म यात्रु अट्ने व्यवस्था छ। म्याक्ससको आधिकारिक विवरणअनुसार गाडीले ३.५ टनसम्म ब्रेक गरिएको टोइङ क्षमता पनि राख्छ।
अब नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक पिकअपको विकल्प विस्तार भएको छ। विशेषगरी एसयुभीको सुविधा र पिकअपको उपयोगिता एकैसाथ खोज्ने ग्राहकका लागि इटेरोन ९ कम्फर्ट उपयुक्त हुने विश्वास गरिएको छ।